काठमाडौं । सारंगी बजाउँछन्, सारंगी बनाउँछन् र सारंगी सिकाउँछन् किरण नेपाली । सारंगीको सेरोफेरोमा उनको जीवनको धुन मिसिएको छ । लाग्छ, उनी सारंगीकै लागि जन्मिएका हुन् ।
सारंगीसँग उनको साइनो यसरी घनिष्ठ भइदियो ।
एकपटक गुरुकुलमा नाटक मञ्चन भइरहेको थियो । त्यहाँ उनले सारंगीको धुन निकाल्नुपर्ने थियो । धुन त जम्माजम्मी डेढ मिनेट सुनाउनुपर्ने । तर त्यही धुनले धेरैको हृदयमा झंकार बजाइदियो । त्यसमध्येका एक थिए, डा. धुव्रचन्द्र रेग्मी ।
डा. रेग्मीसँग उनले गिटारमा सहकार्य गरिसकेका थिए । त्यसबेलासम्म किरण गिटारबादककै रुपमा चिनिएका थिए । नाटक सकिएलगत्तै रेग्मीले भने, ‘तिमी सारंगी बजाउन जन्मिएका हौं, गिटार होइन ।’
यही बिन्दुमा पुगिएपछि उनी मोडिए, सारंगीतर्फ ।
सारंगी उनका लागि नौलो वद्ययन्त्र थिएन । यो त उनको पुस्तौनी विरासत थियो । बुवा हरिशरण नेपाली आफैंमा कहलिएका सारंगी वादक । बुवाको छत्रछायामा हुर्किएका किरण कसरी पो सारंगीबाट विमुख हुन सक्थे र ?
तर त्यसबेलाको समाज फरक थियो । सारंगी बजाउनेप्रति त्यति उदार चित्त थिएन समाज । सारंगी बजाउने समुदायलाई विभेद गरिन्थ्यो । सोही कारण बुवा हरिशरणले आफ्ना छोरालाई सारंगी छुन दिएनन् ।
यसरी उनी विमुख भएका थिए, सारंगीबाट । तर घुम्दै फिर्दै रुम्जाटार भने झैं समयचक्रले उनलाई त्यही मोडमा ल्याइदियो, जहाँ उनलाई सारंगीले पर्खिरहेको थियो ।
अनलाइनखबरको गफ स्टेसनमा गफिने क्रममा सारंगीवादक तथा संगीतकर्मी किरण नेपालीले सारंगीप्रतिको आफ्नो हुटहुटी, लगाव र सपनाबारे यसरी नै फेहरिस्त सुनाए ।
सारंगी छुट्यो, गिटारमा हात बस्यो
‘सारंगी हाम्रो पारिवारिक बाजा हो । मेरो हुर्काइ चार जात छत्तीस वर्णको फूलबारी रट्दै भयो । तर त्यहाँभित्र ठूलो विभेद थियो । त्यो बेला अझै थियो, आज पनि गाउँघरमा त्यसको अवशेष छँदैछ । त्यसैले मेरो रगतमै भएको बाजा बजाउने आँट आएन,’ किरण सुनाउँछन्, ‘घरमा बुवा आफैं बजाउने भएपनि मलाई दिनुहुन्नथ्यो । मेरो छोराले पढेर जागिर खाओस् भन्ने उहाँको सोच थियो ।’
त्यसैले आफूलाई सारंगीले लोभ्याए पनि किरण गितारतर्फ सोझिए । एक दशक बढी गितार बजाउँदै उनी विभिन्न ठाउँमा पुगे । विभिन्न देश घुमें, स्याबासी पाए । तर खै किन हो उनलाई गितारबाट सबैथोक पाइरहँदा पनि ‘रियालाइज’ भयो, ‘सारंगी त मेरो बाउको बिंडो हो नि’ भनेर । अनि २३ वर्षको उमेरमा बल्ल गितार छोडेर सारंगी बजाउन थाले । सुरुमा त बुवाको डरले सकिनँ, आमालाई खोज्न लगाएँ । उहाँले डराइडराइ खाटमुनिबाट सानो सारंगी ल्याएर दिनुभयो ।’
किरणलाई बाउको बिंडो थाम्नुपर्छ भन्ने सोचले मात्र होइन, यसको संरक्षण गर्नुपर्छ र अनि नयाँपुस्तालाई पनि बजाउन सिकाउनुपर्छ भन्ने अठोटले सारंगीप्रति अरु प्रेम बढाउँदै लग्यो ।
प्रोजेक्ट सारंगी : एक सिलसिला
किरणमा सारंगीको जर्गेना र नयाँपुस्तालाई हस्तान्तरण गर्नेबारे अचम्मकै हुटहुटी र सपना छ । त्यसकै खातिर उनले नौ वर्षअघि ‘प्रोजेक्ट सारंगी’ सुरु गरे । जसमार्फत उनी सारंगी सिक्न आउनेलाई सिकाउँछन् अनि सारंगी खोज्नेलाई सोही नामको उद्योगबाट उत्पादित सारंगी दिन्छन् ।
आफैं सारंगी उत्पादन चाहिं किन नि ? गफ स्टेसनमा सोध्दा उनको जवाफ छ, ‘राम्रो धुन निकाल्न राम्रो बाजा जरुरी हुन्छ । प्रोजेक्ट सारंगी उद्योगमा हामी गुणस्तरीय सारंगी बनाउने कोसिस गरिरहेका छौं ।’ उनको प्रोजेक्ट सारंगीमा १० वर्षका बालबालिकादेखि ६५-६६ वर्षका वृद्धसमेत छन् । ‘यो सबै समयले ल्याएको परिवर्तन होला, त्यसमा धेरथोर मलाई पनि हेरेर आउनुभएको होला,’ किरण भन्छन्, ‘नेपाली बाजाप्रति लगाव सबैमा हुन्छ तर समाजले कुण्ठित गरेर राखेको थियो । अहिले सबै जना आएर बजाउँदा गर्व महसुस भएको छ ।’
सारंगी कन्सर्ट : देशदेखि विदेशसम्म
सन् २००८ देखि कुटुम्ब ब्याण्डमा आवद्ध किरणको पहिलो कन्सर्ट भएको थियो, मधेश प्रदेशको राजधानी जनकपुरमा । सुरुमा त उनलाई डर लागेको थियो । सारंगी त्यहाँ स्वीकार्य होला कि नहोला भनेर । एक त त्यो समय मधेश आन्दोलन भइरहेको बेला थियो । तर सात हजार दर्शकमाझ उनले सारंगीको भव्य कन्सर्ट गरे, सबैबाट ताली नै ताली पाए ।
त्यसपछिको उनको यात्रा अनवरत छ, स्वदेशदेखि विदेशसम्म । उनले हालसम्म २२ वटा देशमा सारंगी लिएर यात्रा गरिसकेका छन् । नेपालको मौलिक बाजा सारंगी देख्दा विदेशीलाई चाहिं कस्तो लाग्दो रहेछ ? ‘तपाईंको संगीतले नेपाल कस्तो हुँदोरहेछ भन्ने झल्को दियो भन्नुहुन्छ । विदेशीले त्यसो भन्दा गर्वले छाती फुलेर आउँछ,’ किरण सुनाउँछन्, ‘सारंगी देख्दा उहाँहरुलाई नौलो लाग्ने यसको वनावट र बजाउने तरिका नै फरक हुन्छ । किनकि नङले बजाउने बाजा हो यो । यसले मनमा कनेक्ट गर्ने भएकाले विदेशीले पनि रुचाएका छन् ।’
उनको सारंगीको धुनको लोकप्रियता यतिसम्म छ कि बलिउड अभिनेता अभिताभ बच्चनसम्मले समेत उनले सारंगी बजाएको गीतमा अभिनय गरेका छन् ।
सारंगी सपना
आफूले देखेको सपना साकार हुँदै गइरहेकोमा किरण खुसी छन् । कुनै समय गन्धर्वले मात्रै बजाउने भनिने सारंगीलाई अहिले सबैले अपनत्व लिंदै गएकोमा उनलाई सन्तुष्टि मिल्छ । ‘सारंगी बजाएरै राम्रो जीवन जिउन सकिने अवस्था आएको छ । तर आफ्नो सीप र कलालाई बेच्ने तरिका चाहिं जान्नुपर्छ,’ सारंगी बजाएरै आर्थिक उपार्जनबारे उनी भन्छन्, ‘अहिले १० गीतमा आठवटामा सारंगी बजेकै हुन्छ । लोकगीत, आधुनिक गीत मात्रै नभएर पाश्चात्य गीतमा पनि सारंगीले पहिचान बनाएको छ । यसले रोजगारीको सिर्जना अरु गरेको छ ।’
किरणको अबको सपना चाहिं के छ त ? गफ स्टेसनको बिट मार्दै उनले भने, ‘नयाँपुस्तालाई हाम्रा मौलिक बाजा हस्तान्तरण गर्ने चाहना छ । राज्यबाट पनि सहयोग हुनुपर्यो । तर राज्यले तब हेर्छ, जब आवाज ठूलो हुन्छ । हाम्रो प्रयास सारंगीजस्ता मौलिक बाजा संरक्षण र सम्वद्र्धनको आवाज कसरी ठूलो बनाउन सकिन्छ भन्ने हो । स्कुलमा सारंगी र अरु नेपाली बाजाको पढाइ होस् । सबैले हाम्रा बाजा बजाउन् । सायद सगरमाथा र गौतम बुद्धपछि विश्वमाझ नेपाल चिनाउने नेपाली मौलिक बाजा हुन सक्छन् ।’
सारंगी वादक तथा संगीतकर्मी किरण नेपालीसँगको विस्तृत कुराकानी भिडियोमा हेर्न सकिन्छ ।
तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4