+
+

डोटी कारागारमा क्षमताभन्दा झण्डै तेब्बर कैदीबन्दी

रामहरि ओझा रामहरि ओझा
२०७९ चैत २३ गते १९:५२

२३ चैत, डोटी । २५ जना क्षमता भएको डोटी कारागारमा ६३ जना बढी कैदी बन्दीहरु राखिएका छन् ।

कारागारको क्षमता २५ जना रहेको कारागार कार्यालयका प्रमुख प्रदिप ओझा बताउँछन् । ‘क्षमता त २५ जनाको मात्रै हो तर कैदी र थुनुवा गरी हाल ६३ जना छन्’ ओझाले भने ‘निकै असहजता भइरहेको छ ।’

उनले कारागारको भवन पुरानो र जीर्ण भइसकेकोले भूकम्पीय जोखिममा समेत रहेको वताए । ओझाका अनुसार उक्त भवन निर्माण भएको एक सय वर्षभन्दा माथी भइसककेको छ ।

‘जीर्ण भइसकेको साँघुरो भवन रहेछ, त्यसैमा क्षमता भन्दा अढाई गुणा बढी कैदी बन्दी राख्नुपर्ने बाध्यता छ’ एक महिनाअघि मात्रै कार्यालय प्रमुख भएर आएका ओझा भन्छन् ‘उनीहरुलाई सुत्न-बस्नकै लागि समस्या छ।’

ओझाले एउटै कोठामा सात-आठ जना कैदी बन्दीलाई राखेर व्यवस्थापन गर्नु परेको जानकारी दिए । उनी भन्छन्, ‘कारागारमा खेल्ने आँगन पनि साँघुरो छ, सबै कैदीहरुलाईसँगै बस्ने समेत ठाउँ हुँदैन आँगनमा।’

कारागार कार्यालयले दिएको जानकारी अनुसार हाल कारागारमा कैदी ४७ र थुनुवा १६ रहेका छन् । सबैभन्दा बढी जबरजस्ती करणीको मुद्दाका कैदीवन्दी रहेको कार्यालयले उपलब्ध गराएको बिवरणमा उल्लेख छ ।

यस शीर्षकमा १९ कैदी र पाँच थुनुवा गरी २४ जना रहेका छन् । यस्तै कर्तव्य ज्यान मुद्दामा १४ कैदी र तीन बन्दी गरि १७ जना रहेका छन् ।

सवारी ज्यान मुद्दामा चार कैदी र दुई थुनुवा गरी ६ जना, लागु औषधमा एक कैदी र तीन थुनुवा गरी चार जना, ज्यान मार्ने उद्योगमा दुई कैदी र एक थुनुवा गरी तीन जना र चोरी मुद्दामा एक कैदी र एक थुनुवा गरी दुई जना रहेका छन् ।

कार्यालयको अभिलेख अनुसार बालबिवाह र जवरजस्ती करणी उद्योगमा दुई, जवरजस्ती करणी, बालबिवाह र बहुबिवाहमा एक, जबरजस्ती करणी उद्योगमा एक, कर्तव्य ज्यान अवैध हातहतियारमा एक र बाल यौन दुराचारमा एक जना कैद भुक्तान गरिरहेका छन् । अवैध हातहतियारमा एक जना थुनामा रहेका छन् ।

बालसुधार गृहमा पनि अवस्था उस्तै

सुदूरपश्चिम प्रदेशमै एउटा मात्र बाल सुधार गृहको अवस्था पनि उस्तै छ । साविकको महिला तथा बालबालिका कार्यालय डोटीको भवनमा स्थापना गरिएको बाल सुधार गृहमा २५ जना बालक राख्ने क्षमता छ । तर, सुधार गृहमा हाल ४३ जना रहेको सुधार गृहका प्रमुख सानुमाया लिम्बूले जानकारी दिइन् ।

उनका अनुसार अदालतबाट कसुर प्रमाणित भएका ३० जना र पुर्पक्षका लागि १३ जना कानुनी विवादमा परेका बालकहरु सुधार गृहमा रहेका छन् ।

क्षमता भन्दा धेरै संख्यामा बालकहरु गृहमा रहेका कारण व्यवस्थापन गर्नमा समस्या भएको लिम्बुको भनाइ छ ।

उनी भन्छिन्, ‘व्यवस्थापनमा कठिन हुन लागेपछि कैलाली र कञ्चनपुर जिल्ला अदालतलाई बालबालिकाहरु यता नपठाइदिन अनुरोध गरेर पत्र पठाएका छौं, त्यसैले कैलाली र कञ्चनपुरबाट यता आउँदैनन् तर प्रदेशका सात पहाडी जिल्लाबाट यतै आउँछन्।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?