+
+
दशक समीक्षा- २ :

उत्साहपछिको दिशाविहीन दशक

के साना–साना आन्दोलनले ठूलो आन्दोलनको संभावना टारेको हो ? नेपाली समाजको फड्को अब सानो सानो आन्दोलनबाट सम्भव छैन कि ? किनभने संरचनात्मक रूपमा हामीले सिक्न सकेनौं । नसिक्ने समाजलाई सिक्न र फड्को मार्न कुनै न कुनै किसिमको ‘शक थेरापी’ जरूरी पर्छ ।

हरि शर्मा हरि शर्मा
२०७९ चैत २६ गते १८:५२

२०८० साल एउटा अर्को वर्ष मात्र नभएर एउटा दशकको सुरुवात पनि हो । एक राजनीतिशास्त्रीको दृष्टिले म ७० को दशकको राजनीतिक परिवर्तनलाई महत्वपूर्ण ठान्छु ।

तर, महाभूकम्प, कोभिड महाव्याधि र विश्वमा आएका विभिन्न परिवर्तन पनि त्यत्तिकै महत्वपूर्ण छन् । लामो ऐतिहासिक संघर्ष, विभिन्न आरोह–अवरोह र द्वन्द्वपछि शान्ति प्रक्रियाको सन्दर्भमा २०७२ मा हामीले नयाँ संविधान प्राप्त गर्‍यौं ।

उक्त संविधान नेपालको विद्यमान सामाजिक सम्बन्धलाई परिभाषित र पुनःपरिभाषित गर्ने एउटा ठूलो जमर्को थियो । संविधानको अवस्थिति र त्यसलाई मानिसले कसरी ग्रहण गरिरहेका छन् भन्ने कुरा आफैंमा विवेचनाको विषय छँदैछ ।

हिंड्ने मानिसहरू त्यस बाटोमा नहिंडिदिएपछि संविधानलाई दोष दिने कुरा आफ्नो ठाउँमा छँदैछ । तर, पहाडले मधेशसँग, मधेशले पहाडसँग, हिमालले समथर भूमिसँग, स्त्रीले पुरुषसँग, एक जातले अर्को जातसँग, राजाले जनतासँग, जनताले राजासँग, देशले विदेशसँग सबै किसिमका सम्बन्धहरूलाई त्यसले परिभाषित वा पुनःपरिभाषित गर्ने प्रयास गरेको छ ।

नेपाली राजनीतिक शब्दकोशमा थपिएका गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशिताको व्यावहारिक प्रयोगमा जे–जति प्रश्नहरू उठेका छन्, ती सबै २०७२ को संविधानको देन हो । यसरी हेर्दा हामी एउटा महत्वपूर्ण कालखण्डमा प्रवेश गरेका थियौं, तर आज अनुभव भइरहेको राजनीतिक नैराश्यलाई हेर्दा यसलाई उत्साह पछिको दिशाविहीन दशक भन्न सकिन्छ ।

भूकम्पले सिकाउन नसकेको पाठ

१९९० सालपछिको सबैभन्दा ठूलो भुइँचालो अहिलेको पुस्ताले अनुभव गरेको सबैभन्दा कहालीलाग्दो समय थियो । गोरखा केन्द्रविन्दु बनाएर आएको भूकम्पले देशभित्र मात्रै होइन, बाहिर बसोबास गर्ने नेपालीलाई समेत कविरको शब्दमा– जग, जीवन र जगत तीनवटै हिसाबले हल्लाएको थियो ।

जग भन्ने शब्दले हाम्रो आधार बुझिन्छ, भूमि नै हल्लिएपछि हेर्ने दृष्टिकोण हल्लिंदो रहेछ । तर, के गर्नु, हामी मसान वैराग्यले आक्रान्त छौं । घाटमा जाँदा आफूबाट छुट्टिएर गएकाहरूलाई श्रद्धाञ्जलि दिने अनि जीवन र जगत यस्तै हो भन्ने सोच्दछौं । गौशाला आइसकेपछि जीवन निरन्तर चल्दछ । नेपालको सार्वजनिक नीति र ऐतिहासिक अनुभवहरूका सन्दर्भमा हामीले गर्ने/गराउने कामलाई मसान वैराग्य भन्ने गरेको छु ।

कस्तो शहरी व्यवस्थापन गर्ने, कस्ता सामाजिक सम्बन्धहरू निर्माण गर्ने, इच्छा–आकांक्षालाई नयाँ संविधानमा कसरी समन्वय, सन्तुलन गर्ने, एकअर्कालाई हेर्ने दृष्टिकोण के हुने, भ्रातृत्वको पक्षमा कसरी उभ्याउनुपर्ने हो, भुइँचालोले ठूलो पाठ पढायो । भुइँचालो गएको ८ वर्ष बित्दानबित्दै काठमाडौंमा घरहरू जस्ताको तस्तै ठडिएका छन् । बाटाघाटा त्यस्तै छन् ।

भूकम्पको बेला जातभात नभनिकन एकअर्कालाई सहयोग गर्दै हामी खुला मैदानमा बस्यौं । एकअर्कालाई सहयोग गर्‍यौं, हिजोको त्यो माया गर्ने परिवेश बदलिएर पुनः एकअर्कामा लड्ने, भिड्ने लोभी–पापी भइसकेका छौं ।

जब जगत र जीवन हल्लिन्छ, मानव आफ्नो अस्तित्वका लागि एकठाउँमा जम्मा हुन्छ र एकअर्कालाई सहयोग गर्छ भन्ने भूकम्पले सिकाएको थियो । त्यो समय काठमाडौं न भूतो, न भविष्यति भएको थियो । फोहोर फैलिए महामारी आउँछ भन्ने डरले सबैले आफ्नो चोटा, कोठा, घर, बाटोघाटो सबै सफा गरेका थियौं ।

कालान्तरमा जब काठमाडौंमा नयाँ मेयर आए, यहाँ फोहोर डुङडुङ्ती गन्हाउन थाल्यो । हामी जसले भुइँचालोमा फोहोर व्यवस्थापन आफैं गरेका थियौं, ७–१०–१५ दिन, त्यो चलन कहाँ हराएर गयो ?

त्यस्तै सत्तरीको दशकमा हामीले एउटा ठूलो घटना व्यहोर्‍यौं । त्यो घटना विश्वमै महत्वपूर्ण थियो– कोभिड महामारी । यसमा पुनः हामी घरमा थुनिएर बस्यौं । तीन/चार महिनासम्म घरबाट बाहिर निस्किएनौं । ‘खबरदार, घरबाट बाहिर निस्कियौ भने सार्वजनिक स्वास्थ्यमा खलल पुग्छ’ भनेर सरकारले हामीलाई निर्देश गर्‍यो । डरले घरमै बस्यौं । हामी घरभित्र बसे पनि सरकार बसेन । सरकारले अध्यादेश र विभिन्न तौरतरिकाबाट हाम्रा अधिकारहरू कुण्ठित गर्दै शासन गर्‍यो ।

भुइँचालोमा एकअर्कालाई सहयोग गरेका हामी महामारीमा एकअर्कादेखि टाढा भयौं । आफ्ना प्रियजनहरूसँग आलिंगन गर्ने, उनीहरूको शवमा दागबत्ती दिने अथवा मलामी जानबाट हामी वञ्चित भयौं । एउटा संकटमा हामी नजिक बसेर एकअर्काको हात समातेका थियौं । अर्को संकटमा हामी आफ्नै मान्छेसँग बोल्न, हिंड्न र छुन डराएका थियौं । हामीलाई केले बाँध्दछ ? भूकम्प र महामारी दुवैमा हामीलाई डर थियो ।

डरको परिवेशमा हामीले हाम्रो जीवन र समाजलाई कसरी हेर्‍यौं भन्ने थाहा छ । समाजशास्त्रीय या दर्शनको दृष्टिकोणमा भूकम्प र महामारीको नेपाली समाजलाई तुलनात्मक अध्ययन गरे समाजलाई केले बाँध्दछ, केले समाजलाई जोड्दछ ? केले समाजमा एकअर्कादेखि विमुख गराउँदछ ? एउटा राम्रो विश्लेषणमा पुग्न सकिन्थ्यो होला । तर, के गर्नु, हामी मसान वैराग्यबाट आक्रान्त छौं । अनुभवहरूबाट सिक्दैनौं ।

०७० को दशकमा नयाँ संविधान, महाव्याधि र महाभूकम्प आयो । त्यसबाट नेपाली समाजले सामूहिक रूपमा के सिक्यो त ? यी घटनापछि नेपाली समाज थप बलियो र सहानुभूतिपूर्ण भयो, दर्शनमा फड्को मार्‍यो भन्ने मैले पाइरहेको छैन । म भोको छु, समाजले के सिक्यो भनेर हेरिरहेको छु । म के देखिरहेछु, नेपाली समाज यसै चलिरहेको छ ।

जवाफदेही खोजीको दशक

हाम्रो सार्वजनिक वृत्तको नेतृत्वसँग ताजुब लाग्छ । नेतृत्व भनेको तुलनात्मक हुन्छ । घरमा डाडुपन्यूँ समाउने नेता होला । स्कुलमा हेडमास्टर/हेडमिस, सञ्चारगृहमा प्रकाशक/सम्पादक, व्यवसायमा म्यानेजर होलान् । सबै नेतृत्व आ–आफ्नो ठाउँमा छ, तर महाव्याधि र भुइँचालोले कस्तो नेतृत्व विकास गर्‍यो त ?

महाव्याधिमा अपराह्न साढे चार, पौने पाँच बजे स्वास्थ्य मन्त्रालयका प्रवक्ता कान/नाक कोट्याउँदै हाम्रो पर्दामा देखिन्थे । यति मान्छे मरे, उति मान्छे मरे भनेर उनी हामीलाई संख्यामा परिणत गरिरहेका थिए । म जीवनको मूल्य के हो भनेर प्रश्न गरिरहेको हुन्थें । उनी फगत एउटा कर्मचारी पात्र थिए । मलाई आश्वस्त पार्ने कुनै सामाजिक सम्झौता (सोसल कन्ट्रयाक्ट) थिएन । मैले मत दिएर पठाएको नेतृत्वले मसँग कुरा गरिरहेको थिएन ।

भुइँचालो होस् या महाव्याधि, राजनीतिक नेतृत्व पुच्छर लुकाएर बसेको देख्दा मलाई उनीहरू आफ्नो दायित्वबाट उम्के कि भन्ने लागिरह्यो ।

यस अर्थमा जवाफदेही ०७० को दशकको सबैभन्दा ठूलो प्रश्न हो । महाव्याधिका सुरुका तीन/चार महिना सम्झौं । चीनबाट औषधि र पीपीई आउँछ भन्ने सुनियो । पीपीई नयाँ शब्द थियो । भाइरस पुरानो शब्द भए पनि नयाँ किसिमले बुझ्यौं । तीन महिना हामी भ्रष्टाचार र ओम्नीमा अल्मलियौं । त्यसको जवाफदेही खोइ त ?

भुइँचालो पछि सार्वजनिक वितरण प्रणालीमा सुधार आउँछ भन्ने आशा गरेका थियौं, त्यो खोइ त ? यसको जवाफदेही कसले लिने ? हामीले स्थापना गरेका जननिर्वाचित संस्थाको जवाफदेही कहाँ हो ?

स्कुल, कलेजमा पठनपाठनका सन्दर्भमा पनि जवाफदेहीको ठूलो कमी अनुभव भएको छ । त्यसैले मैले ७० दशकलाई जवाफदेहीको खोजीको दशक भन्ने गरेको छु । हामीले कुरा धेरै गरेका छौं, तर पाउन सकेका छैनौं ।

यसबीचमा विश्वव्यापी अर्थतन्त्रको प्रभाव हाम्रोमा नपरेको होइन । संयुक्त परिवारहरू खण्डित हुँदै ‘न्युक्लियर फ्यामिली’ देखा परिरहेको छ । घरमा अघिल्लो पुस्ता छैन । गाउँबाट शहर र शहरबाट विदेश जाने प्रक्रियाले परिवारहरूलाई स–सानो बनाउन थाल्यो ।

महाव्याधिसँगै प्रविधिको प्रभाव बढेको छ । डिजिटल तकनिकीले कतिपय सहजता थपेको छ । घरै बसी–बसी तरकारी, किताब, खाना वा अरू सामानको उपलब्धता बढेको छ । यसलाई धान्न सक्ने अर्थतन्त्र हामीसँग छ, छैन ? प्रयोग गर्न सक्ने र नसक्ने बीच खाडल देखिएको छ ।

गाउँबाट शहर आउने र शहरबाट विदेश पलायन हुनेबाट पूँजी पलायन भएको पनि सुनिरहेकै छौं । एउटा सामान्य नागरिक पढ्न विदेश जाँदा वर्षको १५०० डलर लैजान पनि मुश्किल हुन्छ भने ठूला व्यापारीहरूले सजिलै धेरै धन लिएर बाहिर गएको सुन्न पाइन्छ । मलाई लाग्छ, अर्थतन्त्रमा देखिएको यी विषमताहरू ७० दशकको सबैभन्दा ठूलो चरित्र हो ।

कमजोर सामाजिक आन्दोलन

ठूलो परिवार सानो हुनु, शिक्षा र स्वास्थ्य महँगो हुनु, बेरोजगारी बढ्नु तर यति हुँदाहुँदै पनि हामीले कुनै किसिमको सामाजिक परिचालन देखिरहेका छैनौं । माइतीघरमण्डलमा साथीहरू जम्मा भइरहनुभएको छ । कहिले मिटरब्याज पीडित त कहिले गुठीको, विभिन्न किसिमको आन्दोलन भइराखे पनि समग्र रूपमा सामाजिक आन्दोलनले नेपाली चेतनालाई घच्घच्याउन सकिरहेको छैन ।

आन्दोलन मार्फत मुद्दाहरूको उठान जरूरी छ । समग्रमा सामाजिक चेतनालाई नै घच्घच्याउने खालको नागरिक, सामाजिक र विचारको आन्दोलन भइरहेको छैन ।

कविरले भनेजस्तो कहिलेकाहीं उलटवाणीबाट पनि सोच्नुपर्ने हुन्छ । अन्यथा नलागोस्, यो विचारको कुरा हो । के साना–साना आन्दोलनले ठूलो आन्दोलनको संभावनालाई टारेको हो ? नेपाली समाजको फड्को अब सानो सानो आन्दोलनबाट सम्भव छैन कि ? किनभने संरचनात्मक रूपमा हामीले सिक्न सकेनौं । नसिक्ने समाजलाई सिक्न र फड्को मार्न कुनै न कुनै किसिमको ‘शक थेरापी’ जरूरी पर्छ ।

नेपाली समाजलाई अझ बढी चेतनशील बनाउन अलि उत्तेजक (प्रोभोकेटिभ) कुरा गरिरहेको छु । नेपाली समाज त चेतनशील नै छ भन्नुहोला । हरेक १०/१० वर्षमा आन्दोलन र परिवर्तन गरेर हामी यहाँसम्म पुगेकै हो । तर, जे कुराका लागि लडेका थियौं, सबै कुरा बिर्सिएर आत्मरतिमा बसेको देख्दा अझै ठूलो घच्घचाहट, अझ कुम्भकर्णलाई जस्तो ठूलो ढोल बजाउनुपर्ने हो कि ?

सामाजिक रूपमा हेर्‍यो भने परिवारहरू विखण्डन हुँदै गएका छन् । समाजमा सम्बन्ध बन्ने र बिग्रने त निरन्तर चलिरहन्छ, तर हामी बढी आत्मकेन्द्रित बन्दै गएका छौं । भूकम्पमा सामूहिकता भन्दाभन्दै पनि कता कता आफू बाँच्नका निम्ति अर्काको हात समात्न गएका थियौं जस्तो लाग्छ ।

महाव्याधिमा पनि हामीलाई आफू मात्रै बाँच्न पाए हुन्थ्यो जस्तो भयो । वर्षौंदेखि चिनेको साथीले मास्क लगाएन भने अलि परपर हुने । हुन त पूँजीवादी समाजमा आत्मकेन्द्रित र व्यक्तिवादी भएर आफ्नो निम्ति मात्रै सोच्नु राम्रै होला । तर, पनि आधारभूत रूपमा नेपाली समाज विस्तारै व्यक्तिकेन्द्रित हुँदै गएको हो कि ? अरूको बारेमा नसोचेको हो कि ? माइतीघरमण्डलमा मानिसहरू आन्दोलित हुँदा पनि हामीलाई नपोलेको त्यसैले हो कि ? बृहत्तर कुरामा हाम्रो दिमाग गइराखेको छैन । मैले पाएँ भने मलाई पुगिहाल्यो भन्ने देखिन्छ ।

राजनीतिमा पनि आत्मश्लाघाले भरिएका आत्मकेन्द्रित मानिसहरू स्वप्रशंसा गरिरहेको देख्छौं । त्यसले कता कता सामूहिक मूल्यहरू धरासायी बनेका हुन कि ? विवाह गर्न पाउने चयनको स्वतन्त्रता हो तर मैले ४ वटी बिहे गरें भने कसको के बिगारें ? भन्ने सार्वजनिक अभिव्यक्तिले हामीलाई कहाँ पुर्‍याउँछ, यो पनि एउटा सोचनीय विषय हो ।

सामाजिक मूल्य, मान्यता र मर्यादाहरूलाई विस्तारै डोर्‍याएर लैजानुपर्छ । अघिल्लो पंक्तिले भत्काउँदै र सँगसँगै बनाउँदै पनि जानुपर्छ । भत्किंदै गयो र बनाउँछु मात्रै भन्ने रुढताले पनि हामीलाई कहीं पुर्‍याउँदैन ।

यस सन्दर्भमा ७० को दशक अनौठो थियो जसले हामीलाई बढी आत्मकेन्द्रित बनाएको छ । हाम्रो सामूहिकता क्षयीकरण भइरहेको छ । शिक्षामा एकअर्काको हात समातौं भन्ने थियो, तर एकअर्कालाई देख्दा डरलाग्ने समयमा फेरि प्रवेश गरेका छौं ।

लोकरिझ्याईं अथवा लोकरञ्जनालाई अंग्रेजीमा ‘पपुलिज्म’ भनिन्छ । दिनानुदिनको संवादहरूमा शब्दको प्रयोगलाई परिमार्जन गर्ने क्रममा त्यसले माने पकड्दै जान्छ र प्रचलित शब्द बन्छ । बाहिरबाट आए पनि पपुलिज्मलाई हाम्रो सन्दर्भमा कसरी बुझ्ने भन्ने चुनौती छ । कसरी अवधारणाहरू यात्रा गर्छन् र त्यसको स्थानीय रूपमा प्रयोग हुन्छ भन्ने सैद्धान्तिक विषयतिर नजाऊँ । नरेन्द्र मोदी, भ्लादिमिर पुटिन, बोल्सनारो लगायतलाई हेर्दा पपुलिज्मबाट हामी मात्रै आक्रान्त रहेनछौं भन्ने देखिन्छ ।

हिजो मलाई आफ्नो कुरा सबैकोमा पुर्‍याउन मिडिया र पत्रकार चाहिन्थ्यो । अहिले यस्तो भएछ कि मैले केही बोल्दा मलाई पछ्याउने फलोअर एकैचोटि हजारौं पुग्ने भए । पहिले प्रेसमाथि आक्रमण हुँदा ‘किलिङ द म्यासेन्जर’ भनिन्थ्यो, अब म्यासेन्जर नै नचाहिने भयो । मैले भनेपछि गइहाल्यो ।

डिजिटल प्रविधिको अल्गोरिदम र मेकानिकल डिजाइन यस्तो रहेछ कि एकैचोटि गुणन भएर ठाउँ–ठाउँमा जाँदोरहेछ । मैले एकजनालाई पठाएँ, एकजनाबाट दश जनामा गयो । अब मेरो कुरा सम्प्रेषण गर्न अरू कोही पनि चाहिएन । मलाई मन लागेको कुरा भन्न म स्वतन्त्र छु ।

मलाई लगाउने अंकुश पनि विकसित भइसकेको छैन । डोनाल्ड ट्रम्पको उदय हेर्दा उनलाई पत्रकार सम्मेलन चाहिएन । भारतमा नरेन्द्र मोदीले पत्रकार सम्मेलन गर्दैनन् । प्रविधि र सामाजिक सञ्जालका कारण तपाईंको चाहना र विचार सजिलै हजारौं/लाखौं मानिसमा एकैचोटि पुग्छ ।

धेरै मानिसलाई के मन पर्छ भन्ने ठम्याएर प्रविधि प्रयोग गर्न केही गाह्रो रहेन । मैले बोलेको कुरा कतिले सुने, हेरे अनि प्रतिक्रिया दिए भन्ने थाहा पाएर आत्ममुग्ध भएर समय बिताउन गाह्रो नहुने रहेछ । यो पूँजीवादको चरित्र पनि हो, बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल बिक्दैन भने जस्तो ।

हामी अघिल्लो पुस्ता ‘विद्या ददाति विनयम्’ भन्थ्यौं, विनयी हुनुपर्छ भन्थ्यौं । अब विद्या आफूलाई बेच्नका लागि प्रयोग गर्न थालियो । माल बेचे जस्तो आफूलाई पनि बेच्नुपर्‍यो । म यहाँ पढें, यो गरें भन्दै दाबी गरेर को–को, कहाँ–कहाँ पुगिसके ।

अहिलेको राजनीतिमा त्यही देखिइरहेको छ । चारवटा टेलिभिजनमा अन्तर्वार्ता र १० जनाले वाह्–वाह् गरिदिए भने मानिस कहाँबाट कहाँ पुग्छ । यो नै अब आउने समयको चरित्र हुनसक्छ । अघिल्लो पुस्ताको मानिस भएकोले मलाई यो अनौठो लागिरहेको छ ।

८० को दशक र वैकल्पिक राजनीति

वैकल्पिक विचारहरूले मूलधारको राजनीतिलाई चुनौती दिनसकेको छैन । बृहत् सैद्धान्तिक विवेचनाका सन्दर्भमा हेर्दा नेपालको विद्यमान राजनीतिक संस्कृति र वातावरणमा हस्तक्षेप हुनसकेको म देख्दिनँ । वैकल्पिक शक्ति हुनुको अर्थ कहीं न कहीं विश्व–दृष्टिकोण त हुनुपर्ने होला नि !

धेरैजसो सैद्धान्तिक दृष्टिकोण नभएर शासन पद्धतिमा आधारित भएछन् । उदाहरणका लागि, बिजुली र पानी सहज रूपमा शहरी क्षेत्रमा बाँड्न सकिन्छ कि सकिंदैन ? यो शासन पद्धतिको प्रश्न हो, विचारधारात्मक होइन । पानी सबैले पाउनुपर्छ भनेर कसले भनेको छैन ? दिल्लीमा कुन चाहिं प्रणालीले पानी र बिजुली दिन्न भनेको थियो होला ? आम आदमी पार्टीले शासन पद्धति सुधार्‍यो । पानी सजिलोसँग दियो । स्कुलमा पठनपाठन सुधार्‍यो । प्रणाली सुधारेर सेवा प्रवाह प्रभावकारी बनाउनु जवाफदेहीको प्रश्न हो ।

नेपालको संसदमा सुमना श्रेष्ठले सार्वजनिक नीतिको दृष्टिकोणमा एउटा सदस्यले गर्नुपर्ने काम गरिरहेकी छन् । त्यो काम त अरूले पनि गर्नुपर्ने हो । उनी नयाँ भएर वा नयाँ पार्टीको भएर गरेको भन्ने हो भने त्यो पार्टीको दृष्टिकोण हो भनेजस्तो मलाई लाग्दैन । एउटा वैयक्तिक पहलकदमी हो । भोलि नयाँ पार्टी भन्नेले जितेर आयो भने सार्वजनिक नीतिमा यसरी प्रभाव गर्छौं भनेर भन्ने किसिमको दृष्टिकोण ल्याउन सक्यो भने हो तर आधारभूत रूपमा नेपाली समाजको संरचना, यहाँ हुने गरेका काम–कारबाहीहरूमा सैद्धान्तिक दृष्टिकोण के छ ? नभन्दासम्म म वैकल्पिक मान्न तयार हुन्न ।

भोटमा नम्बर एक हुने उम्मेदवारका लागि नम्बर दुई वैकल्पिक हो । नम्बर २ का लागि नम्बर ३ वैकल्पिक हो । सूर्यको विकल्प रूख हो, रूखको विकल्प सूर्य । एकअर्काको वैकल्पिक छँदैछन् । लोकतन्त्र भनेकै छनोट र विकल्पको कुरा हो नि !

काठमाडौं जहिले पनि विभिन्न रेसिपी (कलनरी)का लागि प्रसिद्ध ठाउँ हो । ६० को दशकमा हिप्पीहरू आएपछि यहाँ पिज्जा, एपल पाइ, थरीथरीका आइसक्रिम आदि थपिए । अहिले खानेकुरामा एकदमै धेरै विविधता छ । हिजोको मान्छे कहाँबाट आयो भनेर भेषभुषाबाट पत्ता लगाइन्थ्यो । अब काठमाडौं ग्लोबल कल्चरल भिलेज जस्तो भएको छ । दुनियाँको कुनै पनि खाना र फेसन यहाँ पाइन्छ । विश्व अर्थतन्त्रसँग जोडिएको हुँदा सांस्कृतिक पूँजीवाद, बसाइँसराइ लगायत कारणले धेरै ठूलो परिवर्तन आएको छ ।

हामी अघिल्लो पुस्ता विनयी हुनुपर्छ भन्थ्यौं । अब विद्या आफूलाई बेच्नका लागि प्रयोग गर्न थालियो । चारवटा टेलिभिजनमा अन्तर्वार्ता र १० जनाले वाह्–वाह् गरिदिए भने मानिस कहाँबाट कहाँ पुग्छ । यो नै अब आउने समयको चरित्र हुनसक्छ ।

अब राजनीतिक संस्कृतिको कुरा गरौं । हुन त सांस्कृतिक दृष्टिकोणले हेर्दा बाहुन भएको हुनाले राजनीतिमा यसै किसिमको कुरा गर्छ भन्ने एकथरी मान्छे छन् । तर बाहुन त हरेक दलमा छन् । भगवानको मूर्तिमा पिसाब गर्ने, गाईको छाला झुन्ड्याउनेदेखि फेरि भैंसी पूजा गर्नेसम्मका बाहुन छन् । हामीले निर्माण गरेको राजनीतिक संस्थाहरूप्रति हाम्रो आचरण र व्यवहार कस्तो छ ? त्यही भएर मैले जवाफदेहीको कुरा गरेको ।

संघीयतामा सही गर्ने अनि त्यो संविधान पास गरेर संसदबाट बाहिर निस्कँदा यो त नेपालको लागि महँगो भयो भन्दै त्याग (एब्डिकेट) गर्ने राजनीतिक वर्गको बेइमानीले राम्रो राजनीतिक संस्कृति निर्माण गरेको छैन ।

आफूले समानुपातिकमा महिला, दलित महिलाको पनि प्रतिनिधित्व हुन्छ भनेर मत खसाल्ने, तर बाहिर आएर ‘खोइ काम गर्दैनन्, कहाँ कहाँबाट ल्याए’ भन्ने । संघीयता र धर्मनिरपेक्षतामा सही गर्ने तर खोइ बाहिर/भित्रकाले भने भनेर ८–८ वर्षसम्म संविधान बनाउन लाग्ने । यो राजनीतिक विचलन र बेइमानी हो । यहाँ एब्डिकेसन अर्थात् आफूले गरेको कामको जिम्मेवारी लिन नसक्ने संस्कृति छ ।

गणतन्त्र ल्याउने तर राष्ट्रपतिलाई राजा बनाउने प्रवृत्तिले गणतन्त्रप्रति उनीहरूको लगाव र प्रतिबद्धता देखाएन । नागरिकले यसको जवाफ खोज्नुपर्‍यो । राजनीतिक आहार–विहार, विचार–व्यवहार र हामीले निर्माण गरेका संस्थाहरू संस्थागत आचरण अनुरूप चलिरहेका छन् कि छैनन् ? प्रक्रिया कस्तो छ ? लोकतन्त्र भन्ने तर अर्काको कुरा सुन्न नसक्ने हो भने राम्रो राजनीतिक संस्कृति विकास हुँदैन । त्यसैले राजनीतिक संस्कृति र जवाफदेहीमा हामी कमजोर छौं ।

पहिचानको मुद्दा र राजनीति

पहिचानलाई अलि बृहत् दृष्टिकोणबाट हेर्नुपर्छ । पहिचानको राजनीति समयको उपज हो । यो सम्बन्धगत हुन्छ, कहीं द्वन्द्व भयो निस्कन्छ । त्यसैले, ‘आइडेन्टिटी इज अल्वेज कन्स्ट्रक्टेक ह्वेन कन्फनट्रेट’ भनिन्छ ।

पहिचान सामना गर्ने क्रममा सिर्जित हुन्छन् । राजनीतिक, सांस्कृतिक रूपमा मानिसहरू विमुख हुँदै जाँदा उसले किन पायो, मैले किन पाइनँ भन्ने हुन्छ । त्यसैले, पहिचानको मुद्दा जहिले पनि ‘नेगेटिभ प्रिमाइसेस’बाट उत्पन्न हुन्छ भन्ने मेरो बुझाइ छ ।

नेपालमा बहुजात, बहुभाषा, बहुसंस्कृति छ । विविधता हाम्रो समाजको यथार्थ हो । घरमै त हामी एकै आमाले जन्माएका छोराछोरी पनि होचो/पुड्को, मोटो पातलो, धेरै खाने, कम खाने छौं ।

पहिचानको राजनीति त्यसबाट केही प्राप्त गर्न अगाडि सारिन्छ । यो दाबी र प्रतिदाबी (क्लेम र काउन्टर क्लेम)को राजनीतिबाट आउँछ । यसलाई ‘प्रोपोगेटेड एण्ड एसर्टेड’ भनिन्छ । विविधताको सुन्दर पक्ष आफ्नो ठाउँमा छ । यो सुन्दरता दाबी र प्रतिदाबीमा परिणत हुँदा त्यसलाई लोकतान्त्रिक राजनीतिले मात्र मध्यस्थता गर्न सक्छ ।

फेरि, मानिसको पहिचान एकैनासको पनि हुँदैन । म बाहुन हुँ, तर नेपालका सबै बाहुनले मेरो प्रतिनिधित्व गर्दैनन् । मलाई मेरो उदार लोकतान्त्रिक विचारले ‘डिटरमिन’ गर्छ । उता मेरो स्कुले साथी हर्कबहादुर तामाङ आफूलाई नेपालका सबै तामाङले प्रतिनिधित्व गर्छ भन्छ ।

पहिचानको राजनीतिको फरक यो, हो । एउटा वैयक्तिक अनुमानमा म यो हुँ, मेरो स्वतन्त्र व्यक्तित्व र पहिचान छ भनेर भन्छ । अर्कोले मेरो सामूहिक पहिचान छ भन्छ । तर, हर्कबहादुरको तामाङ पहिचान अर्को सामूहिकता हुन्जेलसम्म मात्र हुन्छ । तामाङबीचमा पसेपछि ऊ नुवाकोटको तामाङ होला, अर्को इटहरीको तामाङ होला ।

पहिचानको राजनीतिले सबैलाई एउटै सोलोडोलोमा हाल्छ । त्यसले केही समय काम गरे पनि सर्वकालिक रूपमा पहिचानको राजनीतिले काम गर्न सक्दैन । किनभने पहिचान परिवर्तन भइरहन्छ ।

कुनै समय केही प्राप्त भयो, त्यसलाई जगेर्ना गर्दै अगाडि बढाउन पहिचानको राजनीति हुन्छ । लोकतान्त्रिक राजनीतिले त्यसमा मध्यस्थता र सम्झौता गर्छ । लोकतन्त्र नभए पहिचानको अर्थ हुँदैन । अलोकतान्त्रिक देश वा समाज एकैथरी भएर बसिरहन्छ ।

साधनस्रोतसँग पहिचानको ठूलो सम्बन्ध छ । जग्गा, जमिन, जल, परम्पराको एकदम ठूलो महत्व छ । पहिचानको राजनीतिलाई सांस्कृतिक अवधारणाबाट हेर्‍यौं भने एकातिर पुगिन्छ, राजनीतिक अवधारणाबाट हेर्दा सम्झौतामा पुग्छौं ।

८० को दशकको क्षितिज

भनिन्छ, बिहानीले दिनको संकेत गर्छ । गत निर्वाचन र त्यसपछिको परिदृश्य हेर्दा मलाई नेपालमा गरिबको पार्टी रहेनछ भन्ने लाग्यो । कसैले पनि गरिबको कुरा गरेको देखिएन । अहिले गरिबको कुरा गर्नु भनेको आफैंलाई खुम्च्याउनु हो भने जस्तो देखियो ।

हामीसँग बुद्धि लगायत सबथोक छ, तर साधन–स्रोत परिचालन गर्न नसकेर हामी कमजोर भएका हौं भनिएको छ । केपी शर्मा ओली यो देशमा सबै कुरा छ, नकारात्मक कुरा केही गर्न हुन्न भन्नुहुन्छ । उहाँले नेपालमा गरिब देख्नुभएकै छैन । प्लेन हामीले नै बनाएको, भगवान हामीले नै सिर्जना गरेको, वेद–पुराण सबै हामीले लेखेको, म नै पूर्ण हुँ भन्ने समाजमा अरूलाई स्वीकार्न अप्ठ्यारो हुनेरहेछ ।

यो पूँजीवादको चरित्र नै के हो भने हरेक समाजमा कुनै न कुनै असन्तोष भइरहन्छ । त्यसलाई म पानी उम्लने भन्छु । पानी उम्लिइरहन्छ, तर पोखिंदैन । पोखिनका लागि दूध हुनुपर्दो रहेछ । नेपाली समाज पानी भएको हो कि ? यता मलाई चिन्ता लागिरहेको छ ।

तियान्मेन स्क्वायर घटनापछि चीनमा ठूलो विद्यार्थी आन्दोलन वा सामाजिक परिवर्तन सम्भव छैन भन्नेहरू छन् । नेपालमा चाहिं ८० को दशकमा सामाजिक आन्दोलनहरू अझ बढी सशक्त होऊन् भन्ने मलाई लाग्छ । समाज परिवर्तनको लागि विभिन्न फड्को मार्नैपर्छ, फड्केहरू तरिरहनै पर्छ । त्योबाहेक अरू उपाय छैन ।

पानीबाट दूध हुने हो भने मात्र नेपाली समाजमा गुणात्मक परिवर्तन सम्भव हुन्छ । त्यसका लागि नागरिक चेतनामा अझ बढी काम गर्नुपर्छ । जवाफदेहीको आन्दोलनमा अझ बढी लाग्नुपर्छ । मैले गरें, गरिनँ भनेर आत्म–मीमांसा पनि गर्न सक्नुपर्छ ।

हेर्नुहोस् हरि शर्मासँगको कुराकानी :

तस्वीर र भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
हरि शर्मा

लेखक राजनीतिशास्त्री हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?