 
																			पछिल्लो एक दशकमा नेपाली समाजमा भएका परिवर्तनको लामो सूची बनाउन सकिन्छ । यो सीमित शब्दहरूको लेख भने आमरूपमा नेपाली समाजलाई भित्रैदेखि प्रभाव पारेका मुख्य तीन प्रवृत्तिमाथि केन्द्रित छ । अघिल्लो दशकसँग तुलना गर्दा ७० को दशक नेपाली समाज राजनीतिक रूपमा स्थिर रहे पनि राजनीतिक आदर्शको अन्त्यको दशक बन्यो । यस्तै विपत्को त्राससँगै पूर्वतयारीमा अलमल देखियो र तीव्र बसाइँसराइसँगै सामाजिक संस्थाहरू भत्किन पुगे ।
संघीयताको कार्यान्वयन
७० को दशकमाथि समीक्षा गर्दा राजनीतिक रूपमा केही सकारात्मक र केही चिन्ताजनक पक्षहरू रहेका छन् । ७० को दशकको सुरुवातमा नेपालको राजनीति संविधान बन्ला कि नबन्ला ? संविधान बने पनि आफ्ना अधिकार समावेश होला कि नहोला, महत्वपूर्ण अधिकार नै नसमेटिएला कि ? भन्ने संशय थियो । साथै ! राजनीतिक, वैचारिक रूपमा तीव्र ध्रुवीकरण होला कि र संघीयताको नाममा देश जातीय द्वन्द्वको भुमरीमा पो पर्ला कि भन्ने उत्सुकता, चासो, चिन्ता व्याप्त थियो ।
यही पृष्ठभूमिमा बनेको संविधान केही सम्बोधन (संशोधन) गर्न सकिने विषय बाहेक जनअधिकारलाई सम्बोधन गर्ने गरी निर्माण भयो । उक्त संविधान निर्माण र संविधानको कार्यान्वयनको क्रममा भएका सबै तहका निर्वाचनहरू चिन्ता गरिएको भन्दा धेरै हदसम्म शान्तिपूर्ण रूपमा सम्पन्न भए । केही अपवाद अवश्य रहे, तर जसरी देशको राजनीतिक भविष्यलाई लिएर ६० को दशकमा चिन्ता व्यक्त भएका थिए, त्यसको तुलनामा शान्तिपूर्ण सम्पन्न भयो भन्न हिच्किचाउनु पर्दैन ।
६० को दशकमा संघीयता विरोधी शक्तिको पनि बलियो उपस्थिति थियो । संघीयताको कार्यान्वयनका लागि भएका स्थानीय तहका निर्वाचनबाट महिला र दलित महिलाको पनि उपस्थिति सुनिश्चित गर्यो । स्थानीय सरकारको प्रत्याभूतिले लोकतन्त्रलाई बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
वैचारिक राजनीतिको अन्त्य
यता, ७० को दशक राजनीतिक मूल्य-मान्यतामा क्षयीकरण हुँदै मूल्य, मान्यताविहीन बन्ने क्रममा छ । नेताहरू जे बिक्छ, त्यही बोलिरहेका छन्, जे गर्दा भोट प्राप्त हुन्छ, त्यही गरिरहेका छन् । एकै दिन आफ्नो अघिल्लो अभिव्यक्ति खण्डन हुने गरी परस्पर विरोधी अभिव्यक्ति दिने नेतालाई पनि समाजले स्वीकार्न थालेको छ । राजनीतिक प्रतिबद्धता, नैतिकता, आदर्श जस्ता सवाल ‘पद र पहुँच नहुँदासम्मका गुनासा’ मा सीमित हुन पुगेका छन् । आदर्श र नैतिकताका कुरा गर्नेलाई अर्को कुनै समाजबाट आएको मानिसको रूपमा समाजले लिन थालेको छ । अर्थात् आम रूपमा राजनीतिक पद र पहुँच सर्वोपरि भएको छ ।
संघीय गणतन्त्रको लागि युद्ध गरेको नेकपा माओवादी केन्द्र र राजसंस्था पुनःस्थापनाको वकालत गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीयताबारे अस्पष्ट मत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको भाषा, एजेण्डा र जनजीविकाका सवालमा उनीहरूले गरिरहेको बेवास्ता उस्तै छन् । हरेक राजनीतिक नेता उस्तै-उस्तै भएपछि जीवनभर जनवादी गीत गाउनुभएका रामेश दाइले ‘यो व्यवस्था भन्दा पञ्चायत ठिक’ भन्दा पनि अचम्म नलाग्ने अवस्था बन्यो ।
त्यसो त राजनीतिमा मात्रै नैतिकता र आदर्शको क्षयीकरण भएको होइन, सामाजिक आन्दोलनहरू पनि आम रूपमा कमजोर बन्दै गएमा छन् । प्रदेशका नामकरणमा पुरानै नामको निरन्तरता विरुद्ध झिनो आवाज उठ्नु यसैको उदाहरण हो । त्यसमाथि सामाजिक आन्दोलनहरू भित्रै नैतिकताको सवाल मधुरो मधुरो मात्रै सुनिन्छ । महिला, दलित र सीमान्तकृतका सवालमा सामाजिक (जसलाई नागरिक आन्दोलन पनि भन्न सकिन्छ) आन्दोलन भित्रै बेवास्ताहरू छन् । घरेलु हिंसा र यौनजन्य दुर्व्यवहारको विरुद्ध उठेका आवाजलाई अहिले मूलधारमा रहेको नागरिक आन्दोलनले गरेको बेवास्तालाई नै उदाहरणको रूपमा लिन सकिन्छ । राजनीतिमा आएको आदर्शविहीनताले सकेसम्म चुपचाप बस्ने नसके देशै छोडेर जाने मानसिकतामा धेरैलाई पुर्याएको छ ।
बलिया विपत्, कमजोर पूर्वतयारी
प्राकृतिक विपत्लाई छोडेर गरिने ७० दशकको विश्लेषण अपूरो हुन्छ । ७० को दशकमा नेपाली समाज ठूला दुई प्राकृतिक विपत् र तुलनात्मक सानातिना धेरै प्राकृतिक, प्राविधिक विपत्तिको सामना गर्नुपर्यो । यसले नेपाली समाजमा विपत्प्रतिको सोच, यसलाई सम्बोधन गर्ने पूर्वतयारी, विपत्लाई सम्बोधन गर्न नेपालको सरकार र समाजका सीमा र भविष्यका लागि गर्नुपर्ने कामबारे लामो बहस छोडेर गएको छ ।
२०७२ सालको भूकम्पले घरभित्र पस्न नपाउने त्रास र कोभिड-१९ ले घर बाहिर निस्कँदा हुने त्राससँग साक्षात्कार गराएर गयो । साथै विभिन्न प्रकारका प्राकृतिक विपत्को निरन्तरता र बढ्दो प्राविधिक विपत्ले पनि समाजलाई नराम्ररी झस्काइरहेको छ ।
सतहबाट हेर्दा २०७२ सालको भूकम्प र कोभिड-१९ महाव्याधिको विपत्सँग लडेर नेपाली समाज लयमा फर्केको जस्तो देखिन्छ । तर, समाजमा पसेर हेर्ने हो भने दुई ठूला विपत् र अन्य कैयौं विपत् सँगसँगै नेपाली समाजको लय बिग्रेको छ । नेपाली समाजको लय बिग्रनुमा अरू पनि कारण छन्, पछिल्ला विपत् पनि एउटा कारण हो ।
८० को दशकमा पनि प्राकृतिक र प्राविधिक दुवै प्रकोपको जोखिम छन् । प्राकृतिक स्रोतमाथिको तीव्र दोहन बढिरहेकै छ । मनलाग्दी व्यापारीकरण वा व्यावसायिकीकरण उस्तै छ । यसको उदाहरण, विकासका नाममा चलाइएको डोजर आतंकलाई लिन सकिन्छ, जसले नेपाली पहाडको प्राकृतिक चक्रलाई धेरै हदसम्म भत्काउँदै गएको छ ।
वैश्विक तापमान वृद्धिले ल्याउने विपत् न्यूनीकरण गर्न भन्दै सरकारी वा गैरसरकारी ‘प्रोजेक्टहरू’ प्रशस्तै चलेका छन् । तर, आवश्यकता अनुरूप समाजमा यी प्रकोप विरुद्धको पूर्वतयारी भइरहेको छैन । राजनीतिक खिचातानी र ठूला-ठूला प्राकृतिक विपत्का बहसमा प्राविधिक विपत्का बहसहरू ओझेलमा पर्ने गरेका छन् जबकि प्राविधिक प्रकोपहरू बढ्दो क्रममा छन् । जो माथि विपत् आइलाग्यो उसैले चेत्नुपर्ने अवस्था देखिन्छ ।
तीव्र बसाइँसराइ र भत्किंदा सामाजिक संस्था
७० को दशकमा नेपाली समाजमा इतिहासमै नभएको बसाइँसराइ भयो । रोजगारीको लागि विदेश जाने क्रम धेरै पहिलेदेखि थियो नै । नेपालभित्रै पनि एक ठाउँबाट अर्को ठाउँमा सधैंभरिलाई बसाइँ सर्ने चलन पनि राणाशासनको अन्त्यसँगै विकास भयो । औलो उन्मूलन पछि तीव्र रूपमा पहाडबाट तराई सर्ने क्रम बढ्न थाल्यो । त्यस्तै पञ्चायती व्यवस्थाको अन्त्य, प्रजातन्त्रको पुनस्र्थापना र उदार अर्थ-व्यवस्थाको सबलीकरणसँगै गाउँबाट शहर र शहरबाट विदेशमा बसाइँ सर्ने क्रम २०४६ सालबाटै बढिरहेको थियो । तर, लाखौं रुपैयाँ दलाललाई बुझाएर, जोखिमपूर्ण यात्रा गरेर, शरणार्थी बनेर, कागजी सम्बन्धविच्छेद वा विवाह लगायतका जस्तोसुकै माध्यम अपनाएर भए पनि सधैंभरिको लागि देश नै छोडेर जाने जुन क्रम चलेको छ, त्यो निकै चिन्ताजनक छ ।
यो प्रकारको बसाइँसराइसँगै नेपाली समाजका सामाजिक संस्था (परिवार, विवाह, शिक्षा, अर्थतन्त्र)हरू भत्किने क्रममा रहेका छन् । फलतः गाउँहरू युवा र बालबालिकाविहीन वृद्ध बस्तीमा रूपान्तरण भएका छन्, बालबालिका शहरमा आफन्तविहीन अवस्थामा हुर्कंदै छन् भने युवा विदेशमा परिवारविहीन अवस्थामा रहेका छन् । बसाइँसराइको प्रभावले मानिसलाई मानिसबाट अलग बनाउँदै छ । सम्बन्धहरू क्षणिक रूपमा बन्ने र भत्कने क्रममा छन् ।
५० को दशकमा घनाबस्ती रहेका कतिपय गाउँ खण्डहरमा परिणत हुँदै गएका छन् । आर्थिक रूपमा खेतीयोग्य जमिनहरू मात्रै बञ्जर बनिरहेका छैनन्, सँगसँगै खाद्यान्नमा नेपालको परनिर्भरता बढ्दो छ । शैक्षिक रूपमा गाउँ-गाउँमा खुलेका विद्यालय बन्द हुने क्रममा रहेका छन् भने शहरका विश्वविद्यालयमा विद्यार्थी घट्दो मात्रामा छन् । पढ्नुको मुख्य ध्येय विदेश जानु बन्दै छ । ८० को दशकमा यो क्रम अझ तीव्र हुने सम्भावना छ ।
 
                









 
                     
                                     
                                 
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4