+
+

संवादहीनता तोड्दै एमाले सचिव भट्टको घरमा पुगे प्रचण्ड

जनक विष्ट जनक विष्ट
२०७९ चैत २६ गते २०:३९

२६ चैत, धनगढी । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका सचिव लेखराज भट्टको अत्तरियास्थित घरमा पुगेका छन् ।

तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनका बेला भट्ट केपी शर्मा ओलीतिर लागेपछि दुई नेताबीच सम्वाद टुटेको थियो । कतिसम्म भने प्रचण्डले सार्वजनिक मञ्चमै भट्टलाई ‘दलालको पनि दलाल’को संज्ञा दिएका थिए ।

तर आइतबार आफैं भट्टको घरमा पुगेका हुन् । नेताहरुको यो भेट दुबै पक्षको रुचिमा भएको हो । माओवादीका स्थानीय नेताहरुसँग सम्वादमा रहेका भट्टले प्रचण्ड सुदूरपश्चिम आउँदा आफ्नो घरमा स्वागत गर्न तयार रहेको सन्देश पठाएका थिए । त्यो सूचना पाएपछि सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा जाने क्रममा प्रचण्ड भट्टको घरमा जान तयार भए ।

‘प्रधानमन्त्रीज्यूले हिजो बिहान उहाँ (भट्ट) लाई फोन गरेर म आउँदैछु । तपाईंको निवासमा चिया पिएर महेन्द्रनगर जान्छु भन्नुभएको थियो’, एमाले सचिव भट्टका स्वकीय सचिव हितेश ओझाले भने, ‘प्रधानमन्त्री घरमा आउनुभएपछि अतिथिका रुपमा स्वागत गर्नुभएको हो । यो नितान्त पारिवारिक भेटघाट हो ।’

भेटपछि प्रधानमन्त्री प्रचण्डले समेत भट्टको घरसँग आफ्नो ४० वर्षदेखि सम्बन्ध रहेकाले आएको बताए । ‘यहाँमाथि एउटा म बस्ने कोठा छ, जहाँ मैले खाने बस्ने गर्थें’, भेटपछि पत्रकारहरुसँग प्रचण्डले भने, ‘त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हुँ ।’

प्रचण्ड करिव आधा घण्टा भट्टको घरमा बसे । त्यसक्रममा करिव १० मिनेट दुई जनाबीच मात्र कुराकानी भएको थियो । भेटमा के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । ‘जहाँ भए पनि टीआरसी (संक्रमणकालीन न्याय) लगायतका विषयका माओवादी इतिहासका विषयले हामीलाई एकठाउँमा ल्याउँछ’, प्रचण्ड निकट स्रोतले भन्यो, ‘भेटमा समसाययिक विषयमा पनि कुराकानी भएको छ ।’

माओवादीका केन्द्रीय सदस्य ओमबिक्रम भाटले पनि आइतबार भएको भेट संवादहीनता तोड्न महत्वपूर्ण भएको बताए । ‘नेकपा विभाजनपछि उहाँहरुबीच जुन खालको संवादहीनता र तिक्तता थियो, यो भेटले त्यसलाई चिरेको छ’, भाटले अनलाइनखबरसँग भने, ‘जनयुद्धमा सँगै काम गरेका नेताहरुका बीचमा युद्धकालीन मुद्दामाथि हमला भइरहेको विषयमा पनि छलफल भएको छ ।’

एमाले नेताहरुले भने दुई नेताको भेटलाई अस्वभाविक मान्न नहुने टिप्पणी गरेका छन् । नेताहरुकाअनुसार प्रदेश इन्चार्ज भट्टले प्रधानमन्त्री प्रचण्डसँग आइतबार हुने भेटवार्ताबारे शनिबार नै पार्टीका नेताहरुलाई जानकारी गराएका थिए ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?