+
+

माओवादी नेतालाई जेल कोच्ने सपना पूरा हुने छैन : सांसद महरा

प्रहरी जवान हर्कस विष्टको सम्पूर्ण उपचार खर्च व्यहोर्न सरकारसँग माग

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २७ गते १३:५१

२७ चैत, काठमाडौं । राष्ट्रिय सभाका सदस्य महेश कुमार महराले विस्तृत शान्ति सम्झौतालाई भंग गर्ने प्रयासहरु हुन थालेको बताएका छन् ।

सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद महराले भने, ‘विस्तृत शान्ति सम्झौतालाई भंग गरेर फेरि देशलाई द्वन्द्वतिर लैजाने किसिमका अभिव्यक्तिहरु, घटनाक्रमहरु भइरहेका छन् ।’

१० वर्षे जनयुद्धको जगमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको उल्लेख गर्दै उनले त्यसलाई अन्यथा ब्याख्या नगर्न आग्रह गरे । जनयुद्धले ल्याएको उपलब्धि मान्ने तर, जनयुद्धलाई नमान्ने हुन नसक्ने उनले बताए ।

जनयुद्धलाई अपराधीकरण गरेर माओवादी नेताहरुलाई जेल हाल्ने सपना नदेख्न आग्रह गर्दै उनले भने, ‘शान्ति प्रक्रियालाई अल्झ्याएर माओवादी नेताहरुलाई जेल कोच्ने सपना जुन देखिरहेको छ । कसैले त्यो सपना देख्छ भने त्यो दिवा सपना हुनेछ । त्यो पूरा हुने छैन ।’

प्रहरी जवान विष्टको उपचार खर्च व्यहोर्न सरकारसँग माग

उनले हाल काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइरहेका प्रहरी जवान हर्कस विष्टको सम्पूर्ण उपचार खर्च व्यहोर्न सरकारसँग माग गरे । खर्च अभावमा उनको उपचारमा कठिनाइ भइरहेको उल्लेख गर्दै सांसद महराले उपचारको जिम्मेवारी तत्काल लिन सरकार र नेपाल प्रहरीको ध्यानाकर्षण गराए ।

टाउकोमा नसाको समस्याबाट पीडित प्रहरी जवान विष्टको हाल उपचार खर्चको अभावमा चन्दा संकलन कार्य भइरहेको छ । यस्तो अवस्थामा पनि सरकारले उनको उपचारमा चासो नदिएको बताउँदै सांसद महराले भने, ‘प्रहरी जवान हर्कस विष्ट, उहाँको घर डडेलधुरा हो । उहाँको दरबन्दी प्रदेश प्रमुखको कार्यालयमा थियो । उहाँको उपचार गर्न राज्य किन बेखबर भयो ? अहिले चन्दा उठाएर उपचार गरिरहेको अवस्था छ । कसैले दान गरेको भरमा २ हजार, ३ हजार यस्तै दाताहरुको भरमा सुरक्षाकर्मीको, राष्ट्रसेवक कर्मचारीको अस्पतालको शैयामा जीवन जिउन विवश भएका छन् । अब राज्यको उनको उपचारको सम्पूर्ण जिम्मा लिनु पर्दछ । किन भने राज्य अभिभावक हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?