+
+

कांग्रेसमा करिब टुंगियो मन्त्रीको नाम, थपिए सुरेन्द्र आचार्य

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २९ गते २०:१२
कांग्रेस नेता सुरेन्द्रराज आचार्य ।

२९ चैत, काठमाडौं । नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरुको नाम लगभग टुंगिएको छ । नेताहरुका अनुसार आजभोलिमै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।

सत्तारुढ दलहरुबीच भएको भागबण्डामा कांग्रेसले ८ वटा मन्त्रालय लिने सहमति भएको थियो । तर आन्तरिक भागबण्डा नमिलेपछि कांग्रेसले १७ चैतमा ४ जना मात्र मन्त्री पठायो । शेखर कोइराला–गगन थापा समूहले कम्तीमा ३ मन्त्री पाउनुपर्ने अडान राखेपछि सभापति शेरबहादुर देउवाले आफ्नो समूहका चार नेतालाई मात्र मन्त्री बनाएका थिए ।

स्रोतका अनुसार थप एउटा मन्त्री लिएर भागबण्डा टुंग्याउने प्रयास भइरहेको छ ।

अब उपसभापति धनराज गुरुङ, नेताहरु एनपी साउद, मोहन बस्नेत, डिगबहादुर लिम्बु र सुरेन्द्र आचार्य मन्त्री हुनेछन् । साउद र बस्नेत संस्थापन समूहका हुन् । साउद परराष्ट्र मन्त्री बन्ने सम्भावना छ भने बस्नेतले स्वास्थ्य तथा जनसंख्या मन्त्री दाबी गर्दै आएका छन् । डिगबहादुर लिम्बुलाई कानुन भनिएको छ, तर उनले यसमा रुचि देखाएका छैनन् ।

शेखर–गगन समूहले थप एउटा मन्त्री पाउँदा सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेमध्ये एक जाने थिए । स्रोतका अनुसार देउवाले ६/२ को भागबण्डा नगर्दै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सुरुमा केन्द्रीय सदस्य प्रदीप पौडेलका लागि लबिङ गरेका थिए ।

तर संसदीय दलको चुनावमा साथ नदिएका प्रदीपलाई मन्त्री बनाउन देउवा तयार भएनन् । त्यसपछि शेखर समूहबाट सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेमध्ये एक जना मन्त्री हुने सम्भावना थियो । प्रत्यक्ष चुनाव जितेका कारण पाण्डेको सम्भावना रहेको नेताहरुले बताएका थिए ।

तर उनलाई रोकेर सुरेन्द्र आचार्य मन्त्री बन्ने पक्का जस्तै भएको नेताहरु बताउँछन् ।

एक नेताका अनुसार हाल महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहेका महेन्द्र राय यादवले अर्को मन्त्रालय मागेका कारण मन्त्रिपरिषद विस्तारमा ढिला भएको हो । ‘आज त सम्भव नहोला, भोलितिर होला’, एक नेता भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?