+
+

वातावरणमैत्री खाना कस्तो हुन्छ ? वैज्ञानिक यसो भन्छन्

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३० गते १३:३४

हाम्रो खानेकुराको छनोटले वातावरण तथा जलवायु परिवर्तनमा महत्वपूर्ण प्रभाव पारेको हुन्छ । खडेरी तथा रोगब्याधीले खाद्यप्रणालीलाई जोखिममा पारिरहेको बेला हामीले अहिले जे खाइरहेका छौं त्यसमा परिवर्तनको प्रयास गर्नु निकै महत्वपूर्ण बनिसकेको छ ।

तर खुसीको कुरा के भने हामी जुन खानेकुरासँग अभ्यस्त हुने सम्भावना छ, त्यो नै खाद्य सुरक्षा तथा जैविक विविधताको लागि सबैभन्दा उपयुक्त भएको ठहर वैज्ञानिकहरुले गरेका छन् ।

गत महिना प्रकाशित एक शोध अनुसार त्यस्तो खानेकुरा खाने बानी बसालियो भने त्यसले जलवायु परिवर्तन र नसर्ने रोग दुवैको दोहोर भारसँग लड्न सहयोग गर्दछ ।

हाम्रो खानेकुराको छनोटले कसरी वातावरणलाई प्रभावित गर्दछ ?

यो शताब्दीको अन्त्यसम्ममा विश्वको जनसंख्या १० अर्ब ९० करोड पुग्ने प्रक्षेपण छ । यस्तोमा खाद्यान्नको माग धान्नेगरी आपूर्ति गर्नका लागि अहिलेको तुलनामा खाद्यान्नको उत्पादन ५० प्रतिशतले बढाउनुपर्ने विश्व खाद्य तथा कृषि संगठनले जनाएको छ ।

यसले दीगो वृद्धिमा असर पार्नुका साथै प्राकृतिक श्रोतमाथि दबाब सिर्जना गर्नेछ ।

Advances in Nutrition जर्नलमा छापिएको शोध अनुसार विद्यमान कृषि तथा खाद्य प्रणाली नै जलवायु परिवर्तन तथा वातावरणीय क्षयीकरणका प्रमुख कारक तत्वको रुपमा रहेका छन् ।

ग्रिक शोधकर्ताहरुले गरेको उक्त अध्ययन अनुसार विश्वमा विश्वको कूल भूमिको ४० प्रतिशत कृषि उत्पादनका लागि प्रयोग भइरहेको छ । त्यस्तै कुल कृषिभूमिको ७५ प्रतिशत चाहिं घरपालुवा जनावरहरुको पालन तथा घरपालुवा जनावरका लागि खानेकुराको उत्पादनमा प्रयोग भएको छ ।

यस्तोमा सिँचाइ, मलखाद तथा किटनासक औषधिको प्रयोगले प्राकृतिक संशाधनमा क्षयीकरण गर्नुका साथै वातावरणीय विमानस निम्त्याउने शोधकर्ताहरु बताउँछन् ।

शोधकर्ताका अनुसार विश्वको कुल ताजा पानी उपयोगको उल्लेख्य हिस्सा खाद्यान्न उत्पादनमा खर्च हुने गरेको छ र कृषि उत्पादन क्षेत्रले विश्व हरितगृह ग्यास उत्सर्जनको ३० प्रतिशत हिस्सा ओगटेको छ ।

वातावरणका लागि कस्तो आहार उत्तम ?

उल्लेखित अध्ययनका क्रममा शोधकर्ताहरुले दिगो विकास तथा खाद्य सुरक्षाका लागि विभिन्न प्रकारका खानाहरुको तुलनात्मक फाइदाको बारेमा विश्लेषण गरे ।

ग्रिसका विभिन्न विश्वविद्यालयका ती शोधकर्ता वैज्ञानिकहरुले भूमध्यरेखीय मुलुकहरुका मानिसहरुको आहारसँग बेल्जियम, स्विजरल्याण्ड, जर्मनी, अष्ट्रिया, डेनमार्क तथा स्विडेन लगायतका पश्चिमा आहारसँग दाँजेका थिए ।

आहारको वातावरणीय प्रभावका बारेमा गरिएको तुलनात्मक अध्ययनबाट शोधकर्ताहरुले भूमध्यरेखीय आहार हाम्रो धर्तीका लागि सबैभन्दा उत्तम रहेको निष्कर्ष निकालेका छन् ।

त्यसमा पनि इटाली, साइप्रस तथा गि्रसजस्ता मुलुकमा खाइने खानेकुराहरु जैविक विविधता तथा खाद्य वनस्पतीजन्य विविधताका दृष्टिले सर्वाधिक उपयुक्त रहेको शोधकर्ताहरुको निष्कर्ष छ ।

भूमध्य आहार जैविक विविधताका लागि उत्तम

भूमध्यरेखीय क्षेत्रका मानिसले गर्ने भोजनमा वनस्पतीमा आधारित खानेकुराहरु जस्तै सागपात, फलफूल तथा अन्नको मात्रा बढि हुन्छ भने जनावरजन्य उत्पादनको मात्रा तुलनात्मक रुपमा कम हुन्छ । यद्यपि यसमा पनि खानेकुरामा देशगत रुपमा फरक फरक रहेको छ ।

यसको अर्थ यस्ता खानेकुराहरु हाम्रो स्वास्थ्यका लागि समेत फाइदाजनक हुन्छन् जसले विभिन्न खालका जटिल रोगको खतरा न्यून गर्दछ र वातावरणमा पनि कम हानी गर्दछ ।

पश्चिमा प्रकारको आहारमा भन्दा भूमध्यरेखीय आहारमा कृषिजन्य जैविक विविधताका साथै खाद्य वनस्पतीजन्य र प्रजातिगत विविधता उच्च रहेको अध्ययनले देखाएको छ । त्यस्ता खानेकुराको उत्पादनमा कम हरितगृह ग्यास उत्सर्जन हुनुका साथै पानीको खपत, जमिन उपयोगको मात्रा तथा उर्जाको खपत पनि कम हुने ठहर शोधकर्ताको छ ।

जबकि मासु, दुधजन्य उत्पादन र प्रोसेस गरिएका खानेकुराहरुको बाहुल्य रहने पश्चिमा आहारको उत्पादनमा त्यस्तो कृषि उत्पादन विधिको प्रयोग हुन्छ जसले पर्यावरणमा हानी पूराउनुका साथै जिवाश्म इन्धनको प्रयोग र हरितगृह ग्यासको उत्सर्जनमा पनि बढाउँछ ।

भूमध्यरेखीय आहार कसरी खाने ?

यस्तो आहारतिर लाग्नका लागि तपाइँले फलफूल तथा सागपातसँगै ओट्स, ब्राउन राइस तथा गहुँको च्याँख्ला सहितको पिठोबाट तयार ब्रेड (whole wheat bread) लाई आफ्नो मुख्य खानेकुरा बनाउनु पर्दछ ।

त्यस्तै सिमी, मुसुरो, केराउजस्ता प्रोटिनका उच्च श्रोतको रुपमा रहेका कोसेबालीहरुका साथै ओलिभ तेल तथा एभोकाडो समेत नियमित रुपमा खानु पर्दछ ।

त्यसको विपरित प्रोसेस गरिएको मासु जस्तै ससेज, हट डगका साथै ह्वाइट ब्रेडजस्ता रिफाइन गरिएका अन्न जस्ता खानेकुराको प्रयोग कम गर्नु पर्दछ ।

युरोन्यूजबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?