+
+

सर्लाहीको गोडैतामा भत्ता लिन नागरिकतामा उमेर नै हेरफेर

दिपेश शाही दिपेश शाही
२०७९ चैत ३० गते २०:५६

२९ चैत, काठमाडौं । सर्लाहीको गोडैता नगरपालिका–७ मा व्यक्तिलाई उमेर बढाएर ज्येष्ठ नागरिक भत्ता दिएको खुलेको छ ।

अनलाइनखबरलाई प्राप्त जेष्ठ नगारिक भत्ता सिफारिस सूची र मतदाता नामावलीमा एउटै व्यक्तिको फरक फरक जन्ममिति उल्लेख भएको पाइएको छ । कतिपयले भने भत्ता लिनकै लागि नयाँ नागरिकता बनाएको पाइएको छ ।

गोडैता नगरपालिका–७ स्थित वडा कार्यालयबाट सूचनाको हकसम्बन्धी ऐन अनुसार प्राप्त सूचनामा ठेगाना, बुबा र आमाको नाम पुरानो नागरिकतासँग मिल्छ, तर उमेर मात्र बढाएर अर्को नागरिकता बनाएको देखिएको छ ।

गोडैता नगरपालिका–७ का वडाध्यक्ष दिनेककुमार दासले नागरिकता बनाउने काम जिल्ला प्रशासन कार्यालय र सामाजिक सुरक्षा भत्ता दिने काम नगरपालिकाको भएकाले वडाध्यक्षको जिम्मेवारी नहुने बताए ।

‘जेष्ठ नागरिकको भत्ता वितरण गर्ने काम नगरपालिकाको हो । हामीलाई जानकारी हुँदैन । यदि त्यस्तो घटना हामीसम्म आयो भने हामीले नगरपालिकालाई जानकारी गराउने काम गर्छौँ । मैले वडाको सचिवलाई यस विषयमा नगरपालिकालाई जानकारी गराउन भनेको छु,’ वडाध्यक्ष दासले भने ।

तर अनलाइनखबरलाई प्राप्त कागजातमा वडाध्यक्ष स्वयंको नातागोता र सहयोगीहरूले जन्ममिति परिवर्तन गरेर ज्येष्ठ नागरिकता भत्ता लिएको देखिएको छ ।

दासकी आमा सुनैना देवीले पनि नागरिकतामा उमेर परिवर्तन गरेर जेष्ठ नागरिक भत्ता लिएको देखिन्छ । तर, दासले आफ्नो बुबाको २० वर्ष पहिल्यै मृत्यु भएका कारण एकल महिलाको भत्ता मात्रै लिएको दाबी गरे । तर, सामाजिक सुरक्षा प्राप्त गर्नेहरुको सूचीमा उनले जेष्ठ नागरिक भत्ता लिएको देखिन्छ ।

नगरपालिकाका कार्यकारी अधिकृत रमेशप्रसाद यादव अहिलेसम्म यस्ता घटनाको विषयमा कुनै सूचना नआएको बताए । ‘साउन र भदौमा नयाँको दर्ता र पुरानाको नविकरण गरिन्छ । हामी त्यसलाई ल्याएर अनलाइनमा दर्ता गर्छौं । त्यसमा व्यक्तिले ल्याएको सक्कल नागरिकता र अनलाइनमा उपलब्ध विवरण मिलेको खण्डमा मात्रै भत्ता खातामा राखिन्छ’, कार्यकारी अधिकृत यादव भन्छन्, ‘मतदाता नामावली संकलन गर्दा नागरिकता नर्हेने हुँदा त्यसको त्यति विश्वास गर्न सकिँदैन ।’

यादव नागरिकता दुईवटा लिएको पाइए त्यो आफ्नो क्षेत्राधिकारको विषय नभएकाले जारी गर्ने निकाय नै जिम्मेवार हुने बताउँछन् । ‘यसमा अनुसन्धान भयो भने जिल्ला प्रशासन तानिन्छ’ उनी भन्छन् ।

भत्ता लिन छुट्टै नागरिकता

सूचनाको हक अनुसार प्राप्त सूचीअनुसार सुनैना देवी कथबनियाको जन्म मिति ज्येष्ठ नागारिक भत्ता सिफारिस सूची र मतदाता नामावलीमा परिवर्तन गरिएको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको सूचीमा सुनैना देवीको जन्ममिति, नागरिकता र मतदाता नामावलीमा १० वर्षको फरक देखिन्छ । मतदाता नामावली र भत्ता सिफारिस पत्रमा बुबा र आमाको नाम तथा नागरिकता नम्बर एउटै उल्लेख छ ।

सुनैना देवी गोडैता नगरपालिका–७ का वडाध्यक्ष दिनेशकुमार दासकी काकी नाता पर्छिन् । दास २०७४ मा पहिलोपटक तत्कालिन राजपा र ०७९ मा दोस्रोपटक लोसपाबाट निरन्तर वडाध्यक्षमा निर्वाचित भएका जनप्रतिनिधि हुन् ।

त्यस्तै दिनेश दास कथबनियाको जन्म मिति परिवर्तन गरिएको छ, जसको नागरिकता नम्बर नै दुईवटा देखिन्छ । उनको जन्ममिति नागरिकता र मतदाता नामावलीमा २०१४–१०–१५ गते उल्लेख छ, तर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको सूचीमा १० वर्ष कम उल्लेख गरिएको छ । दिनेश वडा नम्बर ७ का कार्यालय सहयोगी रवीन्द्र दास कथबनियाका बुबा हुन् ।

जेष्ठ नगारिक भत्ताका लागि सिफारिस भएका राम लोचन दासको पनि जन्म मिति परिवर्तन गरिएको छ । मतदाता नामावली र पुरानो नागरिकता अनुसार उनको जन्ममिति २०१९–६–९ गते भएको देखिन्छ । तर सामाजिक सुरक्षा प्राप्त गर्नेको सूचीमा उनको जन्ममिति २००८–६–९ गते उल्लेख छ । यसबाहेक दुवै कागजातमा बुबाआमाको नाम र नागरिकता नम्बर एउटै उल्लेख छ ।

रामलोचन दासकै श्रीमती प्रेमकला देवीको पनि जन्ममिति परिवर्तन गरेर जेष्ठ नगारिक भत्ता बुझेको पाइएको छ । मतदाता नामावलीअनुसार एउटै नम्बरको पुरानो नागरिकतामा जन्ममिति २०२९–५–९ छ भने, सामाजिक सुरक्षा भत्ता बुझेको विवरणमा २००८–९–१२ गते उल्लेख छ ।

त्यस्तै अर्का व्यक्ति हरिनारायण राउतको पनि नयाँ नागरिकता बनाएर विवरण परिवर्तन गरिएको छ । पुरानो नागरिकता र मतदाता नामावलीमा जन्ममिति २०१९–२–६ गते उल्लेख भएकोमा सामाजिक सुरक्षा प्राप्त गरेको विवरणमा अन्य विवरणबाहेक नागरिकता नम्बर र जन्ममिति परिवर्तन गरिएको छ । नयाँ नागरिकताअनुसार उनको जन्ममिति २००७–२–३० गते बनाइएको छ ।

नागरिकता नम्बर परिवर्तन नगरिकनै जन्ममिति मात्रै सच्याइएका अर्का व्यक्ति हुन्, अकुल दास । मतदाता नामावली बनाइएको नागरिकताअनुसार उनको जन्ममिति २०२३–१०–२३ गते छ । तर सामाजिक सुरक्षा भत्ता बुझेको नागरिकताअनुसार उनको जन्ममिति २००८–१०–२३ गते रहेको उल्लेख छ । नागरिकता नम्बर भने एउटै छ ।

कैलास दासको पनि एउटै नागरिकता नम्बरमा दुईवटा फरकफरक जन्ममिति उल्लेख छ । मतदाता नामावलीअनुसार उनको जन्ममिति २०१९–१२–०१ गते । जेष्ठ नागरिक भत्ता बुझेको कागजातमा उनको जन्ममिति २००९–१२–०१ गते उल्लेख छ ।

जेष्ठ नागरिक भत्ता बुझेकी मनतोरणी देवी कथबनियाको नागरिकता नम्बर नै मतदाता नामावली र सामाजिक सुरक्षा भत्ता बुझेको विवरणमा फरकफरपक देखिन्छ ।
मतदाता नामावलीमा भएको नागरिकताको एउटा छ भने ज्येष्ठ नागरिक भत्ता बुझेको विवरणमा अर्कै छ । मतदाता नामावलीमा उनको जन्ममिति २०१३–१२–२२ गते छ भने सामाजिक सुरक्षा बुझेको विवरणमा २००८–१२–२२ गते उल्लेख छ ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?