+
+

टिआरसीमा छलफल चलिरहँदा नेपाली नेताहरु कोलम्बियामा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३० गते १७:०९

३० चैत, काठमाडौं । संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई टुंगो लगाउनुअघि सांसदहरुको एउटा टोली कोलम्बिया भ्रमणमा गएको छ । नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा नेताहरु कोलम्बिया गएका हुन् ।

टोलीमा नेम्वाङसहित नेताहरु प्रदीप ज्ञवाली, रमेश लेखक, राधेश्याम अधिकारी, खिमलाल देवकोटा छन् । उनीहरुसँगै रथी चित्रबहादुर गुरुङ र पवन पाण्डे पनि सहभागी छन् ।

नेता खिमलाल देवकोटाका अनुसार उनीहरु कोलम्बियाको राजधानी बोगोटामा छन् । जहाँ संक्रमणकालीन न्याय सम्बन्धी अन्तराष्ट्रिय अनुभव आदानप्रदान र नेपालको सन्दर्भमा अपनाउन सकिने शान्ति प्रक्रियाको विषयमा छलफल चलिरहेको छ ।

गत सोमबारदेखि नेपाली टोली छलफल र अनुभव आदानप्रदानसँग सम्बन्धित औपचारिक कार्यक्रमहरुमा सहभागी छ ।

त्यसक्रममा कोलम्बियाका पूर्वमन्त्री जुआन फर्नान्डो क्रिस्टो, पूर्व जनरल अल्बर्टो मेजी र सेवानिवृत्त कर्णेल भिन्सेन्ट सार्मिएन्टोसँग नेपाली टोलीले छलफल गरेको छ । जहाँ शान्ति प्रक्रियामा सरकारको पहल र शान्ति प्रक्रियाका चुनौतिहरूबारे छलफल भएको छ ।

नेपाली टोलीले कोलम्बियाली विद्रोही समूहको तर्फबाट शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका वकिल डिएगो मार्टिनेजसँग पनि छलफल गरेका छन् । जसमा विद्रोहीहरूले वार्ता र शान्ति प्रक्रियाको समयमा भोग्नुपरेका समस्याका बारेमा छलफल भएको छ ।

नेता देवकोटाका अनुसार द्वन्द्वको नतिजा र द्वन्द्वपीडितलाई क्षतिपूर्ति दिने सम्बन्धमा क्षतिपूर्ति विभागका पूर्व उपनिर्देशक आइरिस मार्टिन ओरिजसँग नेपाली टोलीले छलफल गरेको छ । कोलम्बिया भ्रमण सकेर नेपाली टोली आगामी शनिबार स्वदेश फर्कने छ ।

नेपालमा पनि तत्कालीन माओवादीद्वारा सञ्चालित १० वर्षे सशस्त्र युद्धको अन्त्य पश्चातको शान्ति प्रक्रियाका केही विषयको टुंगो लाग्न बाँकी छ । खासगरी द्वन्द्वकालमा भएका घटनाहरु र पीडितलाई क्षतिपूर्ति र गम्भीर मानव अधिकार उलंघन उपरको कारबाही लगायतका विषय टुंगिन बाँकी छ ।

संक्रमणकालीन न्यायलाई टुंगो लगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा दर्ता गरेको विधेयकका विषयमा राजनीतिक दलहरुका बीचमा छलफल चलिरहेका बेला नेपाली टोली कोलम्बिया भ्रमणमा गएको हो । कोलम्बियामा हुने छलफलले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन सहयोग पुग्ने विश्वास लिएको नेता देवकोटाले सामाजिक सञ्जालमार्फत व्यक्त गरेका छन् ।

कोलम्बियामा सरकार र विद्रोही समूह फार्कबीच आधा दशक चलेको द्वन्द्व समाधान भएर शान्ति कायम भएको छ ।

पाँच दशक लामो द्वन्द्वमा त्यहाँ २ लाख २० हजार नागरिक मारिएका र ६० लाख नागरिक आन्तरिक रुपमा विस्थापित भएका कोलम्बिया सरकारको दाबी छ । त्यहाँ ७० लाख भन्दा बढी नागरिक हिंसाबाट पीडित भएका अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुले बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?