+
+

विश्वले नै प्रशंसा गरेको सिंगापुरको परोपकारी निरंकुशताको भविष्य अब के होला ?

न्युयोर्क टाइम्स न्युयोर्क टाइम्स
२०७९ चैत ३० गते १९:४६

के परोपकारी निरंकुशताले प्रजातन्त्रभन्दा गतिलो नतिजा दिनसक्छ? यो प्रश्नबारे वैचारिक बहस बेलाबखत भइरहन्छन्। केन्याका बौद्धिक जमातसँग संवाद गर्दा उनीहरू भन्छन्- ‘प्रजातान्त्रिक प्रणालीले मुलुकमा उल्लेखनीय आर्थिक वृद्धि गर्न सकेन त्यसैले परोपकारी निरंकुशता मुलुकमा आवश्यक छ।’

आधुनिक सिंगापुरका निर्माता ली क्वान यूको उदाहरण दिंदै उनीहरू परोपकारी निरंकुशताको वकालत गरिरहेका छन्। ली क्वान तीनै व्यक्ति हुन् जसले सिंगापुरलाई समृद्ध शहर बनाउन सफल भए। सन् १९६० मा सिंगापुर र जमैकाको कुल गार्हस्थ्य उत्पादन र प्रति व्यक्ति आयको स्थिति समान थियो। तर सन् २०२१ मा सिंगापुरको कुल गार्हस्थ्य उत्पादनमा ७२ हजार ७९४ डलरले वृद्धि हुँदा जमैकाको स्थिति ५ हजार १८१ डलरमै सीमित रह्‍यो। ली क्वान यूले मुलुकको परिस्थिति फेरेर हिरो बने। यता दक्षिण अफ्रिका, लेबनान, श्रीलंका जस्ता मुलुकहरू आफ्नै ली क्वान यूको खोजीमा भौंतारिए।

गत महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले दोस्रोपटक प्रजातन्त्र शिखर सम्मेलन आयोजना गरेका थिए। त्यहाँ उनले प्रजातन्त्र र निरंकुशताबीचको संघर्षका सवालमा मन्तव्य राखे। त्यहाँ सिंगापुरलाई आमन्त्रित गरिएको थिएन। वासिंगटनले प्रजातन्त्रको अनिवार्यताको वकालत गर्छ तर परिणाम दिएका परोपकारी निरंकुशताको प्रशंसालाई बेवास्ता गर्छ।

प्रजातन्त्र संस्थागत भएका मुलुकहरूले नि:सन्देह गतिलो आर्थिक वृद्धि गरेका छन्। तर परिणाम दिएका निरंकुश मुलुकहरूले पनि गतिलै आर्थिक वृद्धि गरेका छन्। संख्यामा गणना गर्दा परिणाम दिने निरंकुश मुलुकहरू मुठीमै गणना गर्न सकिन्छ। निरंकुश मुलुकहरूमा सही नेतृत्व हुँदा प्रजातान्त्रिक मुलुकहरूलाई समेत पछि पार्ने गरी आर्थिक वृद्धि र समृद्धिमा टेवा पुर्‍याएको रोनाल्ड गिल्सनले एक आलेखमा लेखेका छन्।

रोनाल्ड कोलम्बिया विश्वविद्यालयमा कानुन र वाणिज्य विषयमा अध्यापन गराउँछन्। उनले लोकतान्त्रिक मुलुकको विकासका लागि  आर्थिक रूपमा परोपकारी तानाशाहीरूको पाठ शीर्षकमा उनको आलेख छ। त्यहाँ उनले अगस्तो पिनोसेको नेतृत्वमा रहेको चिली, दक्षिण कोरियामा पार्क चोङ यीको कालखण्ड र चीनमा देङ साओपिङको कालखण्डबाट कमजोर आर्थिक वृद्धिको सामना गरिरहेका प्रजातान्त्रिक मुलुकहरूले आर्थिक रूपान्तरणको पाठ सिक्न सक्ने उल्लेख गरेका छन्।

त्यस आलेखका लागि कर्टिस मिलाप्टको पनि योगदान छ। मिलाप्ट स्ट्याण्डफोर्ड ल स्कुलका प्राध्यापक हुन्। त्यस आलेखमा उनले परोपकारी अधिनायकवादीहरूले आफ्नो मुलुकलाई सजिलैसँग विश्वव्यापी अर्थतन्त्रसँग जोड्न सकेको उल्लेख गरेका छन्। मुलुकका लागि हितकर प्रावधानले आफूलाई थोरै मात्रै असहजता दिलायो भने सम्भ्रान्तहरूले प्रतिरोध गर्न खोज्ने प्रचलन जहाँ पनि हुने गरेको उनले उल्लेख गरेका छन्। तर केही अधिनायकवादीहरूले सम्भ्रान्तलाई समेत साथमा लिएर मुलुकलाई समृद्ध बनाएको उदाहरणबारे उनले चर्चा गरेका छन्। अधिनायकवादीहरूले लगानीकर्तालाई व्यापारको सुरक्षाबारे निश्चिन्त बनाउने र कानुनी झन्झट व्यहोर्नु नपर्ने गरी आश्वस्त बनाउने गर्छन्।

परोपकारी अधिनायकवादी मुलुकमा नेतृत्वले जनताको जीवनस्तर उकास्न सहयोग पुर्‍याउँदै नेतृत्वमा रहिरहन्छन्। प्रजातान्त्रिक मुलुकमा भने ठूला आर्थिक योजना बनाउँदा देखापर्नसक्ने राजनीतिक चुनौती रोक्न नै नेतृत्वले बढी ध्यान केन्द्रित गर्छन्।

प्रजातान्त्रिक मुलुकका सरकारले आफ्नो लोकप्रियताका लागि अल्पकालीन कार्यक्रम ल्याउँछन्। आफ्नो कार्यक्रम कार्यान्वयन हुनु अगावै उनीहरूले सरकार छोड्नुपर्ने स्थिति पनि आउँछ। तर परोपकारी निरकुंशताका धेरै त्रुटि छन्।

पहिलो परोपकारी मानसिकता भएको अधिनायकवादी शासक फेला पर्नै मुस्किल छ। तिनीहरूको उत्तराधिकारी सक्षम नै हुन्छन् भन्ने कुनै सुनिश्चितता पनि हुँदैन। यो प्रणालीमार्फत कुनै मुलुकले आफ्नो आर्थिक अवस्था परिवर्तन गरे पनि त्यसपछिको यात्रा प्राय: फिक्का हुनेगर्छ। यता, आर्थिक रूपान्तरणको समयसम्म अनियन्त्रित शक्तिको स्थापना पनि भइसकेको हुन्छ। सिंगापुर यसैको ज्वलन्त उदाहरण हो।

सन् १९९८ मा  ली क्वान यूबारे लेखिएको पुस्तकमा भनिएको छ- ली क्वान यू प्रजातन्त्र भन्दा पनि जनतालाई पहिले बसोबास, औषधि, रोजगारी र शिक्षाको प्रबन्ध मिलाउनुपर्ने पक्षमा थिए। उनले यो वातावरण सुनिश्चित गर्नका लागि व्यापारमैत्री नीति बनाए। करमा छुट दिए, भ्रष्टाचारमा शून्य सहनशीलताको नीति कडा रूपमा अपनाए। अधिनायकवादी प्रणालीमार्फत नै असल शासनको पक्षमा उनी थिए। लीले सार्वजनिक हाउजिङ बनाए। जहाँ अहिले ८० प्रतिशत सिंगापुरवासी बस्छन्। सरकारले जनताले अनिवार्य रूपमा बचतका लागि बाध्य बनाएको थियो। त्यही रकमले उनीहरू सरकारले बनाएको अपार्टमेन्ट खरिदबिक्री गरिरहन्छन्। सिंगापुरमा निर्वाचन हुनेभए पनि मिडियादेखि आकर्षक जागिर सरकारकै नियन्त्रणमै रहेको हुँदा सत्तासीन दलले नै त्यहाँ चुनाव जित्छ।

६० लाख जनसंख्या रहेको सिंगापुर निकै सफा र सुरक्षित शहर हो। त्यहाँको विमानस्थल ठूलो शपिङ सेन्टर जस्तो छ। अमेरिकामा झैं सडक असुरक्षित छैन। चोरी–डकैतीको कुरा कहीं सुनिंदैन। निकै महँगा बारहरूले पनि आफ्नो स्टोर बेलुका खुलै राखिदिन्छन्। फेरारी र ल्याबोरगिनी जताततै देखिन्छन्। यस्तो लाग्छ हरेक भाँडोमा कुखुराको मासु हुने पुरातन नारा परिवर्तन भएर अब हरेक पार्किङस्थलमा स्पोर्टस् कार नारा बनेको छ।

ली क्वान यूको निधनको आठ वर्षको अवधिलाई हेर्ने हो भने उनीपछिको सिंगापुर दोबाटोमा छ। सिंगापुरको सत्ता अहिले उनका जेठा छोरा ली सेन लुङले सम्हालिरहेका छन्। उनी आफ्नो बुवाको विरासतको आडमा शासन गरिरहेछन्।

सिंगापुरमा राष्ट्रपतिको चुनाव आगामी सेप्टेम्बरमा तय भएको छ भने संसदीय निर्वाचन सन् २०२५ मा हुने बताइएको छ। प्रधानमन्त्रीको संभावित उम्मेदवार पहिले नै तय छ। तर सत्तारूढ दल ‘पिपल्स एक्सन पार्टी’ यत्तिको कमजोर कहिल्यै देखिएको थिएन।

आलोचकहरूका अनुसार सिंगापुरमा अहिले प्लुटोक्रेसी मौलाइरहेको छ। जहाँ निश्चित मानिसहरूले सरकारलाई रिझाएर अधिकतम लाभ उठाइरहेका छन्। सिंगापुरमा एक डलर घुस लिने ड्राइभर जेल जाने तर अर्बौँ डलर घुस दिने सिंगापुरका सम्भ्रान्तहरूलाई कुनै कारबाही हुँदैन। सिंगापुरमा यस्तो प्रणाली विकसित भइसकेको छ कि त्यहाँ फेरि असल शासनका लागि ली क्वान यूकोझैं गुण भएको व्यक्ति शासनमा आउनैपर्छ। आधुनिक सिंगापुरको इतिहासबारेका लेखक मिचेल बार भन्छन्- ‘लीको झैं चमत्कारी क्षमता र राजनीतिक गुण भएको व्यक्ति अब सिंगापुरमा देख्न पाइने छैन। केही त्यस्तै गुण भएको कोही भए पनि सम्भ्रान्तहरूले उदाउनै दिने छैनन्।’

ली क्वान यूका कान्छा छोरा र नातिको निर्वासनलाई यसको ज्वलन्त उदाहरणका रूपमा लिन सकिन्छ। उनीहरू स्वेदश फर्किएमा जेल चलान हुनसक्ने त्रासले मुलुकबाहिर बसिरहेका छन्। ‘मेरा काकाले उनको कोही प्रतिस्पर्धी नहोस् भन्ने चाहेका छन्। यदि मबाट उनलाई खतरा महसुस भयो भने उनी त्यो खतरा टार्न हरसंभव प्रयत्न गर्नेछन्। जोखिम उठाएर अधिनायकवादी शासन चल्न नसक्ने उनको बुझाइ छ’, ली क्वान यूका नाति सेन्ह्व लीले भने।

ली क्वान यूका ३८ वर्षीय नाति उनी हार्वर्ड विश्वविद्यालयका सह-प्राध्यापक हुन्। आर्थिक विधामा पोख्त उनलाई राजनीतिक अभिरूचि छैन। हजुरबुवाको कारणले आफूलाई विशेष सुविधा नहुने राष्ट्रमा हुन पाएकाले नै आफूले अब्बल कर्म र स्वतन्त्रता महसुस गरिरहेको उनको अनुभव छ। सन् २०१७ मा उनी अभिभावकलाई भेट्न  सिंगापुर गएका थिए। त्यसबेला उनले फेसबुकमा सरकारको आलोचना गर्दै स्टाटस लेखे। ‘सरकार धेरै विवादित छ र अदालत सरकारप्रति विनम्र छ’, उनको स्टाटस थियो। त्यही स्टाटसका कारण सरकारले उनीमाथि मुद्दा चलाउने बुझेपछि उनी अमेरिका उडे। उनको अनुपस्थितिमै सिंगापुरको अदालतले न्यायिक संस्थालाई बदनाम र विवादित गराएको भन्दै उनलाई १५ हजार डलर जरिवाना र पाँच वर्षसम्म संसदीय निर्वाचनमा सहभागी हुन नपाउने फैसला सुनायो।

गत महिना मात्रै सिंगापुरको प्रहरीले ली क्वान यूका नातिका परिवारमाथि अनुसन्धान गरिरहेको समाचार सार्वजनिक भएको थियो। मृत्यु भएका ली क्वान यूको अन्तिम इच्छाबारे त्यस परिवारले भ्रम सिर्जना गरेको भन्दै उनीहरू अनुसन्धानको दायरामा परेका थिए। खास दाजुभाइबीच घरलाई लिएर विवाद छ। ली क्वान यूले सार्वजनिक रूपमै आफ्नो मृत्युपछि घर भत्काउनु भनेका थिए। तर हालका प्रधानमन्त्री रहेका उनका जेठा छोराले त्यस घरलाई राष्ट्रिय स्मारक बनाउन खोजेपछि दुई दाजुभाइबीच विवाद छ।

आफ्ना दाजुसँग विवाद भएपछि छोरालेझैं ली सेन याङले पनि मुलुक छोडेका छन्। ‘सिंगापुरमा अब न्यायपालिका, निजामती सेवा, सेना वा शैक्षिक संस्थाहरू स्वतन्त्र सोचलाई निरूत्साहित गर्ने हिसाबले अघि बढेका छन्। धेरै पैसा लिने उनीहरू सरकारलाई सचेत गराउन पनि सक्दैनन्’, उनले भने।

सरकारविरूद्ध प्रश्न गर्ने ली क्वान यूका छोरा र नाति नै निर्वासित हुन विवश छन् भने आलोचना गर्दा आफूहरूको हालत के होला भन्ने त्रासले अन्य पनि सरकारको आलोचना गर्न त्रसित छन्। सिंगापुरको सफल राजनीतिक प्रणाली ली क्वान यूपछि पनि निरन्तरता पाउनेमा राजनीतिक विश्लेषकहरू निश्चिन्त थिएनन्।

जीवनको उत्तरार्धतिर ली क्वान यू स्वयं पनि पार्टीले शक्ति गुमाउने चिन्तामा थिए। परोपकारी अधिनायकवादी शासनको एउटा विशेषता छ। या त उनीहरू दक्षिण कोरिया र चिलीमा झैं अधिनायकवादी हुन छाड्छन्। सिंगापुरको भविष्य कसरी अघि बढ्ला प्रतीक्षित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?