+
+
Shares

सिंगापुरको आम निर्वाचनमा मतदान जारी, ६५ वर्ष सरकार चलाएको दलसँग भिड्दै वर्कर्स पार्टी

मेक्सिकोको इन्स्टिच्युसनल रिभोल्युसनरी पार्टी (पीआरआई) पछि पिपुल्स एक्सन पार्टी सबैभन्दा लामोसम्म सत्तामा रहने पार्टी बनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २० गते १५:४०

२० वैशाख, काठमाडौं । सिंगापुरमा आज संसदीय निर्वाचनका लागि मतदान भइरहेको छ। निर्वाचनमा मुख्य प्रतिस्पर्धा सन् १९६५ देखि सत्ता सम्हाल्दै आएको पिपुल्स एक्सन पार्टी र प्रमुख विपक्षी दल वर्कर्स पार्टीबीच देखिएको छ।

यी दुईबाहेक अरू थुप्रै साना दलहरू पनि प्रतिस्पर्धामा छन्। निर्वाचनको परिणाम मे ४ (भोलि आइतबार) सम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ।

सिंगापुरका ३३ निर्वाचन क्षेत्रका लागि ९७ संसदीय सिटहरूमा मतदान भइरहेको छ। यीमध्ये सिंगल मेम्बर कन्स्टिचुएन्सी (एसएमसी) र रिप्रजेन्टेशन कन्स्टिचुएन्सी (जीआरसी) छन्।

जीआरसीमा ४–५ जना उम्मेदवारको टिमले प्रतिस्पर्धा गर्छ, जसमा कम्तीमा एक जना अल्पसंख्यक समुदाय (मलाय वा अन्य) बाट हुनैपर्छ।

प्रधानमन्त्रीका प्रमुख दाबेदारहरू

लरेन्स वङ

१५ मे २०२४ मा ली सीन लुङको स्थानमा प्रधानमन्त्री बनेका वङ अहिले पिपुल्स एक्सन पार्टीका महासचिव पनि हुन्। उनी यसअघि अर्थमन्त्री र उपप्रधानमन्त्रीको भूमिका सम्हाली सकेका छन्। कोभिड-१९ का बेला लिइएका निर्णय र आर्थिक नीतिका कारण उनी लोकप्रिय बनेका थिए।

हेङ स्वि किट

पिपुल्स एक्सन पार्टीका वरिष्ठ नेता र वर्तमान उपप्रधानमन्त्री हुन्। सन् २०२१ मा स्वास्थ्य कारणले प्रधानमन्त्रीको दौडबाट बाहिरिएका भए पनि यदि वङ पछि हटे भने उनी प्रमुख दाबेदार बन्न सक्छन्।

प्रीतम सिंह

सिंह वर्कर्स पार्टीका नेता हुन् । उनी लोकप्रिय भए तापनि प्रधानमन्त्री बन्ने सम्भावना न्यून छ, किनभने पार्टीले केवल २६ सिटमा मात्रै प्रतिस्पर्धा गरिरहेको छ। सन् २०२० को चुनावमा उनले पार्टीलाई १० सिट जिताएका थिए।

सन् २०२४ को फेब्रुअरीमा एक अदालतले उनलाई संसदमा झूट बोलेको अभियोगमा दोषी ठहर गरी दुईवटा मुद्दामा ५,२२० डलरको जरिवाना लगाएको थियो।

कस्तो छ निर्वाचन प्रणाली ?

सिंगापुरमा २१ वर्षभन्दा माथिका सबै नागरिकले मतदान गर्नुपर्छ । मतदान गर्नु हरेक नागरिक कर्तव्य मानिन्छ। सन् २०२० मा ९५.८१ प्रतिशत मतदान भएको थियो। यो पटक पनि उच्च सहभागिता अपेक्षित छ।

सिंगापुरमा प्रथम हुने निर्वाचित हुने (फर्स्ट–पास्ट–द–पोस्ट) प्रणाली छ, जसमा सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार विजयी हुन्छ।

चुनावमा ११ पार्टी सहभागी छन् । तर केवल पिपुल्स एक्सन पार्टीले मात्रै सबै ९७ सिटमा चुनाव लडिरहेको छ । जबकि वर्कर्स पार्टीले केवल २६ सिटमा मात्र चुनाव लडिरहेको छ । ६ पार्टीले मात्र १० भन्दा बढी सिटका लागि चुनाव लडिरहेका छन् ।

सन् २०२० को आम चुनावमा कुल ९३ सिटका लागि मतदान गरिएको थियो । उक्त चुनावमा पिपुल्स एक्सन पार्टीले ८३ सिट जितेको थियो । उसले ६१.२४ प्रतिशत मत ल्याउँदा वर्कर्स पार्टीले १० सिट मात्र जितेको थियो ।

किन बारम्बार जितिरहेछ पिपुल्स एक्सन पार्टी?

पिपुल्स एक्सन पार्टी सन् १९५९ देखि सत्ता सम्हाल्दै आएको छ। यसलाई जापानको लिबरल डेमोक्रेटिक पार्टी (सन् १९५५-१९९३) वा मेक्सिकोको पीआरआई पार्टी (सन् १९२९–२०००) सँग तुलना गरिन्छ। सिंगापुरमा पछिल्लो ६५ वर्षमा कुनै अर्को पार्टीले सरकार बनाएको छैन।

मेक्सिकोको इन्स्टिच्युसनल रिभोल्युसनरी पार्टी (पीआरआई) पछि पिपुल्स एक्सन पार्टी सबैभन्दा लामोसम्म सत्तामा रहने पार्टी बनेको छ ।

त्यसैले सिंगापुरको शासन व्यवस्थालाई एक पार्टी प्रणालीका रूपमा हेर्न थालिएको छ जहाँ एउटा प्रमुख दलले शासन गर्छ र अरु विपक्षी दलहरूले सीमित मात्र प्रभाव राख्छन् ।

१९६१ मा प्रधानमन्त्री बनेपछि ली कुआन युले मुख्य विपक्षी पार्टीलाई निष्क्रिय बनाए। सन् १९८१ मा वर्कर्स पार्टीले पहिलो सिट जित्यो। सन् २०२० मा पार्टीले अहिलेसम्मकै बढी १० सिट जित्यो र प्रीतम सिंह औपचारिक विपक्षी नेता बने।

पिपुल्स एक्सन पार्टीले सिंगापुरलाई एशियाको सबैभन्दा कम भ्रष्टाचार भएको र धनी राष्ट्र बनाएको भन्दै जनता सन्तुष्ट छन्। तर, विपक्षी नेता र पत्रकारहरूप्रति कडा व्यवहार राख्ने आरोप पनि पार्टीमाथि छ।

त्यसैगरी, सिंगापुरमा चुनाव लड्न साढे १७ लाख नेपाली रुपैयाँभन्दा बढीको धरौटी राख्नुपर्छ, जसले गर्दा साना दलहरूले उम्मेदवार उठाउन सक्दैनन्।

चुनावी मुद्दाहरू

यसपटक निर्वाचनमा आर्थिक विकास, रोजगार, बढ्दो महंगी, शिक्षा, स्वास्थ्य र अल्पसंख्यक समुदायको सरकारमा सहभागितालाई प्रमुख मुद्दाका रूपमा लिइएको छ ।

एजेन्सीहरूको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?