+
+
गगनकुमार थापासँग अन्तर्वार्ता :

‘प्रधानमन्त्रीमा हुटहुटी छ, तर एक्सनमा देखिएन’

व्यक्तिगत तहमा कुरा गर्दैगर्दा यो पटक त काम गर्नैपर्छ, परिणाम दिर्नैपर्छ भन्ने हुटहुटी पाउँछु । गठबन्धन राजनीतिमा सबैलाई मिलाएर लैजान सक्ने, समन्वय गर्न सक्ने क्षमता पनि छ । जब प्रधानमन्त्रीको दैनिकी हेर्छु, ‘एक्सन’मा त्यो पाएको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ४ गते १६:३७

४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा सरकारको गतिप्रति सन्तुष्ट छैनन् । प्रधानमन्त्रीले प्रधानमन्त्रीय काम भन्दा अरुमा बढी ध्यान दिएको भन्दै उनले निरन्तर घचघच्याइरहेका छन्, सचेत गराइरहेका छन् ।

कहिलेकाहीँ लाग्छ, सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री र सरकारमा बसेका नेताहरुहरुलाई भन्दा बढी चिन्ता, त्रास थापालाई किन बढी भएको होला ? यो जिज्ञासामा उनी भन्छन्, ‘यो व्यवस्थाले ‘डेलिभर’ गर्न सक्छ भनेर विश्वास गरेको र विश्वास जागृत गराउने मध्ये भएकाले चिन्ता स्वाभाविक हो । नागरिकका हिसाबले समय गुम्छ, अवसर गुम्छ । आन्दोलनको अभियन्ता भएकाले मेरो त विश्वास पनि गुम्छ ।’

उनका अनुसार प्रधानमन्त्रीसँग व्यक्तिगत तहमा कुरा गर्दै गर्दा यो पटक त काम गर्नैपर्छ, परिणाम दिर्नैपर्छ भन्ने हुटहुटी देखिन्छ । समन्वय गर्न सक्ने क्षमता पनि प्रचण्डमा रहेको बताउँदै थापाले भने, ‘जब प्रधानमन्त्रीको दैनिकी हेर्छु, ‘एक्सन’मा त्यो पाएको छैन । व्याकुलताका साथमा यसको प्रतीक्षा गरिहेको छु ।’

प्रस्तुत छ, थापासँग अनलाइनखबरकर्मी राजकुमार श्रेष्ठलिलु डुम्रेले गरेको कुराकानीको सम्पादित अंश :

प्रधानमन्त्रीलाई निरन्तर प्रधानमन्त्रीकै रूपमा काम गर्न सुझाइरहनुभएको छ । उद्घाटन, सभा–समारोह, बैठकमा जान कहाँबाट फुर्सद पाइरहनुभएको छ भनेर प्रश्न गरिरहनुभएको छ । साँच्चै प्रधानमन्त्री फुर्सदिलो हुनुभएको हो ?

मेरो आशय प्रधानमन्त्रीलाई छोओस्, घोचोस् र सही काम गर्न दबाव सृजना गरोस् भन्ने हो । त्यसका लागि म अहिले पनि प्रयत्नशील छु ।

प्रधानमन्त्री गठबन्धनका दलहरूसँग बस्दा एउटा, दलको अध्यक्ष वा आफ्नो पार्टीको बैठक बस्दै गर्दा पार्टी अध्यक्षको फरक–फरक भूमिका हुन्छ– यो भूमिकाबाट प्रधानमन्त्री पूर्णरूपमा अलग रहनुपर्दछ । गठबन्धनको राजनीतिक संस्कृति भनेको आज प्रधानमन्त्री जो हो, राजनीतिक नेतृत्व त्यही प्रधानमन्त्रीले गर्ने हो । सरकारलाई मार्गनिर्देशन न्यूनतम साझा कार्यक्रमले गर्छ, ‘डे टु डे’को काम प्रधानमन्त्रीले गर्न पाउनुपर्दछ । सरकारले परिणाम दिने कुरा प्रधानमन्त्रीसँग जोडिन्छ । जस–अपजसको भारी पनि प्रधानमन्त्रीले बोक्नुपर्दछ । तर यसमा एक खालको अलमल देख्छु ।

दोस्रो; अहिलेको अर्थतन्त्र जुन अवस्थामा छ, यो सामान्य होइन । एकप्रकारले संकटोन्मुख अवस्था छ । जे काम जसरी पहिले गर्दै आएको हो, त्यही काम त्यसरी नै गरेर दिने परिणाम त त्यस्तै हो । भिन्न परिणाम आउँदैन । बजेट निर्माण गर्ने कुरा होला, मन्त्रीहरूले काम गर्ने तरिका होला । सरकारको प्राथमिकता छनोट गर्ने तरिका होला । एकप्रकारले भन्नुपर्दा प्रधानमन्त्रीमा बिग्रिसक्यो/सकिइसक्यो भन्ने हतारो देखिनुपर्दछ । दबावको मनोविज्ञानले काम गर्नुपर्ने हुन्छ ।

यसो हेर्‍यौं भने एकप्रकारको आनन्द छ । त्यो आनन्द संसदको नम्बरले दिएको छ । संसदको त्यो नम्बरले आनन्द खालको महसुस भयो भने सडकको नम्बरले हामीलाई छोड्छ । त्यसैले संसदको नम्बरलाई अहिले हेर्दै नहेरौं । सडकमा जुन नम्बरमा (नागरिक) आत्तिइरहेका छन्, त्यसले सरकारमा बस्ने मान्छेहरूलाई दिएको सन्देशलाई बुझ्न सकियो भने बल्ल परिणाम दिन सकिन्छ । त्यतातिर प्रधानमन्त्री गइरहेको मैले पाइरहेको छैन ।

योभन्दा अघि जसरी काम गर्थ्यौं, ‘बिजनेस एजयुजल’ त्यसरी नै काम गरिरहेका छौं । मेरो आशय बिग्रिहाल्यो, भत्किइहाल्यो भन्ने होइन । किनकि, भर्खर त सुरु भएको छ । म सरकारलाई के शंकाको सुविधा दिन चाहन्छु भने प्रधानमन्त्री जहिले बनेको भए पनि यो नयाँ गठबन्धन हो । एकप्रकारले भन्दा नयाँ सरकार हो, भर्खर न्यूनतम साझा कार्यक्रम बनाएको छ । त्यसैले भर्खर कार्य प्रारम्भ गरेको भनी शंकाको सुविधा दिन्छु, दिने ठाउँ पनि छ ।

प्रधानमन्त्री र उहाँको टीमले दिनरात काम गर्नुभएको छ । यसको परिणाम देखिन समय लाग्छ, तर परिणाम देखिन्छ भनेर देश र जनतालाई भरोसा दिन सक्नुपर्छ ।

तर कुनै पनि विषयलाई मैले जसरी बुझेको छु वा बुझ्ने प्रयास गरिरहेको छु, सरकार हाँक्ने प्रधानमन्त्री र उहाँका समकक्षीहरूले विषयको गाम्भीर्य, नागरिकमा भएको आतुरतालाई जसरी बुझ्नुपर्ने हो, त्यसरी बुझिराख्नुभएको छैन कि भन्ने चिन्ता हो ।

नयाँ गठबन्धन भर्खर बनेको भए पनि प्रधानमन्त्री त १० पुसमै हुनुभएको हो । त्यसयताका कामकारबाही हेरेर भोलिका दिनका के होला भनेर चिन्ता गर्नुभएको हो ?

अगाडि प्रधानमन्त्री त हुनुभयो, तर विश्वासको मतसँगै गठबन्धन बदलिन्छ, नयाँ बन्छ भन्ने सबभन्दा पहिले प्रधानमन्त्रीलाई लाग्यो । एकातिर एमालेसहितको गठबन्धन छ, अर्कोतिर गठबन्धन बदल्नुपर्ने छ । त्यसैले स्वाभाविक रूपमा ‘गभर्नेन्स’भन्दा त्यही विषयले पायो । त्यो बेलामा पनि प्रधानमन्त्रीले प्रधानमन्त्रीको कामलाई नै प्राथमिकता दिनुपर्ने थियो भन्ने मलाई लाग्छ । तर पनि शंकाको ठाउँ दिने सुविधा रह्यो ।

गठबन्धन बदलिएपछि पनि सरकार सञ्चालनका सम्बन्धमा कसरी प्राथमिकताहरू निर्धारित भएका छन् ? के विषयले महत्व पाएको छ भन्ने लामो समय संसदमा काम गरेको र छोटो समय मन्त्री भएको अनुभवका आधारमा आकलन गर्न सक्छु ।

सरकारले जुन लय समात्नुपर्ने हो, हामी एकखालको ‘इमर्जेन्सी’मा छौं, हामीले यो मिसन यसरी पूरा गर्नुपर्नेछ भनेर सिंगो सरकार सञ्चालनमा देखिनुपर्ने हो, त्यसको छनक कहीं देखिएको छैन । यसअघि जे हुँदै आएको थियो, त्यस्तै गरिएको छ । यताको कर्मचारी उता लैजाने, पावर सेयरिङ ठिक तरिकाले भइरहेको छ कि छैन भन्ने जस्ता विषयले नै महत्व पाएको देखिरहेको छु ।

म त के चाहन्छु भने प्रधानमन्त्री र उहाँको टीमले दिनरात काम गर्नुभएको छ, अर्थतन्त्र संकटमा छ, त्यसलाई पार लगाउन खाका कोर्नुभएको छ । त्यसअनुसार दिनरात काम गर्नुभएको छ । यसको परिणाम देखिन समय लाग्छ, तर परिणाम देखिन्छ भनेर देश र जनतालाई भरोसा दिन सक्नुपर्छ । म त कतिसम्म अपेक्षा गर्छु भने प्रधानमन्त्रीले कुनै एउटा मन्त्री र त्यो मन्त्रालयको टीमसँग आफ्नो टीमसहित बसेर कुन गाँठो कसरी फुकायो भने कुन परिणाम कसरी दिने हो १०/१२ घण्टा छलफल गर्नुहुन्छ ।

तपाईंले मागेका सबै कुरा एक महिनाभित्र गर्छु र मलाई यो परिणाम चाहिन्छ भनेर भन्नुहुन्छ । यसरी हामीले काम गरेका छैनौं । पहिले नगरे पनि हुन्थ्यो होला, अहिले नगरी हुँदैन । यसरी काम गर्‍यौं भने म जस्ता थुप्रैले बिग्रिएको छ, सम्हाल्दै हुनुहुन्छ, परिणाम देखिन केही समय लाग्छ भनेर भन्दै हिंड्छौं । तर ती कुराहरू देख्न पाइरहेको छैन । चिन्ता यहाँ हो ।

प्रधानमन्त्रीले सार्वजनिक भाषणहरूमा पहिलो कार्यकालमा अनुभव नै भएन, दोस्रो पटक केही गर्न खोजें, यो पटक चाहिं केही गरेर देखाउन चाहन्छु भन्नेको सुनिन्छ । तपाईं चाहिं प्रधानमन्त्रीमा जुन हुटहुटी हुनुपर्ने हो, त्यो देखिएन भनिरहनुभएको छ । प्रधानमन्त्रीको बोली र व्यवहारबीच तालमेल नदेखिएकै हो ?

यो बीचमा केही पटक प्रधानमन्त्रीसँग भेटें । ती भेटहरूमा तपाईंले प्रश्नमा भन्नुभएको जस्तै हुटहुटी र आतुरता पाएको छु । उहाँसँग मन्त्री भएर काम गरेको अनुभव पनि छ, त्यस आधारमा सरकार सञ्चालनमा टीमलाई सँगै लिएर हिंड्नसक्ने क्षमता पनि देखेको छु । तर त्यो काममा देखिरहेको छैन ।

यसो भनेर मैले विरोध गरेको होइन । यो गर्नुपर्ने थियो, तपाईंले गर्छु भन्नुभएको थियो, गर्न पनि सक्नुहुन्छ तर गरिराख्नुभएको छैन भनेर सचेत गराएको हो, असन्तुष्टि पनि व्यक्त गरेको हो । मैले पटक–पटक एउटा शब्द दोहोर्‍याइरहेको छु– महाविपत्ति, संकट वा युद्धको बेलाको मानसिकता नेतृत्वमा हुनुपर्छ ।

मलाई जहिले पनि चुनाव लाग्छ । चुनावमा दिन तोकिएको हुन्छ, त्यो समयभित्र सबै काम सक्नुपर्छ । एउटै टार्गेट हुन्छ, चुनाव जित्ने । चुनाव जितेपछि भोलिपल्ट पाउने खुसीले उत्साहित बनाइरहेको हुन्छ वा पराजित हुनुपर्छ भन्ने कुराले तर्साइरहेको हुन्छ । जित र हारको चाहना वा डरको मनोविज्ञानमा युद्धको बेलामा जस्तो काम हुन्छ । चुनावको बेला म ४/५ घण्टा मात्रै सुतें । योजना बनायो, काम गर्‍यो, परिणाम खोज्यो । किनकि, समय नै छैन । अहिले प्रधानमन्त्रीसँग गरेको अपेक्षा पनि त्यही हो ।

प्रधानमन्त्रीलाई ५ महिना वा असोजसम्म समय लिनुस् र परिणाम दिनुस् भनेको पनि यही हो ?

यसरी सोचौं न, असोजसम्मको समय छ । त्यो समयभित्र मैले परिणाम दिन सकिनँ भने म सकिन्छु । प्रधानमन्त्रीका रूपमा मेरो निरन्तरता वा सफलता सकिन्छ भन्ने भयो । त्यो चिन्तनले प्रधानमन्त्रीले काम गर्ने तरिकालाई आकाश–जमिन तल–माथि पार्दैन र ? पार्छ । मसँग गठबन्धन छ, संसदको संख्या छ, जोसुकैले जेसुकै गरे पनि/भने पनि केही फरक पर्दैन । म समझदारी अनुसार आफ्नो समयसम्म रहन्छु भन्ने सोचियो भने केही कुरासँग डर लाग्दैन ।

त्यसैले मैले असोज किन भनें भने अहिले केही काम गर्ने र संकेत दिने समयावधि थियो । यो ५/६ महिनाको समयावधिभित्र निश्चित केही कुराको परिणाम दिनुपर्छ, अनुभूत गराउनुपर्छ । २/३ कुरा हुने वित्तिकै नागरिकले आफैं महसुस गरिहाल्छन् ।

मान्नुस्, प्रधानमन्त्रीले शिक्षामन्त्रीलाई बोलाएर भन्नुभयो, मैले असोजसम्मको टार्गेट राखेको छु । तपाईंले असोजसम्ममा के–के गर्नुहुन्छ ? अबको पाँच वर्षका लागि असोजसम्म के जग हाल्नुहुन्छ ? र, मान्छेले गन्न र महसुस गर्न मिल्ने २/३ कुरा के गर्नुहुन्छ ? त्यसका लागि मैले के–के गरिदिनुपर्‍यो ? त्योभन्दा दायाँ–वायाँ केही सुन्दिनँ, केही चाहिंदैन । यसरी हरेक मन्त्रीलाई भन्नुभयो भने प्रत्येक मन्त्री असोजसम्म समय छ भनेर परिणाम दिन दिन–रात कुद्छन्, त्यसको बाहिर प्रचार गर्न हामी छँदैछौं नि ! खै त यो माहोल बनेको ?

संसदमा संख्या भए पनि नागरिकको विश्वास कायम राख्न सकिनँ भने त्यो ‘प्रोक्सी’ हुन्छ । त्यसैले महाविपत्ति र संकटको जस्तो काम गर्नुपर्नेछ, परिणाम दिनुपर्नेछ भनेर कुर्सीमा बस्ने लिडरसिपले सोच्नासाथ अवस्था बदलिहाल्छ ।

म चाहिं एकदम आत्तिएको जस्तो, सरकार सञ्चालन गर्नेहरू एकदम ढुक्क भएको जस्तो । ढुक्क हुन पाइन्छ । किनभने भर्खर चुनाव सकिएको छ, गठबन्धन छ, संख्या तल–माथि हुँदैन, पाँच वर्ष कागज गरिएको छ, कसैले बदलेर नम्बर बदलिने होइन । ढुक्क हुन त पाइयो नि ! तर म के भनिरहेको छु भने नम्बरबाट नझुक्किनुस् है, हामीसँग समय छैन । यत्ति बुझिदिने हो भने सरकारले आफ्नो गति लिने देख्छु ।

प्रधानमन्त्री र सरकारमा बस्नेहरूले हामीसँग त साढे २ वर्ष अवधि छ नि भनेर बुझेका हुन् ?

एउटा दृष्टिकोण समय सकिंदै गएको छ भन्ने भयो । अर्को, नागरिकको मनोविज्ञानका हिसाबले पनि भन्दैछु, साँच्चै नागरिक एकदमै अत्तालिएको अवस्था छ । हामी तल काम गरिरहेका छौं र प्रत्येक दिन व्यतीत हुने भनेको जनसम्पर्क नै हो । साँच्चिकै नागरिकहरू आत्तिएका छन् । त्यसका थुप्रै कारण छन् ।

यस्तो बेला नेतृत्वले आफ्नो एक्सनबाट थोरै संकेत देखाउने हो भने सकारात्मक ‘भाइब’ ल्याइहाल्छ । मैले समय कम छ भनेको किन हो भने यो ३/४ महिनामा केही हुँदैछ है भन्ने संकेतहरू दिनसक्नुभयो भने ठूला निर्णयहरू गर्ने, जोखिम उठाउने समय पाउनुहुन्छ । नागरिकसँग संवाद गर्ने अवस्था रहन्छ, अब म अलिकति समय लिएर यो यो काम गर्दैछु, यसको परिणाम २ वर्ष, ४ वर्ष वा ५ वर्षभित्र आउँछ भन्न सक्नुहुन्छ ।

एउटै कुरा हो– मसँग समय छैन, नागरिकमा चरम असन्तुष्टि छ । संसदमा संख्या भए पनि नागरिकको विश्वास कायम राख्न सकिनँ भने त्यो ‘प्रोक्सी’ हुन्छ । त्यसैले महाविपत्ति र संकटको जस्तो काम गर्नुपर्नेछ, परिणाम दिनुपर्नेछ भनेर कुर्सीमा बस्ने लिडरसिपले सोच्नासाथ अवस्था बदलिहाल्छ ।

तपाईंले पटक–पटक नागरिकहरू एकदमै निराश छन्, आत्तिएका छन् भनिरहनुभएको छ । यसको एउटा कारण त अर्थतन्त्र जुन अवस्थामा छ, त्यसले होला । अर्को चाहिं राजनीतिक दलहरूले जस्तो राजनीति गरिरहेका छन्, त्यसको असन्तुष्टि पनि हो ?

नागरिकले राजनीतिक परिदृश्य हेर्‍यो भने त्यहाँभित्र धोकाधडी, अविश्वास, अस्थिरता सबै देख्छ । त्यही नेता, त्यही नेतृत्व देख्छ । त्यसबाट अलग भएर आफ्नो निजी जीवनमा हेर्‍यो भने अभाव, वञ्चिती देख्छ ।

यही ठाउँमा अब पाँच वर्ष स्थिर सरकार दिन्छौं, यसकै लागि हामी एक ठाउँ आएका छौं । यो–यो काम सुरु गरें, यो–यो काम कार्यसम्पादनमा सोचेको भन्दा थप अब्बल आउने गरी प्रधानमन्त्रीले काम गर्न थाल्नुभयो भन्ने भयो भने असन्तुष्टि घट्दै जान्छ । किनभने थुप्रै देशमा सरकारका लागि गठबन्धन बनाउने प्रचलन छ । गठबन्धन नगर्ने हो भने सरकार नै नबन्ने भएकाले नागरिकले स्वीकार गर्छन् । विस्तारै सकारात्मक पक्षलाई उसले हेर्न थाल्छ ।

अर्कोतिर नागरिकले आफ्नो दैनिकीमा केही बदलिन थालेको महसुस गर्न थाल्यो भने अहिलेको वातावरण बदलिहाल्छ नि ! २०६२/६३ सालको जनआन्दोलनमा यिनै दलहरूलाई विश्वास गरेर नागरिक सडकमा आएका हुन् । उदाहरणका लागि सार्वजनिक वित्त अहिले अप्ठ्यारोमा छ, यसका लागि मितव्ययी अपनाउनुपर्ने छ भने प्रधानमन्त्री र राष्ट्रपतिले आफैंबाट सुरु गरें, तपाईंले पनि थोरै सहयोग गर्नुस् भने भनें नागरिकहरूले कुरा बुझिहाल्छन् ।

यसमा संसदलाई उपयोग गर्न पनि सरकार चुकेको छ जस्तो लाग्दैन ?

आफ्ना कुरा सुनाउन, कार्यकारीमाथि दबाव बढाउन संसदको राम्रो प्रयोग गर्नुपर्छ भन्नेमा सांसदहरूबीच एकखालको प्रतिस्पर्धा छ, यसलाई मैले राम्रो मानेको छु ।सांसदहरूले संसदलाई यसरी प्रयोग गर्न खोजेपछि सरकारले पनि मैले पनि प्रयोग गर्नुपर्छ । मेरा बारेमा अनेक धारणा किन बन्न दिने ? म पनि संसदमा आउँछु, भन्छु भन्ने सोचेको एकदमै कम पाएँ । सरकारमा बस्ने साथीहरू ‘प्रो–एक्टिभ’ भएको कमै पाएको छु । संसदलाई बिजनेस दिन एकदमै सुस्त भयो ।

संघमा मात्र होइन, सात वटै प्रदेशमा गठबन्धनको सरकार छ वा बन्दैछ । त्यो गठबन्धनको सरकार कति आश्रित छ भने मुख्यमन्त्री कसलाई बनाउने ? आलोपालो के गर्ने भन्ने त्यहाँ निर्णय हुन्न, काठमाडौंमा हुन्छ । नागरिकहरूमा चरम आक्रोश प्रदेशहरूले काम गर्न सकेनन्, बोझिला भए भन्ने देखिन्छ ।

एकछिन मानौं, प्रधानमन्त्रीले हाम्रा प्रदेशहरूलाई कामकाजी र परिणाममुखी कसरी बनाउने भनेर छलफल गर्नुभयो । त्यसबाट दुई–तीन वटा कानुन तत्काल बनाउनुपर्ने देखियो । मन्त्रीलाई बोलाएर निर्देशन दिनुभयो, रातारात काम गरेर विधेयक संसदमा लगियो । त्यहाँ पनि मसँग धेरै समय छैन । संसदमै छलफल गर्नुस् वा समितिमा लैजानुस्, जुनसुकै बेला म तयार छु । तर यति दिनभित्रमा कानुन बनोस् भन्ने अपेक्षा गर्छु भनियो । सांसदहरूले पनि संविधान जारी गर्ने बेलामा जस्तो दिनरात सेसन चलाएर काम गरे र कानुन बन्यो । १५ दिनको यो कामले प्रदेशहरूमा विस्तारै बदलाव देखिन थाल्यो भने सरकारबारे नागरिकको धारणामा बदलाव आउँछ । संसदले पनि बिजनेस पाउँछ । यो सबै प्रधानमन्त्रीले कसरी सोचिराख्नुभएको छ भन्नेमा ठोक्किन आउँछ र यो कुनै पनि कुरा नियन्त्रणबाहिर छैन भन्ने मेरो कुरा हो ।

अर्कोतिरबाट हेरौं, जस्तो संघीय निजामती सेवा ऐन नहुँदा पनि चलेकै छ, मैले नगर्दा पनि चल्छ । छलफल गर्न थाल्ने हो भने गठबन्धनका दलहरूबीच दूरी मात्र बढ्छ, त्यसैले विस्तारै गरौंला भन्यो भने यसले नागरिकको आक्रोश चुलिंदै जान्छ । संसदले बिजनेस पनि पाउँदैन । अहिले भइरहेको यही हो । पन्छाउने, पर धकेल्ने अथवा तपाईंले भनेको जस्तो मसँग समय छ भन्ने आनन्द छ ।

संसदीय दलको चुनाव लड्ने र प्रधानमन्त्री बन्ने भनेर ‘प्रोजेक्ट गभर्मेन्ट’ नै चलाउनुभएको थियो । त्यसले पनि यो गर्न सकिन्छ, त्यो गर्न सकिन्छ भन्ने लागेको होला । प्रधानमन्त्री बन्ने अवस्था नभए पनि सत्ता गठबन्धनको सबभन्दा ठूलो दल कांग्रेसको महामन्त्री त हो । त्यस आधारमा के–के गर्न सकिन्छ भन्ने लाग्छ ?

केही दिनअघि संसदमा बोलेपछि प्रधानमन्त्रीलाई भेटेर भनें, २/३ महिना ‘हेड अफ द गभर्मेन्ट’का कामहरू मात्र देख्न पाइयोस् । जस्तो कि, आज प्रधानमन्त्रीले स्वास्थ्यमन्त्री र उहाँको टिमसँग ८ घण्टा छलफल गरेर तत्काल समाधान गर्नुपर्ने पाँच विषय पहिचान गर्नुभएको छ र एक हप्तापछि यसबारे रिपोर्ट लिनुहुन्छ । एक हप्तापछि रिपोर्ट लिंदा दुइटा समस्या समाधान भए । त्यही कुरा मन्त्रीले संसदमा आएर जानकारी गराए ।

सबैभन्दा ठूलो टीम भनेको प्रधानमन्त्रीको कार्यालय हो, यो कार्यालय उहाँले सबभन्दा विश्वास गरेका र प्रधानमन्त्रीलाई सफल बनाउँछन् भन्न मिल्ने व्यक्तिहरूले भरिनुपर्‍यो । अहिले हेर्‍यौं भने ठ्याक्कै उल्टो छ ।

समाजले सरकार कसरी चलिरहेको छ भनी अनुमान लगाइरहेको ठाउँमा हामी यसरी चलिरहेका छौं भन्दा पाँच दिनभित्र नयाँ ‘सिनारियो क्रिएट’ गर्ने ठाउँमा हुनुहुन्छ । मितव्ययिता भनेको अहिले जे गरिरहेका छौं, त्यो कुरा भिन्न तरिकाले गर्ने हो ।

निजी क्षेत्रका साना–ठूला सबैका लागि सरकारले सानो–सानो गाँठो फुकाइदिन सक्छ । कतिपय समस्या सरकारले सम्बोधन र नियन्त्रण गर्न सकिने खालका छन् । जस्तो, अहिले निर्माण व्यवसायीको मात्रै भुक्तानी हुने हो भने गाउँमा रहेको सानो पसलसम्म त्यो पैसा पुग्दछ । अहिले प्रधानमन्त्री र उहाँको टिमले त निर्माण व्यवसायीको भुक्तानी भएको छैन भनेर सुनेपछि किन भुक्तानी नभएको ? कसको कारणले नभएको ? भनेर आजको दिन यसमै बिताउनुपर्ने हो । यसरी कार्यान्वयनमा जाने वित्तिकै परिणाम देखिन थाल्छ ।

अर्को, अबको एक महिनाको सेरोफेरोमा बजेट आउँछ । आजको आर्थिक संकटलाई हेरेर प्रधानमन्त्री र गठबन्धनका नेताहरूले आफ्नो निर्वाचन क्षेत्र वा प्राथमिकतालाई त्यागेर देशको प्राथमिकता हेरेर काम गरुन् त, गठबन्धनमा रहेका/नरहेका कुनै सांसदले मलाई यो काम गरिदिनुस् भनेर भन्न सक्दैनन् ।

त्यसैले मेरो अपेक्षा भनेको, माओवादी अध्यक्ष र गठबन्धनको नेताको टोपीलाई ओरालेर म नेपालको प्रधानमन्त्री हो, सिंहदरबारको कुर्सीमा बसेर मैले गर्ने निर्णयहरूबाट यो–यो प्रभावित गर्न सक्छु भनेर थाल्नुपर्छ । उहाँको सबैभन्दा ठूलो टीम भनेको प्रधानमन्त्रीको कार्यालय हो, यो कार्यालय उहाँले सबभन्दा विश्वास गरेका र प्रधानमन्त्रीलाई सफल बनाउँछन् भन्न मिल्ने व्यक्तिहरूले भरिनुपर्‍यो । अहिले हेर्‍यौं भने ठ्याक्कै उल्टो छ । सबैतिरबाट फालिएका मानिसहरूको भीड जस्तो भएको छ, त्यसलाई चुस्त र दुरुस्त बनाउनुपर्‍यो ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा हामीले नै गलत भयो भनेको होइन, त्यो राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण प्रधानमन्त्री मातहत किन राख्नुपर्‍यो ? सबै आ–आफ्नो मन्त्रालयमा पठाइदिए हुन्छ । प्रधानमन्त्री त बोस हो नि, जुन मन्त्रालयभित्र रहे पनि कुन मन्त्रालयले के काम गरेको छ भनेर थाहा हुनुपर्छ । युद्धको समयमा जस्तो काम गर्नुपर्छ । बिहान ७ बजे प्रधानमन्त्री कहाँ हुनुहुन्छ भन्दा कार्यालयमा हुनुहुन्छ, बेलुका १० बजेसम्म पनि प्रधानमन्त्री कार्यालयमा हुनुहुन्छ । आज यो काम भयो, आज त्यो काम भयो भन्ने होस् । सञ्चारमाध्यमहरूले पनि प्रधानमन्त्रीको कुनै पनि सार्वजनिक कार्यक्रममा रिपोर्टिङ गर्न नपाएको होस् । प्रधानमन्त्रीलाई कार्यालयमा मात्र भेटिएको छ र प्रधानमन्त्रीले गर्ने खास काम मात्र गर्नुभएको छ भन्ने होस् । ८/१० दिन त्यसरी हेरौं त ! यसका लागि प्रधानमन्त्री र प्रधानमन्त्रीको टीमले काम गर्नुपर्दछ । सुरुवात त्यहींबाट गर्नुपर्छ ।

प्रधानमन्त्रीले बेलाबेला भन्ने गर्नुभएको छ– मन्त्रिपरिषदले पूर्णता पाएपछि सरकारले गति लिन्छ । पूर्णता दिन त कांग्रेस बाधक भएको देखिन्छ ! यसले पनि असर गरेको हो कि ?

हुनत नेपाली कांग्रेसमा पनि समूहसँग जोडिएर मन्त्रीहरूको नामसँग कतिपय विषय अलमलिएको छ । तर अवधारणागत रूपमा ‘सेन्स अफ अर्जेन्सी’ छ, मैले मिलाउनुपर्ने कुरा मिलाउँछु, तर कुर्न सक्दिनँ भन्ने ठाउँमा प्रधानमन्त्री हुने हो भने परिणाम (मन्त्रिपरिषदको पूर्णता) धेरै पहिला आइसक्थ्यो होला ।

यो मात्र होइन, प्रदेश सरकारले पनि पूर्णता पाएको छैन । खोइ त हामी यो विषयमा प्रवेश गरेको ? किन (प्रवेश गरेको छैन) भने नेतृत्वले मसँग टाइम छ, खासगरी राजनीतिक कुरा मिलायो भने सबै मिल्छ भनेर सोचिरहेको छ । जब प्रधानमन्त्रीलाई नै यथेष्ट समय छ भन्ने लागेपछि अरूलाई पनि लाग्ने नै भयो ।

हाम्रो राजनीतिमा लामो समय संघर्ष गरेर आएको अघिल्लो पुस्तालाई प्रधानमन्त्री भएर के गर्ने भन्दा पनि प्रधानमन्त्री हुनु सबथोक जस्तो भयो । त्यसैले यो पदमा पुगेपछि ‘रिल्याक्स’ जस्तो देखिन्छ । तर तपाईं र तपाईंहरूको पुस्तालाई त्यो छुट छैन, नयाँ पुस्ताको कारण हिंडेर मात्र पुग्दैन, दौडिनुपर्ने अवस्था आएको छ । यसले पनि भएन–भएन भन्ने लागेको पो हो कि ?

तपाईंले एउटा ‘इन्ट्रेस्टिङ’ कोणबाट विषय राख्नुभयो । अलिकति हो पनि । म यसलाई कसरी पनि हेर्छु भने २०६२/६३ को आन्दोलनमा सहभागी भएको एउटा कार्यकर्ता हुँ । त्यसपछिको राजनीतिक व्यवस्थापन संक्रमण हुँदै एउटा संवैधानिक प्रबन्धभित्र हामी छौं । यसले ‘डेलिभर’ गर्न सक्छ भनेर विश्वास गरेको र विश्वास जागृत गराउने मध्ये म पनि हुँ । यसले ‘डेलिभर’ गर्न नसक्दा एकसाथ दुई कुरा गुमाउँछौं । नागरिकका हिसाबले समय गुम्यो, अवसर गुम्यो । आन्दोलनको अभियन्ता भएकाले मेरो त विश्वास पनि गुम्छ ।

२०७४ सालमा केपी शर्मा ओलीको सरकार बनिरहेका बेला मलाई राम्रोसँग चलोस् भन्ने थियो । संसद विघटन हुने, नेकपा फुट्ने नहोस् भन्ने थियो । किनकि २०७९ मा पुग्दै गर्दा राम्रो ‘डेलिभरी’ गरे फेरि चुनाव जित्छ, हामी दोस्रो बनौंला, राम्रो तयारी गरेर फेरि प्रतिस्पर्धा गरौंला । राम्रो गर्न सकेन भने योभन्दा राम्रो ‘डेलिभरी’ गर्ने तयारीका साथ हामी आउँछौं र एउटा बाटोमा देश जान्छ भन्ने सोचेका थियौं । त्यसरी नै तयारी पनि गरेका थियौं । तर एउटा राजनीतिक दल असफल हुँदै गर्दा त्यसको बाछिटा सबैलाई पर्‍यो नि ! हाम्रो जस्तो पार्टीमा रूपान्तरणलाई पछाडि धकेल्यो, सबैलाई हान्यो एकै पटक ।

अहिले मलाई के लाग्छ भने जे–जस्तो भए पनि हामीले गठबन्धन गर्‍यौं, चुनावमा गयौं र यहाँ आइपुग्यौं । अब यस (यो सरकार) ले ‘डेलिभर’ गर्न सकेन । सरकार त एकपछि अर्को बन्ला, तर देशको अर्को पाँच वर्ष खेर जान्छ, अर्को एउटा अवसर खेर जान्छ । यो प्रणाली र दलहरूमाथिको विश्वास थप डगमगाएर जान्छ, हाम्रो जस्तो पार्टीको सुधार पनि थप धकेलिएर जान्छ । हामीले सबै गुमाउने नै गुमाउने हुन्छ । यसले पनि म अलि बढी छटपटिएको होला ।

शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपालहरूका लागि अबको चार वर्ष (२०८४) मा हुने चुनावको परिणामले त्यति महत्व राख्दैन, जति अर्थ तपाईं र तपाईंहरूको पुस्तालाई राख्छ । किनकि अर्को नयाँ पुस्ता राजनीतिमा आइसक्यो । ५ वर्षपछि हुने चुनावको परिदृश्यले पनि तपाईंहरूमा छटपटी आएको हो ?

तपाईंले विश्लेषण गर्नुभयो कि म भोलिका दिन सम्झिएर बढी चिन्तित छु, त्रसित छु, उत्साहित छु ! ठीक छ, उमेर र अवस्थाका कारण मेरो जस्तो चिन्तन उहाँहरूको हुन्न । तर उहाँहरूले आफ्नै लागि पनि त गरिदिए भयो नि !

एक प्रकारले भन्ने हो भने प्रधानमन्त्री र उहाँको पुस्ताका लागि यो ५ वर्ष तपाईंहरूको अन्तिम हो । सामान्यतः अर्को चुनावमा पुग्ने बेलासम्म उहाँहरूको नेतृत्वमा तत्–तत् पार्टी पनि रहन्नन् । फेरि चुनिएर आएर सरकार चलाउँछु भन्ने अवस्था पनि रहन्न । जे–जति गर्ने हो, यही अवधिमा गर्ने हो ।

अनि, अहिलेको जुन संवैधानिक प्रबन्धहरू बनेका छन्, यहाँसम्म त उहाँहरूले नै लिएर आउनुभएको हो । सुरुका दिनमा आन्दोलन निर्माणकर्ताका रूपमा सम्झिउन्, शान्ति प्रक्रियाको निर्माणकर्ताको रूपमा सम्झिउन् । बीचको कालखण्डमा जे–जस्तो भए पनि अन्तिम ‘एपिसोड’मा सम्झनलायक काम गर्नुस् । प्रचण्ड, शेरबहादुर देउवा, माधवकुमार नेपाल सत्ता गठबन्धनमा हुनुहुन्छ, केपी शर्मा ओली सरकारभन्दा बाहिर हुनुहुन्छ । यो भूमिका निर्वाह गर्दैगर्दा चिरपर्यन्त स्मरण गर्ने गरी छाप छाड्नुभयो भने हामीलाई पनि लाभ होला, त्योभन्दा उहाँहरूलाई हुन्छ । सत्कर्म र परिणाममुखी कामका लागि त्यसले उत्साहित गरोस् ।

त्यसो भएन भने ?

नागरिकको छटपटाहट महसुस गरेकाले म थोरै आत्तिएको पनि होला, मेरो आग्रह धेरथोर त्यसबाट पे्ररित भएको पनि होला । तर मलाई के लाग्छ भने अहिले ‘रिजल्ट’ दिन सकिएन भने यो प्रणाली निशानामा पर्छ । हाम्रा प्रदेशहरू काम लागेनन्, संघीयता काम लागेन, निर्वाचन प्रणाली काम लागेन भन्ने हुन्छ ।

सकारात्मक ढंगले बहस गर्न सकिन्छ । हाम्रा प्रदेशहरू ‘फङ्सलन’ भइरहेका छैनन्, कसरी बनाउने ? हाम्रो निर्वाचन प्रणालीबाट जे अपेक्षा गरेको हो, त्यो भएको छैन । कसरी निर्वाचन प्रणाली बदल्ने भनेर छलफल गर्न सकिन्छ, गर्नु पनि पर्ने भएको छ । तर यतातिर जाँदैन, यो व्यवस्था नै बदल्नुपर्छ भन्नेतिर जान्छौं । यो व्यवस्था बदलेर जे आए पनि नयाँ आउँछ । नयाँ मान्छे, नयाँ पार्टी, नयाँ विचार भन्नेतिर लैजान्छ । यसले एकछिनलाई आनन्द पनि दिन्छ, तर मेरो अनुभवले के भन्छ भने पुरानो हटाउने र नयाँ बनाउने क्रममा एउटा पुस्ता जान्छ, नेपालले फेरि अभूतपूर्व अवसर गुमाउँछ ।

अहिले कताकता आवाज पनि सुनिन्छ । त्यो आवाज हिजो पनि सुनिन्थ्यो, त्यो वक्तव्य हिजो पनि निस्कन्थ्यो । तर वास्ता लाग्दैन किनकि ठीक भएन भनेर देश समाजबारे चिन्ता थियो । तर आफ्नो घर ठीक थियो, भान्सा ठीक थियो, व्यवसाय ठीक थियो । अहिले त मानिसहरूको ‘पर्सनल लाइफ’ पूरै हल्लिएको छ । अब यी दुइटा कुरा मिसिन्छन्, यसले मानिसहरूलाई आक्रोशित बनाउँछ ।

आइतबार बिहान मात्र प्रधानमन्त्रीलाई भेट्नुभयो । तपाईंले जस्तो प्रधानमन्त्री खोज्नुभएको हो, त्यो पाउनुभएको छैन ?

व्यक्तिगत तहमा कुरा गर्दैगर्दा यो पटक त काम गर्नैपर्छ, परिणाम दिर्नैपर्छ भन्ने हुटहुटी पाउँछु । गठबन्धन राजनीतिमा सबैलाई मिलाएर लैजान सक्ने, समन्वय गर्न सक्ने क्षमता पनि छ । जब प्रधानमन्त्रीको दैनिकी हेर्छु, ‘एक्सन’मा त्यो पाएको छैन ।

शनिबार भएको कुनै एउटा समस्या आइतबार साँझसम्म अलिकति भए पनि सम्बोधन भएको हुनुपर्‍यो क्या अहिले । नियमित गर्ने कामहरू भएकै छ, तर शनिबार भएको समस्या आइतबार पनि जस्ताको तस्तै रह्यो । मैले भनेको एक दिन, एक परिणाम । यसका लागि बिहानदेखि बेलुकासम्मको दैनिकी, सोच्ने तरिका, प्राथमिकता सब बदलिनुपर्छ । त्यसको संकेत मैले अहिलेसम्म पाइरहेको छैन । वरिपरि देखिरहेको छु, हेरिरहेको छु, नियमित काममै व्यस्त–मस्त भइरहनुभएको छ ।

व्यावहारिक कुरै गरौं; प्रधानमन्त्रीले बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म काम गर्छु भन्नुभयो । एक घन्टा भेटघाटका लागि छुट्याउनुभयो र बाँकी १०/११ घन्टा अगाडि हामीले छलफल गरेका जस्तो ‘रियल इस्यु’मा काम गर्छु भन्नुभयो भने विश्वास गर्नुस्, ७ देखि १० दिनमा मसिनरी नै अर्को ढंगले चल्न थाल्छ ।

यो संवादलाई म कसरी टुंग्याउँछु भने– म अहिले जे भनिरहेको छु, यसको सट्टा ल हेर्नुस्, हाम्रो सरकारले यो गर्‍यो, यो गर्‍यो भनेर संसद र बाहिरका साथीहरूलाई भन्न पाइयोस् । व्याकुलताका साथमा यसको प्रतीक्षा गरिहेको छु ।

फोटो : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?