+
+

तनहुँमा कांग्रेस नेताहरुको लर्को

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ४ गते १४:३४

४ वैशाख, काठमाडौं । सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईको पक्षमा मत माग्न कांग्रेस नेताहरुको तनहुँमा लर्को लागेको छ ।

शीर्ष तहका नेता, केन्द्रीय सदस्य, भ्रातृ संस्थाका नेताहरु प्रचार प्रसारका लागि तनहुँ १ मा पुगेका छन् । वैशाख १० मा हुने उपनिर्वाचनमा प्रचारलाई प्रभावकारी बनाउन नेताहरु तनहुँ १ मा खटिएका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा चुनावी सभाका लागि दमौली पुग्दैछन् । मंगलबार दमौलीमा सत्ता गठबन्धनले चुनावी सभा गर्दैछ ।

महामन्त्रीद्वय थापा र शर्मा एकपटक चुनावी कार्यक्रमका लागि तनहुँ पुगेर फर्किएका हुन् । उम्मेदवारी दर्ताको दिन थापा पुगेका थिए भने अघिल्लो साता शर्मा दुई दिन तनहुँमा बसेर फर्केका हुन् । सहमहामन्त्री बद्री पाण्डे पनि चुनावी प्रचारका लागि तनहुँका चुनावी प्रचारमा खटिएर काठमाडौं फर्केका छन् ।

संस्थापनइतरका नेता डा. शेखर कोइराला व्यास नगरपालिकाका घरदैलो प्रचारमा व्यस्त छन् । कोइरालासँगै केन्द्रीय सदस्य सञ्जय गौतम पनि प्रचारमा छन् । नेता प्रदीप पौडेल चुनावी प्रचारकै लागि सोमबार तनहुँ लागेका छन् । गत साता भट्टराईको प्रचारका लागि घरदैलो गरेर काठमाडौं फर्केका पौडल पुन तनहुँतिर लागेका छन् ।

उपसभापति धनराज गुरुङ र नेता डा. मिनेन्द्र रिजाल वैशाख २ मा भएको अन्तक्रियाका लागि तनहुँ पुगेका थिए । ‘तनहुँको समग्र विकास र आसन्न उपनिर्वाचन विषयक अन्तक्रियाका उपसभापति गुरुङ, नेता रिजाल लगायतले सम्बोधन गरेका थिए । उक्त कार्यक्रममा राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले पनि सहभागी भएका थिए ।

केन्द्रीय सदस्य नैनसिंह महर चुनावमा खटिनका लागि चितवन २ सकेर तनहुँ १ मा सोमबार जाँदैछन् । केन्द्रीय उर्मिला थपलिया क्षेत्रका कार्यक्रमका लागि तनहुँ पुगेकी छन् ।

पार्टीले केन्द्रीय नेतासहित भ्रातृ संस्थाका पूर्व नेताहरुलाई तनहुँ १ मा सक्रिय हुन निर्देशन दिएको छ । पार्टीले वडा वडाको जिम्मेवारी दिएर भ्रातृ संस्थाका पूर्व नेताहरुलाई खटाएको छ । तरुण दलका पूर्व महासचिव भूपेन्द्रजंग शाही, नेविसंघका पूर्व अध्यक्ष रञ्जित कर्ण, नेविसंघका पूर्व नेताहरु मनोजमणि आचार्य, युवराज पाण्डे लगायत क्षेत्रमा मतदाताकहाँ पुगिरहेका छन् ।

कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंह र गोपालमान श्रेष्ठ तथा युवा नेता कुन्दनराज काफ्ले पनि तनहुँमा पुगेर भट्टराईको पक्षमा भोट मागेका छन् ।

मतदाताको घरदैलोमा पुग्ने र पार्टीको आन्तरिक छलफल लगायतका कार्य भइरहेको तरुण दलका पूर्व महासचिव शाहीले जानकारी दिए ।

वैशाख २ गतेबाट केन्द्रबाट ठूलो संख्यामा नेता कार्यकर्तालाई क्षेत्रमा परिचालित गरिएको छ । सामाजिक सञ्जालको प्रचारलाई व्यापक बनाउन छुट्टै टीम केन्द्रबाट पठाइएको छ । कांग्रेसले चुनावी परिचालनको नेतृत्व केन्द्रीय सदस्य शंकर भण्डारीलाई सुम्पिएको छ ।

गत निर्वाचनमा कांग्रेसले जितेको यस क्षेत्रमा नेकपा एमालेबाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्ले उम्मेदवार छन् । सत्ताघटकका माओवादी केन्द्र र एकीकृत समाजवादीले कांग्रेस उम्मेदवार भट्टराईलाई सघाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?