+
+
यात्रा-ब्लग :

पेट ठूलो कि देश ?

करिब दश मिनेटको यात्रामा रोड्रिगोले उनको ७० प्रतिशत भन्दा बढी समय इन्सेनादामा पर्यटकलाई हुनसक्ने खतरा बारे बुझाउनमा नै खर्चिए अनि बाँकी समय त्यहाँका पर्यटकीय स्थलहरूको जानकारी दिनमा।

नारायण भट्टराई नारायण भट्टराई
२०८० वैशाख ४ गते १७:०८

तपाईंले कहिल्यै आफू जन्मिएको देशमा हुने गरेका नराम्रा कुराहरू अर्को देशबाट घुम्न आएका मानिसलाई बताउनु परेको छ ? पक्कै पनि यो काम त्यति सहज हुँदैन। राजनीति गर्नेहरूले वा कट्टर राष्ट्रवादीहरूले तपाईंलाई अराष्ट्रिय तत्त्वको बिल्ला भिराइदिन सक्छन्। अथवा कम्तीमा तपाईंलाई हीनताबोध हुन सक्छ।

तर रोड्रिगोको कथा भने फरक छ। मेक्सिकोको इन्सेनादा घुम्न आउने पर्यटकलाई हुनसक्ने सम्भावित खतराको बारेमा पूर्वजानकारी गराउनु उनले अँगालेको व्यवसायको एउटा महत्वपूर्ण पक्ष हो, जुन उनी वर्षौंदेखि गरिरहेका छन्। उनी मेक्सिकोको कोस्टल शहर इन्सेनादाका एक टुरिष्ट गाइड हुन्।

हामी ३५ जनाको ठूलो समूहसहित लस एन्जलस नजिकैको लङ्ग विचबाट क्यारेबियन क्रुज नामक पानीजहाज चढेर इन्सेनादा पुगेका थियौं। हामीलाई त्यो शहर घुम्ने दिनभरिको समय दिइएको थियो। जहाजबाट ओर्लिएर जीवनमा पहिलोपटक मेक्सिकोको जमिन टेक्दा हामी जति उत्साहित भएका थियौं त्यति नै डराएका पनि थियौं।

मेक्सिकोको बारेमा हामीले सुनेका हल्लाहरू हामीलाई डराउने बनाउन काफी थिए- ‘यो पाब्लो इस्कोबारले आफ्नो लागूऔषधको साम्राज्य खडा गरेको देश हो। यो दुर्व्यसनीहरूको किल्ला हो। यहाँ हत्या र आतङ्कको त्रास हुन्छ’ आदि आदि।

तर इन्सेनादा पुग्दा हामीलाई त्यस्तो केही लागेन। यो समुद्रको किनारमा फैलिएको सुन्दर हरियाली शहर रहेछ। वरिपरि होचा डाँडाले घेरिएको उक्त शहरले हामीलाई नेपालका पहाडहरूको सम्झना दिलायो। तर त्यहाँका पहाडहरू होचा र नाङ्गा थिए।

छोटो कद भएका मेक्सिकनहरूको छालाको रङ नेपालीको जस्तै हुने अनि अमेरिकामा प्रशस्तै मेक्सिकनहरूसँग बोलचाल र व्यवहार गरिने भएकोले हामीलाई त्यति अनौठो भने लागेन। स्प्यानिस भाषासँग पूर्वपरिचित भएर होला उनीहरूले बोलेको कुराहरू पनि त्यति अनौठो लागेन।

त्यो दिन हामीलाई इन्सेनादा घुम्नु थियो। जहाजबाट बाहिर सडकमा निस्किएपछि हाम्रो यात्राको समन्वयमा सक्रिय रहँदै आउनुभएका हरि सुवेदी सर शहर घुम्ने उपाय खोज्न थाल्नुभयो। एकै क्षणको सोधपुछ पछि थाहा भयो त्यहाँबाट प्रत्येक दश मिनेटमा बसले यात्रुहरूलाई शहरको मुख्य केन्द्र डाउनटाउन पुर्‍याउने गर्दा रहेछन्। हाम्रो ३५ जनाको समूह थियो। एकै क्षणमा त्यहाँ एउटा बस आएर रोकियो। हामी केटाकेटीहरूलाई अघि लगाएर गाडी चढ्यौं। बसको बाहिरी र भित्री आवरणले हामीलाई नेपालमा चढ्ने गरेका बसहरूको सम्झना दिलायो। बसका सिटहरू साँघुरा र अलिक फोहोर थिए। त्यो बसमा हाम्रो यात्रा केवल दश मिनेटको थियो।

गाडी अगाडि बढाउने बित्तिकै एक जना पचास वर्ष नाघेका व्यक्ति हामीतर्फ फर्किएर अप्ठ्यारो गरी अंग्रेजीमा भन्न थाले, ‘मेरो नाम रोड्रिगो हो। तपाईंहरूलाई इन्सेनादामा स्वागत छ। यो शहरको मुख्य पर्यटकीय आकर्षण भनेको ला बुफाडोराको सामुद्रिक छाल हो जुन समुद्र किनारको गुफामा ठोक्किएर १०० फिट माथिसम्म फैलिने गर्छ।’

उनले हामीलाई त्यो गुफा र छालको बारेमा रमाइलो किंवदन्ती सुनाए। हामी उत्साहित भयौं। एकाएक हामी विच ला बुफाडोरा घुमेर फर्किने सहमति भयो।

तर रोड्रिगोले आफ्नो भनाइ सिध्याएकै थिएनन्। हामीलाई शहरमा हुनसक्ने जोखिमतर्फ सजग गराउँदै उनी भन्दै गए, ‘यहाँका सडकमा भेटिने मानिसहरूले तपाईंहरूलाई नक्कली सामान किनाउन खोज्नेछन्। वास्तविक सिल्भरका गहना भनेर जलप लगाएका सामानहरू किन्न प्रेरित गर्नेछन्। कतिपय स्कुल जान नपाएका बच्चाहरू गुणस्तरहीन खानेकुरा र नक्कली गहनाहरू बोकेर तपाईंको अगाडि आउने छन् अनि सामान किन्न ढिपी गर्नेछन्। सडकमा जताततै पाकेटमारहरू हुन सक्छन् होसियार हुनुहोला!’

करिब दश मिनेटको यात्रामा रोड्रिगोले उनको ७० प्रतिशत भन्दा बढी समय इन्सेनादामा पर्यटकलाई हुनसक्ने खतरा बारे बुझाउनमा नै खर्चिए अनि बाँकी समय त्यहाँका पर्यटकीय स्थलहरूको जानकारी दिनमा।

रोड्रिगोले हामीलाई धेरै कुरा बताए। अनि सबैभन्दा महत्वपूर्ण चाहिं उनले पेट ठूलो कि देश ठूलो भन्ने कथनको प्रमाणसहित उत्तर बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?