+
+

पदम लिम्बुको अन्त्येष्टि शनिबार, अन्तिम संस्कारअघि शवयात्रा गरिने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ६ गते १६:४३

६ वैशाख,  विराटनगर । प्रदेशको नाम कोशी राखेको विरोधमा भएको प्रदर्शनका क्रममा मृत्यु भएका पदम लिम्बू (लाजेहाङ) को अन्तेष्टि शनिबार गरिने भएको छ ।

कोशी प्रदेश नामाङ्कनको विरोधमा गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा घाइते  भएका उनको चैत १० गते उपचारका क्रममा मृत्यु भएको थियो । मृत्युको २९ दिनपछि उनको अन्त्येष्टि गर्न लागिएको हो ।

वैशाख ९ गते शव यात्रापछि अन्त्येष्टि गरिने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी केन्द्रीय उपाध्यक्ष विष्णु तुम्बाहाङ्फेले जानकारी दिइन् । अन्त्येष्टि अघि शवलाई अन्तिम श्रदान्जलीका लागि सुनसरीको धरान, इटहरी र विराटनगरमा राखिनेछ ।

मुख्यमन्त्री कार्यालय विराटनगर अगाडि केही समय श्रदाञ्जलीका लागि शव राखेर  बेलबारीमा लगेर अन्त्येष्टि गर्ने तयारी रहेको उनले बताइन् । धरान बस्दै आएका लिम्बुको घर मोरङको बेलबारी-२ लालभित्तीमा पर्छ ।

प्रदेश नं. १ पूनः नामकरण संयुक्त सङ्घर्ष समितिले पदमको परिवारजनसँग समान्वय गरी सम्मानपूर्वक अन्त्येष्टि गर्ने निर्णय भएको जानकारी दिएको छ ।

चैत ५ विराटनगरमा भएको प्रदर्शनका क्रममा टाउकोमा चोट लागेका लाजेहाङलाई चैत ९ गते बेहोस अवस्थामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो । चैत १० गते उनको मृत्यु भएको थियो ।

पहिचान पक्षधरको माग अनुसार सरकारले गत २४ चैतमा शहीद घोषणा गर्दै उनको परिवारलाई १० लाख राहत दिने निर्णय गरेको थियो । ४२ वर्षीय लाजेहाङ सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमान्डर थिए ।

गत फागुन १७ गते प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको थियो । पहिचान पक्षधर दल र जातीय संस्थाले प्रदेशको पुन नामाङ्कनको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?