+
+

स्वार्थले नजिकिएका प्रचण्ड–बाबुराम फेरि टाढिंदै

‘वामपन्थी आन्दोलनमा बाबुराम र प्रचण्ड सँगै उभिने कुराको ठूलो अर्थ र महत्व छ, हामी उभियौं । अब कसैले रोकेर रोकिंदैन’ भन्दै नजिकिएका प्रचण्ड–बाबुराम हिजोआज देखिने गरी टाढिंदै छन्, किन ?

रामकुमार डिसी रामकुमार डिसी
२०८० वैशाख ६ गते २०:०१

६ वैशाख, काठमाडौं । चुनावताका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईबीचको जुगलबन्दी हेर्नलायक थियो । भट्टराईले प्रचण्डका लागि आफूले जित्दै आएको गोरखा–२ छोडिदिए । प्रचण्डले पनि भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई आफ्नो पार्टीको चुनाव चिह्न दिए ।

राजनीतिक जीवनको २५ वर्ष सँगै रहेका यी दुवै जनाले उत्तरार्धमा फेरि एकै ठाउँ उभिएको उद्घोष त्यसबेला गरेका थिए । पत्रकारमाझ प्रचण्डको भनाइ थियो– ‘वामपन्थी आन्दोलनमा बाबुराम र प्रचण्ड सँगै उभिने कुराको ठूलो अर्थ र महत्व छ, हामी उभियौं अब । कसैले रोकेर रोकिंदैन ।’

बाबुरामले पनि ट्वीटरमार्फत उसैगरी भनेका थिए– ‘उहाँ (प्रचण्ड) का दिवंगत पिता र हाम्रा सकुशल जीवित पिताको आशीर्वाद लिएर जीवनको अन्तिम कालखण्डमा सहकार्यको नयाँ अध्याय थालनी गरियो । सबैको साथ र सहयोगको अपेक्षा ।’

४ मंसिरको चुनावमा प्रचण्ड गोरखाबाट निर्वाचित भए । तर, चुनावयता बागमतीमा धेरै पानी बगिसकेको छ । प्रचण्ड तेस्रो पटक देशको कार्यकारी पदमा पुगेका छन् । देशको सर्वोच्च पद राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

मंसिरयता राजनीति मात्रै होइन, मौसममा पनि फेरबदल आइसकेको छ । वातावरण तातो हुँदै गए पनि प्रचण्ड–बाबुराम सम्बन्धमा भने चिसोपन बढ्दै छ । स्वयं बाबुरामले नै त्यसको संकेत गरिरहेका छन् । नयाँ वर्ष २०८० को पूर्वसन्ध्यामा सुदूरपश्चिमको टीकापुरदेखि गुलरिया, नेपालगञ्ज, बुटवल, भैरहवा हुँदै काठमाडौं फर्कने क्रममा उनले एउटा विषयमा स्पष्टीकरण दिएको र अर्को विषयमा असन्तुष्टि जाहेर गरेको थाहा पाउन सकिन्छ ।

सबैभन्दा पहिले उनले स्पष्टीकरण दिएको विषयमा चर्चा गरौं । आफ्नो पार्टीका अगुवा कार्यकर्ताहरूसँगको तस्बिर राख्दै २९ चैतमा भट्टराईले लेखेका छन्– ‘नेसपालाई माओवादीमा विलीन भइसक्यो भन्ने सुनियोजित दुष्प्रचारको खण्डन । नेसपालाई आगामी दिनमा भरपर्दो अग्रगामी वैकल्पिक शक्तिको रूपमा विकास गर्ने प्रतिबद्धता ।’

चुनावपछि माओवादी केन्द्र र नेसपाबीच पार्टी एकीकरण हुने भनिएको थियो । भट्टराईको यो अभिव्यक्तिले चुनावताकाको त्यो समझदारी भत्किंदै गएको संकेत गर्छ ।

अब कुरा गरौं भट्टराईले व्यक्त गरेको असन्तुष्टिको । यो सीधै प्रचण्डसँग लक्षित छ । ‘गम्भीर संरचनात्मक सुधार नगरेसम्म देशको संकट समाधान हुनसक्दैन’ भट्टराईको असन्तुष्टि छ, ‘तर सत्तामा रहेका साथीहरू संरचनात्मक सुधार गर्नेतिर भन्दा सत्ताको अंकगणितमै तल्लीन देखिनु बढी चिन्ताको विषय छ । यसबारे अहिले यत्ति ।’

स्वार्थले नजिक, नमिल्दा असन्तुष्टि

चितवनबाटै चुनाव लड्ने स्पष्टीकरण दिइरहेका प्रचण्ड ४० वर्षपछि १० असोजमा भरतपुरस्थित आफ्नो घरमा सरेका थिए । तामझामसहित घर सरेका प्रचण्डले त्यहाँबाट चुनाव लड्दैनन् भन्ने अनुमान कसैले पनि गर्ने अवस्था थिएन ।

तर, अन्तिम समयमा प्रचण्डले चितवन छाडे । उनी गोरखा हान्निए । चितवनबाटै चुनाव लड्ने रवि लामिछानेको तयारी र ‘बागी कांग्रेस’ र एमाले नेता बीच संवाद भइरहेको सूचना पाएका प्रचण्ड सम्भवतः यस्तो अवस्थामा आफूले चुनाव जित्न कठिन हुने निष्कर्षमा पुगे । उनलाई सुरक्षित क्षेत्र चाहिएको थियो ।

उता बाबुराम अब चुनाव नलड्ने निचोडमा पहिले नै पुगिसकेका थिए । अघिल्लो चुनावको ऋणले उनमा चुनावप्रति विरक्ति जगाएको थियो । आफू चुनाव लड्ने भन्दा पनि उनी छोरी मानुषी यमी भट्टराईलाई अगाडि बढाउन चाहन्थे ।

यहाँनेर प्रचण्ड–बाबुराम दुवैको स्वार्थ मिलेको थियो । सुरक्षित क्षेत्रको खोजीमा रहेका प्रचण्डलाई बाबुरामले गोरखा–२ छाडिदिए । मानुषीका लागि प्रचण्डले काठमाडौं–७ को टिकट दिलाए । त्यसमाथि बाबुरामलाई आफूले राष्ट्रपति बनाउन पहल गर्ने आश्वासन छँदैथियो । चुनावमा बाबुरामले प्रचण्डलाई खुलेर सहयोग गरे । प्रचण्डले पनि बाबुरामको तारिफ गर्न कञ्जुस्याइँ गरेनन् ।

तर, सोचे जस्तो भएन । प्रचण्डले जिते पनि मानुषीले काठमाडौं–७ मा चुनाव हारिन् । उता बाबुरामका लागि राष्ट्रपति कार्यालयको दैलो पनि खुलेन । निकटहरूसँग चुनावका बेला प्रचण्डले आफूलाई रणनीतिक रूपमा प्रयोग मात्रै गरेको र अहिले बेवास्ता गर्न थालेको भनेर भट्टराईले गुनासो गर्न थालेका छन् । ‘यति धेरै ठक्करपछि त प्रचण्डले चेते होलान् भनेको त्यस्तो देखिएन’ बाबुरामको गुनासो सुन्ने एक राजनीतिकर्मीको भनाइ छ ।

चुनावअघि अब समाजवादमै जाने र त्यसका लागि विचार निर्माणमा भट्टराईको भूमिका प्रमुख हुने आश्वासन प्रचण्डले दिएका थिए । अहिले त्यसमा पनि प्रचण्डले खासै रुचि नदेखाएको गुनासो बाबुरामको छ । ‘पहिले समाजवादमा जाने हो भन्थे’ प्रचण्डप्रति असन्तुष्टि जनाउँदै बाबुरामले भन्ने गरेका छन्, ‘अहिले त्यसबारे छलफल गर्न समेत रुचि देखाउन छाडे ।’

यसबाट विरक्तिएका बाबुराम फेरि वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने भन्दै पार्टीलाई संगठित गर्ने प्रयासमा लागेका छन् । पश्चिम नेपाल र संगठन विभाग प्रमुख समेत रहेकी उपाध्यक्ष हिसिला यमीले पूर्वतिरको संगठन विस्तारमा जोड दिन थालेकी छिन् । अनि नयाँ शक्तिदेखि जसपासम्म आफूलाई साथ दिएका नेताहरूसँग भट्टराईले पनि संवाद अघि बढाएका छन् ।

माओवादी केन्द्रका नेताहरू भने भट्टराईको पछिल्लो असन्तुष्टिलाई राष्ट्रपति बन्न नपाएको झोंकका रूपमा व्याख्या गर्छन् । ‘उहाँ राष्ट्रपति बन्न चाहनुहुन्थ्यो’ माओवादी केन्द्रका एकजना नेता भन्छन्, ‘त्यसकै लागि उहाँले केपी ओलीसँग पनि भेट गर्नुभएको थियो । तर, शक्ति–समीकरणका कारण त्यो सम्भव भएन । उहाँले त्यसमा प्रचण्डले पहल नगरेको ठान्नुभएको छ ।’

टर्दै पार्टी एकीकरणको सम्भावना

जीवनको उत्तरार्धमा ‘सहकार्यको नयाँ अध्याय थालनी गरेको’ घोषणा गरेका नेताहरूबीच भित्रभित्रै पलाएको असन्तुष्टिले दुई पार्टीबीचको एकीकरणमा समेत असर पर्ने सम्भावना देखिन्छ ।

माओवादीले बृहत् वाम एकताका लागि भन्दै २३ पुस २०७९ मा उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली बनाएको थियो । त्यस्तै नेसपाको २४ पुसमा बसेको राजनीतिक समितिको बैठकले सहअध्यक्ष गंगानारायण श्रेष्ठको नेतृत्वमा वार्ता टोली बनाएको थियो ।

दुवै पार्टीका वार्ता टोलीबीच एक/दुई चरणमा छलफल भए पनि कुनै प्रगति भएको देखिएको छैन । माओवादी केन्द्रको तर्फबाट वार्ता टोली संयोजक रहेका महराले तत्काल कुनै पनि पार्टीसँग एकताको सम्भावना नरहेको बताए । ‘अहिले पार्टी एकताको कुनै सम्भावना छैन’ महराले अनलाइनखबरसँग भने, ‘बरु समाजवादी मोर्चा बन्ने सम्भावना छ ।’

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीबीच मोर्चा बनाउने प्रयास भइरहेको छ । चुनावअघिदेखि नै तीन पार्टीबीच समाजवादी मोर्चा बनाउने चर्चा चलेको थियो । तीन दलबीच मोर्चाबन्दी भएमा संसदमा कांग्रेस, एमाले हाराहारीकै तेस्रो शक्ति निर्माण हुने अपेक्षा नेताहरूको छ ।

यद्यपि जसपा अध्यक्ष उपेन्द्र यादवका कारण मोर्चामा समेत नेसपालाई सहभागी गराउन सुरुमै अप्ठ्यारो देखिएको माओवादी केन्द्रका एक नेताले बताए । ‘उपेन्द्रजीका कारण बाबुरामलाई मोर्चामा ल्याउन पनि अप्ठ्यारो छ’ ती नेताले भने, ‘भर्खरै छोडेर आएको हुनाले उहाँले मोर्चामा बाबुरामलाई राख्न मान्ने अवस्था छैन ।’

संसदीय राजनीतिमा अंकगणितको महत्व बुझेका प्रचण्डले आफ्नो सरकार टिकाइराख्न समेत बाबुराम भन्दा उपेन्द्रलाई प्राथमिकता दिने गरेको देखिन्छ । एकीकृत समाजवादी र जसपासँग तत्काल एकीकरणको सम्भावना नभएकाले पनि माओवादीले समेत नेसपासँगको एकीकरणलाई प्राथमिकतामा नराखेको देखिन्छ ।

पार्टी एकीकरणका लागि माओवादीले पार्टी नाम र चुनाव चिह्न फेर्नुपर्ने शर्त बाबुरामको छ । त्यसलाई सम्बोधन गर्न भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गत माघ दोस्रो साता बसेको स्थायी समिति बैठकमा पार्टीको नाम र चिह्न फेर्ने प्रस्ताव नै गरेका थिए । प्रचण्डले त्यो प्रस्तावलाई तल्लोतहसम्म छलफलमा लैजान समेत नेताहरूलाई भनेका थिए ।

तर, अन्य पार्टीसँग एकता नहुने अवस्थामा नेसपाका लागि मात्रै पार्टीको नाम र चिह्न फेर्न नहुने मत माओवादीमा बलियो छ । यही कारण समेत प्रचण्डले पार्टी एकताबारे भट्टराईसँग बहस गर्न त्यति रुचि नदेखाएको माओवादी नेताहरू बताउँछन् ।

नेसपा उपाध्यक्ष यमीले पनि त्यस्तै संकेत गरिन् । ‘वार्ता टोलीलाई हामीले के के शर्तमा वार्ता गर्ने भन्ने कुरा लिखित रूपमा दियौं, तर, उहाँहरूले त्यसको अध्ययन गरेर जवाफ दिइराख्नुभएको छैन’ उनले अनलाइनखबरसँग भनिन् ।

अहिले माओवादी केन्द्रसँग संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धमा कार्यगत एकता भए पनि पार्टी एकताको सम्भावना नरहेको उनको भनाइ छ । ‘हामी शान्ति प्रक्रियाको एउटा महत्वपूर्ण पाटो टीआरसीमा सँगै छौं’ यमीले भनिन्, ‘तर पार्टी एकताको स्वरुप लिन अलि समय लाग्छ जस्तो लाग्छ ।’ अर्थतन्त्रको संरचनागत सुधार र प्रदेश–१ को नामकरण लगायत विषयमा समेत आफूहरू र माओवादीको मत नमिल्ने उनको भनाइ छ ।

माओवादीसँग एकीकरणको सम्भावना नरहेपछि भट्टराई नेसपाको अलग अस्तित्व स्थापित गर्न लागिपरेका छन् । पछिल्लो समय १० दलीय सत्ता गठबन्धनको बैठकमा भट्टराई नेसपा अध्यक्षको रूपमा उपस्थित हुन र हस्ताक्षर गर्न थालेका छन् ।

त्यस्तै शक्ति बाँडफाँटमा समेत आफ्नो हिस्सा दाबी गर्न थालेका छन् । माओवादी केन्द्रको चुनाव चिह्न लिएर संघमा नेसपाका अर्का अध्यक्ष महेन्द्र राय यादव निर्वाचित भएका छन् भने प्रदेशतर्फ बागमतीमा सहअध्यक्ष गंगानारायण श्रेष्ठ तथा गण्डकीमा फणिन्द्र देवकोटा निर्वाचित भएका छन् ।

नेसपाको तर्फबाट संघीय सरकारमा यादव महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेका छन् भने बागमतीमा श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्री छन् ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?