+
+

आलु कसरी बन्यो सर्वप्रिय ?

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ८ गते १७:४१

काठमाडौं । आलु संसारमै सबैभन्दा लोकप्रिय र धेरै उपभाृग हुने खाद्यपदार्थ हो । नेपाली भान्सामा पनि आलुले महत्वपूर्ण हिस्सा ओगट्छ । धेरै तरकारी आलु बिना अधुरो हुन्छन् ।

अर्को कुरा आलु मन नपराउने मानिस पनि सायदै हुन्छन् । विश्वको जुनसुकै भेगमा पनि पाइने र अरू तरकारीभन्दा तुलनात्मक रुपमा सस्तो पनि पर्ने भएकाले आलु धेरैको रोजाइमा पर्ने पोषणविद् आरेम कार्की बताउँछन् ।

आलुको उत्पत्ति

आलुको उत्पत्ति दुई हजार वर्षभन्दा पहिला सर्वप्रथम दक्षिण अमेरिकाको पेरुमा भएको वैज्ञानिक मान्यता छ । सन् १५३६ मा स्पेनका नाविकले पेरुलाई जितेपछि आलुलाई स्पेनमा ल्याएको देखिन्छ भने सन् १५८० मा कोलम्बसले स्पेनबाट युरोपका अन्य देशमा आलु फैलाएको बताइन्छ । युरोपका जर्मनी, अस्ट्रिया, फ्रान्स, पोर्चुगल लगायत देशमा फैलिन करिब दुई सय वर्ष लागेको आलुलाई पोर्चुगलले भारतीय उपमहाद्वीपमा प्रवेश गराएको तथ्यहरू भेटिन्छन् ।

फ्रान्समा आलुको विस्तार गर्न लुई चौधौंले सन् १७६७ मा आलुको परिकार मात्र बनाइएको भोज आयोजना गरेको तथा उक्त भोजमा तत्कालीन अमेरिकी राजदूत बेन्जामिन फ्रर्यांलिन समेत सहभागी भएको उल्लेख छ । पोर्चुगलले भित्र्याएको आलु भारतको पश्चिम तटीय क्षेत्रमा खेती हुने गरेको विवरण सन् १६७५ मा तत्कालीन बेलायती दूतावासका कर्मचारी एडवार्ड टेरीले आफ्नो भ्रमण डायरीमा लेखेका छन् । भारतको पश्चिम बंगालमा भने बेलायती व्यापारीहरूले लगेको पाइन्छ । पश्चिम बंगालबाट नेपालको पूर्वी भाग हुँदै आलु नेपाल तथा तिब्बत प्रवेश गरेको अनुमान गर्न सकिन्छ ।

नेपालमा प्रचलित आलुको प्रजाति

कुफ्री ज्योति : यो आलु मध्यम जातअन्तर्गत पर्छ । यो आलु ठूलो, हल्का, गोलाकार अनि बोक्रा सेतो रङको हुन्छ ।

कुफ्री सिन्धुरी : यो पछौटे जात अन्तर्गत पर्छ । यसको फल मध्यम खालको अनि गोलाकार हुनुका साथै बोक्रा रातो रङको हुन्छ ।

डेजिरे : यो अगौटे जात अन्तर्गत पर्छ । यसको पनि मध्यम खालको गोलाकार फल हुनुको साथै बोक्रा रातो हुन्छ ।

जनकदेव : यो तराई, पहाड र हिमालमा खेती गरिने मध्यम जातको हो । यसको फल ठूलो सानो दुवै हुने र बोक्रा रातो हुन्छ ।

खुमल सेतो : यो मध्यम खालको आलु हो । यसको फल गोलो, ठूलो, सानो अनि बोक्रा सेतो हुन्छ ।

खुमल रातो : यो पनि मध्यम जातकै  आलु हो । यसको फल मध्यम खालको हुन्छ, जसमा हल्का रातो बोक्रा हुन्छ ।

कुफ्री बाहार : यो मध्यम जातको, ठूलो, गोलो अनि हल्का सेतो बोक्रा भएको आलु हो ।

आलुको पौष्टिक महत्त्व

आलुलाई बहुउपयोगी कन्दमूल मानिन्छ । तरकारीको प्रमुख नै मानिने आलु विश्वभरि सबैभन्दा बढी उपभोग हुने कृषिउपजमध्येमा पर्छ ।  आलु सदाबहार तरकारी मात्रै नभई औषधीय गुणले भरिएको खाद्यपदार्थ समेत हो ।

मध्यमखाले १०० ग्राम आलुमा ११२ क्यालोरी ऊर्जा हुने पोषणविद् कार्की बताउँछन् । ‘आलुमा २० प्रतिशत स्टार्च, दुई प्रतिशत प्रोटिन, एक प्रतिशत खनिज र ८० प्रतिशत पानी हुन्छ,’ उनी भन्छन् ।

१०० ग्राम आलुको खानयोग्य भागमा २० देखि २३ प्रतिशत कार्बोहाइड्रेट, १.६ प्रतिशत प्रोटिन, ७४.७ प्रतिशत पानी, ०.०१ ग्राम बोसो, ०.६-१ ग्राम मिनरल्स, ०.०१ प्रतिशत क्याल्सियम, ०.०३ प्रतिशत फस्फोरस हुन्छ । यस्तै प्रति १०० ग्राम आलुमा भिटामिन ‘ए’ ४० आईयू र फलाम ०.७ मिलिग्राम समेत पाइने पोषणविद् कार्की बताउँछन् ।

आलुको परिकार

आलुलाई तरकारीको राजा भनिन्छ । आलुबाट बनेको हरेक परिकार स्वादिष्ट हुन्छ । आलुबाट २०० भन्दा बढी परिकार बनाउन सकिन्छ । नेपालमा लोकप्रिय आलुका परिकारमा आलुको तरकारी, अचार, आलुदम, फ्रेन्च फ्राइ, आलु परौठा, समोसा, चिप्स, भुजिया, आलुचप, पकौडा, आलु निम्की, आलु जिरा, आलु चाट, दही आलु, पोलेको आलु, आलुको सलाद, आलु तन्दुरी, आलुको सुप, शेर्पाको रैथाने परिकार रेल्दोक लगायतका परिकार रहेको सेफ आरबी बुढाथोकी बताउँछन् ।

आलुसँग जोडिएका अन्य तथ्य

-आलुको सबैभन्दा पौष्टिक भाग बोक्राको तल मात्र हुन्छ । त्यसैले आलुमा भएको पौष्टिक तत्त्व प्राप्त गर्न बोक्रासहित पकाउनुपर्छ ।

-आलुको कुनै भाग हरियो छ भने त्यसलाई काटेर फाल्नुपर्छ । किनभने यसमा सोलानिन नामक विषाक्त पदार्थ हुन्छ ।  यसबाहेक आलुमा अंकुर आएको छ भने त्यो भाग काटेर हटाउनुपर्छ ।

-आलुमा अथाह औषधीय गुण हुन्छ । यसले आन्द्रामा फोहोर हुने प्रक्रियालाई रोक्छ र पाचन प्रक्रियामा सहयोगी ब्याक्टेरिया वृद्धिमा सहयोग गर्छ ।

-काँचो आलुको रस छालाको दाग हटाउन उपयोगी हुन्छ । आलुमा पाइने पोटासियम सल्फर, फस्फोरस र क्याल्सियमको मात्राले छालालाई सफा राख्न मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?