 
																			चैत ८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गेटमा राखिएको कृत्रिम फोक्सो १५ दिनमै कालो भएपछि निकालिएको छ । वायु प्रदुषणका कारण १५ दिनमै कृत्रिम फोक्सो कालो हुनुले मानव स्वास्थ्यमा पार्ने गम्भीर असरलाई बुझ्न सहज भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन् ।
मन्त्रालयले विश्व स्वास्थ्य दिवसको अवसरमा जडान गरिएको सो कृत्रिम फोक्सो पृथ्वी दिवसको अवसरमा त्यहाँबाट सारेर पन्ध्र दिनमा आएको परिवर्तनलाई तस्वीरका माध्यमले बुझाउन विभिन्न स्थानमा जनचेतनामुलक अभियानका लागि प्रयोगमा ल्याउने स्वास्थ्य मन्त्रालयले योजना बनाएको छ ।
वायु प्रदूषणले मानव स्वास्थ्यमा पार्ने असरबारे जनचेतना जगाउन मन्त्रालयले विश्व स्वास्थ्य दिवसको अवसर पारेर २०७९ चैत्र २४ का दिन हेपा फिल्टरबाट बनेको एक जोडी कृत्रिम फोक्सो मन्त्रालयको मुलद्वारमा जडान गरेको थियो ।
नेपालमा वायु प्रदूषणको मुख्य कारणमा सवारी साधनबाट निस्कने धुवाँ, धुलो, औद्योगिक कल कारखानाबाट हुने उत्सर्जन, जंगलमा लाग्ने डढेलोको साथै घर, रेष्टुरेन्ट तथा होटल व्यवसायबाट हुने उत्सर्जन र उर्जाका रुपमा काठ, दाउरा, कोइला, ब्रिकेटको आदिको प्रयोग रहेका छन् ।
प्रदूषित वायुमा कार्बन मोनोअक्साइड, ओजोन, नाइट्रोजन डाइअक्साइड र सल्फर डाइअक्साइड जस्ता हानिकारक सुक्ष्म कण समेत समावेश हुन्छन् । वायु प्रदूषणले श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्याका साथै हृदयघात, मतिष्कघात, आँखा, छालासम्बन्धी रोग र क्यान्सर समेत निम्त्याउने गरेको छ ।
वायु प्रदूषण मृत्युको प्रमुख कारकमध्ये एक रहेको छ । वायु प्रदूषण स्वास्थ्यका दृष्टिले खतरनाक अवस्था हो । वायु प्रदूषणले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ । यसले मानव शरीरमा असर नपु¥याउने कुनै त्यस्तो अंग छैन । ‘वायु प्रदूषण साइलेन्ट किलर हो । यो देखिँदैन । तर, यसले पार्ने असर अत्यन्तै उच्च हुन्छ । यसले हाम्रो शरीरका प्रत्येक अंगलाई असर गर्न गर्छ,’ छातीरोग विशेषज्ञ डा. राजु पंगेनी भन्छन् ।

वातावरण तथा घरेलु वायु प्रदूषणका कारण प्रत्येक वर्ष ७० लाख मानिसहरूको मृत्यु भइरहेको विश्वस्वास्थ्य संगठनको तथ्यांक छ ।
वायु प्रदूषणको मात्रा बढी भएमा त्यसले रोगसँग लड्ने क्षमता कम भएको मानिसलाई बढी असर गर्छ । पाँच वर्षभन्दा मुनिका बालबालिका, ६५ वर्ष नाघेका वृद्धवृद्धा, दम, एलर्जी, दीर्घरोगी जोकोहीलाई पनि वायु प्रदूषणले असर गर्नसक्छ । सँगसँगै प्रदूषणका कारण खोक्न सक्ने क्षमता कम हुन्छ । वृद्धवृद्धालाई खोकेर खकार निकाल्न नसक्ने समेत अवस्थामा पुर्याउँछ । मन्त्रालयले काठमाडौंमा उच्चस्तरको प्रदूषण कायम रहेको भन्दै यसबाट जोगिन आम नागरिकलाई अपिल गरेको छ ।
वायु प्रदूषणको नकारात्मक प्रभावबारे चेतना जगाउन र जनमानसमा वायु प्रदूषणबाट आफूलाई बचाउन ठोस कदम चाल्न पर्ने डा. अधिकारी बताउँछन् ।
तत्काल यसका लागि मास्क लगाउने,अत्यधिक प्रदूषित क्षेत्रहरूबाट टाढा रहने, विद्युतीय चुलो र सवारी साधनको प्रयोग गर्ने, फोहोर नजलाउने जस्ता कार्य गर्नुपर्ने मन्त्रालयले जनाएको छ । दीर्घकालीन रुपमा व्यवस्थित शहरीकरण, नविकरणीय उर्जा प्रयोग, रुख बिरुवा लगाउने जस्ता कार्य गरी वायु प्रदूषण कम गर्न सकिन्छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4