+
+
विचार :

बाँदर विमर्श

बाली भित्र्याउन ४ देखि ६ महिनाको निरन्तर परिश्रम आवश्यक पर्छ तर बाली सखाप पार्नको लागि बाँदरलाई एक मौका काफी छ। खाने भन्दा बिगार्ने स्वभावले किसानलाई झन् बढी पीर पारेको छ। अझ बाँदरको खाने बानीमा आएको परिवर्तनको समेत साक्षी बन्‍नुपरेको छ।

डा. गृष्म नेउपाने/रमेश आचार्य/सागर घिमिरे डा. गृष्म नेउपाने/रमेश आचार्य/सागर घिमिरे
२०८० वैशाख ९ गते १०:४८

थोरै जमिन, धेरै मिहिनेत, महँगो लागत र न्यून प्रतिफल नेपाली कृषक र कृषि क्षेत्रको विशेषता नै बनेको छ। बाह्रै महिना दशनङ्ग्रा खियाउँदा पनि वर्षभरि खाने जोहो नहुँदा कृषि पेशामा टिकिरहन कसरी प्रोत्साहित हुनु र? त्यसैले पेशाकर्मी र जनशक्ति पलायनको भारले कृषि क्षेत्र चेपिएको छ। हुन त पाइला पाइलामा चुनौती र जोखिमको चाङ बोकेर भए पनि जसोतसो बालीनाली फलाउने र थोरै भए पनि आफ्‍नै स्वदेशी उत्पादन चखाउने हुटहुटी हुनेहरू नभएका पनि होइनन् तर मिहिनेत, सीप, लगानी र समय बालुवामा पानी हालेसरह बनाइदियो बाँदरले। छापाहरूमा आएका ‘बाँदर आतङ्कः अन्‍नबाली उत्पादन नभएपछि बसाइँसराइ’, ‘बाँदर आतङ्कः सर्वत्र समस्या’, ‘बाँदर धपाइदिने उम्मेदवारलाई मतदान’ जस्ता शीर्षकका समाचार तथा लेख आफैंमा सामाजिक परिवेशका ऐना हुन्। ‘बोल्न लेख्‍न सजिलो तर गरी पुर्‍याउन गाह्रो’ भन्‍ने त छँदै छ र पनि बाँदरका बारेमा विमर्श गर्नैपर्ने देखेर यो प्रयास गरिएको छ।

विषयको सान्दर्भिकता

पंक्तिकारहरू आफैं पनि बाँदरको समस्याको भुक्तभोगी हुन्। मन्त्रालयको प्रत्येक कार्यक्रममा किसानको प्रमुख आवाज भनेको बाँदरको समस्या हल गरिदिनु भन्‍ने नै हुन्छ। लुम्लेस्थित कृषि अनुसन्धान निर्देशनालयमा मात्र वर्षेनि २० लाखभन्दा बढी बजेट बाँदर हेरालुमा खर्च हुन्छ। जंगलले घेरेको ठाउँमा मकै, काँक्रो, केराउ, मुला जस्ता बालीको बीउ उत्पादन गर्नु र अनुसन्धानका कार्यक्रम सञ्‍चालन गर्नु फलामको चिउरा चपाउनु बराबर भएको छ। बाँदरका हुल किसानको खेत र अनुसन्धानका प्लटहरूमा निर्वाध छापा मारिरहेका हुन्छन्। बाली भित्र्याउन ४ देखि ६ महिनाको निरन्तर परिश्रम आवश्यक पर्छ तर बाली सखाप पार्नको लागि बाँदरलाई एक मौका काफी छ। खाने भन्दा बिगार्ने स्वभावले किसानलाई झन् बढी पीर पारेको छ। अझ बाँदरको खाने बानीमा आएको परिवर्तनको समेत साक्षी बन्‍नुपरेको छ। हिजोको दिनहरूमा नखाएको बालीहरू जस्तै प्याज, लसुन, रायो, सुन्तला आदि पनि आजका दिनमा खाने गरेको छ। मानिसले आफ्‍नो बाली बचाउने उद्देश्यले प्रयोग गर्ने सुरक्षाका विधिहरूबाट पाठ सिक्दै प्रतिकूलतालाई अनुकूलतामा बदल्ने गतिशील खुबी बाँदरमा विकास हुँदै गएको पाइन्छ।

नेपाली मान्यता

हिन्दु ग्रन्थहरूमा बाँदरहरूको भूमिका धेरै परिवेशमा उल्लेख भएको पाइन्छ। त्रेता युगमा रामले रावण माथिको विजय प्राप्‍त गर्न बानर सेना, सुग्रीव र हनुमानको भूमिका उल्लेखनीय नै रह्‍यो। तिनै हनुमानलाई ग्रन्थहरूले अष्टचिरञ्‍जीवीको रूपमा चित्रण गरी उनको गुणगानमा ‘हनुमान चालिसा’ नै जप्ने गरिन्छ। द्वापर युगमा महाभारतमा अर्जुनको रथमा सानो रूप धारण गरी हनुमान बसेका थिए। हिन्दु धर्ममा आस्था राख्‍नेहरूले बाँदरलाई यिनै हनुमानको सन्तानको रूपमा लिई श्रद्धा राख्‍ने गर्दछन्। सायद त्यसै कारण पशुपतिनाथ, स्वयम्भू, देवघाटधाम जस्ता धार्मिक क्षेत्र वरपर बाँदरको संख्या धेरै रहेको छ। इतिहासमा यसरी बल, बुद्धि प्रयोग गरी न्यायको पक्षमा उभिएका बाँदरहरूले २१औं शताब्दीमा चाहिं किसानलाई न्याय गरेको एउटा पनि उदाहरण भेटिंदैन।

बाँदरका प्रजाति

नेपालमा खासगरी रातो बाँदर, आसामी रातो बाँदर, नेपाली खैरो लङ्गुर र तराई खैरो लङ्गुर/हनुमान लङ्गुर प्रजातिका बाँदरहरूको बाहुल्य रहेको पाइन्छ। यीमध्ये रातो बाँदर र आसामी रातो बाँदर पहाडी क्षेत्रमा बढी समस्याको रूपमा रहेका छन्। ठूलो समूहमा हिंड्ने र बालीनालीलाई एकैछिनमा सखाप पार्ने हुँदा कृषकहरू आक्रान्‍त बनेका छन्। ती बाहेक एक्लै वा दुईवटा बाँदर मिलेर सुटुक्‍क बारीमा पसेर बालीनाली खाएको त कृषकले अत्तोपत्तो नै नपाउन सक्छन्।

रातो बाँदरको जातीय विशेषता

उत्परिवर्तनको विकासक्रम हेर्दा बाँदरहरू मानवको नजिकैको र चलाख प्राणी हो। बाँदरका स्वभाव र बानीव्यहोरा मानिससँग धेरै हदसम्म मिल्दोजुल्दो रहेको पनि देखिन्छ। रातो बाँदरको जन्मिंदाको तौल करिब ४००-५०० ग्राम हुन्छ भने माउको दूध खान छोड्ने उमेर औसत २७० दिन रहेको पाइन्छ। वयस्क पोथीको औसत तौल करिब ५ केजी र भालेको करिब ८ केजी हुन्छ। रातो बाँदरमा पहिलो पटक यौवनता आउने उमेर पोथीको २-४ वर्ष र भालेको ३-५ वर्ष हो भने त्यसको १ वर्षपछि प्रजनन र सामाजिक रूपमा यिनीहरू वयस्क हुन्छन्। बहुपोथी बहुभालेको प्रजनन समूहमा रहने, ऋतुचक्रको अवधि सामान्यतया २६-२९ दिनको हुने, ८-११ औं दिनमा पोथीले भाले ग्रहण गर्ने र एक भन्दा धेरै भालेसँग समागम हुने जस्ता यौनिक गुणहरू बाँदरमा रहेका छन्।

बाँदरको गर्भ अवधि १६५ दिनको हुन्छ र यसले वर्षमा १ पटक मात्र र १ सन्तान पाउने गर्दछ। रातो बाँदरको झुण्डको अधिकतम संख्या २०० सम्म हुनसक्दछ तर करिब ८०-९० भन्दा ठूलो झुण्ड भएमा केही पोथीहरू अलग्गिएर छुट्टै झुण्ड बनाउने गर्दछ। भाले वयस्क भएपछि आफू जन्मिएको झुण्ड त्याग गरी अन्यत्र जाने गर्दछ।

रातो बाँदरका विभिन्‍न झुण्डहरूको विचरण क्षेत्र एकै भूगोलमा पनि पर्न सक्दछ तर एक अर्को झुण्डबीच सामान्यतया द्वन्द्व नहुने र कमजोरले बलियो झुण्डको अस्तित्व स्वीकार गर्ने गर्दछ। रातो बाँदरहरू खानेकुरामा सर्वआहारी हुन्छन् जसले वानस्पतिक खानेकुरा (अन्‍न, फलफूल, बीउ, जरा, बोक्रा, कलिला पात, मुन्टा) खानुका साथै कीरा, माकुरा, चराका अण्डा, धमिरादेखि माछासम्म पनि खाने गर्दछन्। बाँदरले पानी अभाव हुने स्थानहरूमा रुखका पातमा परेको शीतबाट समेत आफ्नो प्यास मेटाउने गर्दछ। रातो बाँदरको औसत आयु २५-३० वर्षको हुन्छ।

बाँदर संरक्षण र बाँदरको योगदान

बाँदर पनि प्रकृति तथा जैविक विविधताको एक हिस्सा हो। विश्‍वको जैविक विविधता संरक्षणमा लागेको संस्था आईयूसीएन तथा वन्यजन्तुको चोरी पैठारी रोक्ने संस्था साइटिसको नेपाल सदस्य राष्ट्र पनि हो। यी दुवै संस्थाले बाँदरलाई मार्न अथवा चोरी पैठारी गर्न छुट दिएको छैन। आईयूसीएनले संसारभरको वन्यजन्तु तथा वनस्पतिको जात, वासस्थान, जनसंख्या, पर्यावरण प्रयोग तथा व्यापार, खतरा तथा संरक्षणको आधारमा रातो सूची तयार गरेको छ। त्यही सूचीलाई हेर्ने हो भने बाँदरको प्रजाति अनुसार कम चिन्तादेखि लोपोन्मुखसम्ममा सूचीकृत छन्।

लेखकत्रय वायाँबाट- डा. गृष्म नेउपाने/रमेश आचार्य/सागर घिमिरे

नेपालमा रहेका बाँदरमध्ये रातो बाँदर र नेपाली खैरो लङ्गुर कम चिन्ता तथा आसामी रातो बाँदर र तराई खैरो लङ्गुर/हनुमान लङ्गुर नजिकैको खतरामा रहेको रातो सूचीको मूल्याङ्कन रहेको छ। राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले आसामी रातो बाँदरलाई संरक्षित वन्यजन्तुको रूपमा सूचीकृत गरी त्यसको शिकार गर्न निषेध गरेको छ।

बायोमेडिकल अनुसन्धानमा बाँदरले पुर्‍याएको योगदान पनि अतुलनीय छ। सन् १९३७ मा रगतको आर.एच. फ्याक्टर पत्ता लगाउन बाँदर उपयोगी रह्‍यो। सन् १९५० को दशकमा पोलियो विरुद्धको खोपको अनुसन्धान र विकासमा समेत बाँदरको प्रयोग गरियो। त्यसैगरी औषधिहरू सुरक्षित रहे नरहेको र प्रभावकारी भए नभएको अनुसन्धान गर्न र एच.आई.भी. एड्स लगायतका प्राणघातक रोगहरू सम्बन्धी अनुसन्धान तथा खोप विकासका कार्यमा बाँदरको प्रयोग हुँदै आएको तथ्य लुकेको छैन। पछिल्लो समयमा साथीत्वका लागि घरमा नै बाँदर पाल्ने र तालिम दिई काममा प्रयोग गर्न प्रयासहरू समेत भएको पाइन्छ।

बाँदर कल्याण

पृथ्वी साझा घर हो र सर्वश्रेष्ठ प्राणी भएकै कारण मानिसले साझा घरको नेतृत्व गरेकै छ तर संरक्षण गर्न सक्यो कि सकेन, त्यो बहसको विषय बन्ला। वीर भोग्य वसुन्धरा भने झैं सामर्थ्यवान, कुशल र बहुगुण निपुणले नै सांसारिक संसाधनको उपयोग गर्दछ तर अमानवीय, निर्दयी र क्रुर तरिकाले प्राप्त भोगले मोक्ष प्राप्ति होला कि नहोला?

सनातन धर्म र हिन्दु संस्कृतिको बाहुल्य भएको हाम्रो जस्तो मुलुकमा मानिसले चौरासी लाख योनी पार गर्नुपर्ने र धर्मात्म पुर्खाहरू जनावरको रूपमा पुनः जन्म लिने धारणा राख्दछन् अनि ‘अहिंसा परमो धर्म’ जस्तो बुद्धोपदेश अनुसरण गर्छन्। महात्मा गान्धीले भनेकै छन् सामाजिक विकासको अवस्था चित्रण गर्न पशुप्रति गरिने व्यवहार नै पर्याप्त हुन्छ। त्यसैले बाँदरले कृषि क्षेत्रमा देखाएको ताण्डवको समाधान निर्दयी क्रियाकलापबाट नभई मानवीय उपायहरूबाट खोजिनुपर्दछ।

बाँदर व्यवस्थापनको सकस

कृषकले लगाएका बालीनाली जोगाउन विभिन्‍न उपाय अपनाइए पनि तीनै तहका सरकारले बाँदर व्यवस्थापनको लागि ठोस नीति तथा कार्यक्रम ल्याउन सकेको देखिंदैन। स्थानीयस्तरमा बाँदर धपाउने बन्दुक नै बनाएर बाँदर लखेट्ने गरेको हामीले देखे सुनेका छौं, तर यो विधि पनि अल्पकालीन समाधान मात्र सावित भएको छ। त्यसैगरी विभिन्न वन्यजन्तुले कृषिमा गरेको क्षतिको क्षतिपूर्ति दिने तथा बीमा सम्बन्धी कानुनी व्यवस्थामा बाँदरबाट हुने क्षतिलाई समावेश गरिएको छैन। सम्मानित सर्वोच्च अदालतले बाँदरबाट हुने क्षतिको क्षतिपूर्ति दिन सरकारलाई निर्देशनात्मक आदेश दिएको पाँच वर्ष पूरा भएता पनि हालसम्म कार्यान्वयन भएको पाइँदैन।

उल्लिखित अवस्थामा कृषि क्षेत्रको सुरक्षा र कृषकको क्षतिवरणका लागि राज्य र राज्यका निकायहरूले के गर्ने र कुन क्षेत्रमा के कसरी लगानी गर्ने भन्‍ने विषय प्रमुख हुन्छ। राज्य कृषकको मात्र नभई आफ्नो भूगोलभित्रको समग्र प्रकृति र विविधताको समेत संरक्षक हो। राज्यले नीति–नियम बनाउँदा वा कार्यान्वयन गर्दा अन्तर्राष्ट्रिय सन्‍धि सम्झौता, वातावरण तथा वन्यजन्तु संरक्षण, पशु कल्याण लगायत विषयलाई ध्यान दिनु नै पर्ने हुन्छ।

केही मुलुकहरूमा कृषिमा हानि पुर्‍याउने वन्यजन्‍तुलाई मारेर संख्‍या घटाउने वा बन्ध्याकरण गर्ने गरिएका दृष्‍टान्त पाइन्छन्। काठका भाँडाकुँडा बनाई नजिकैको बस्तीमा खाद्यान्‍नसँग साटी जीवनयापन गर्दै आएका नेपालको घुमन्ते आदिवासी राउटे जातिले बाँदर शिकार गरी खाने गरेको विषय सार्वजनिक भएता पनि मूलभूत रूपमा नेपाली समाजमा बाँदरको शिकार गर्ने अभ्यास र कानुनी व्यवस्था रहेको छैन।

वर्षौँदेखि हामी बाली लगाई बाँदरसँग बाँडेर खाने वा बाँदर लखेट्न समय खर्चिने वा बाँदरसँग जुध्न नसकेर जग्गा बाँझो छोडी अन्यत्रै पलायन हुनुपर्ने अवस्थामा आइपुगेका छौं। आफ्‍नो विशेष परिस्थितिको ठोस मूल्याङ्कन गरी नीतिगत सुधार गर्ने र कानुनी अड्चन फुकाउँदै नलैजाने हो भने विकास र समृद्धि कागजमा मात्र सीमित हुन सक्छ। बाँदरको संरक्षण गर्ने, कृषकको जोखिम न्यूनीकरण गर्ने, उत्पादन वृद्धि गर्ने र कृषि श्रमिकको पलायन रोक्ने जस्ता अन्तरसम्बन्धित विषयमा राज्यका तर्फबाट नीतिगत र कानुनी परिमार्जन आवश्यक छ।

बाँदर व्यवस्थापनको विधि

बाँदर व्यवस्थापनको कुनै एक मात्र विधि अपनाई बाँदर नियन्त्रण हुन सक्दैन। कानुनको परिधि भित्र रही विभिन्‍न विधिको एकीकृत रूपमा प्रयोग गर्न सकेमा मात्र बाँदर व्यवस्थापन गरी कृषकको बालीनाली जोगाउन सकिन्छ। व्यवस्थापनका विभिन्‍न विधि देहाय अनुसार हुन सक्दछन्।

१. बाँदरलाई जंगलमै आहारको प्रबन्ध

जुनसुकै प्राणीले आफ्नो भोको पेट भर्नको लागि जस्तोसुकै जोखिम उठाउन तयार हुन्छ। जंगलमा रहेका बाँदरले आफ्‍नो वासस्थानमा खाने कुरा नपाएर भोको रहनुपर्ने भयो भने त्यहाँबाट बाहिर निस्केर पेट भर्न सक्ने स्थानसम्म पुग्नु उसको बाध्यता हो। नेपालको परिवेशमा खेती गरिएको जमिन र वन सँगसँगै रहेका छन्। जंगलमा काफल, चुत्रो, ऐंसेलु, कटुस जस्ता फलफूल र कन्दमूल लगायतका आहार उपलब्ध गराउन सकियो भने पक्‍कै पनि बाँदरलाई जंगलमा नै अघाउने बनाउन सकिन्छ र कृषकले लगाएको बालीमा बाँदरबाट हुने क्षति घटाउन सकिन्छ।

वर, पीपल, समी आदिको फल पाक्ने समयमा बाँदर त्यही रुखहरूमा भुलेर कृषकको मकैबारीमा कम मात्र गएको हामीले महसुस गरेकै हौं। जंगलमा बाँदरको खानेकुरा व्यवस्थापनको लागि बाँदरको संख्या आकलन गरी नजिकको जंगलमा कृषक, सामुदायिक वन उपभोक्ता समिति र वन कार्यालयहरूले एकीकृत रूपमा फलफूल तथा कन्दमूल वृक्षरोपण गर्ने व्यवस्था मिलाउनु आवश्यक छ। साथै, कुकाठको नाममा बाँदरको आहार फल्ने बोटबिरुवा काट्न नदिई संरक्षण गर्नु आवश्यक छ।

२. बाली प्रणाली छनोट

बाँदर सबै क्षेत्रको समस्या भने होइन। जहाँ बाँदरको अत्यधिक समस्या छ, त्यहाँका किसानलाई हामीले वैकल्पिक खेती प्रणालीमा लैजान प्रोत्साहन किन नगर्ने? हुन त बाँदरले नखाने बाली पनि कम नै छ, तर पनि पशुपालन, पन्छीपालन, माछापालन, मौरीपालन, रेशम खेती, च्याउ खेती, घाँस खेती लगायत व्यवसायहरू बाँदरबाट जोखिम मुक्त बनाउने वैकल्पिक उपाय हुन सक्दछन्। राज्यका निकायले यस्ता कार्यक्रमलाई प्राथमिकता दिनैपर्ने हुन्छ।

बाँदरको संख्या र असर बढी भएको क्षेत्रलाई प्राथमिकता दिई बाँदरले कम क्षति गर्ने खालको कृषि व्यवसायमा संलग्न हुन कृषकहरूलाई प्रोत्साहन गर्ने गरी स्थानीय तह तथा प्रादेशिक निकायहरूले खास कार्यक्रम तर्जुमा गर्न आवश्यक छ।

३. धपाउने वा लखेट्ने

यो परम्परागत रूपमा नै चलिआएको विधि हो। बाली बचाउन बच्चादेखि वृद्धसम्मले हातमा गुलेली र मट्याङ्ग्रा बोकेर बाँदर लखेट्ने र सकेसम्म बाली जोगाउने प्रयास हुँदै आएको छ। आजभोलि बाँदर धपाउँदा वा लखेट्दा मानिसलाई बाँदरले नटेर्ने र उल्टै आक्रमण गर्न खोज्ने गरेको देख्‍न र सुन्‍न सकिन्छ। अझ, महिलाहरूलाई त बाँदरले टेर्दै टेर्दैन भन्‍ने समेत गुनासो रहेको छ। बहुसंख्यक कृषक महिला रहेको सन्दर्भमा महिलाले धपाउँदा बाँदरले नटेर्नु अझ पेचिलो समस्या हो।

यो बाहेक घरघरमा बाँदर लखेट्‍ने कार्यको लागि कुकुर पाल्ने तथा कुकुर र कृषक मिलेर बाँदर लखेट्ने गरिन्थ्यो। यो विधि हालसम्म केही प्रभावकारी देखिए पनि सोखको रूपमा घर परिसरमा बाँधेर कुकुर पाल्ने प्रचलन बढ्‍नु तथा कुकुरसँग समेत बाँदर डराउन छोड्नुले प्रभावकारिता घट्दै गएको छ। त्यसो त ग्रामीण क्षेत्रमा कृषि श्रमिक घट्दै जाँदा कतिपय गाउँमा बाँदर लखेट्ने मान्छे पाउन समेत कठिन छ। यस्ता विषयका बाबजुद वर्तमान कानुनी जटिलता तथा प्रचलित खेती प्रणालीको सन्दर्भमा बाँदर लखेट्ने वा धपाउने एक महत्वपूर्ण विधि हो र यसका लागि तत्काल निम्नानुसारका उपायहरू कार्यान्वयनमा लैजान सकिन्छ।

४. बाँदर लखेट्न सहभागितामूलक अभियान

कृषकको लागि आफ्‍नो बालीको क्षति गर्ने रोग कीरा जस्तै बाँदर पनि शत्रु नै हो। आफू र आफ्‍नो परिवारको जीविकोपार्जनमा समस्या ल्याउने शत्रु खेद्‍न पाउने विशेषाधिकार कृषकले पाउनुपर्दछ। कृषकस्तरमा हाल अभ्यासमा रहेको बाँदर लखेट्ने अभियानलाई कृषक समूहमार्फत सहभागितामूलक ढङ्गले आलोपालो प्रणाली अवलम्बन गरी बाली जोगाउने अभियानको विधि बसाल्न आवश्यक देखिन्‍छ।

निश्चित क्षेत्रको सबै खेतीयोग्य जग्गामा अनिवार्य रूपमा खेती गरिएमा मात्र यस्ता अभियानहरू सफल हुनेछन्। बाँदरको समस्याग्रस्त क्षेत्रमा क्रियाशील कृषक समूह वा सहकारी संस्थाहरूले बाँदर लखेट्ने विधि र सो कार्यमा सम्पूर्ण सदस्यहरूको सहभागिता हुने गरी आ-आफ्नो विधानमा नै व्यवस्था गरेर व्यवहारमा उतार्दै अगाडि बढ्‍नु उचित देखिन्छ।

५. सुरक्षा निकायको भूमिका र परिचालन

जनताको जीउधनको सुरक्षा गर्नु सुरक्षा निकायको प्रमुख जिम्मेवारी हो। वनजंगल तथा राष्ट्रिय निकुञ्‍ज जोगाउन तथा अन्य प्राकृतिक सम्पदाको सुरक्षाको लागि नेपाली सेना र अन्य सुरक्षा निकायले प्रभावकारी र महत्वपूर्ण भूमिका खेल्दै आएको छ। खाद्य र पोषण सुरक्षामा प्रत्यक्ष प्रभाव पार्ने र कृषिको प्रवर्धन गर्ने विषय अन्य सम्पदा जोगाउने विषयभन्दा कम महत्वपूर्ण होइन भन्‍ने कुरामा सर्वपक्षीय सहमति हुनु आवश्यक छ।

खण्ड–खण्डमा मात्र खेती गर्ने वा बाँझो छोड्ने परिपाटीलाई निरुत्साहन गर्ने, चक्लाबन्दी र क्रप पुलिङ्ग गर्दै बाली सघनता बढाउने र एकै समयमा खेती गर्ने गरी ठूलो क्षेत्रमा खेती गर्ने हो भने बाँदरको प्रकोप बढी हुने क्षेत्रमा पनि सुरक्षा निकायको विशेष सेल गठन गरी बालीनाली जोगाउने भूमिकामा परिचालित गर्न सकिने सम्भावना देखिन्छ।

६. कृषि रक्षक नियुक्ति र परिचालन

वन जोगाउन वन रक्षक राख्‍ने पुरानै सरकारी अभ्यास हो र यसले वन र वन्यजन्तु संरक्षणमा निकै महत्वपूर्ण भूमिका खेलेको प्रष्ट छ। खेती जोगाउनु र कृषकको जोखिम घटाउनु समेत राज्यको लागि कम महत्वको विषय होइन। त्यसैले कृषकको बालीनाली जोगाउनको लागि बाँदरको प्रभाव बढी रहेको क्षेत्रमा सरकारले नै बाँदर लखेट्‍ने प्रयोजनको लागि कृषि रक्षक यथाशक्य नियुक्ति गरी परिचालन गर्नुपर्ने आवश्यकता बोध भएको छ।

बाली क्षेत्रमा बाँदरको प्रकोप हुन नदिन आवश्यक हातहतियार तथा सुविधासम्पन्‍न कृषि रक्षकले नियमित अवलोकन गर्ने तथा बाँदर धपाउने कार्य गर्नुपर्दछ। यसको लागि आवश्यक बजेट तथा कार्यक्रमको व्यवस्था मिलाई स्थानीय तहको अगुवाइमा प्रदेश र संघीय निकायले सहकार्य गर्न आवश्यक छ। कृषकको सहयोगीको रूपमा कृषि रक्षक नियुक्ति गर्नु हाम्रो जस्तो कृषिमा आधारित अर्थतन्त्र भएको देशमा झनै अपरिहार्य छ।

कृषक र कृषि क्षेत्रको संरक्षण र प्रोत्साहनको विषयहरू नारामा मात्रै सीमित नराखी व्यावहारिक रूपमा नै चरितार्थ पार्न कृषि रक्षकको व्यवस्थाका बारेमा वकालत गर्न र राज्यको ध्यानाकर्षण गराउन सरोकारवालाहरू जाग्नुपर्ने बेला आएको छ। रोजगारी सिर्जनाका मौजुदा कार्यक्रम अनुकूल हुने गरी कृषक वर्गको मुख्य जोखिमको रूपमा चित्रित बाँदरको समस्या न्यूनीकरणका लागि कृषि रक्षक परिचालन तत्काल कार्यान्वयन गर्नुपर्ने एक महत्वपूर्ण विषय हो।

७. बाली क्षेत्रमा बाँदरको प्रवेश निरुत्साहन

कृषि क्षेत्रमा बाँदरको प्रवेश प्रतिरोध वा निरुत्साहन गर्न केही अध्ययन अनुसन्धानहरू भएको पाइन्छ। यी सबै अभ्यासहरूको ध्येय बाँदरलाई बाली क्षेत्रमा आउन नदिने वा आए पनि तुरुन्त भाग्ने वातावरण बनाउनु नै हो। विद्युतीय तारबारको प्रयोग, अन्यलाई प्रभाव नपारी बाँदरलाई मात्र जलन हुने किसिमको आवाजको प्रयोग, बाँदरले मन नपराउने गन्ध र स्वादका वस्तुहरूको प्रयोग तथा बालीको मध्यवर्ती क्षेत्रमा विशेष बालीहरूको प्रयोग जस्ता उपायहरूको अवलम्वनले विकल्प प्रदान गर्न सक्छ।

बाँदर बाली क्षेत्रमा प्रवेश गरेमा बाली क्षेत्र वरपर राखिएका ताररहित सेन्सर नोडहरूले सिंक नोडलाई सिग्नल दिने र सिंक नोड सँगै रहेको अल्ट्रासोनिक साउण्ड जेनेरेटरले २० किलो हर्जको आवाज निकाल्ने र जसका कारण बाँदरले जलन महसुस गरी बाली क्षेत्र छोडी भाग्ने गरेको एक अध्ययनले पुष्टि गरेको छ।

बाली क्षेत्रको मध्यवर्ती क्षेत्रमा काँडादार भुइँकटहर, अत्यधिक पिरो हुने स्कच बोनेट खुर्सानी, विषालु फल हुने र बायो डिजल पनि बन्‍ने सजिवन र तीक्ष्ण वास्ना हुने तथा आयुर्वेदिक औषधिहरूमा प्रयोग हुने ओसिमम प्रजातिका वनस्पति लगाउनाले आवधिक रूपमा मुख्य बाली क्षेत्रमा बाँदरको प्रवेश निरुत्साहित हुने गरेको पाइन्छ।

८. बादरको संख्या न्यूनीकरण

एकातर्फ संरक्षणकर्मीहरू पछिल्लो तीन पुस्तामा नजिकको खतरामा रहेका बाँदरको संख्या २०-२५ प्रतिशतले घटेको आँकडा प्रस्तुत गर्दछन् भने अर्कोतर्फ किसानहरू पछिल्लो समयमा सबैखाले बाँदरको संख्या बढेको र क्षति धेरै भएको बताउँछन्। संरक्षणको अपरिहार्यता र समस्या समाधानको लागि आवश्यक जनसांख्यिक विवरण, भौगोलिक वितरण र आर्थिक क्षतिको अध्ययन भने अत्यन्‍त न्यून छ र उपलब्ध तथ्याङ्क भरपर्दो देखिंदैन। स्रोतसाधन र त्यसको भोगकर्ताहरू बीच सन्तुलन कायम नभएसम्म दिगो व्यवस्थापन सम्भव हुँदैन।

‘वनः बाँदरको घर, त्यसैमा बाँदर निर्भर’ भन्‍ने युक्ति चरितार्थ पार्न सकिएमा कृषि क्षेत्रमा बाँदरले पारेको असर न्यूनीकरण गर्न सकिन्छ। यसका लागि उल्लिखित उपायहरू अवलम्बन गर्दागर्दै पनि बाँदरको संख्या व्यवस्थापन गर्न सकिएन भने हाम्रा प्रयासहरू निरर्थक हुनसक्छन्। त्यसैले ठाउँ–ठाउँमा छरिएर रहेका बाँदरको प्रति एकाइ प्राकृतिक वासस्थानले थेग्न सक्ने बाँदर संख्याको वैज्ञानिक आकलन गरी संख्या निर्धारण गर्न र निर्धारित आँकडा भन्दा बाँदरको संख्या वृद्धि हुन नदिन जन्मदर नियन्त्रण कार्यक्रम सञ्‍चालन गर्न सकिन्छ।

एकै हुलमा धेरै पोथी र धेरै भाले बाँदर रहने तथा ऋतु चक्रको भाले लिने समयमा एउटै पोथीले धेरै भालेसँग सहवास गर्ने भएकोले पोथी बाँदर केन्द्रित जन्मदर नियन्त्रण पद्धति अपनाउन सकिन्छ। विभिन्‍न उपाय अवलम्बन गरी पोथी बाँदरहरू समात्‍ने र तिनको स्थायी बन्ध्याकरण वा गर्भनिरोधक इम्प्लान्टको प्रयोग गर्नु एक बलियो उपाय हुन सक्दछ।

अन्तमा, मुख्य समस्या जगजाहेरै छ, कृषि र कृषक वर्गलाई केन्द्रबिन्दुमा राखी सोच्नै पर्छ, समाधानका उपायहरू कठिन र खर्चिला छन्, बहुपक्षीय प्रयास अपरिहार्य छ। अन्यथा, हालसम्म राज्यको मुख ताकेका कृषकहरू निराश भई पलायन हुने, बाँझो जमिनको क्षेत्रफल ज्यामितीय गतिले बढ्ने र नेपाली अर्थतन्त्रको मेरुदण्डरुपी कृषि क्षेत्र धरासायी हुने निश्‍चितप्राय: छ।

जे जस्तो भए पनि रणनीतिक समाधान नखोजी नहुने अवस्था सृजना भइसकेको छ। बहुविधि अवलम्बन गर्दागर्दै पनि हुनसक्ने क्षतिलाई राहत, क्षतिपूर्ति र बीमासँग जोड्ने नीति पनि सरकारले लिनुपर्ने देखिन्छ। कृषक र राज्यका निकायहरूले आपसी समन्वयमा आ-आफ्नो जिम्मेवारी बहन गर्न सकेमा बाँदर व्यवस्थापन गर्न सम्भव छ।

(नेउपाने कृषि, ऊर्जा तथा जलस्रोत मन्त्रालय गण्डकी प्रदेशका वरिष्ठ पशु विकास अधिकृत हुन् भने घिमिरे सोही मन्त्रालयका कृषि प्रसार अधिकृत। आचार्य कृषि अनुसन्धान निर्देशनालय गण्डकी प्रदेशमा कार्यरत वैज्ञानिक हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?