+
+

शान्ति प्रक्रियाको बाँकी काम कुनै हालतमा पूरा गर्छौं : उपप्रधानमन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ९ गते १३:०३

९ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिले शान्ति प्रक्रियाको बाँकी कामलाई जसरी पनि पूरा गर्नुपर्ने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष समेत रहेका उनले संक्रमणकालीन न्यायको कामलाई पूरा गर्दै शान्ति प्रक्रियाको बाँकी काम यो सरकारले कुनै पनि हालतमा पूरा गर्ने बताएका हुन् ।

शनिबार प्रेस सेन्टरको उपत्यका प्रदेश समितिको साधारणसभामा बोल्दै उनले शान्ति प्रक्रियाको बाँँकी काम पूरा हुन नदिन अनेक प्रयत्न भइरहेको तर पूरा गर्नैपर्ने बताए ।

‘डेढ देश बितिसक्यो । तर हामीले शान्ति प्रक्रियाको काम पूरा गर्न सकिरहेका छैनौं । संविधान जारी गरेको मात्रै कुरा गर्ने हो भने पनि ७ वर्ष बितिसक्यो । तर हामीले यो काम पूरा गरेका छैनौं’ उनले भने, ‘र, यो कामलाई पूरा हुन नदिन एउटा वा अर्को रुपमा विभिन्न प्रयत्नहरु भइराखेका छन । त्यो प्रयत्नलाई असफल पार्दै हामीले शान्ति प्रक्रियालाई समग्रतामा पूरा गर्नका लागि यो बाँकी कामलाई पूरा गर्नु छ ।’

उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा केही समस्या देखिएको उल्लेख गर्दै ती समस्यालाई छिट्टै सम्बोधन गर्ने आश्वासन समेत दिए । मुलुकको अर्थतन्त्र निस्कनै नसक्ने गरी संकटमा नफसेको भन्दै उनले त्यसमा देखिएको समस्या समाधान गर्दै मुलुकको समृद्धिको यात्रालाई चलायमान बनाउन सरकारले चाहेको बताए ।

‘तत्कालिक रुपमा केही अप्ठ्याराहरु देखापरेका छन् । तर, अर्थतन्त्र गम्भीर संकटको चक्रब्यूहमा पसेर निस्कनै नसक्ने जस्तो गरी बुझ्नु हुँदैन । केही समस्याहरु छन्’ उनले भने, ‘त्यो समस्याहरुलाई हामीले गम्भीरतापूर्वक विश्लेषण गरिराखेका छौं । त्यसलाई सकारात्मक ढंगले सम्बोधन र समाधान हामी छिट्टै गर्नेछौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?