+
+

अमृतपाल सिंहले गरेका थिए आत्मसमर्पण

एजेन्सीको सहयोगमा एजेन्सीको सहयोगमा
२०८० वैशाख १० गते १३:४४

१० वैशाख, काठमाडौं । झण्डै एक महिना लामो भागदौडपछि स्वतन्त्र खालिस्तानको माग गर्दै आएका ‘वारिस पञ्जाब दे’का नेता अमृतपाल सिंहले पञ्जाब प्रहरीसामू आत्मसमर्पण गरेका छन् ।

पञ्जाबको मोगा जिल्लामा आइतबार बिहान उनले आत्मसमर्पण गरेका हुन् । लगत्तै उनलाई पक्राउ गरिएको पञ्जाब पुलिसका डिजी आरएन डोकलाई उद्धृत गर्दै इण्डियन एक्सप्रेसले जनाएको छ ।

‘सिंहलाई असामको डिब्रुगढ केन्द्रीय कारागारमा लगिनेछ, जहाँ उनका ९ जना सहयोगी पनि समेत थुनामा छन्’, डोकले भनेका छन् । उनको गिरफ्तारीपछि पञ्जाब पुलिसले ट्वीट गर्दै राज्यभरि शान्ति कायम गरी राख्न र अफवाह नफैलाउन आग्रह गरेको छ ।

अमृतपाल सिंह पक्राउ परेको स्थान पञ्जाबमा मारिएका खालिस्तानी अभियन्ता जरनैल सिंह भिन्डरावाको गाउँ हो । स्वतन्त्र खालिस्तानका अभियन्ताहरुले अमृतपालको उदयलाई ‘भिन्डरावाले २.०’का रुपमा व्याख्या गर्छन् ।

भिन्डरावालका आफन्त जसवीर रोडेले अमृतपालको आत्मसमर्पणबारे गएराति नै प्रहरीलाई जानकारी गराएको इन्डियन एक्सप्रेससँग बताएका छन् । ‘आज बिहान गुरुद्वारमा प्रार्थना गरेर आत्मसमर्पण गर्नेबारे जानकारी गराएका थियौं’, उनी भन्छन्, ‘आत्मसमर्पणको केही समय पहिले उहाँले छोटो सम्बोधन पनि गर्नुभएको थियो, ७ बजे प्रहरीले लगेको हो ।’

अमृतपालकी आमाले सीएनएन न्यूज १८ सँग कुरा गर्दै अमृतपालले सिंह जसरी आत्मसमर्पण गरेको बताइन् । ‘म मेरो छोराबाट एकदमै गौरवान्वित छु, ऊ सिंह हो, सिंह जसरी आत्मसमर्पण गर्‍यो’, उनले भनेकी छन्, ‘अब कानूनी लडाइँ सुरु हुन्छ।’

पञ्जाब प्रहरीका एक उच्च अधिकारी सुखचैन सिंह गिलले चाहिँ उनलाई प्रहरीले चारैतिरबाट घेरेपछि भाग्ने ठाउँ बाँकी नभएको दाबी गरेका छन् ।

‘अमृतसर पुलिस र पञ्जाब प्रहरीको इन्टेलिजेन्स युनिटले चलाएको संयुक्त अपरेशनमा उनी बसेको ठाउँ पत्ता लाग्यो’, उनले भनेका छन्, ‘प्रहरीले गाउँको चारै तर्फबाट घेरेपछि अरु विकल्प थिएन ।’

नेपाल प्रवेशको सूचना गलत

३० वर्षका सिंहले पृथकतावादी अभियान चर्काउन खोजेको भन्दै पञ्जाब प्रशासनले उनलाई मोस्ट वान्टेड सूचीमा राखेको थियो । पञ्जाबको एक प्रहरी चौकीमा हमला गरेको आरोपमा उनका समर्थक र कार्यकर्ताहरुमाथि धरपकड सुरु भएको थियो ।

संगठनसँग जोडिएका सिखहरुलाई बदनियतपूर्ण तरिकाले हिरासतमा लिइएको भन्दै सिंहले विरोध प्रदर्शन चर्काएका थिए । आफ्ना संगठनका सदस्यहरुको रिहाइको माग गर्दै प्रहरी चौकी अगाडि गरिएको प्रदर्शनले हिंसात्मक रुप लिएको थियो । त्यसमा जोडिएको भन्दै पञ्जाब प्रशासनले उनका समर्थकहरुलाई पक्राउ गरेको थियो । त्यसक्रममा अमृतपाल फरार भएका थिए ।

पञ्जाब प्रशासनले अमृतपाल सिंहमाथि प्रहरी अधिकारीविरुद्ध हमला, सरकारी अधिकारीलाई काममा अवरोध पु¥याएको, हत्या प्रयास र सामाजिक द्वेष फैलाएको अभियोग लगाएको थियो ।

सिंह भारतमा फेला नपरिरहेका बेला नेपालस्थित भारतीय दूतावासले सिंह नेपालमा लुकेको भन्दै खोजी गर्न अध्यागमन विभागलाई पत्राचार गरेको थियो । परराष्ट्र मन्त्रालयमार्फत अध्यागमन विभागलाई पठाएको पत्रमा उनी नेपालमा लुकेको दाबी गरिएको थियो ।

‘उनी नेपालमार्फत् भारतीय वा कुनै मुलुकको नक्कली राहदानी लिएर तेस्रो मुलुक भाग्ने प्रयास गर्नसक्छन्’, पत्रमा भनिएको थियो, ‘उनलाई नेपालबाट तेस्रो मुलुक जान नदिन र नेपालबाट भाग्न खोजे तत्काल पक्राउ गर्न अनुरोध छ ।’

यसपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायतका निकायले उनी हुनसक्ने सम्भावित स्थानमा छापा समेत मारेको थियो । तर, उनी नेपालमा प्रवेश गरेको पुष्टि हुने कुनै आधार भेटिएन । बरु केही दिनमा उनी भारतमै भएको सूचना बाहिरिएको थियो ।

पञ्जाबमा पक्राउ परेपछि उनी नेपाल नै प्रवेश नगरेको खुलेको छ । भारतमा मोस्ट वान्टेड अपराधी पक्राउ नपर्दा नेपालतिर छिरेको सूचना चुहाउने पुरानै प्रवृत्ति हो । नेपाली अधिकारीले पनि आफ्ना ‘मोस्ट वान्टेड’ पक्राउ नपर्दा भारततिर गएको सूचना चुहाउने गरेको छ ।

कसरी उदाए अमृतपाल ?

भारतीय अनलाइन समाचार पोर्टल स्क्रोल डट इनका अनुसार अमृतपाल एक वर्षअघिसम्म पञ्जाबमा चिनिएका व्यक्ति थिएनन् । सन् २०२० मा मोदी सरकारले कृषि सम्बन्धी तीन कानून ल्याएपछि त्यसविरुद्ध भएको किसान आन्दोलनका क्रममा अभियन्ता सन्दिप सिंहलाई सहयोग गर्दै सामाजिक सञ्जालमा भिडियोहरु पोष्ट गरेपछि अमृतपालको पक्षमा समर्थन बढ्न थालेको थियो ।

सन् २०२२ को मार्चमा एक्कासी ‘वारिस पञ्जाब दे’ संगठनको प्रमुख चुनिएको खबर आएपछि उनी थप चर्चाको केन्द्रमा आएका थिए । पहिले संगठनको नेतृत्व गरिरहेका सन्दीपको कार दुर्घटनामा निधन भएपछि अमृतपाल संगठन प्रमुख बनेका थिए ।

स्क्रोलमा प्रकाशित एक रिपोर्टिङ अनुसार ‘पञ्जाब डी’ सन् २०२१ को सेप्टेम्बरमा स्थापना भएको संगठन हो, त्यसबेला सन्दीपले यसलाई पञ्जाबको अधिकारका लागि केन्द्र सरकारविरुद्ध लड्नका लागि दबाव समूह भएको बताएका थिए ।

‘राज्यको संस्कृति, भाषा र जीवनशैलीमाथि भइरहेको हमलामाथि विरोध गर्नलाई यो दबाव समूह हो’, उनले भनेका थिए, ‘हिन्दु, मुस्लिम, शिख वा क्रिस्चियन यो सबैका लागि हो, पञ्जाबको अधिकारका लागि हो।’

अमृतपाल सिंह संगठन प्रमुख घोषणा हुनुअघि दुबईमा थिए । उनी त्यहाँ परिवारले झण्डै एक दशकदेखि चलाइरहेको यातायात व्यवसाय गरिरहेका थिए ।

संगठन प्रमुख घोषणा भएपछि उनी पञ्जाब फर्किएका थिए । संगठन प्रमुख चुनिएपछि उनले एक युट्युब च्यानललाई अन्तरर्वार्ता दिँदै भारतमा पञ्जाबमाथि उपनिवेशिक शासन रहेको बताएका थिए ।

केही भारतीय सञ्चारमाध्यमले उनलाई पाकिस्तानसँग समेत जोडेर समाचार प्रकाशित गरेका छन् । हिन्दुस्तान टाइम्सले भारतीय गुप्तचर स्रोतलाई उद्धृत गर्दै उनलाई पाकिस्तानी खुफिया एजेन्सीबाट परिचालित व्यक्ति भएको आशंका गरिएको बताएको छ ।

पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले पनि उनलाई पाकिस्तानको समर्थन रहेको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?