+
+

उपनिर्वाचन : प्रतिष्ठाको लडाईं

सुवास पण्डित, सविन लामिछाने/ राकेश यादव सुवास पण्डित, सविन लामिछाने/ राकेश यादव
२०८० वैशाख १० गते २१:२९
ब्यास ४ स्थित मदरसा आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदानका लागि जाँदै गरेकी ८६ वर्षीया श्रीमाया गुरुङ

१० वैशाख, काठमाडौं । आइतबार उपनिर्वाचन भएको तीनवटै क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान सकिएको छ । चितवनका दुईवटा मतदान केन्द्रमा केहीबेर मतदान रोकिनुबाहेक तीनवटै क्षेत्रमा निर्वाध रुपमा मतदान भए ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार समग्रमा ६० प्रतिशत मत खसेको छ । बारा–२ मा ४ मंसिरको प्रतिनिधिसभा चुनावमा भन्दा केही बढी मत खसे पनि चितवन–२ र तनहुँ १ मा भने केही कम मत खसेको छ ।

सबै मतदानस्थलबाट आइतबार साँझदेखि नै मतपेटिका ढुवानी सुरु भएको छ । बारा–२ को कलैयामा, चितवन २ को भरतपुरमा र तनहुँ–१ को दमौलीमा मतगणना हुनेछ ।

तनहुँमा कांग्रेस–रास्वपा टक्कर

तनहुँ–१ मा शान्तिपूर्ण रुपमा मतदान भयो । तर ४ मंसिरमा भन्दा केही कम मत खसेको छ । त्यतिबेला ५४.३६ प्रतिशत मत खसेकामा आइतबारको उपनिर्वाचनमा ५१.७० प्रतिशत मात्र मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतपेटिकाहरु दमौलीस्थित जिल्ला समन्वय समितिको कार्यालयमा संकलन गरेर गणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तनहुँ १ मा ९ जना उम्मेदवार छन् । उनीहरुमध्ये नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेको सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्वर्णिम वाग्लेबीच मुख्य प्रतिस्पर्धा हुने मानिएको थियो ।

तर मतदान सकिँदासम्म मुख्य प्रतिस्पर्धा भट्टराई र वाग्लेबीच हुने देखिएको दलका स्थानीय नेताहरु बताउँछन् । एमाले नेताहरुका अनुसार आफ्ना मतदाताको मत अनुमान विपरीत रास्वपाका उम्मेदवार स्वर्णिमतिर गएको देखिएको छ ।

रास्वपा उम्मेदवार स्वर्णिम वाग्ले

चुनावको मुखमा कांग्रेस छाडेर रास्वपाबाट उम्मेदवार बनेका वाग्लेले कांग्रेसको भोट काट्ने र आफ्नो मत जोगाए चुनाव जित्न सकिने एमालेको विश्लेषण थियो । एमाले तनहुँका उपचसचिव प्रदीप अधिकारीका अनुुसार मौन अवधि सुरु हुनुअघिसम्म माहौल पनि राम्रो थियो । मौन अवधिमा सत्ता गठबन्धनले चलखेल गरेको भन्दै उनले भने, ‘सांसद, मेयरदेखि सबै लागे, साम, दाम, दण्ड, भेद लगाएर मतदातालाई प्रभावित पारे ।’

मतदानको अघिल्लो साँझ आफ्नो दलले रास्वपाका उम्मेदवार वाग्लेलाई समर्थन गरेको भनेर सामाजिक सञ्जालमा झुटा प्रचार गर्दा पनि प्रभाव परेको अधिकारीले बताए ।

कांग्रेसका नेताहरु भने उत्साहित देखिएका छन् । उनीहरुका अनुसार सुरुका दिनमा पार्टीको पक्षमा माहौल बनेको थिएन । तर तल्लो कमिटीसम्म गरेको छलफल र पार्टीका केन्द्रीय नेताहरुको दौडधुपपछि पार्टी एक ढिक्का भयो, सत्ता गठबन्धनले पनि साथ दियो । कांग्रेसका जिल्ला सचिव लक्ष्मीभक्त खनाल भन्छन्, मतदानको दिनसम्म माहौल सिर्जना भयो । हामी जितको नजिक छौं ।’

रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकाटीका अनुसार गाउँगाउँमा मतदातासँग भेटघाट गर्दा पार्टीका उम्मेदवार वाग्लेको पक्षमा उत्साहजनक माहौल थियो । तर मतदान केन्द्रहरुमा भने मतदाता खुल्न नचाहेको महसुस भएको उनले सुनाए । राजनीतिक बन्धनका कारण मतदाताहरु खुल्न नचाहेको विश्लेषण गर्दै उनले अगाडि भने, ‘उहाँहरुले भोट हाल्नुभएको छ भन्ने विश्वास छ ।’

चितवन–२ मा रविसँगै सीडीओविरुद्ध उजुरी

चितवन– २ मा ४ मंसिरको चुनावमा भन्दा करिव ५ प्रतिशत विन्दुले कम मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १ लाख २४ हजार ६९७ मतदाता रहेको यो क्षेत्रमा ७८ हजार २७७ मत मात्र खसेको छ । अघिल्लोपटक १ लाख २४ हजार २१७ मतदाता रहेकोमा ८४ हजार १७ मत खसेको थियो ।

चितवन क्षेत्र नं. २ मा कालिका नगरपालिकाका ११ वडा, इच्छाकामना गाउँपालिकाका ७ र भरतपुर महागनरपालिकाको १० वटा वडा क्षेत्र नं. २ मा पर्छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार भरतपुर महानगरपालिका–११ भोजाडको नयाँकिरण माविमा राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य दलबीच विवाद हुँदा झण्डै ३ घण्टा मतदान अवरुद्ध बन्यो । रास्वापाका सभापति रवि लामिछानेले मतदानस्थलमा पुग्दा समर्थकले उनको पक्षमा हुटिङ गरेपछि एमाले र कांग्रेसका समर्थकले विरोध गरेका थिए । त्यसक्रममा प्रहरीले लाठीचार्ज गरेर दुबै पक्षलाई भगाएको थियो । रास्वपाले आचारसंहिताको उल्लंघन गरेको स्वीकार गर्दै माफी मागेपछि ४ बजेपछि मतदान सुरु भयो ।

सर्वदलीय सहमति

भरतपुर–७ को कृष्णपुर माविमा रहेको मतदान केन्द्रमा पनि विवादका कारण झण्डै १ घण्टा मतदान रोकियो । त्यहाँ पनि रास्वपाका उम्मेदवार लामिछाने आचारसंहिता विपरीत सवारी साधान लिएर युवाहरु बोकेर हिँडेको भन्दै अन्य दलले विरोध गरेका थिए । त्यसपछि लामिछाने मतदान केन्द्रभित्र प्रवेश नगरी हिँडे । अन्य मतदान केन्द्रहरुमा भने शान्तिपूर्ण रुपमा मतदान भयो ।

तर रास्वपा उम्मेदवार लामिछाने र प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलविरुद्ध कांग्रेसले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालले केही ठाउँमा रास्वपाका कार्यकर्ताले अस्वभाविक हर्कत देखाएको र त्यसमा सीडीओको सहयोगी भूमिका रहेको बताए ।

‘हामीलाई २ वटा भन्दा बढी गाडी देखेँ भने थुत्छु भन्ने प्रजिअले रविले १२ वटा गाडी लिएर हिँड्न दिए । उनका कार्यकर्ता घण्टी बजाउँदै आरती गर्दैै हिँडे, तर रोक्न सकेनन्’ खनालले भने । उनका अनुसार पार्टीका नेताहरुसँग छलफल गरेर अगाडि बढ्ने तयारी छ ।

एमालेको चितवन जिल्ला अध्यक्षसमेत रहेका उम्मेदवार रामप्रसाद न्यौपानेले पनि केही ठाउँमा रास्वपाले मतदाता प्रभावित पार्न खोजेको र सीडीओको भूमिका शंकास्पद रहेको बताए । ‘उनीहरुले सुनियोजित रुपमा मतदातालाई प्रभावित पार्ने काम गरेको देखियो । प्रहरी प्रशासन मुकदर्शक बन्यो, केही ठाउँमा जनताहरुले प्रतिवाद गरे’, न्यौपानले भने, ‘प्रजिअको भूमिका र गतिविधि शंकास्पद छ ।’

रास्वपाका जिल्ला सभापति कृष्णप्रसाद भुसालले भने सुरक्षाकर्मीको कमजोरीका कारणले केही असमान्य अवस्था आएपनि आफूहरुले आचारसंहिता उल्लंघन नगरेको दाबी गरे । भरतपुर–११ मा मतदान सञ्चालन गराउनुपर्ने भएकाले आचारसंहिता उल्लंघनको घटनामा माफी मागेको उनको दाबी छ ।

चितवन–२ का मतपेटिकाहरु भरतपुर–१० मा रहेको प्रदर्शनी केन्द्रमा संकलन गरिएको छ । सबै मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बस्ने र त्यसमा सहमति जुटे राति १ बजेदेखि गणना थाल्ने निर्वाचन अधिकृतको कार्यालयको तयारी छ ।

चितवन–२ मा २४ जना उम्मेदवार छन् । पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको कांग्रेसले पार्टीमा रहेको असन्तुष्टि मिलाउन निकै कसरत गरेको थियो भने एमालेको जिल्लामा रुचाइएका अर्को क्षेत्र (३) का नेता रामप्रसाद न्यौपानेले उम्मेदवार बनाएको थियो । त्यसको प्रभाव धेरथोर देखिएको छ ।

तर माहौल भने रास्वपा सभापति लामिछानेकै पक्षमा देखिन्छ । उनी ४ मंसिरको चुनावमा ३४ हजार बढी मतान्तरले विजयी भएका थिए । उनले ४९ हजार २६४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८३ मत पाएका थिए ।

मतदानपछि पनि कांग्रेस उम्मेदवार श्रेष्ठ र एमालेको न्यौपानेले चुनाव जित्ने दाबी गरेका छन् । तर यहाँ हारजित भन्दा पनि कांग्रेस र एमालेले कति मत बढाउँछन् ? रविले पुरानो मत जोगाउलान् भन्नेमा बढी चासो देखिएको छ ।

जसपामाथि बुथ कब्जाको आरोप

तनहुँ– १ र चितवन– २ को तुलनामा बारामा भने तनाव देखियो । देवताल, गढीमाई लगायतका क्षेत्रका कतिपय बुथमा जनता समाजवादी पार्टी (जसपा) ले कब्जा गरेको र राज्यका संयन्त्रहरु पनि प्रयोग भएको जनमत पार्टीको आरोप छ ।

जनमत पार्टीका अध्यक्ष सीके राउत

बुथहरुमा अनुगमन गर्दै हिँडेका जनमत पार्टीका अध्यक्ष सीके राउतलाई प्रहरीले पचरौता नगरपालिका–७ बेलौलीमा रोकेको थियो । राउत भन्छन्, ‘एउटा माननीय, राष्ट्रिय अध्यक्षलाई यसरी डरत्रासमा राखेपछि कसले निष्पक्ष मतदान गरेको होला ?’

देवताल गाउँपालिका–७ को वडा कार्यालयको मतदान केन्द्रमा जसपा नेता एवं जिल्ला समन्वय समितिका सदस्य रामसागर यादव फर्जी मतपत्रसहित पक्राउ परे ।

विवादका कारण केही स्थानमा मतदान अवरुद्ध समेत भएको थियो । यद्यपि अहिले सबैतिर मतदान सकिएको र ६५ प्रतिशत भन्दा माथि मत खसेको निर्वाचन अधिकृत मुकेश उपाध्यायले बताए । अहिले शैक्षिक तालिम केन्द्रमा सबै मतपेटिका जम्मा गर्ने काम भइरहेको छ र सर्वदलीय बैठकपछि मतगणना सुरु हुनेछ ।

बारा–२ मा २४ जना उम्मेदवार छन् । उनीहरुमध्ये सत्ता गठबन्धनको समर्थन पाएका जसपाका उपेन्द्र यादव, जनमतका शिवचन्द्र कुशवाह, एमालेका पुरुषोत्तम पौडेल र रास्वपाका रमेश खरेल प्रमुख प्रतिस्पर्धी मानिएको छ ।

मतदानपछि चारै दलले चुनाव जित्ने दाबी गरेका छन् । जसपा सांसद प्रदीप यादवले आफ्नो दलका उम्मेदवारको पक्षमा माहौल रहेको र राम्रो मतान्तरले जित्ने दाबी गरे । सत्ता गठबन्धनका दलहरुबाट राम्रो समर्थन पाएको भन्दै उनले भने, ‘१० देखि १५ हजारको अन्तरले हामी अगाडि रहन्छौं ।’

जनमत पार्टीका प्रवक्ता बीपी साहले जसपाले ७ वटा बुथ कब्जा गरेको आरोप लगाउँदै तैपनि आफूहरु नै अगाडि रहेको बताए । बुथ कब्जा भएको क्षेत्रको क्षतिपूर्ति अरु क्षेत्रमा कति मत आउँछ भन्नेमा भरपर्ने भन्दै उनले भने, ‘यसले मतान्तर तलमाथि होला, तर चुनाव हामी जित्छौं ।’

एमाले नेता रविन्द्रदास श्रेष्ठले पनि आफ्नो दलका उम्मेदवारकै पक्षमा परिणाम आउने दाबी गरे । उनले अगाडि भने, ‘व्यक्तिगत रुपमा यो पुरुषोत्तम कमरेडको राम्रो प्रभाव भएको क्षेत्र पनि हो र पार्टीले गरेको काम कारबाहीका कारण हामी अग्रपङ्तिमा छौं ।’

प्रतिष्ठाको प्रतिस्पर्धा

उपचुनावमा सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रको कतै पनि उम्मेदवार छैन । तर माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मत माग्न उपनिर्वाचन भएका तीन वटै क्षेत्रमा पुगेका थिए । उनले सत्ता गठबन्धनका उम्मेदवारलाई जिताए मन्त्री बनाइदिने आश्वासन दिए ।

आफ्नो दलको उम्मेदवार नभएपनि गठबन्धनका निम्ति यो उपनिर्वाचन प्रतिष्ठाको विषय बन्नपुग्दा प्रधानमन्त्रीले सत्ताकै प्रलोभन देखाउनु परेको प्रष्ट हुन्छ । गठबन्धनमा पनि तनहुँ १ को चुनाव कांग्रेस र बारा २ को चुनाव जसपाका लागि प्रतिष्ठाको विषय बनेको छ ।

बाँयाबाट क्रमशः जसपा अध्यक्ष एवं बारा २ का उम्मेदवार उपेन्द्र यादव, रास्वपा सभापति एवं चितवन २ का उम्मेदवार रवि लामिछाने र तनहुँ १ मा कांग्रेस उम्मेदवार गोबिन्द भट्टराई

कांग्रेस त्यागेर अर्थशास्त्री स्वर्णिम वाग्ले रास्वपाबाट उम्मेदवार बनेपछि दबावमा परेको कांग्रेसले तनहुँ–१ मा आफ्नो सम्पूर्ण शक्ति परिचालन गरेका छन् । सभापति शेरबहादुर देउवा आफैं प्रधानमन्त्रीलाई लिएर गए भने उपसभापति धनराज गुरुङ, महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश आफै चुनावी मैदानमा खटिए । पार्टीका उम्मेदवार गोविन्द भट्टराईलाई मत माग्न केन्द्रीय सदस्यको भीड नै लाग्यो । पार्टी छोडेर रास्वपातिर लागेका स्वर्णिमलाई हराएर कांग्रेस कमजोर नबनेको पुष्टि गर्न नेताहरु लागेको बुझ्न सकिन्छ ।

हुनपनि पार्टी परित्याग गर्दा स्वर्णिमले सभापति देउवा र उनकी पत्नी आरजु राणालाई आरोप मात्र लगाएनन्, कांग्रेसमा सुधारको कुरा गरिरहेकाहरुमाथि पनि प्रश्न उठाएका थिए । त्यसैले स्वर्णिमले उपनिर्वाचन जितेमा कांग्रेस नेता–कार्यकर्ताको आकर्षण रास्वपातिर बढ्न सक्ने बुझाइ कांग्रेस नेतृत्वमा देखिन्छ । त्यही खतरा टार्न पनि कांग्रेसले यो निर्वाचन क्षेत्रलाई विशेष महत्व दियो ।

रास्वपा सभापति रवि लामिछाने र उम्मेदवार वाग्लेले पनि यो निर्वाचन क्षेत्रलाई महत्वका साथ प्रचार गरे । स्वर्णिमको पृष्ठभूमि र योग्यताको प्रचार गर्नेदेखि पार्टी नेता तथा समर्थकहरु मैदानमै खटिएर रास्वपा जित निकाल्न केन्द्रित भएका थिए । अर्थात् रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त यो निर्वाचन क्षेत्रको उपनिर्वाचन सिट संख्याको गणितमा मात्रै सीमित रहेन ।

जसपा नेता रामसहायप्रसाद यादव गत ३ चैतमा उपराष्ट्रपति निर्वाचित भएकाले उपनिर्वाचन भएको बारा–२ को नतिजालाई पनि उत्तिकै महत्वका साथ हेरिएको छ । अर्थात् यो क्षेत्र पनि कुनै दलको एक सिट बढ्ने वा घट्ने उपनिर्वाचनमा मात्रै सीमित रहेन । विशेषगरी राजनीतिक प्रतिष्ठा जोगाउन जसपा अध्यक्ष उपेन्द्र यादव जित्नैपर्ने दबावमा छन् । सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको समर्थनका कारण सहज अंकगणितमा रहेका यादवलाई प्रतिस्पर्धा भने सजिलो बनेन ।

उपेन्द्रसँग प्रतिस्पर्धामा जनमत पार्टीका शिवचन्द्र कुशवाह, एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेल लगायत छन् । त्यसमा पनि भर्खरै माओवादी छोडेर जनमतबाट उम्मेदवार बनेका कुशवाहले यादवलाई बलियो चुनौती दिएका छन् । मधेश प्रदेशसभामा समानुपातिक तर्फ मधेश केन्द्रीत दलहरुमध्ये सवैभन्दा ठूलो शक्ति बनेको जनमतका अध्यक्ष सिके राउत आफैं मैदानमा उत्रिदा उपेन्द्र चर्को दबावमा देखिए । मंसिरको निर्वाचनमा सप्तरी–२ बाट आफूसँगै पराजित उपेन्द्रलाई जसरी पनि रोक्नेगरी सिके राउत खटिएका छन् । मतदान अघिका गतिविधि र अभिव्यक्ति हेर्दा उपेन्द्रलाई यो उपनिर्वाचन उनको राजनीतिक जीवनकै सकसपूर्ण चुनाव बनेको प्रष्ट देखिन्थ्यो ।

किनकि यो उपनिर्वाचनमा उपेन्द्र पराजित भए मधेशको राजनीतिमा सिके राउत थप बलियो हुने सन्देश जाने उनी स्वयमले बुझेका छन् । त्यसैले मात्र शक्ति लगाएका मात्र छैनन्, प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित नेताहरु यो क्षेत्रमा पुर्याए ।

एमालेले पनि आफ्नो शक्ति प्रदर्शन गर्यो । अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, सचिवहरु योगेश भट्टराई र रघुबीर महासेठले क्षेत्रमा पुगेर मत मागे । गत चुनावमा मधेश प्रदेशको सबभन्दा ठूलो शक्ति बनेको एमालेले यो क्षेत्र जितेर थप बलियो बनेको सन्देश दिन चाहन्छ ।

पूर्व डीआईजी खरेलले रास्वपाको घण्टी अनि प्रभु साह नेतृत्वको आम आमदी पार्टी पनि यो क्षेत्रबाट जितेर आफ्नो आकार बढाउनेगरी परिचालित भए ।

चितवन–२ को उपनिर्वाचन भने रास्वपा र त्यस पार्टीका सभापति रवि लामिछानेका निम्ति प्रतिष्ठाको प्रतिस्पर्धा हो । गत चुनावमा ५० हजार नजिकको मत पाएका रविले निकटतम प्रतिद्वन्द्वीसँग ३४ हजार बढीको मतान्तर कायम गरेका थिए । तर आफ्नै कारण (अमेरिकी नागरिकता त्यागेपछि नेपालको पुनः नलिएकाले) सांसद पद खारेज भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री पद समेत गुमाए । अब उपचुनावमा रविलाई पुरानो मत जोगाउनु चुनौती छ ।

जितका लागि रविले ठूलै शक्ति परिचालन गरे, पार्टीका सबै सांसदलाई चुनाव क्षेत्रमा लगे । दुई ठूला दल कांग्रेसले एमालेले पनि अघिल्लो चुनावमा रवितर गएका मतदाता फर्काउन सक्दो प्रयास गरेका छन् । किनकी उनीहरु रास्वपाले पाएको मत बहकावमा पाएको हो भन्ने स्थापित गर्न चाहन्छन् । रवि भर्सेस कांग्रेस–एमालेको प्रतिस्पर्धा देखाउने दृष्य मतदानका क्रममा पनि देखियो । नयाँकिरण कमल–कुसुम माध्यमिक विद्यालय केन्द्र आइतबार तनावपूर्ण बनेको थियो ।

आफू मतदान केन्द्रमा पुग्दा योजनाबद्ध तरिकाले निर्वाचन प्रक्रिया रोक्न अन्य दल लागि परेको रविले आरोप लगाए । तर चार घण्टा रोकिएर पुनःमतदान भएको यो केन्द्रको तनावप्रति रविले आचार संहिता उल्लंघन गरेको स्वीकार्दै माफी मागे ।

त्यसैले पार्टी गठनको सात महिनाभित्रै गत मंसिरको चुनावमा २० सिटसहित चौथो ठूलो राजनीतिक शक्ति बनाएका रास्वपाप्रति आमआकर्षण जोगाउन पनि रास्वपाले यो उपनिर्वाचन जित्नैपर्नेछ । अझ रविका निम्ति त राजनीतिक ‘लाइफ लाइन’ कै रुपमा समेत अथ्र्याउन सकिन्छ । त्यसैकारण भएको उपनिर्वाचन रवि र रास्वपाका निम्ति ठूलो प्रतिष्ठाको प्रतिस्पर्धा बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?