+
+

काठमाडौं–रक्सौल रेलमार्गको लोकेसन सर्भे रिपोर्ट तयार, निर्माणको समझदारी गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १२ गते १३:४२

१२ वैशाख, काठमाडौं । भारतले काठमाडौं–रक्सौल अन्तरदेशीय रेलमार्गको ‘फाइनल लोकेसन सर्भे प्रतिवेदन तयार भएको जानकारी गराएको छ । योसँगै प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको आसन्न भारत भ्रमणमा काठमाडौं जोड्ने गरी नयाँ रेल लाइन निर्माणको विषयले प्रवेश पाउने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतका अनुसार अब प्रधानमन्त्रीको भारत भ्रमणमा रुट, लागत र इन्जिनियरिङसहितको अध्ययन प्रतिवेदनका आधारमा रेलमार्गको निर्माण अघि बढाउन नेपालले प्रस्ताव गर्नेछ । परियोजनालाई अघि बढाउन लगानी मोडालिटी र प्रविधिको विषयमा ठोस सहमति गर्न प्रयास हुने अधिकारीहरु बताउँछन् ।

‘प्रधानमन्त्रीको भ्रमणका क्रममा भारतले तयार गरेको प्रतिवेदन हस्तान्तरण गर्ने तयारी छ,’ मन्त्रालय स्रोतले भन्यो,‘ एक हप्ताअघि भएको छलफलमा प्रतिवेदन तयार भएको जानकारी भारतीय पक्षले गराएकाले अब उच्च स्तरीय भ्रमणम नै त्यसलाई भारतले हस्तान्तरण गर्ने अपेक्षा छ ।’

भारत भ्रमणका समयममा नै रेलमार्गको निर्माण अघि बढाउन भारतसँग आग्रह हुने र भारत तयार भए उच्चस्तरमै समझदारी समेत हुनसक्ने अधिकारीहरु बताउँछन् । भारत सरकारले काठमाडौंसम्म रेलमार्ग निर्माणको विषयलाई उच्चतम् महत्व दिएको र भौगोलिक हिसावले केही जटिल भएपनि रेलमार्ग निर्माण सम्भाव्य देखिएकाले निर्माण प्रक्रिया सुरु गर्नेबारे कुनै न कुनै समझदारी गर्न जोड दिइएको अधिकारीहरुको भनाइ छ ।

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले १३ चैतमा भारतले अध्ययन सकेर एक महिनाभित्रै प्रतिवेदन नेपालले पाउने अपेक्षा गरिएको बताएका थिए । उनी त्यतिबेला भौतिक पूर्वाधार मन्त्री थिए ।

काठमाडौं–रक्सौल रेलमार्गको फाइनल लोकेसन सर्भेका लागि २२ असोज २०७८ मा नेपाल र भारतबीच द्विपक्षीय समझदारी (एमओयू) भएको थियो । एमओयूअनुसार रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन भारतले आफ्नै खर्चमा भारतीय सरकारी कम्पनीमार्फत तयार गरेको हो ।

भारतले सम्झौताअनुसार नेपालमै काम गर्न टोली पठाएको थियो । १८ महिनाभित्र यो काम सकाउने लक्ष्य थियो ।

यो रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको रिपोर्ट भारतले नेपाललाई दिइसकेको छ । केआरसीएलले तयार पारेको प्रारम्भिक रिपोर्टअनुसार प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्गको लम्बाइ १३६ किलोमिटर हुने देखिएको थियो । यो रेलमार्ग निजगढ हुँदै खोकनासम्म बनाउन प्रस्ताव गरिएको छ । प्रस्तावित रेलमार्गको करिब ४० किलोमिटर खण्डमा सुरुङ रहने र साना–ठूला गरी करिब ३५ वटा पुल पनि बनाउनुपर्ने देखिएको थियो ।

भारतले यो रेलमार्ग ब्रोडगेज प्रविधिमै बनाउने गरी अध्ययन गरेको हो । सरकारले देशभर बन्ने रेल्वे लाइन स्टान्डर्ड गेजमा बनाउने नीति लिएको छ । भारत जोड्ने रेलमार्ग पनि स्टान्डर्ड गेजमै बनाउन उपयुक्त हुने विज्ञहरुको सुझाव भएपनि भारतले स्टान्डर्ड गेज प्रविधि र प्राविधिक विज्ञता आफूसँग नभएको भन्दै रक्सोल–काठमाडौं रेलमार्ग ब्रोडगेज प्रविधिमा बनाउनुपर्ने अडान लिएर त्यसैमा आधारित अध्ययन गरेको हो ।

प्रधानमन्त्रीको भारत भ्रमणले भारतसाग विद्युतीय अन्तरदेशीय रेलमार्ग निर्माणका लागि थप समझदारी बनाउन सहयोग गर्ने अधिकारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?