१३ वैशाख, काठमाडौं । म्यानचेस्टर सिटी र आर्सनल बुधबार राति प्रिमियर लिगको ‘उपाधि’का लागि आमने सामने हुँदैछन् । यो खेल इंग्लिस शीर्षस्तरको खेलमा दशककै सबैभन्दा ठूलो खेलमध्येको एक हो ।
आर्सनल तालिकामा पाँच अंकले अगाडि छ । तर, पेप ग्वार्डिओला निर्देशित साविक विजेता सिटीले दुई खेल कम खेलेको छ । सिजनको अन्तिम एक महिना बाँकी रहँदा इत्तेहाद रंगशालामा जितको नतिजाले लिग उपाधि आफ्नो नियन्त्रणमा हुनसक्ने दुवै टिमले बुझेका छन् ।
मिकेल आर्टेटा प्रशिक्षित आर्सनल यो महिना (अप्रिल)को सुरुवातमा स्पष्ट ८ अंकले अगाडि थियो । यो टिमले पछिल्लोपल्ट सन् २००३/०४ मा प्रिमियर लिगको उपाधि उचालेको थियो ।
६ सिजनमा पाँचौं प्रिमियर लिग उपाधिको दौडमा रहेको सिटी एफए कप र च्याम्पियन्स लिगसहित सिजनमा तेहरो उपाधिका लागि संघर्षरत छ ।
‘आर्सनललाई पछिल्ला खेलहरुले झड्का दिएको छ । मेरो विचारमा उसका खेलाडीहरु केहि सशंकित छन्,’ सन् १९९४/९५ को सिजन ब्ल्याकबर्न रोभर्सका लागि प्रिमियर लिगको उपाधि जितेका बीबीसीका कमेन्टेटर क्रिस सटन भन्छन्, ‘म्यान्चेस्टर सिटीसँग अनुभव छ । उनीहरुले यस्तो अवस्थाको सामना यसअघि पनि गरेका छन् र सफल भएका छन् । त्यसैले यो खेल आरामले उनीहरु जित्नसक्छन् ।’
के यो खेल सिजनको उपाधिमा निर्णायक हो ?
दुवै टिमका प्रशिक्षकको कुरा सुन्ने हो भने यो खेलको नतिजाले प्रिमियर लिगको उपाधि तय गर्ने छैन । तर, तथ्यहरुले के बताउँछ भने उनीहरु गलत हुनसक्छन् ।
३३औं चरण वा त्योभन्दा पछाडिका चरणमा पाँच वा पाँचभन्दा कम अंकअन्तरसहित सिजनको शीर्ष दुई टिमबीच प्रतिस्पर्धा हुन लागेको प्रिमियर लिगको इतिहासमा यो नवौंपल्ट हो । शीर्ष स्थानमा रहेको टिमले खेल हारेर पनि उपाधि जितेको भने यसअघि एकपल्ट मात्र सम्भव भएको छ । सन् २००८ मा चेल्सीले म्यानचेस्टर युनाइटेडलाई हराए पनि सर एलेक्स फर्गुसनको टिमले दुई अंकले उपाधि जित्न सक्यो ।
पछिल्लोपल्ट सन् २०१४ मा यस्तै गरी उपाधिको निर्णायक भिडन्त भएको थियो । तर कुनै पनि टिमले उपाधि जित्न सकेनन् । चेल्सीले एनफिल्डमा शीर्ष स्थानको लिभरपुललाई २–० ले हरायो । तर, सिटीले अन्तिम दिनको खेल जितेर उपाधि आफ्नो घरमा भित्र्यायो ।
तथ्यांक विश्लेषक कम्पनी नेल्सेन ग्रासेनोटले सिटीको उपाधि जित्ने सम्भावना ७९ प्रतिशत रहेको बताउँछ । तर, आर्सनलले यो खेल जितेको अवस्थामा उसको उपाधि जित्ने सम्भावना ५५ प्रतिशत पुग्ने सो कम्पनीको प्रक्षेपण छ ।
‘आर्सनलले हार मान्नुहुँदैन । तर, मेरो विचारमा उनीहरु हार्नेछन्,’ क्रिस सटनले भनेका छन् । उनले यो खेल सिटीले ३–१ गोलअन्तरले जित्ने अनुमान गरेका छन् ।
सन् २०१२ मा सिजनको अन्तिम दिन लिग उपाधि जित्ने सिटीको टिमका एकजना सदस्य मिका रिचर्डस्ले यो सिजनको लिग जित्नका लागि आर्सनलले सिटीलाई उसकै मैदानमा हराउनुपर्ने परिस्थिति आउनेमा आफूलाई पहिल्यैदेखि विश्वास रहेको बताए ।
यदि आर्सनलले जितेछ भने पनि उपाधि निश्चित गर्न लिगका बाँकी पाँच खेलमा शतप्रतिशत जित निकाल्नुपर्ने हुन्छ । सिटीको जित्यो भने लगातार तेस्रो सिजन उपाधि जित्न आफ्ना बाँकी ७ मध्ये ६ खेल जिते पुग्छ ।
‘यो एक कठिन र चुनौतिपूर्ण रात हुनेवाला छ । तर, यो अवसर हाम्रा लागि अविश्वसनीय हो,’ सन् २०१६ देखि २०१९ सम्म ग्वार्डिओलाको सहायक रहेका आर्टेटाले भनेका छन्, ‘हामीलाई सुरुदेखि नै थाहा थियो, तपाईं प्रिमियर लिग जित्न चाहनुहुन्छ भने टोटनह्यामलाई उसकै मैदानमा हराउनुपर्छ, चेल्सीलाई उसकै मैदानमा पराजित गर्नुपर्छ ।’
‘सिधा कुरा के हो भने हामी अहिलेसम्म त्यही गरिरहेका छौं । च्याम्पियन बन्ने हो भने सिटी जाने हो, हामीले उनीहरुलाई हराउने हो,’ आर्टेटाले थपे ।
कहाँ चिप्लियो आर्सनल ?
मार्चको अन्त्यसम्म आर्सनलले सिटीलाई ८ अंकले पछि छोडेको थियो । यद्यपि सिटीसँग एक खेल बाँकी थियो । जब अप्रिल महिना सुरु भयो उनीहरु खस्किन थाले । पछिल्लो तीन खेलमा आर्सनलले बराबरी खेलेर ३ अंकमात्र थपेको छ । यदि यो खेल आर्सनलले हार्यो भने उनीहरुको हातमा केहि पनि रहनेछैन ।
ग्रासेनोटका अनुसार आर्सनलको उपाधि जित्ने सम्भावना २१ प्रतिशत रहनु अक्टोबरयताकै सबैभन्दा कम रेटिङ हो । आर्सनलका पूर्व स्ट्राइकर केभिन क्याम्पबेलले भनेका छन्, ‘त्यहाँ लडखडाहट भएको छ, कम्पन भएको छ । तर, उनीहरु टुटिसकेका छैनन् । आर्सनलसँग एउटा ठूलो अवसर छ । उत्कृष्ट अवे तथ्यांकका आधारमा उनीहरु डराउनुपर्ने कुनै कारण नै छैन ।’
मिका रिचार्डस भन्छन्, ‘आर्सनलका समर्थक सधैं उतारचढाव देखेका छन् । केहि परिवर्तन भएको मलाई लाग्दैछ । त्यसैले इथिहाडमा खेल्नु अर्को एक मुस्किल काम हो । यो खेल आर्सनलका लागि कम दवाव हुनेछ । किनभने सबैले सिटी विजयी हुने अनुमान गरिरहेका छन् ।’
यदि आर्सनल लिग उपाधि जित्न असफल भयो भने ऊ यस्तो नेतृत्वदायी भूमिकाबाट बाहिरिनुपर्ने एउटा छोटो समूहको हिस्सा हुनेछ ।

म्यानचेस्टर युनाइटेड (सन् १९९८ र २०१२) र आसर्नल (सन् २००३)मा २८ वा त्योभन्दा धेरै खेल खेलिसक्दा ८ अंकको अग्रता लिएर पनि उपाधि जित्न चुकेका छन् । संयोगले तीनै संस्करणमा त्यसपछिको सिजन सोही टिमले जितेको छ ।
सन् १९९५/९६ को सिजन न्युकासलले १२ अंकको अग्रता लिएर पनि उपाधि जित्न असमर्थ भएको छ । सिजनको १० खेल बाँकी रहँदा ६९ अंक बनाउने टिमले उपाधि नजितेको यसअघि एकपल्ट मात्र छ । यो सिजन आर्सनलले १० खेल बाँकी हुँदा ६९ अंक बनाएको थियो । सन् २०१८/०१९ को सिजन ९७ अंक जोडेर पनि सिटीसँग १ अंकले पछि पर्दै लिभरपुल उपाधिबाट बिमुख भएको थियो ।
आर्सनलको पछिल्ला अप्रत्यासित नतिजाको सबैभन्दा ठूलो कारक फ्रान्सेली डिफेण्डर विलियम सालिबाको पिठ्यूँको चोट हो । उनले सिजनको सुरुवाती २७ खेलमा प्रभावशाली प्रदर्शन गरेका थिए । पछिल्ला पाँच खेलमा उनी टिमसँग छैनन् ।
उनको अनुपस्थितिमा आर्सनलले प्रति खेल खाएको गोल ०.९ गोलबाट बढेर १.८ पुगेको छ । उनको अनुपस्थितिमा आर्सनलले ४० प्रतिशत खेल जितेको छ । जबकि उनले खेल्दा आर्सनलको जित अनुपात ७७.८ प्रतिशत थियो ।
‘आर्सनलको रक्षापंक्तिले धेरै कुरा होल्ड गरेर राखेको थियो । त्यो उनीहरुको उत्कृष्ट टिम गेम थियो,’ न्युयोर्क टाइम्सका रोरी स्मिथले भनेका छन्, ‘सालिवाको अनुपस्थितिमा उनीहरु कुनै पनि क्षेत्रमा ठोष देखिएनन् र उनीहरुसँग त्यो नियन्त्रण रहेन ।’
सिटीले आफ्नै शैलीमा अन्त्य गर्न सक्ला ?
यो सिजन मुख्य प्रतिस्पर्धी म्यानचेस्टर हुनु नै आर्सनलका लागि दुर्भाग्य हो । सिटी सिजनको यो चरणमा एक मेसिनको शैलीमा बदलिएको छ । सिटीले सबै प्रतियोगितामा गरी पछिल्लो १२ खेल लगातार जितेको छ पछिल्लो १३ खेलमा एक बराबरी छ भने १६ खेलदेखि अपराजित छ ।
सन् २०१६ मा ग्वार्डिओलाले जिम्मेवारी सम्हालेयता सिटीले सिजनको पछिल्लो १० खेलमा २१ देखि ३० अंकसम्म जोडेको छ । यो सिजनकोसमेत अनुपात जोड्ने हो भने प्रति खेल २.४४ अंक हासिल गरेको छ ।
‘यहाँ आइपुग्नु वास्तवमै राम्रो हो,’ ग्वार्डिओलाले भनेका छन्, ‘लिगको पहिलो चरणको आर्सनललाई हेर्दा हामी यो अवस्थामा यहाँ हुन्छौं भन्ने सोच्न कठिन थियो ।’
‘वास्तवमै यो एक महत्वपूर्ण खेल हो । किनभने उनीहरु यो सिजन हाम्रो सबैभन्दा ठूलो प्रतिस्पर्धी होइनन् । हामी अंक लिन सक्छौं ।’

साथसाथै सिटीसँग प्रिमियर लिगमा अहिलेसम्मकै प्रतिष्ठित गोल स्कोररका रुपमा इर्लिङ हलाण्ड छन् । बोरुसिया डर्टमण्डबाट प्रिमियर लिगमा सामेल भएका २२ वर्षीय नर्वेजियन खेलाडीले प्रिमियर लिगका २८ खेलमा ३२ गोल गरेका छन् ।
हलाण्डले सिजनमा ८ खेल बाँकी हुँदै मोहम्मद सलाहको एकै सिजन धेरै गोल गर्ने कीर्तिमान भंग गरिसकेका छन् । सबै प्रतियोगितामा गरेर जारी सिजन ५० गोल पुग्न हलाण्डलाई २ मात्र बाँकी छ ।
सिटीले च्याम्पियन्स लिग सेमिफाइनलमा रियल मड्रिड र एफए कप फाइनलमा म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ । सिजनमा दुर्लभ तेहरो उपाधि जित्न सिटी १२ खेल टाढा छ ।
यसअघि यो उपलब्धि हासिल गर्ने एकमात्र इंग्लिस टिम म्यानचेस्टर युनाइटेड हो । उसले सन् १९९८/०९९ को सिजन तेहरो उपाधि जितेको थियो । त्यसबाहेक सेल्टिक, आयाक्स, पीएसभी, बार्सिलोना, इन्टर मिलान र बायर्न म्युनिखले पनि यो सफलताको स्वाद चाखेका छन् ।
– बीबीसीबाट अनुदित
                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                                                                                                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
                            
प्रतिक्रिया 4