+
+

गण्डकीमा सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री नियुक्त हुँदै, मन्त्रालय भागबन्डामा केन्द्रकै निर्णय कुर्दै

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १४ गते ८:२६

१४ वैशाख, पोखरा । गण्डकी प्रदेशमा आज नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे बहुमतको सरकारको मुख्यमन्त्री नियुक्त हुँदै छन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि आज अपराह्न ४ बजेसम्मको समय दिएका छन् ।

पुस २५ गते माओवादी, राप्रपासहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका एमालेका खगराज अधिकारी सरकार वैशाख ९ गते ढलेपछि गण्डकीमा कांग्रेस-माओवादीको सरकार बन्न लागेको हो ।

केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति निर्वाचनमा सत्ता समीकरण बदलेपछि गण्डकीमा एमाले सरकारबाट माओवादी मन्त्रीले राजीनामा दिँदै चैत १० गते समर्थन फिर्ता लिएका थिए ।

कुनै दलले समर्थन फिर्ता लिएमा १ महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्थाअनुसार अधिकारीले संसदबाट वैशाख ९ गते विश्वास गुमाएका थिए ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर बनेको सरकार ढलेपछि सोही बुँदाअनुसार सरकार गठनका लागि आह्वान गर्ने कि उपधारा ३ बमोजिम ठूलो दलबाट मुख्यमन्त्री नियुक्त गर्ने अन्योल थियो । कानुनी परामर्शपछि प्रदेश प्रमुख गुरुङले १२ गते उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि तीन दिनको समय दिएर आह्वान गरेका थिए ।

गण्डकीमा शीर्ष तहमै कांग्रेस-माओवादी आलोपालो गर्ने सहमति भएको नेताहरुले बताएका छन् । पहिलो चरणमा कांग्रेसले नै मुख्यमन्त्री पाउने पक्का भइसकेको छ ।

कांग्रेस र माओवादी पालैपालो काठमाडौं पुगेर सहजीकरण गरिदिन आग्रह थिए । माओवादीले कम्तिमा कति समयपछि मुख्यमन्त्री पालो पाउने ग्यारेन्टी गर्न, ७ मन्त्रालयमध्ये ३ मन्त्रालय पाउनुपर्ने माग गर्दै अझै केन्द्रको निर्णय कुरिरहेको छ ।

‘शीर्ष नेताहरुले अझै निर्णय गरिसक्नुभएको छैन । मुख्यमन्त्री कति समय, मन्त्रालय कति भन्ने स्पष्ट निर्णय केन्द्रबाटै दिने भन्नुभएको छ । केन्द्रकै निर्णय निर्देशन कुरेर बसेका छौं, केन्द्रको निर्णय आएको १ घन्टाभित्र सबै प्रक्रिया सकिन्छ,’ माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले भने, ‘कम्तिमा लिखितै होस् भन्ने हो, नत्र यहीँ लिखितै गरेरमात्र सरकारमा जान्छौं ।’

गण्डकीमा कांग्रेसका २७, माओवादीका ७ (सभामुखबाहेक) सदस्यले ६० सदस्यीय प्रदेश सभामा सरकार बनाउन सहज बहुमत पुग्छ । मनाङबाट स्वतन्त्र रुपमा सर्वसम्मत चुनावले जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङ) पनि गठबन्धनमा हुँदा ३५ सदस्य पुग्छ ।

मुख्यमन्त्री दाबी गरिरहेको माओवादीले पहिलो चरणमा नपाए पनि ७ मध्ये ३ मन्त्रालय पाउनुपर्ने दाबी पनि गरिरहेको छ । माओवादीबाट मुख्यमन्त्री नै बन्ने भएकाले चुमान मन्त्री नबन्ने र यसअघि नै पर्यटनमन्त्रीबाट राजीनामा दिएका रेशमबहादुर जुग्जाली भने मन्त्री बन्ने पक्का छ ।

प्रमुख सचेतकबाट छोडेर गोरखाकी सुशीला सिम्खडा मन्त्री बन्ने चर्चा पनि माओवादीमा छ । ३ मन्त्रालय पाउँदा माओवादीको चुनाव चिह्न लिएर जितेका बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटाले पनि मन्त्री हुने मौका पाउने सम्भावना छ ।

कांग्रेसभित्र मन्त्रीका आकांक्षी झनै धेरै हुँदा दलका नेता पाण्डेलाई मिलाउनै सकस छ । पाण्डेले पार्टी सभापति देउवाले कसलाई मन्त्री बनाउने भनेर निर्णय गरेर पठाएअनुसार गर्ने सांसदहरुलाई बताइरहेका छन् ।

आज मुख्यमन्त्रीसँगै कांग्रेसबाट १ जना र माओवादीबाट १ जना गरी ३ जनाले शपथ लिने तयारी भइरहेको एक कांग्रेस सांसदले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?