+

कस्तो अवस्थामा गर्ने जोर्नी प्रत्यारोपण, कति लाग्छ खर्च ?

२०८० वैशाख  १७ गते १७:३८ २०८० वैशाख १७ गते १७:३८
कस्तो अवस्थामा गर्ने जोर्नी प्रत्यारोपण, कति लाग्छ खर्च ?

काठमाडौं । नयाँ नयाँ प्रविधिको विकाससँगै चिकित्सा विज्ञानमा उल्लेख्य विकल्प दिएको छ । त्यसमध्ये एक हो, जोर्नी प्रत्यारोपण । यो घुँडा र कम्मरको समस्याका लागि उपयोगी विकल्प सावित भइरहेको छ ।

राष्ट्रिय ट्रमा सेन्टरका सिनियर कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. ऋषि बिष्टका अनुसार यो विभिन्न कारण खिइएका र बिग्रिएका जोर्नीलाई शल्यक्रियामार्फत कृत्रिम जोर्नीले विस्थापन गर्ने प्रक्रिया हो । जोर्नी प्रत्यारोपण कस्तो अवस्थामा गर्ने, खर्च कति लाग्छ ? लगायत विषयमा डा. बिष्टसँग गरिएको कुराकानीको सम्पादित अंश :

शरीरको जोर्नीमा के कारणले समस्या आउँछ ?

हाम्रो शरीरमा भएको प्राकृतिक जोर्नी पूर्णतया बिग्रिएर औषधि उपचारबाट निको हुने सम्भावना बाँकी नरहेको अवस्थामा जोर्नी प्रत्यारोपण गर्नुपर्छ । घुँडाको जोर्नीमा देखिने समस्यामा ९० प्रतिशत उमेरजन्य र १० प्रतिशत चोटपटकलगायत अन्य कारण प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।

कुनै रोगको कारण र हिप बिग्रिएका व्यक्तिमा जोर्नी प्रत्यारोपण गर्नुपर्छ । साथै महिनावारी बन्द भएका महिला, बाथरोग भएका व्यक्तिमा हड्डी दुख्ने, खिइने र खराब हुने समस्या देखिन्छ ।

कुन उमेर समूहमा कस्तो कस्तो समस्या देखिन्छ ?

४० वर्षको उमेरपछि घुँडाको जोर्नीहरू खिइँदै जान्छ । ६० देखि ६५ वर्षको उमेरसम्म पुग्दा लगभग सबै जोर्नी खिइसक्ने भएकाले यो उमेर समूहका मानिसमा जोर्नी प्रत्यारोपण बढी गर्नुपर्ने हुन्छ । हिप जोर्नीको समस्या पनि उमेरका कारण देखिन्छ तर विभिन्न रोगले ४० देखि ४५ उमेर समूहका मानिसमा हिपको जोर्नी फेर्नुपर्ने देखिएको छ ।

मुख्यतया हिपमा रक्तसञ्चार कम भएर जोर्नी खराब हुन्छ । जोर्नीमा रक्तसञ्चार कम हुने पनि विभिन्न कारण छन् । लामो समय स्टेरोइड प्रयोग गर्ने र रक्सी पिउने मानिसमा हिपको जोर्नीमा विस्तारै रक्तसञ्चार घट्दै जान्छ र जोर्नी खराब हुन्छ । परिणामतः ४०-४५ वर्षको उमेरमै जोर्नी प्रत्यारोपण गर्नुपर्ने अवस्था सिर्जना हुन्छ ।

जोर्नी प्रत्यारोपण गरेपछि कुनै साइड इफेक्ट हुन्छ ? यसले कति अवधिसम्म काम गर्छ ?

जोर्नी प्रत्यारोपण गरेर प्रोस्थेसिस राखिन्छ । यसलाई विभिन्न परीक्षण गरेर शरीरमा नै राख्न बनाइएको हुन्छ । यो मुटुमा पेसमेकर र हातखुट्टा भाँचिदा प्लेट राखे जस्तै हो, जुन सुरक्षित छ र केही साइड इफेक्ट हुँदैन ।

सामान्यतया कृत्रिम उपकरण स्वभाविक रूपमा प्राकृतिक जति राम्रो हुँदैन । तर जोर्नी प्रत्यारोपणमा प्रयोग हुने सम्पूर्ण सामग्रीहरू विकल्पको रूपमा प्रयोग गर्न सकिन्छ । मेकानिकल वस्तु भएकाले जोर्नी प्रत्यारोपणको पनि आयु लामै हुन्छ । सामान्यतया २०-२५ वर्ष कृत्रिम जोर्नी प्रोस्थेसिसले काम गर्छ ।

यद्यपि जोर्नी प्रत्यारोपण गर्ने मान्छेको पेशा र जीवनशैलीले यसको आयु निर्धारण गर्छ । युवा अवस्थामा नै जोर्नी प्रत्यारोपण गर्दा उनीहरूको एकदमै सक्रिय जीवनशैलीले १०-१५ वर्षमै यसलाई परिवर्तन गर्नुपर्ने हुन सक्छ । सापेक्षित रूपमा अलि निष्क्रिय जीवनशैली अपनाउनेको हकमा कृत्रिम जोर्नीले ३० वर्षसम्म पनि काम गर्न सक्छ ।

जोर्नी प्रत्यारोपण गर्न खर्च कति लाग्छ ?

जोर्नी प्रत्यारोपण खर्चिलो शल्यक्रियामध्ये पर्छ । बिरामीको शरीरमा प्राइमरी र कम्प्लेक्स गरी दुई प्रकारका शल्यक्रियाबाट कृत्रिम जोर्नी राख्न सकिन्छ । प्राइमरी केसमा प्रयोग हुने जोर्नीको दुईदेखि दुई लाख ५० हजार रूपैयाँसम्म पर्छ । जटिल शल्यक्रियामा भने तीनदेखि पाँच लाखसम्म खर्च लाग्छ ।

जोर्नी प्रत्यारोपणपछि के के कुरामा ध्यान दिनुपर्छ ?

पहिले पहिले जोर्नी प्रत्यारोपणपछि लामो समय बेड रेस्ट गर्नुपर्छ भनिन्थ्यो । तर अहिले धेरै व्यक्तिहरू जोर्नी प्रत्यारोपण गरेको भोलिपल्ट नै वाकर वा लठ्ठीको भरमा हिंड्न सक्छन् ।

शल्यक्रियाको चारदेखि पाँच दिन अस्पतालको बसाइपछि छैटौं दिन बिरामीलाई डिस्चार्ज गरिन्छ भने १४ दिनमा टाँका काटिन्छ । ६ हप्तामा एक पटक फलोअपको लागि अस्पताल जानुपर्छ । बिरामीलाई ६ हप्ता लठ्ठी तथा अन्य कुनै सहायताले हिंड्न लगाइन्छ भने त्यसपछि परिस्थिति हेरेर सहयोग बिस्तारै हटाउँदै लगिन्छ । शल्यक्रिया गरेको तीन महिनापछि बिरामी कुनै पनि सहयोग बिना हिंडडुल गर्न सक्छन् ।

शल्यक्रिया मार्फत कृत्रिम जोर्नी राखिएको हुनाले यसको जतन गर्नुपर्छ । प्रत्यारोपण गरेका व्यक्तिहरू होचो ट्वाइलेटमा वा पलेंटी कसेर टुक्रुक्क बस्न हुँदैन । जोर्नीको वरपरको मांसपेशी बलियो बनाउन दैनिक फिजियोथेरापी गर्नुपर्छ ।

बिरामीलाई कुनै पनि प्रकारको संक्रमण भयो भने छिटो उपचार गर्नुपर्छ, जसले संक्रमण जोर्नीमा सर्न पाउँदैन । रुख चढ्ने, उचाइबाट हाम फाल्ने जस्ता जोखिमयुक्त क्रियाकलापबाट टाढा रहनुपर्छ ।

कसरी जोगाउने जोर्नी ?

निश्चित उमेरपछि धेरै उकालो ओरालो नगर्ने र भर्‍याङ तलमाथि नगर्ने, लामो समय पलेंटी कसेर तथा टुक्रुक्क नबस्ने, पोषिलो सन्तुलित खानपान र व्यायाम गरेर पनि हामी जोर्नीको समस्यालाई न्यूनीकरण गर्न सक्छौं ।

जोर्नी प्रत्यारोपण डा. ऋषि बिष्ट
डा. ऋषि विष्ट
लेखक
डा. ऋषि विष्ट
हाडजोर्नी तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ

डा. विष्ट राष्ट्रिय ट्रमा सेन्टर  र अल्का अस्पतालमा कार्यरत छन् । अर्थोपेडिक्समा एमएस गरेका उनीसँग जोर्नी प्रत्यारोपण, ‘नी अर्थोप्लास्टी’ र ‘एओ ट्रमा’मा फेलोसिप छ। डा. विष्टको नेपाल काउन्सिल दर्ता नम्बर ४७८७ हो ।    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय