+

होली खेलिसकेपछि कसरी गर्ने अनुहारको स्याहार ?

२०८० चैत  ११ गते १५:५४ २०८० चैत ११ गते १५:५४
होली खेलिसकेपछि कसरी गर्ने अनुहारको स्याहार ?

होली रंगहरुको पर्व हो । एकअर्कामा रंग लगाएर मनाइने यो पर्वले रमाइलो माहोल बनाउँछ । तर होली खेल्दा रंगबाट छाला र कपाललाई असर पर्नबाट कसरी जोगाउने भन्ने विषयमा भने चनाखो हुन जरुरी छ ।

यस्तोमा होली खेल्नुअघि र पछि अनुहार र कपालको हेरचाह गर्न जरुरी हुन्छ । ताकि, होली पनि मनाउन सकियोस्, अनुहार र कपालको सौन्दर्यमा पनि फरक नपरोस् ।

होली खेल्नुअघि

मोइस्चराइजर : छाला देखिने भागमा अनुहार, हात र गर्दनमा पर्याप्त मात्रामा मोइस्चराइजर लगाउन सकिन्छ । यसले एक अवरोध पैदा गर्छ र अनुहारको छालामा दाग बस्न दिंदैन ।

यस्तोमा अल्कोहल भएका मोइस्चराइजर लगाउनु हुँदैन । जहिले पनि भिटामिन ई र सी भएको मोइसचराइजर लगाउनुपर्छ ।

तेलको प्रयोग : लगाउनु छालासँगै कपालको पनि सुरक्षा गर्नुपर्छ । कपालमा रंग बस्न नदिन तेल लगाउनुपर्छ । तेल लगाएको कपालमा नुहाएपछि रंग पनि सबै जान्छ ।

सनस्क्रि : होलीको समयमा घरबाहिर उत्सव वा समारोहमा बस्दा घामबाट बच्न एसपीएफ बढी भएको सनस्क्रिन प्रयोग गर्नुपर्छ । घाममा जानु १५  मिनेटअघिबाट अगाडि सनस्क्रिन प्रयोग गर्नुपर्छ ।

सनस्क्रिनको प्रयोग गर्दा अनुहार र घाँटीमा एक चिया चम्चा अर्थात् तीनदेखि पाँच ग्राम सनस्क्रिन लगाएर घाममा जानु उपयुक्त हुन्छ ।

कपडा : यो समयमा कपडा लगाउँदा आरामदायक र सहज खालको लगाउनुपर्छ । घामले हात डढ्न सक्ने हुँदा छोपिने लुगा लगाउनुपर्छ ।

खाको सुरक्षा : आँखामा रंग पर्न नदिन कालो र मोटो चश्मा लगाउन सकिन्छ । रंग खेल्दा कन्ट्याक लेन्स भने लगाउन हुँदैन ।

नङ : होलीमा रंग एकअर्कामा लगाउँदा नङले लागेर छालामा गाडिन सक्छ । त्यसकारण सकिन्छ भने नङ काट्दा उपयुक्त हुन्छ ।

होलीपछि

होली खेल्नुअघि मात्र होइन, होली खेलेपछि पनि आफ्नो अनुहार तथा कपालको सुरक्षा गर्नुपर्छ ।

अनुहार पखाल्ने : होली खेलेपछि छालामा लागेको रंग हटाउन जति सक्दो चाँडो अनुहारलाई सादा पानीले धुनुपर्छ ।

हार्ड साबुन वा स्क्रबंग भने लगाउन हुँदैन । यसले अनुहार पोल्ने र सुक्खा बनाउन सक्छ । सादा पानीले धुँदा गएन भने कागतीको झोल, दही, बेसार, सेतो पिठो मिसाएर सफा गर्न सकिन्छ । क्लिन्जरको पनि प्रयोग गर्न सकिन्छ ।

अनुहार पखाल्न हल्कासँग धेरै नमाडीकन पाँचदेखि १० मिनेट क्लिन्जर र मनतातो पानीको प्रयोग गर्न सकिन्छ । त्यस्तै, आँखा सफा पानीले छ्याप छ्याप गरेर धुनुपर्छ ।

तर मिसावटयुक्त चाँदी जस्तो रंगमा हुने सिल्वर नाइट्रेटले छालामा दीर्घरुपमा निलो-खैरो रंग आउन सक्छ । बसन्त ऋतुको चर्को घामले यस्ता दीर्घरुपमा छालामा समस्या ल्याउन सक्छ । जसकारण यस्तो रंगबाट बच्नुपर्छ ।

कपालको हेरचाह : होली खेलेपछि कपालको हेरचाह गर्न पहिले मज्जाले पानीले कपाल धुनुपर्छ । त्यसपछि माइल्ड स्याम्पुले राम्रोसँग रङ जाने गरी मसाज गरेर धुन सकिन्छ ।

कन्डिसनरको प्रयोग : स्याम्पु गरिसकेपछि कपाललाई राम्रोसँग पोषण दिनको लागि कन्डिसनर गर्नु महत्वपूर्ण हुन्छ ।

मोइस्चराइजर/सनस्क्रिन : छाला धेरै नाजुक हुन्छ । जसकारण रंगमा मिसाइएको धेरै रसायनले छालालाई हानि पुर्‍याउँछ । अनुहार सफा गरी धोएपछि मोइस्चराइजर र सनस्क्रिन लगाउन नबिर्सनुहोस् । यी चीजहरूले छालालाई सुक्खा र एलर्जी हुन दिंदैन ।

पानी प्रस्त पिउने : यो समयमा शरीरमा डिहाइड्रेसन हुने हुँदा पानी प्रशस्त पिउनुपर्छ ।

कस्त समस्या आएमा डाक्टरको सल्लाह लिने ?

– छाला चिलाउने, पोल्ने, दुख्ने, बिमिरा आउने, पानी बग्ने, घाउ हुने, छालामा कीटाणुको संक्रमण भएमा, ज्वरो आएमा वा अचेत भएमा

– ओठ,  आँखा, अनुहार सुन्निएमा, सास फेर्न गाह्रो भएमा, ओठ तथा औंलाहरु निलो भएमा

– एक्कासि धेरै कपाल एकै पटक झरेमा ।

अनुहारको हेरचाह डा. प्रज्ज्वल पुडासैनी होली
डा. प्रज्ज्वल पुडासैनी
लेखक
डा. प्रज्ज्वल पुडासैनी
छाला, यौन तथा कपाल प्रत्यारोपण विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : १७६०७ एमबीबीएस, एमडी हाल काठमाडौं नयाँ बानेश्वरस्थित निजामती  कर्मचारी अस्पताल र भक्तपुरस्थित बीएससीसी क्लिनिकमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय