+

तौलको लेखाजोखा : कति पाइला हिंड्दा कति क्यालोरी बर्न हुन्छ ?

२०८१ वैशाख  ७ गते १४:०१ २०८१ वैशाख ७ गते १४:०१
तौलको लेखाजोखा : कति पाइला हिंड्दा कति क्यालोरी बर्न हुन्छ ?

बढेको तौललाई घटाउन मान्छेहरू अनेक उपाय अपनाउँछन् । डाइट फलो गर्छन्, भारी व्यायाम गर्छन् । तर दैनिक हिंड्दा पनि तौल नियन्त्रण हुन्छ भन्ने कुरालाई भने नजरअन्दाज गरिरहेका हुन्छन् ।

हिंड्दा राम्रोसँग हिंड्ने हो भने एक महिनामै तौलमा फरक देख्न सकिन्छ । यसका लागि हामीले दैनिक कति दूरी हिंड्नुपर्छ भन्ने थाहा पाउनुपर्छ । साथै कुन गतिमा हिंड्नुपर्छ भन्ने पनि जान्नु जरुरी हुन्छ ।

दैनिक कति हिड्नुपर्छ ?

हिंडाइमा समयावधि र गति दुवै महत्त्वपूर्ण हुन्छ । जति छिटो हिंड्यो स्वास्थ्यका लागि त्यति नै फाइदाजनक हुन्छ ।

अमेरिकन काउन्सिल अफ एक्सरसाइजका अनुसार दैनिक २५ सय पाइला हिंडेर स्वस्थ रहन सकिन्छ ।  जबकि अन्य धेरै अनुसन्धानले दैनिक कम्तीमा १० हजार पाइला हिंड्नु स्वास्थ्यको लागि फाइदाजनक हुने देखाएका छन् ।

दैनिक आठ हजारदेखि १० हजार पाइला फटाफट हिंड्यो भने यसले मुटुको स्वास्थ्य राम्रो राख्छ । जीवनशैलीसँग सम्बन्धित रोगहरू जस्तै मधुमेह, हृदयरोग, स्ट्रोक, उच्च रक्तचाप, मानसिक समस्या आदिको जोखिमबाट पनि बचाउँछ ।

जर्नल अफ अल्जाइमर्स डिजिजमा प्रकाशित यस अध्ययनअनुसार दैनिक केही हजार पाइला मात्र हिंड्दा  मस्तिष्कको आकार बढ्न सक्छ । मस्तिष्कको आकार ठूलो हुनुको अर्थ मस्तिष्क स्वस्थ हुनु हो । यसका सबै न्युरोट्रान्समिटरहरू ठीकसँग काम गर्छन्, जसले डिमेन्सिया वा अल्जाइमरको जोखिम कम गर्छ ।

कति हिड्दा कति क्यालोरी बर्न हुन्छ ?

हिंड्दा क्यालोरी बर्न हुन्छ, यसले तौल कम गर्न वा स्थिर राख्न मद्दत गर्छ । सामान्यतया ६० केजीको व्यक्तिले दैनिक आठ हजारदेखि १० हजार पाइला हिंडेको छ भने उसले दैनिक ५०० देखि ६०० क्यालोरी बर्न गर्छ ।

सात हजार क्यालोरी बराबर एक केजी हुन्छ । त्यसैले यदि दैनिक पाँचदेखि १०० क्यालोरी घटाउने हो भने १५ दिनमा एक केजी तौल घटाउन सकिन्छ । तौल घटाउन हिंडाइसँगै खानपान र निद्रामा पनि ध्यान दिनुपर्छ ।

६० केजीको व्यक्तिले एक घण्टा तीव्र गतिमा हिंड्दा र ९० केजीको मान्छेले त्यही गतिमा एक घण्टा हिंड्दा भने फरक-फरक क्यालोरी बर्न हुनसक्छ ।

स्मार्टवाच वा मोबाइल एपमार्फत हिडाइको गणना गर्नु राम्रो

स्मार्टवाच तथा मोबाइल एपमार्फत हिंडाइको गणना गर्ने चलन बढ्दो छ । यसरी एपको मद्दतले हिंडाइ नाप्दा कति स्टेप हिंडियो, कति दूरी हिंडियो भनेर थाहा हुन्छ ।

एपले तपाईंको तौल नलिई कति दूरी हिंडेको हो त्यस आधारमा यति क्यालोरी बर्न भयो भनेर देखाउँछ भने त्यो एप वा स्मार्टवाच भने उपयोगी हुँदैन । एप तथा स्मार्टवाचले तपाईंको तौल लिएर कति पाइला हिंडियो कति दूरी हिंडेको हो भन्ने लेखाजोखाको आधारमा यति क्यालोरी बर्न भयो भनेर देखाउँछ भने त्यो चाहिं सही हुन्छ ।

स्मार्टवाच तथा एपको मद्दतले हिंडाइको गणना गर्नुको फाइदा पनि हुन्छ । सही मात्रामा हिंडेर र आफ्नो स्मार्टवाचमा आफ्ना पाइला गणना गरेर तौल नियन्त्रण गर्न सकिन्छ ।

कहिलेकाहीं बिहान दुई हजार पाइला मात्र हिंडिएको छ भने त्यो स्मार्टवाचमा रेकर्ड भएको हुन्छ । त्यो रेकर्ड हेरेर बिहान कम हिंडिएछ भने साँझको समयमा म आधा घण्टा हिंड्छु भनेर सकारात्मक ऊर्जा प्राप्त गर्न पनि सहयोग मिल्छ ।

तौल स्वास्थ्य हिंडाइ
डा. अभिषेक ठाकुर
लेखक
डा. अभिषेक ठाकुर
मुटुरोग विशेषज्ञ

डा. ठाकुर मुटुरोग विशेषज्ञ हुन् । उनी काठमाडौंको बल्खुस्थित बयोधा अस्पतालमा कार्यरत छन् । ठाकुरको मेडिकल काउन्सिल तर्दा नम्बर १३०५८ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय