+
+

मिर्चैयाका बासिन्दाले भेटे प्रधानमन्त्री, घर भत्काउनेलाई कारबाही गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १९ गते २१:०५

१९ वैशाख, जनकपुरधाम । सिरहाको मिर्चैया बजारका पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग न्यायका लागि गुहार गरेका छन् । करिब दुई महिनादेखि निरन्तर आन्दोलनमा रहेका मिर्चैया बजारका बासिन्दाले मंगलबार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर न्याय निसाफका लागि अपिल गरेका हुन् ।

मिर्चैया नगरपालिकाले गाउँब्लक क्षेत्रमा पर्ने बजारका घरहरू भत्काएपछि स्थानीय बासिन्दाले प्रधानमन्त्री गुहारेका हुन् । उनीहरुले क्षतिपूर्ति दिलाउन र गलत काम गर्नेहरूलाई कारबाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । त्यस्तै आफूहरुलाई तत्काल लालपुर्जा उपलब्ध गराउन पनि माग गरेका छन् ।

पुस्तौंदेखि बसोबास गरी आएको हकभोग तथा स्वामित्वसँग सम्बन्धित प्रमाणहरू भएका घर गैरकानुनी तरिकाले भत्काई बेघर बनाएर अत्याचार गरिएको उनीहरूको गुनासो छ । निवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले स्थानीयबासीलाई चाडै समस्याको समाधान दिने आश्वासन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले मातहतका निकायसँग बुझेर समस्याको समाधान निकाल्ने र दोषीलाई कारवाही पनि पीडितलाई आश्वासन दिएका हुन् । नगरपालिकाले संघीय सरकारले राजपत्रमा निकालेको सूचनालाई बेवास्ता गरी घर तोडफोड गरेको पनि उनीहरूले प्रधानमन्त्री प्रचण्डलाई बताएका थिए ।

२०७५ पुस २३ गते भूमिसुधार मन्त्रालयले गाउँब्लकका जग्गा नापजाँचका लागि सूचना निकालेको थियो । तर, नगरपालिकाले संघीय सरकारको निर्णय नमानेर कुतर्क गर्दै आएकोसमेत उनीहरूले प्रधानमन्त्रीलाई बुझाएको निवेदनमा भनेका छन् ।

पीडितहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतसँग पनि भेट गरी न्यायका लागि माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?