+
+

सिंहदरबार र बालुवाटारमा सुनाउन नपाएका पीडा पेरिसडाँडामा

प्रधानमन्त्री निवास बालुवाटार अनि सिंहदरबार गएर राख्न नसकेका मर्का सुनाउन कतिपयले पेरिसडाँडाको गन्तव्य रोज्ने गरेका छन् । माओवादीले प्रधानमन्त्रीसहित मन्त्रीहरु पार्टी कार्यालय पुगेर आम नागरिकका दुखेसो सुन्ने प्रबन्ध मिलाए पनि त्यसले समाधान दिन सकेको भने छैन ।

रामकुमार डिसी रामकुमार डिसी
२०८० वैशाख २१ गते १६:१५
माओवादी पार्टी कार्यालय, पेरिसडाँडा । तस्वीर : फाइल ।

२१ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चितवन पुग्दैगर्दा भरतपुर १५ का शशिधर पौडेल पेरिसडाँडामा थिए । माओवादी केन्द्रको मुख्यालयमा उनी आफूमाथि परेको बज्रपात सुनाइरहेका थिए ।

ब्रेन ट्युमर पीडित ३१ वर्षीया जेठी छोरी केही महिनाअघि गुमाए शशिधरले । उनकी २५ वर्षीया कान्छी छोरी स्तन क्यान्सर पीडित बनिन् । हालै उपचारपछि उनी क्यान्सरमुक्त भएकी छन् । ५५ वर्षीया श्रीमती पनि पाठेघर र स्तन क्यान्सर पीडित छिन् । बाइसौं केमोथेरापी लिइसकेकी उनी जीवन र मरणको लडाइँ लडिरहेकी छिन् ।

असहाय शशिधर सिंहदरबार या बालुवाटार गएर आफ्ना मर्का ‘कमरेड’हरुलाई सुनाउन चाहन्थे । सुरुमा उनले कोसिस नगरेका पनि होइनन् । केहीपल्टका प्रयत्नपछि उनले बुझे त्यहाँका ढोकाहरु सर्वसाधारणका लागि सहज उपलब्ध छैनन् । यस्तोमा उनले पेरिसडाँडालाई सजिलो गन्तव्य ठाने ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठ माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष पनि हुन् । ७ वैशाखका दिन शशिधरले बल्लतल्ल श्रेष्ठलाई पेरिसडाँडामा भेट्न पाएका थिए ।

‘मेरो अविभावक भनेको गृहमन्त्रालय हो,’ बिरामी श्रीमतीसहित पेरिसडाँडा पुगेका उनले गृहमन्त्रीसामु गुहार मागे, ‘जनताको जिउ, धनको रक्षा गर्ने मन्त्रालय भएको हुनाले तपाईंलाई भेट्न आएँ ।’

यति भनिनसक्दै शशिधर भक्कानिए । र, आफूलाई थोरै सम्हाल्न खोज्दै भने, ‘मलाई जीवनप्रति निराश भएर अन्यथा गर्न मन छैन, सरकारले मलाई बचाओस् ।’

परिवारका एकपछि अर्को सदस्यलाई क्यान्सरले गाँजेपछि उनीहरुको अहिलेसम्म आफ्नै खर्चले उपचार गरेको र अब त्यो नसक्ने भन्दै उनले सरकारसँग गुहार मागेका हुन् ।

सरकार र पार्टीको काममा तारतम्य मिलाउन माओवादी केन्द्रले १ वैशाखदेखि माओवादी केन्द्रले प्रधानमन्त्री, मन्त्री र सल्लाहकारहरुले हप्तामा एक दिन २ घण्टा पार्टी कार्यालयमा समय दिने कार्यक्रम सुरु गरेको छ । त्यही कार्यक्रमको फाइँदा उठाउँदै पौडेलले श्रेष्ठसामु आफ्नो दुःखको पत्र उघार्ने मौका पाए ।

‘उहाँ (नारायणकाजी श्रेष्ठ)ले मैले क्याबिनेटमा कुरा लान्छु, देशको स्थिति पनि यस्तै छ । सबैको हालत यस्तै छ भन्नुभयो,’ श्रेष्ठको आश्वासन सुनाउँदै उनले भने ।

****

बाजुराका उज्ज्वल विकको पनि दुःखको अलग्गै पहाड छ । मुटुमा समस्या छ । गत असारमा उनले बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको देब्रे भल्बको शल्यक्रिया गरेका थिए । अस्पतालले दिने एक लाख राहत र तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको सहयोग बाहेक पनि उनले साढे ६ लाख बुझाएका थिए ।

उनका अनुसार चिकित्सकले अब १ वर्ष भित्रमा दायाँ भल्बको पनि शल्यक्रिया गनुपर्ने बताएका छन् । अर्को शल्यक्रिया धान्ने आर्थिक स्थिति उज्ज्वलको छैन । उनका लागि पनि अब सहयोगको याचनाका लागि हात थाप्ने अन्तिम आशा राज्य नै हो ।

उनले पनि आफ्नो दुःख गृहमन्त्री श्रेष्ठलाई सुनाए । आश्वासन दिँदै गृहमन्त्री श्रेष्ठले भने– ‘के हुन्छ, हेरौंला ।’

गृहमन्त्रीको आश्वासनले उनको बेचैनी थामिएको छैन । एक वर्षपछिको ठूलो गर्जो त टार्नु नै छ । तर, उनलाई अहिले नै काठमाडौंमा बाँच्न अप्ठ्यारो परेको छ ।

‘नियमित औषधी र महिनाको तीन पटक जाँच गर्नुपर्छ भनेर डाक्टरले भन्नु भएको छ,’ दुःखको पोयो खोल्दै उनले भने, ‘पाँच किलो भन्दा धेरै समान उठाउन नि मिल्दैन । उकालो, ओरालो हिँड्न मिल्दैन ।’

उकालो ओरालो नगरी बाजुरामा जिन्दगी चल्दैन । मुटुजस्तो संवेदनशील अंगको उपचार दिन सक्ने विशिष्टिकृत सेवा पनि बाजुरामा पाइँदैन ।

त्यसैले नियमित स्वास्थ्य जाँच र आरामका लागि काठमाडौं बसाइँ उज्ज्वलको बाध्यता हो । तर, यहाँ बस्न सक्ने उनको आर्थिक हैसियत छैन । नबसी पनि भएको छैन । यस्तोमा उनले एउटा ‘आइडिया’ निकालेका छन्, नागरिकता धेरौटीमा राख्ने ।

‘एक वर्ष यतै बस्नुपर्ने भयो तर, मलाई यहाँ एक महिना बस्न पनि समस्या छ,’ आफ्नो दुःख सुनाउँदै उनले भने, ‘होटेलमा नागरिकता राखेर बसेको छु । त्यसको भरमा होटेलले कति दिन खान दिन्छ ।’

****

उसो त स्थानीय जनताका यस्तै मर्का सुन्न भनेर अहिले गाउँपालिका, नगरपालिकामा इकाइ नै खडा गरिएको छ । वडा कार्यालयहरुमा पनि जनतालाई सेवा दिने प्रबन्ध छ । तर अझै पनि शक्तिका ढोकाहरु नचहारी सहुलियत पाइने विश्वास नागरिकहरुमा जागिसकेको छैन । त्यसमाथि ठूला र सुविधासम्पन्न अस्पताल, अनि विशेषज्ञ डाक्टरहरुसमेत काठमाडौं बस्ने हुँदा यहाँसम्मको यात्राले दिने खर्चको भार थेग्न समेत नागरिकहरु पार्टीका ढोकाहरु धाउन थाल्छन् ।

सरकारमा माओवादीले पाएका भन्दा अरु पार्टीहरुले पाएका मन्त्रालय नै बेसी छन् । उसो भए ती मन्त्रालयसम्म कसरी पहुँच होला ? सबै मन्त्री पेरिसडाँडा आउने त होइनन् ।

पाल्पाका कर्णबहादुर कार्की दुवै मिर्गौला पीडित हुन् । पूर्व पत्रकार समेत रहेका उनले बुटवलमा बसेर तीन दशक पत्रकारिता गरे । पञ्चायतको जगजगीमा गणतन्त्रको वकालत गर्दै पत्रकारिता गरेका उनी तीन पटक त जेलमै पुगे ।

कम्युनिष्ट नेताहरु विशेषगरी हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह जस्ता नेताहरुसँग राम्रै चिनजानको सम्बन्ध बनाएका पनि थिए ।

ऊ बेलाको त्यही सम्बन्धको विश्वासको जगमा सहयोग पाइने आशासहित उनले प्रधानमन्त्री प्रचण्डलाई भेट्न चाहे । प्रधानमन्त्रीसँग ८ वैशाखमा भेट हुने अपेक्षासहित उनले पेरिसडाँडास्थित माओवादी केन्द्रको कार्यालयमा गएर भेट्नेको सूचीमा आफ्नो नाम पनि चढाए । तर, अन्तिम समयमा प्रधानमन्त्रीले पेरिसडाँडा आउने कार्यक्रम रद्ध गरिदिए ।

यसबाट दुखित उनले आफ्नो दुःख लुकाएनन् । ‘पाँच पटक डायलाइसिस गरिसकेँ, डाक्टरले सकेसम्म प्रत्यारोपण गर्न भनेका छन्,’ अनलाइनखबरसित उनले सुनाए, ‘अहिलेसम्म २०/२५ लाख खर्च गरिसकेँ । अब प्रत्यारोपणको त्यत्रो पैसा कहाँबाट ल्याउनु ? त्यसमाथि प्रत्यारोपण गर्न पहिले मिर्गौला पनि त पाउनुपर्यो ।’

अब उनले हप्तामा दुई पटक ‘डायलाइसिस’ गर्नुपर्छ । पाल्पामै बसेर उनी त्यो गरिरहेका छन् । निःशुल्क डायलाइसिस सेवा दिने घोषणा गरेको सरकारले अहिले त्यो पनि पूरा गर्न सकेको छैन । अहिले प्रति डायलाइसिसको ३ हजार ५ सय तिरिरहेको भन्दै, अब आफूले त्यति पनि गर्न नसक्ने कार्की बताउँछन् ।

२०४८ सालमा नेपाल पत्रकार महासंघको उपाध्यक्ष समेत बनेका उनलाई महासंघले आर्थिक सहयोगका लागि सञ्चार मन्त्रालयलाई सिफारिस गरेको छ । तर, त्यो अकारण मन्त्रालयमै अड्किएको भन्दै उनले आफूले त्यो गाँठो फुकाउनका लागि आग्रह गर्न प्रधानमन्त्रीसँग भेट्न चाहेको बताए ।

गुनासो सुन्ने तालिका

पेरिसडाँडामा दुःख सुनाउन आउनेहरुमध्ये यी प्रतिनिधि पात्र हुन् । हप्तामा दुई घण्टा पार्टी कार्यालयमा गएर जनताका दुःख सुन्नैपर्ने यो कार्यक्रमले बालुवाटार र सिंहदरबारमा पहुँच नपाउनेहरुका लागि सजिलो समेत भएको छ ।

माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार प्रधानमन्त्रीसहित माओवादीबाट मन्त्री भएकाहरुले हप्तामा दुई घण्टा कार्यालयमा बिताउनै पर्छ । दिउँसो ४–६ बजेसम्मको समय तोकिएको छ ।

प्रधानमन्त्री प्रचण्डका लागि शुक्रबारको समय तोकिएको छ । वैशाख १ गतेदेखि सुरु भएको कार्यक्रम तेस्रो हप्तामा चल्दै गर्दा प्रधानमन्त्रीले भने एक पटक पनि समय दिन भ्याएका छैनन् ।

केन्द्रीय कार्यालयका सचिव उपाध्यायका अनुसार प्रधानमन्त्री नआएको खण्डमा प्रधानमन्त्रीको सचिवालयबाट जनसम्पर्क सल्लाहकार देवेन्द्र पराजुली उपस्थित हुने गरेका छन् । त्यस्तै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार हरिबोल गजुरेल पनि मंगलबार आउने गरेका छन् ।

त्यस्तै मन्त्रीहरुमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले बिहीबार, सञ्चार मन्त्री रेखा शर्माले शनिबार, ऊर्जामन्त्री शक्ति बस्नेत आइतबार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुुदन किराँती सोमबार र सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले बुधबार भेट्ने तालिका छ ।

प्रभावकारी कति ?

आफ्नो व्यक्तिगत दुःख सुनाउनुका अलवा आफ्नो क्षेत्रमा योजना पार्न, लेनदेनका विवाद मिलाइदिने, सरुवा–बढुवा गरिदिने जस्ता कामका लागि पनि मन्त्रीलाई भेट्न आउने गरेका छन् । पेरिसडाँडालाई गन्तव्य बनाउने तिनीहरुको उपायले सम्पूर्ण रुपमा काम गर्न भने सकेको छैन । अझ पेरिसडाँडामा टिपिएका गुनासाहरु सम्बन्धित मन्त्रीहरुले सुनुवाइ नगरेका गुनासाहरु समेत उत्तिकै भेटिन्छन् ।

यति हुँदाहुँदै पनि पार्टी कार्यालयमा गएर समस्या सुन्दा आफूहरुलाई निर्णय गर्न र विचार बनाउन सहयोग पुगिरहेको बताउँछन् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ।

‘जनताले, पार्टी कार्यकर्ताले आफूलाई परेको समस्या हामीलाई सुनाउनु स्वाभाविक हुन्छ,’ अनलाइनखबरसित उनले भने, ‘यसमा राम्रो भएको छ । साथीहरुले खुल्लारुपमा आफ्ना कुरा राख्नु भएको छ । यसले हामीलाई निर्णय गर्न र विचार बनाउन मद्दत नै गर्छ ।’

श्रेष्ठले हुने काममा तुरुन्तै निर्णय गर्ने, समय लाग्ने कामलाई प्रक्रियामा लैजाने र नहुने काम हुँदैन भनेर भन्ने गरेको सुनाए ।

धेरै मानिस राज्यले सहयोग दिन्छ कि भनेर दबाव दिन आउने गरेको भन्दै राज्यको स्रोतमाथि समेत विचार पुर्याउँदै निर्णय हुने उनको भनाइ छ । ‘राज्यले त्यस्तरी आएका हरेकलाई राज्यकोषबाट सहयोग दिन कति सम्भव होला, कति असम्भव होला । हामीले संवेदनशीलता हेरेर, राज्यको स्रोत पनि हेरेर निर्णय गर्छौं,’ श्रेष्ठले भने ।

नागरिकका अपेक्षा धेरै भएको तर अर्थतन्त्रमा संकुचन आएका कारण सबैका अपेक्षा पूरा गर्न अप्ठ्यारो रहेको उनको भनाइ छ । ‘हामीले विधिबाट दिन सकिने दिने कुरा हो,’ श्रेष्ठ भन्छन्, ‘तर अहिले धेरै समस्या छ । अर्थतन्त्रमा जुन समस्याहरु देखापरेका छन्, त्यो कोणबाट झनै समस्या छ ।’

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?