+
+

कांग्रेस पदाधिकारी बैठकमा देउवाको कार्यशैलीमाथि नेताहरुले उठाए प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २१ गते १७:४४

२१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर नेताहरुले प्रश्न उठाएका छन् ।

बुधबार बसेको पदाधिकारी बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियारले सभापति देउवा विधानसम्मत तरिकाले नचलेको भन्दै आलोचना गरेका हुन् । केन्द्रीय समितिले अझै पूर्णता नपाएको, विभागहरुको गठन नगरेको, भ्रातृ संस्थालाई पूर्णता नदिएको लगायतका विषय उठाएर नेताहरुले देउवाको आलोचना गरेका हुन् ।

विधान अनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हुनुपर्छ । तर महाधिवेशन सकिएको डेढ वर्ष बितिसक्दा पनि सभापति देउवाले १३ जना केन्द्रीय सदस्य मनोनित गरेका छैनन् । महाधिवेशन सकिएको ६ महिनाभित्र गठन हुनुपर्ने विभागको प्रमुख समेत हालसम्म तोकिएका छैनन् । ‘केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन । डेढ वर्ष वितिसक्दा विभाग बनेको छैन,’ बैठकमा सहभागी एक नेताले भने, ‘सभापतिको ढिलासुस्तीका विषयमा कुरा उठेको हो ।’

सहमहामन्त्री जीवन परियारले मन्त्रिपरिषद विस्तारमा असन्तुष्टि राखेका थिए । कांग्रेसबाट ८ मन्त्री बनाउँदा समावेशितालाई ध्यान नदिएको उनको आरोप छ । कांग्रेसले पठाएका बनाएका ८ मन्त्रीमा दलितबाट एकजनाले पनि अवसर पाएका छैनन् ।

भ्रातृ संस्थाहरु लथालिङ्ग अवस्थामा रहेको भन्दै नेताहरुले तत्काल कार्यसमितिलाई पूर्णता दिनुपर्ने बताएका थिए । नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघमा अध्यक्ष मनोनित गरिएपनि पूर्णता पाउन सकेका छैनन् । आदिवासी जनजाति संघ, किसान संघ लगायतले विधान अनुसारको पूर्ण कार्यसमिति बनाउन सकेका छैनन् ।

‘केन्द्रीय समिति र भ्रातृ संस्थालाई पूर्णता दिने छिट्टै पूर्णता दिने सभापतिले भन्नुभएको छ । भ्रातृ संस्थाको पूर्ण कार्यसमिति बैशाख मसान्तसम्म बन्छ होला’,  बैठकमा सहभागी एक पदाधिकारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?