 
																			२१ वैशाख, काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले प्रयोगमा नआएका स्वास्थ्य उपकरणको रिपोर्ट ७ दिनभित्र आफूलाई दिन मन्त्रालयका सचिवलाई निर्देशन दिएका छन् ।
बिहीबार मन्त्री बस्नेतले पदभार ग्रहण गर्दै स्वास्थ्य उपकरण कस्तो अवस्थामा रहेका छन्, त्यसको जानकारी सात दिनभित्र पेश गर्न स्वास्थ्य सचिवलाई निर्देशन दिएका हुन् ।
‘धेरै उपकरण खरिद गरेर ल्याइएको छ । तर, ती उपकरण खिया लागेर बसेका छन् । त्यसको हिसाबकिताब एक हप्ताभित्रमा मलाई उपलब्ध गराउनुहोला’, उनले भने ।
धेरै उपकरण स्वास्थ्य मन्त्रालयमा कमिसनको लागि मात्रै खरिद हुने गरेको बताउँदै मन्त्री बस्नेतले अबदेखि त्यसको अन्त्य हुने बताए ।
‘बरु खर्च नभएर उपचार गर्न वञ्चित भएका नागरिकलाई कसरी सेवा दिन सकिन्छ त्यसको कार्ययोजना मन्त्रालयका अधिकारीले बनाउनुहोस्’, उनले अगाडि थपे, ‘त्यसको कार्यावन्यन गर्ने जिम्मेवारी मेरो हो ।’
आगामी आर्थिक बर्षमा स्वास्थ्य मन्त्रालयको बजेटको सिलिङ घटेर आएकाले नियमित कार्यक्रम प्रभावित हुने भन्दै उनले बढाउनका लागि सम्बन्धित निकायको ध्यानकर्षण गराउने बताए ।
त्यसैगरी, मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा बढी सरुवा बढुवामा मात्रै केन्द्रित हुने रोगको अबदेखि अन्त्य हुने बताएका छन् । ‘म पहिला स्वास्थ्य राज्यमन्त्री भएर आउँदा बर्षको दुईपटक असोज र चैतमा मात्रै सरुवा बढुवा हुने व्यवस्था गरेको थिएँ । तर, त्यो दुई बर्षसम्म टिक्यो । अबदेखि बाह्रै महिना सरुवा बढुवाको काम हुँदैन । कामको आधारमा मात्रै पदोन्नती हुन्छ’ उनले भने ।
स्वास्थ्य क्षेत्रमा धेरै बेथिति रहेको उल्लेख गर्दै मन्त्री बस्नेतले अबदेखि विदेशका कार्यक्रममा जाँदाको उपलब्धी पनि माग गरिने बताए । जथाभावी विदेश भ्रमणको अन्त्य गर्छौं’ उनले भने, ‘जसले विदेश भ्रमण गरेर आयो । फर्किएर आएपछि त्यसको आउटपुट अनिवार्य रुपमा दिन पर्छ ।’
मन्त्री बस्नेतले दैनिक २० घण्टा समय स्वास्थ्य मन्त्रालयको कामलाई दिने बताए । ‘मलाई दिनको चार घण्टा सुत्न दिनुहोस् । खाना खान त म बिहान सात–आठ बजे नै खाइसक्छु । अरू सबै समय मन्त्रालयको काममा केन्द्रित रहन तयार छु । तर, मन्त्रालयका कर्मचारीको मलाई साथ चाहिन्छ’, उनले थपे ।
बस्नेत २२ वर्षपछि पुनः स्वास्थ्य मन्त्रालयमा नेतृत्वदायी भूमिकामा प्रवेश गरेका छन् । उनी २०५८ सालमा स्वास्थ्य राज्यमन्त्री बनेका थिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4