+
+
Shares

सिन्धुपाल्चोक-२ : पूर्व कानुनमन्त्रीलाई चुनौती दिँदै परीक्षित अनुहार

एमाले उम्मेदवार तामाङबाहेकका सबै उम्मेदवार प्रतिनिधिसभा निर्वाचनमा नयाँ अनुहार हुन् । यद्यपि, मुख्य टक्कर दिइरहेका कांग्रेस र नेकपाका उम्मेदवार सार्वजनिक भूमिकामा परीक्षण भइसकेकै पात्र हुन् ।

दीपक खत्री दीपक खत्री
२०८२ माघ २६ गते १९:३०

२६ माघ, सिन्धुपाल्चोक । प्रारम्भिक माहोलअनुसार सिन्धुपाल्चोक–२ मा पुरानै दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । २०७९ को निर्वाचनमा कांग्रेसका मोहनबहादुर बस्नेत जितेको यो क्षेत्रमा अहिले कुल १८ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

कांग्रेसले यसपटक बस्नेतलाई टिकट दिएको छैन । इन्द्रावती गाउँपालिकाका पूर्वअध्यक्ष वंशलाल तामाङ कांग्रेसबाट चुनावी मैदानमा छन् । एमालेले केन्द्रीय सदस्य शेरबहादुर तामाङलाई उम्मेदवारमा निरन्तता दिएको छ । नेकपाले युवराज दुलाल ‘शरद’ चुनावी दौडमा उतारेको छ भने, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट झलककुमार श्रेष्ठ ‘अजय’ उम्मेदवार छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)बाट गोपीकृष्ण चौलागाईँ उम्मेदवार छन् ।

पहिले कानुन मन्त्रीसमेत बनिसकेका एमाले उम्मेदवार तामाङसँग सिन्धुपाल्चोकमा जित-हार दुवैको अनुभव छ । उनले २०७० को संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा जित हासिल गरेका थिए ।

०७४ मा कांग्रेससमेतको समर्थन पाएका राप्रपाका पुराना नेता पशुपतिशमशेर राणालाई पराजित गर्दै तामाङ विजयी भएका थिए । त्यो बेला उनलाई तत्कालीन नेकपा माओवादी केन्द्रको पनि साथ थियो । पछि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रसमेत पाँच दलीय गठबन्धनको सहयोगमा कांग्रेस नेता मोहनबहादुर बस्नेतले तामाङलाई पराजित गरेका थिए । बस्नेतले ३९ हजार ३६७ मत ल्याएर जित निकाल्दा तामाङले २७ हजार २४१ मतमा रोकिएका थिए । तामाङ पहिलो पटक २०६४ को संविधानसभा निर्वाचनमा पनि चुनावी मैदानमा थिए । पहिलो चुनावले उनलाई हारको स्वाद दिएको थियो ।

राप्रपा नेता पशुपति शमशेर राणा र नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत

अहिले ‘जनता भगवान् र निर्वाचन क्षेत्र नै मेरो मन्दिर हो’ भन्दै तामाङ घरदैलो अभियानमा सक्रिय छन् । मेलम्ची खानेपानी, याङ्ग्री-लार्के क्षेत्रका जनताले पाउनुपर्ने लाभ, सुनकोशी तेस्रो जलविद्युत् आयोजना, जिरोकिलो मेलम्ची, हेलम्बु-पाँचपोखरी क्षेत्रका विकास र स्थानीय सडकलाई उनले मुख्य एजेन्डा बनाएका छन् ।

यो क्षेत्रमा एमालेको बलियो संगठन छ । त्यही संगठन र आफ्नो अनुभवले काम गर्नसक्ने भन्दै तामाङले मतदातालाई रिझाउन कोसिस गरिरहेका छन् ।

एमालेका उम्मेदवार तामाङबाहेक सबै उम्मेदवार प्रतिनिधिसभा निर्वाचनमा नयाँ अनुहार हुन् । यद्यपि, मुख्य टक्कर दिइरहेका कांग्रेस र नेकपाका उम्मेदवार सार्वजनिक भूमिकामा परीक्षण भइसकेकै पात्र हुन् ।

०७४ मा राप्रपाका पुराना नेता पशुपतिशमशेर राणालाई पराजित गर्दै एमालेका शेरबहादुर तामाङ विजयी भएका थिए । २०७९ को प्रतिनिधिसभा कांग्रेस नेता मोहनबहादुर बस्नेतले तामाङलाई पराजित गरेका थिए ।

कांग्रेसका लागि गत निर्वाचन जितेको साख जोगाउने जिम्मेवारी अहिले वंशलाल तामाङको काँधमा आएको छ । २०७४ मा अमेरिका बसाइँ छाडेर स्वदेश फर्किएका उनी सोहीवर्ष इन्द्रावती गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका थिए । नभन्दै जित पनि निकाले ।

वंशलाल विशेष महाधिवेशनबाट चुनिएका सभापति गगन थापानिकट नेता मानिन्छन् । गाउँपालिका अध्यक्ष हुँदा उनी गाउँपालिका राष्ट्रिय महासंघको महासचिव पनि बनेका थिए । वंशलालसँग नेपाल विद्यार्थी संघमा जिल्ला अध्यक्ष, कांग्रेस जिल्ला कार्यसमिति सदस्य हुँदै जिल्ला सचिवसम्म बनेको अनुभव पनि छ ।

वंशलालले नातावाद, कृपावाद, भ्रष्टाचार र अनैतिक अभ्यासको अन्त्य गर्दै राजनीतिलाई शुद्ध समाजसेवाका रूपमा अघि बढाउने भन्दै भोट मागिरहेका छन् । आर्थिक र शैक्षिक रूपमा सशक्त समाज निर्माण गर्ने एजेन्डा उनले अघि सारेका छन् । कांग्रेसको बलियो संगठन, जनताको अपेक्षाअनुसार परिवर्तन भएको दल र आफ्नो विगतका कामका कारण आफू निर्वाचित हुने उनले दाबी गरिरहेका छन् । उनलाई मुख्य चुनौती पार्टीभित्रकै मतभिन्नता हुनेछ ।

नेकपा उम्मेदवार दुलालले स्थानीय स्तरमा लोकप्रिय नेताको छवि बनाएका छन् । बागमती प्रदेश सांसद पदबाट राजीनामा दिएर उनी यसपटक प्रतिनिधिसभा निर्वाचनमा होमिएका हुन् । दुलाल २०७४ र २०७९ को प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोक- २(१) बाट निर्वाचित भएका थिए । प्रदेश सभा सदस्य हुँदा उनीसँग दुई वटा मन्त्रालय सम्हालेको अनुभव पनि छ ।
प्रदेश मन्त्री हुँदा स्वास्थ्य, पूर्वाधार र विपद् व्यवस्थापनमा प्रभावकारी काम गरेको भन्दै दुलालले मत मागिरहेका छन् । ‘जनताको सुख–दुःखमा सधैँ अग्रपंक्तिमा उभिएको’ भन्दै उनले सहानुभूति बटुल्न खोजिरहेका छन् ।

रास्वपा उम्मेदवार श्रेष्ठ भने बदलिँदो समयको माग र आवश्यकता पुराना दल र नेताले पूरा गर्न नसक्ने भएकाले आफूलाई भोट दिन आह्वान गरिरहेका छन् । पुराना राजनीतिक शक्तिसँगको असन्तुष्टिलाई उनले जितको आधार बनाइरहेका छन् । तर, आफ्नै पार्टीभित्र टिकट वितरणमा देखिएको असन्तुष्टि उनलाई चुनौती दिइरहेको छ ।

यो क्षेत्रमा नेशनल मंगोल अर्गनाइजेसनबाट कर्णवीर स्याँबु लामा, आम जनता पार्टीबाट गणेशबहादुर श्रेष्ठ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दावा छिरिङ शेर्पा, श्रम संस्कृति पार्टीबाट भानु श्रेष्ठ, मितेरी पार्टी नेपालबाट महेश कुँवर, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट मिङमर तामाङ, नेपाल मजदुर किसान पार्टीबाट म्हेन्दो तामाङ, उज्यालो नेपाल पार्टीबाट राम सिंह तामाङ, नागरिक सर्वोच्चता पार्टी नेपालबाट शेरबहादुर तामाङ, नेकपा(माओवादी)बाट सोनाम लामा उम्मेदवार छन् । सुन्दर अधिकारी, विजु श्रेष्ठ र दीपक ढकालले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

सिन्धुपाल्चोक-२ मा चौतारा साँगाचोकगढी नगरपालिकाका १, ५, ६, ७, ८, ११, १२, १३ र १४ वडा, मेलम्ची नगरपालिका, इन्द्रावती, पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिका समावेश छन् । यहाँ ६३ मतदान स्थलमा १६६ मतदान केन्द्र तय गरिएका छन् । कुल मतदाता संख्या एक लाख ३८ हजार १३ जना छन् । जसमा महिला ६५ हजार ९७३ र पुरुष ७२ हजार ४० छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?