+
+

‘हात्तीले मान्छे चिन्छ, लखेट्न एक्लै जानै हुँदैन’

आहारा र बासस्थानको अभाव अनि आफ्नो परम्परागत ओहोर दोहोर गर्ने क्षेत्रमा अवरोध बढ्दै गएका कारण हात्तीको आक्रमणबाट जनधनको क्षति हुने क्रम पनि बढ्दै गएको छ ।

डा. अशोककुमार राम, प्रमुख संरक्षण अधिकृत, पर्सा राष्ट्रिय निकुञ्ज डा. अशोककुमार राम, प्रमुख संरक्षण अधिकृत, पर्सा राष्ट्रिय निकुञ्ज
२०८० वैशाख २२ गते २०:३७

जमिनमा बासस्थान भएको सबैभन्दा शक्तिशाली जनावर हात्ती हो । तर, पछिल्ला वर्षमा मानिसले आफूलाई हात्तीभन्दा पनि शक्तिशाली सम्झेर हात्तीका गतिविधिमा अवरोध गर्न थालेपछि हात्तीको आक्रमण र बालीनालीमा नोक्सानी हुने क्रम पनि बढ्दै गएको छ ।

हात्तीको बासस्थानमा अतिक्रमण हुँदै गएको छ । हात्ती ओहो–दोहोर गर्ने क्षेत्र अतिक्रमण गरेर बस्ती बसेका छन् । सडक, नहर जस्ता संरचना निर्माण हुँदा हात्ती हिँड्ने बाटोमा अवरोध पुगेको छ । पछिल्ला वर्षहरुमा हात्तीको संख्या पनि बढेको छ । आहारा र बासस्थानको अभाव अनि ओहोर–दोहोर गर्ने क्षेत्रमा अवरोध बढ्दै गएका कारण हात्तीको आक्रमणबाट जनधनको क्षति हुने क्रम पनि बढ्दै गएको हो ।

पछिल्लो तथ्याक अनुसार नेपालमा २०० देखि २३० वटा सम्म जंगली र १८० वटा घरपालुवा हात्ती छन् । भारतबाट झापा, बर्दिया र कञ्चनपुरका बिभिन्न क्षेत्र हुँदै करिब १०० देखि १५० वटासम्म हात्ती नेपालमा आउने गर्छन् । संख्या बढ्दा, आहारा नपुग्दा हात्ती मानब बस्तीमा पसेर बालीनाली खाइदिने, घरहरु भत्काइदिने गरेको भेटिएको छ ।

मृत्यु हुनेमध्ये करिब ८० प्रतिशत हात्तीलाई धपाउन जाने क्रममा आक्रमणमा मारिने गरेका छन् । हात्तीको सुँघ्ने क्षमता धेरै हुन्छ । जसले गर्दा रक्सी राखेको घर र पिएका मान्छे टाढैबाट थाहा पाउँछ ।

आक्रमणमा परेकामध्ये ८८ प्रतिशतभन्दा बढी मानिस गरिब तथा बिपन्न परिवारका छन् । हात्तीको आनीबानीबारे थाहा नपाएका जाँड रक्सि खाएर धपाउन जाँदा उनीहरु आक्रमणमा पर्ने गरेको पाइन्छ ।

पहिला शंख बजाउँदा भाग्ने हात्ती अहिले बन्दुक पड्काउदा पनि भाग्दैन । जती बढी बिच्क्यायो, हात्ती त्यति नै बढी आक्रामक बन्छ । हात्तीलाई घोच्ने, कुट्ने, हिर्काउने गर्नै हुँदैन ।

खेतीबाली कुर्न बसेका, गाईबस्तु चराउन गोठालो गएका, साँझपख घाम अस्ताउने बेलामा घाँस दाउरा गरेर फर्किने क्रममा मानिसहरु हात्तीको आक्रमणमा पर्ने गरेका छन् ।

हात्तीले आफू हिँड्ने बाटो बिर्सिंदैन । हात्तीको बथान सयौं वर्षदेखि एउटै बाटो भएर हिँड्छन् । वन बिनास हुने क्रम बढ्दै जाँदा हात्ती करिडोर नै मासेर बस्ती र विभिन्न पूर्वाधार विस्तार भएका छन् । जसका कारण हात्तीलाई चरण क्षेत्र र आहाराको अभाव हुँदै गएको छ ।

हात्ती शाहाकारी जनाबर हो । एउटा हात्तीलाई दैनिक १ सय ५० देखि २ सय किलो आहारा आवश्यक पर्छ । हात्तीको मुख्य आहारामा जंगलमा पाइने लहरा प्रजातीका घाँस, केराको पात, नरकट, काँस, सिरु, अम्रिसो हो । त्यसैगरी बाँस, सिन्दुरे, साधन, सिमलको पात डाँठ र बोक्रा हुन् । हात्तीले दैनिक दुई सय लिटर पानी पिउँछ । हात्ती बस्तीमा पस्नुको मुख्य कारण आहारा नै हो ।

हात्तीको आनीबानी परिवर्तन गर्न सम्भव हुँदैन । त्यसैले मान्छेले हात्तीको आनीबानी थाहा पाएर सचेत हुनुपर्छ । खेतीबालीमा नोक्सान गर्न सुरु गर्दा हात्तीले आफूलाई पनि आक्रमण गर्न सक्छ भन्ने सोचेर सचेत हुनुपर्छ । हात्तीलाई एक्लै लखेट्न जानु हुँदैन । आगो बाल्ने, पटका पड्काउने, उज्यालो बत्ती बालेर समूह बनाएर जानुपर्छ । सबैभन्दा पहिले आफू र परिवारका सदस्यलाई हात्तीको आक्रमणबाट कसरी जोगाउने भन्ने सोच्नुपर्छ ।

हात्ती धेरै चलाख जनावर हो । उसले कुन मान्छेले आगो बालेको छ, कसले पट्का पड्काएको छ, कसले ढुंगाले हान्यो भन्ने सजिलै थाहा पाउँछ र त्यसैलाई आक्रमण गर्छ । त्यसैले हात्ती भगाउँदा चनाखो हुनुपर्छ ।

मान्छेले गर्ने लापरबाही र व्यवहार परिवर्तन नगर्दासम्म जंगली हात्तीको आक्रमणको संख्या घटाउन मुस्किल पर्छ । हात्तीले बालीनाली र बस्तीमा पुर्याउने क्षतिलाई कम गर्न बर्दियाको खाता करिडोर क्षेत्रमा टावरमा बत्ती बाल्ने, घण्टी बजाउने र हात्तीको आनीबानीका बारेमा समुदायलाई सचेत गराउन सुरु गरिएको छ ।

त्यसैले अब तीन तहका सरकार, वन, निकुञ्ज, सामुदायिक वन उपभोक्ता समूह, गैरसरकारी संघसंस्था र नागरिक समाजका अगुवा मिलेर स्थानीय बासिन्दाहरूलाई हात्ती र उसका आनीबानी बुझाउनका लागि कार्यक्रमहरु सन्चालन गर्न जरुरी छ । मान्छेले आनीबानी नबुझ्दा, लखेट्न जाँदा, घेरा हाल्दा, बाटोमा रोकछेक गर्दा नै हात्तीले आक्रमण गर्ने गरेको देखिन्छ ।

मान्छेले बाली जोगाउन हात्ती लखेट्छ । हात्तीले पनि लखेट्न आएका मान्छेबाट आफ्नो ज्यान जोगाउन आक्रमण गर्ने गरेको बिभिन्न अध्ययनबाट देखिएको छ । हात्तीले रातको समयमा बढी आक्रमण गरेको देखिन्छ । यस्ता घटना झापा र बर्दियामा बढी भएका छन् ।

सन् २००१ देखि हालसम्म हात्तीको आक्रमणबाट ३१९ जनाको मृत्यु भएको छ । हात्ती दैनिक औसत २५ किलोमिटर हिँड्छ । नेपालमा हात्तीले १८८ देखि १ हजार वर्गकिलोमिटर क्षेत्रलाई आफ्नो विचरण क्षेत्र बनाउने गरेको छ । धुबे हात्तीको विचरण क्षेत्र १ हजार वर्गकिलोमिटरसम्म पुगेको थियो ।

हात्तीबाट हुने मानवीय क्षतिलाई कम गर्न बस्तीमा पसेर पटक–पटक वितण्डा मच्चाएका मध्ये अहिलेसम्म विभिन्न स्थानमा ८ वटा हात्तीको घाँटीमा रेडियो कलर जडान गरेर तिनको गतिविधिको अनुगमन गरिएको छ ।

रेडियो कलर अनुगमन निक्कै प्रभावकारी छ । हात्ती कहाँ छ र कता जाँदै छ भन्ने रेडियो कलर अनुगमनबाट थाहा हुन्छ । रेडियोकलरबाट गरिने रियल टाइम मोनिटरिङबाट प्राप्त सूचनाका आधारमा समुदायका मानिसहरुलाई खबर दिएर हात्तीबाट जनधनको क्षतिलाई कम गर्न सहज भएको छ ।

सरकारले हात्तीबाट बालीनालीमा हुने क्षतिको राहत, घाइतेको उपचार खर्च र ज्यान गुमाउने व्यक्तिका परिवारलाई राहतस्वरूप १० लाख रुपैयाँ दिदै आएको छ ।

सरकारले अघि बढाएको पूर्व–पश्चिम राजमार्ग विस्तार, विद्युतीय रेलमार्ग, विद्युत् प्रसारणलाइन, सिँचाइ, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र सहरीकरणजस्ता विकास आयोजना निर्माणले हात्तीको ओहोरदोहोरमा समस्या निम्त्याउन सक्ने भएकाले वन्यजन्तुमैत्री संरचना निर्माणमा जोड दिन दिन आवश्यक छ ।

चितवन, झापा तथा बर्दियामा हात्तीलाई बस्तीमा पस्नबाट रोक्न विद्युतीय तारबार लगाइएको छ । तर ती तारबार नाघेर वा भत्काएर हात्ती हिँड्न थालेका छन् । तारबार लगाइएका स्थानमा केही समय हात्ती रोकिए पनि हात्तीले ती संरचना भत्काउनका लागि अनेक उपायहरु लगाउने गरेका छन् । त्यस्ता तारबारलाई रुख ढालेर भए पनि हात्तीले भत्काउने गरेका छन् ।

हात्तीलाई रोक्न धेरै उपायको खोजी भएको छ । जुटको रसीमा खुर्सानीको धूलो लगाएर रोक्न खोजियो । त्यसले केहीसम्म हात्ती रोकिए तर केही समय पछि त्यसले पनि काम गर्न छाड्यो । पटाका पड्काउने, साइरन बजाउने, रातीको समयमा ट्याक्टर चलाएर हात्ती भएको तिर उज्यालो बनाउँदा हात्ती भाग्थ्यो । तर अहिले ती सबै उपायहरु हात्तीले टेर्न छाडेको छ ।

पहिला शंख बजाउँदा भाग्ने हात्ती अहिले बन्दुक पड्काउदा पनि भाग्दैन । जती बढी बिच्क्यायो, हात्ती त्यति नै बढी आक्रामक बन्छ । हात्तीलाई घोच्ने, कुट्ने, हिर्काउने गर्नै हुँदैन । छावालाई आक्रमण भएको उसले सहन सक्दैन । हात्तीलाई जति तर्साउन खोज्यो त्यति बढी आक्रामक बन्छ र बढी क्षति पुर्याउँछ ।

हात्ती शाकाहारी जन्तु हो, उसले मासु खाँदैन । त्यसैले हात्तीले मासु खानका लागि मान्छेलाई आक्रमण गर्दैन । आफू बँच्नका लागि नै मान्छेलाई आक्रमण गर्छ । त्यसैले मान्छेले हात्तीलाई नबुझदा समस्या थपिदै गएको हो ।

(हात्तीविज्ञ तथा पर्सा राष्ट्रिय निकुञ्जका वार्डेन डा.अशोककुमार रामसँग पत्रकार कृष्ण अधिकारीले गरेको कुराकानीमा आधारित ।)  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?