+
+

अपहरणको दुई दिनपछि बालकको सकुशल उद्दार

हरि अधिकारी हरि अधिकारी
२०८० वैशाख २२ गते १५:१२

२२ वैशाख, विराटनगर । सुनसरीको दुहबीबाट अपहरणमा परेका बालकलाई प्रहरीले दुई दिनपछि भारतबाट सकुशल उद्दार गरेको छ । गाईं फर्म सञ्चालन गर्ने कृषक बिन्देश्वर यादवको छोरालाई अपहरणको दुई दिनपछि भारतबाट उद्दार गरेको  हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईका अनुसार आइतबार बेलुका करिब ६ बजे सुनसरी भोक्राहानरसिंह गाउँपालिका-७ घर भई दुहबी नगरपालिका-११ बुगडरी बस्दै आएका यादवको ११ वर्षीय छोराको अपहरण भएको थियो ।

बेलुका फर्मबाट यादव निस्किएको बेला बिआर०९आर०७९६ नम्बरको स्करपिओ उनको फर्ममा पुग्यो । सोही स्करपिआमा पुगेको पाँच जनाको समूहले बालकलाई लिएर गयो ।

विन्देश्वरको फर्ममा आउजाउ गरिरहने एक व्यक्तीले बालकलाई नास्ता खुवाउने भन्दै गाडीमा हालेर लगेको डिएसपी राईले बताए । बिन्देश्वर फर्ममा आइपुग्दा छोरा थिएनन् । बाहिर कतै गएको होला भन्दै चिन्ता गरेनन् । अबेरसम्म नआएपछि आफन्त र साथीभाईकोमा खोजी गरे ।  कतै छोरो पुगेको जवाफ पाएनन् ।

भोलिपल्ट विहानैदेखि उनी छोराको खोजीमा थिए । सोमबार विहान साढे ९ बजे ह्वाटसएपमा फोन आयो,‘तिम्रो छोरा हामीसँग छ, २५ लाख(भारु) रुपैयाँ लिएर आऊ।’ फिरौती नदिए र बाहिर हल्ला गरे बालकलाई मारिदिने धम्की दिए ।

छोरो अपहरणमा परेको थाहा पाएपछि बिन्देश्वरले प्रहरीलाई खबर गरे । प्रारम्भिक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुहबी र जिल्ला प्रहरी कार्यालय सुनसरीको टोली खटियो । टोलीले अपहरणमा परेको निष्कर्ष निकालेपछि प्रदेश प्रहरीको र्‍यापिड इन्भेष्टिगेटिभ टिम ‘रिट’ को टोली पनि खटियो ।

प्राविधिक अनुसन्धान गर्दा अपरहणकारीको लोकेशन भारतको सीमावर्ती जिल्ला समस्तिपुरको एकडेरा एरीयामा देखियो । बालकको बुबालाई फोन गरेर अपहरणकारीले फिरौती रकम ल्याउनु भनेको क्षेत्र पनि त्यहीँ थियो ।

सुनसरीबाट सोमबार नै प्रहरी टोली सो क्षेत्रमा पुग्यो । भारतीय प्रहरीको सहयोगमा मंगलबार विहान साढे ६ बजे अपहरणकारीको घरबाटै बालकलाई प्रहरीले उद्दार गर्यो ।

प्रहरी आएको देखेपछि अपहरणकारी बालकलाई छाडेर भागेका थिए ।

बालकलाई अपरहरणकारीकै घरबाट उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले बताए । विहान साढे ६ बजे उद्दार गरी बालकलाई सोही दिन दिउँसो इनरुवा ल्याएर परिवारको जिम्मा लगाइएको थियो ।

हाम्रो पहिलो लक्ष्य बालकको सकुशल उद्दार गर्नु थियो, त्यसमा सफल भयौं,’ ढकालले भने,‘ बालकको उद्दारका लागि भारतीय प्रहरीको  जिल्ला तहमा समन्वय गर्‍यौ।’

अपहरणकारीको पनि पहिचान भइसकेको उनले बताए । ‘अपहरणकारीको पहिचान भइसकेको छ, हामी खोजी गरिरहेका छौं,’ उनले भने,‘ पक्राउ परेपछि थप विषय खुल्छ ।’

उनका अनुसार अपहरणकारी मध्ये एक जनाको  पुरानो चिनजान बिन्देश्वरसँग थियो । उनी पटक  पटक उनको गाई फर्ममा पनि पुगेका थिए । योजनावद्ध रुपमा आइतबार बालकको अपहरण गरेको देखिएको प्रहरी बताउँछ ।

‘बालकको बुबासँग एक जना अपहरणकारीको चिनजान भएको देखिन्छ,’प्रहरी उपरीक्षक ढकालले भने,‘उनीहरुबीचको सम्बन्ध  अपहरणकारी पक्राउ परेपछि खुल्छ ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?