
काठमाडौं । अभिनेत्री प्रमिला खनाल पोखरामा जन्मिइन्, चितवनमा हुर्किइन् । गाउँमा रहँदा हुक्काप्रतिको उनको बुझाइ भिन्न थियो । कोइला बाली तम्बाकु भरेर धुँवा तान्ने चिलिमलाई उनी हुक्का भन्थिन् । वास्तविकता पनि यस्तै थियो ।
जब हुक्कालाई प्रतीकात्मक अर्थ मानेर बनेको फिल्ममा काम गरिन्, हुक्काप्रति उनको बुझाइ बदलियो । आगामी जेठ १२ गते प्रदर्शनको तयारीमा रहेको ‘हुक्का : एन अब्जर्ड ड्रिम’मा उनको शीर्ष भूमिका छ । ‘हुक्कालाई मैले धुवाँ तान्ने भाँडो मात्र ठान्थें । यो त समाजको प्रतिष्ठाको वस्तु पो रहेछ । फिल्ममा काम गरेपछि भ्रम तोडियो,’ उनले भनिन् ।
‘दबाब’ डेब्यु गर्लले त्यसयता धेरै फिल्ममा सहायक भूमिका निर्वाह गरिन् । शीर्ष नायिकाको रुपमा यो उनको पहिलो फिल्म हो । उनले यसमा साहसी महिलाको चरित्र निर्वाह गरेकी छन् । ‘सम्बन्ध विच्छेदपछि माइतमै बसेकी छोरीकी आमा र गाउँकी मुखियाकी छोरीको चरित्रमा देखिएकी छु,’ उनले भनिन् ।
लकडाउनको बेला उनी यसमा जोडिएकी हुन् । कोरोनाकालमा स्क्रिप्ट पढिन् । ‘चरित्रसँगै फिल्मले देखाउन खोजेको विषयवस्तु पनि मनपर्यो । सबै सुटिङ पोखरामा नै हुने भएपछि म यो फिल्ममा जोडिएँ,’ उनले फिल्मसँगको अनुभव बाँडिन्, ‘कोरोनाले सुनसान बनेको काठमाडौंबाट केही समय भएपनि काम गर्ने मौका पाएँ । मौकालाई गुमाउन चाहन्न थिएँ । त्यो समय सुटिङ गर्न जाँदैछु भन्दा पनि केही सिक्न र आफूलाई फ्रेस बनाउन जाँदैछु भन्ने थियो ।’
प्रमिलाको बुझाइमा यो फिल्मले समाजकै कथा भन्छ । ट्रेलरमा देखाइएका विषयवस्तु समाजसँग ‘रिलेट’ गर्ने भएकाले पनि फिल्म राम्रो बनेको उनको दाबी छ ।
प्रमिला यो समय मातृत्वकालको अनुभव लिइरहेकी छन् । गत वैशाखमा उनले सन्तानसुख प्राप्त गरिन् । फिल्ममा पनि आमाको भूमिकामा छिन् । ‘छोरीप्रति आमाको दायित्व, कर्तव्य र सम्बन्धलाई प्रगाढ रुपमा देखाइएको छ । अहिले पनि वास्तविक जीवनमा आमा बनेकी छु । सन्तानसँग आमाको सम्बन्ध अविस्मरणीय हुँदो रहेछ,’ प्रमिला भन्छिन्, ‘छोरालाई बढी समय दिइरहेकी छु । यही बेला फिल्मको रिलिज हुने भएकाले फिल्म प्रमोसनमा हिंड्न नपाउँदा दुःख लागेको छ ।’
‘हुक्का ः एन एब्जर्ड ड्रिम’लाई प्रमिला ‘लोकल चामल’ मान्छिन् । उनी आम नेपालीलाई ‘लोकल चामल’को स्वाद थाहा भइरहेको बेला यो फिल्मले त्यो स्वाद दिनेमा ढुक्क छिन् । फिल्ममा त्यही देखाउन र चखाउन खोजिएको छ । हामीले कुनै भयंकर फरक र डरलाग्दो विषय पनि उठाएका छैनौं । तर जे भन्न र देखाउन खोजेका छौं । त्यो चाहिं फरक तरिकाले देखाउने प्रयास गरेका छौं,’ प्रमिला भन्छिन् ।
शम्भु थापाको निर्देशन रहेको फिल्ममा प्रमिलासँगै, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल र एलिशा विकको अभिनय छ ।
रेश्मा प्रधान सहनिर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन् । फिल्मको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन् ।
प्रतिक्रिया 4