+
+

अर्थमन्त्रीले वित्त नीतिमा ठाउँ छैन, मौद्रिक नीतिबाट अगाडि जान्छौं भन्नु गलत छ : डा. स्वर्णिम वाग्ले

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २५ गते १५:३७

२५ वैशाख, काठमाडौं । अर्थविद् तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले वित्त नीतिमा लचिलो बन्ने स्पेस छैन भन्दै मौद्रिक उपकरणबाट अगाडि जान्छौं भन्ने अर्थमन्त्रीको भनाइ गलत भएको बताएका छन् । सोमबार संसदमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा आफ्नो धारणा राख्दै उनले खोज्न सक्ने हो र सिर्जनशील हुने हो भने लचिलो बन्ने पर्याप्त ठाउँ रहेको बताएका हुन् ।

उनले बजेटको सिद्धान्त तथा प्राथमिकतामा दीगो विकास र जलवायु परिवर्तनका कुरा आउनु सकारात्मक भएको बताए । तर त्यसबाट अर्थतन्त्रमा कसरी अगाडि लैजाने भन्ने रोडम्याप नदेखिएको बताए । ‘अर्थमन्त्रीले वित्त नीतिमा लचिलो र रचनात्मक हुने अवस्था छैन, मौद्रिक उपकरणबाट मात्रै अगाडि जान्छौं भनेको सुनियो । यो गलत हो,’ उनले भने, ‘वित्त नीतिमा खोज्न सक्ने हो र सिर्जनशील हुने हो भने पर्याप्त ठाउँ छ । यसको लागि जलवायु परिवर्तन र दीगो विकासको मुद्दाबाट पनि अगाडि बढ्न सक्नुहुन्छ ।’

उनले अब पहिलो जेनेरेसनको विकासको चुनौतीमा रुमलिनेभन्दा पनि दोस्रो जेनरेसनको विकास चुनौतीसँग अगाडि बढ्नु पर्ने बताए ।

‘हिजोको धुले सडक, विद्यालय भवन र खानेपानी अहिलेको प्राथमिकता होइन। अब कसरी गुणस्तरीय शिक्षा र पूर्वाधार दिने भन्ने प्राथमिकता हुनपर्छ । जुन कुरा नीति तथा कार्यक्रम र बजेटमा कन्भिन्स हुनेगरी प्रतिविम्बित हुनुपर्छ,’ उनले भने, ‘बजेटको सिद्धान्त तथा प्राथमिकतामा त्यो पाइएन । यसमा सुधार गर्नुहोला भन्ने आग्रह छ ।’

उनले बजेटको सिद्धान्त तथा प्राथमिकतामा निजी क्षेत्रको मनबोल बढाउने कुरा आउनु सकारात्मक भएको बताए । ‘नेपाली कांग्रेसको घोषणापत्रमा ओम्नीबस आर्थिक सुधारको कुरा गरिएको छ । २४ देखि ४८ वटा ऐनको खारेजी र संशोधनको कुरा छन । आफ्नै घोषणापत्र पढेर कार्यान्वयन गरिदिनुहोला,’ उनले भने, ‘निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको विषयमा न्याय गरिदिनुहोला। अब हैरानी र झन्झट्को दुष्चक्रबाट नेपाली अर्थतन्त्रलाई बाहिर ल्याउनुछ ।’

सरकारको बजेटको सिद्धान्त तथा प्राथमिकताबाट धेरै उत्साह हुने अवस्था नरहेको र नीति तथा कर्याक्रम र बजेटसम्म आउँदा उत्साह जगाउनेछ भन्ने विश्वास रहेको उनले बताए । ‘सर्जरी खोजेको अर्थतन्त्रमा झारफुक गरेर उम्कने अवस्था छैन’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?