+
+

रिन्कु छन् त आईपीएलमा सब सम्भव छ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २६ गते ११:४५

२६ वैशाख, काठमाडौं । ‘तिमीले जे गर्‍यौं, त्यो सायद जीवनमा धेरै धेरै खेलाडीले गर्न पाउने छैनन् ।’

‘तिमीले त्यस्तो गर्‍यौं भने तिमी जे पनि गर्न सक्छौ ।’

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेट टिम कोलकाता नाइट राइडर्सका कप्तान नितिश राणाले नयाँ स्टार रिन्कु सिंहलाई हरेक खेलअघि यस्तै भन्ने गरेका छन् ।

हुन पनि हो रिन्कु सिंहले जारी आईपीएलमा त्यस्तै प्रदर्शन गर्दै आएका छन् । सोमबारराति पञ्चाव किंग्ससँगको खेलमा कोलकाता नाइट राइडर्सलाई उनले नै जिताए ।

१८० रनको लक्ष्य पछ्याएको कोलकातालाई जितका लागि अन्तिम बलमा २ रन चाहिएको थियो । उनै रिन्कुले अर्शदीप सिंहको बललाई लेग साइडमा चौका हानेर घरेलु मैदानमा जित दिलाए ।

यो खेलमा कप्तान राणाले ५१ रन बनाएका थिए । २३ बलमा ३ चौका र ३ छक्का हानेर आन्द्रे रसेलले ४२ रन बनाउँदै जितको आधार तयार पारेका थिए । तर खेलपछि चर्चा रिन्कुकै भयो । खेल सकिएपछि ट्वीटरमा रिन्कु सिंह नै ट्रेन्डिङको शीर्ष स्थानमा आए ।

रिन्कुलाई कप्तान राणाले जे भनेर जोसाउने गरेका थिए । त्यो काम रिन्कुले ठिक एक महिनाअघि अर्थात ९ अप्रिलमा गुजरात टाइटन्सविरुद्धको खेलमा गरेका थिए । अहमदाबादमा ४८ रन बनाएका रिन्कुले अन्तिम ५ बलमा ५ छक्का हानेका थिए ।

त्यो इनिङ्सले रिन्कुको नाम आईपीएल देख्ने हरेक घरमा पुगेको थियो । राणाका अनुसार त्यो इनिङ्स सम्झाउँदै उनले रिन्कुको हौसला बढाउने गरेका छन् ।

तर अब रिन्कुको कथा त्योभन्दा पनि अघि बढिसकेको संकेत राणाले गरेका छन् । राणाले भने, ‘जब रिन्कु ब्याटिङ गरिरहेका थिए, पूरा स्टेडियममा रिन्कु, रिन्कु गुञ्जिरहेको थियो, यो वर्ष उनले यही कमाए ।’

६ वर्षदेखि आईपीएल खेल्दै आएका राणाले भने, ‘पहिलो समर्थकले रसेल, रसेल भन्थे त हामीलाई राम्रो लाग्थ्यो, हामीलाई थाहा थियो कि रसेलले यो सब गरेका छन्, तर अब रसेल मैदानमा हुँदा पनि समर्थकले रिन्कु रिन्कु भनेर कराए, यो सुनेर मलाई औधी खुसी लागेको छ ।’

पञ्जावविरुद्ध कोलाकतालाई जिताउन रिन्कुले मात्रै जादुमयी प्रदर्शन गरेका होइनन्, राणा र रसेलले बनाएका रन र उनीहरुको इनिङ्स रिन्कुको भन्दा कम थिएन । मात्र २६ रन दिएर ३ विकेट लिने स्पीनर वरुण चक्रवर्तीले पनि पञ्जावका ब्याटरलाई रोकेका थिए ।

रिन्कुले १० बलमा २१ रन बनाए, जबकि पञ्जावका युवा साहरुख खानले मात्र ८ बलमा नटआउट २१ रन बनाएका थिए । तर पनि चर्चा रिन्कुकै भयो । जसको कारण हो, दबावमा परेको बेलामा पनि टिम र समर्थकको आशा पूरा गर्नु ।

रिन्कु ब्याटिङमा आउँदा कोलकातालाई जितका लागि २८ बलमा ५६ रन बनाउनु पर्ने थियो । अर्कोतिर आन्द्रे रसेल थिए । जसले यो सिजनमा पहिलो पटक आफ्नो क्षमता अनुसार खेले । १९ औं ओभरमा सैम करनको बलमा ३ छक्का हानेर खेल लगभग लगभग कोलकाताको मुठ्ठीमा पारेका थिए ।

अन्तिम ओभरमा कोलकातालाई ६ रन चाहिएको थियो । रसेलले ४ बलमा ३ रन मात्र बनाउन सके । पाँचौ बलमा एक रन चोर्ने प्रयासमा उनी रनआउट भए । उनी रनआउट भएपछि खेल पञ्जावले उल्ट्याउँछ कि भन्ने लागेको थियो ।

अर्शदीप सिंहले ५ बलमा मात्र ४ रन दिएका थिए । अन्तिम बलमा उनले कुनै रन बनाउन नदिए खेल पञ्जावले जित्ने थियो । १ रन दिए खेल सुपर ओभरमा पुग्ने थियो । तर अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका उनीमाथि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु नै नगरेका रिन्कु भारी परे र चौका हाने ।

‘जितका लागि २ रन चाहिएको थियो, त पाँचौ बलमा एक रन लिन दौडिनुको कारण के थियो ?’ खेलपछि रसेललाई प्रश्न गरियो ।

‘अर्को छेउमा रिन्कु थिए र त मलाई कुनै चिन्ता थिएन, मलाई उनीमाथि भरोस थियो, अर्शदीले बाइड योर्कर फालिरहेका थिए, जसलाई खेल्न रिन्कुलाई सहज थियो । म त खुसी छु’, रसेलले भने ।

रिन्कुले खेल जिताउँछन् भन्ने विश्वासमा उनलाई अन्तिम बलमा स्ट्राइक दिएको बताउने रसेल त्यतिमै रोकिएनन् । उनले अघि भने, ‘मलाई थाहा छ कि उनले के के गर्न सक्छन्, उनी आज जुन स्थानमा छन्, यहाँ आइपुग्न उनले धेरै मेहनत गरेका छन्, अझै पनि उनीसँग टिमलाई दिन धेरै कुरा बाँकी छ ।’

रसेलले रिन्कुको अनुशासन र मेहनतको खुलेर प्रशंसा गरे ।

कप्तान राणाले पनि रिन्कु योजना अनुसार खेल्ने खेलाडी भएको बताए । उनले भने, ‘मैले रिन्कुलाई म आउट भएँ भने पनि तिमीले अन्तिम बलसम्म ब्याटिङ् गर्नु, उनले त्यसै गरे ।’

रिन्कु जारी सिजनमा धेरै रन बनाउने ब्याटरको सूचीमा शीर्ष १० मा छन् । उनीभन्दा माथि रहेका ९ जना ब्याटर शीर्ष क्रमका छन् ।

मध्य तथा तल्लो क्रममा खेलेर पनि रिन्कुले ११ खेलमा ५६.१६ को औसतमा ३३७ रन बनाएका छन् । उनको स्ट्राइक रेट १५१.१२ छ । दुई अर्धशतक बनाएका उनले अहिलेसम्म २१ चौका र २१ छक्का हानेका छन् ।

सोमबार पञ्जावसँगको जस्तै इनिङ्सले आफू चिनिन थालेको रिन्कु बताउँछन् । आइपीएलको उत्कृष्ट फिनिसरका रुपमा चिनिएका उनी पाँचौ, छैटौं वा सातौं नम्बरमा ब्याटिङ गरेपछि ‘गर वा मर’ हिसाबले खेल्नु पर्ने र आफूले त्यसरी नै खेल्ने गरेको बताउँछन् ।

– बीबीसी हिन्दीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?