९ मंसिर, सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई प्रभावकारी बनाउन विषयगत उपसमितिहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन्।
बुधबार सामाजिक विकास मन्त्रालयले आयोजना गरेको प्रतियोगिता कार्यसम्पादन समिति र विषयगत उपसमितिहरूको समीक्षा बैठकमा मुख्यमन्त्री शाहीले तयारी, व्यवस्थापन र कार्यसम्पादनमा देखिएका कमजोरी तथा समन्वय अभाव हटाएर अघि बढ्न निर्देशन दिएका हुन्।
प्रतियोगिताको तयारीमा समन्वय अभाव र जिम्मेवारी पूरा गर्ने सवालमा कमजोरी देखिएको भन्दै उनले सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए।
‘यति ठूलो प्रतियोगिताको तयारीमा हामीबीच समन्वय अभाव र आ–आफ्नो जिम्मेवारी पूरा गर्ने सवालमा चुक भएको देखिन्छ,’ उनले भने, ‘सबैले आफ्नो जिम्मेवारी पूरा गर्ने गरी काम गर्नुस्। एकले अर्कालाई देखाएर पन्छिने छुट कसैलाई छैन।’
माथिल्लो तहमा समन्वय राम्रो भए पनि तल्लो तहसम्म त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको मुख्यमन्त्री शाहीको भनाइ थियो। उनले संघ, प्रदेश र विभिन्न निकायबीच औपचारिक सम्बन्धसँगै रचनात्मक र भावनात्मक सम्बन्धसमेत आवश्यक रहेको बताए।
मुख्यमन्त्री शाहीले प्रदेश खेलकुद परिषद्, सामाजिक विकास मन्त्रालय, खेल संघका प्रतिनिधि, खेलाडी र उपसमितिका संयोजकबीच आपसी समन्वय बलियो बनाउनुपर्नेमा जोड दिए। उनले ट्राफिक व्यवस्थापन, सीसीटीभी क्यामेरा, खेलाडीको बसोबास र सुरक्षालाई प्राथमिकतामा राख्न सुरक्षा संयन्त्रलाई आग्रहसमेत गरे।
सुरुवाती चरणमा कमान्ड र जिम्मेवारी बाँडफाँटमा केही अन्योल देखिए पनि अहिले त्यो हटेको संघीय शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेलले बताए। उपसमितिहरू आ–आफ्नो जिम्मेवारीअनुसार परिचालित भएको उल्लेख गर्दै उनले बाँकी कमजोरी सुधार्दै अघि बढ्नुपर्ने बताए।
सचिव पौडेलले दुवै उपाध्यक्षको निगरानीमा उपसमितिहरूले काम गर्नुपर्ने र मन्त्रालयले आवश्यक सुपरिवेक्षण तथा सहजीकरण गर्नुपर्ने धारणा राखे।
प्रतिक्रिया 4