+
+
धनगढीका मेयर गोपाल हमालसँग वार्ता :

‘पार्टीबाट जित्ने र स्वतन्त्र मेयरको काम गर्ने तरिका फरक हुँदोरहेछ’

जनक विष्ट जनक विष्ट
२०८० वैशाख २७ गते ९:१०

२७ वैशाख, धनगढी । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभर स्वतन्त्र उम्मेदवारहरूको लहर थियो । देशका धेरै स्थानीय तहमा विभिन्न राजनीतिक दलबाट बागी उम्मेदवार बनेर होस् वा राजनीतिक दलको आवद्धता त्यागेर नै किन नहोस्, धेरैले स्वतन्त्र रूपमा उम्मेदवारी दिए । सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढी उपमहानगरपालिकामा पनि विवेकशील साझा पार्टीको प्रदेश संयोजकबाट राजीनामा दिंदै व्यवसायी गोपाल हमालले स्वतन्त्र उम्मेदवारी दिएका थिए । हुन त उनी २०७४ सालमा पनि मेयरमा स्वतन्त्र उम्मेदवारी दिएर कांग्रेसका नृपबहादुर वडसँग थोरै मतान्तरले पराजित भएका थिए ।

त्यसको बदला लिंदै ३० वैशाख २०७९ को चुनावमा भने उनै वडलाई पराजित गर्दै हमालले मेयरमा बाजी मारे । सफल व्यवसायी समेत रहेका हमालको सामाजिक व्यक्तित्व, राजनीतिक दलहरूप्रति चुलिएको वितृष्णा, पार्टीभित्रको आन्तरिक असन्तुष्टि, अघिल्लो पटकको चुनावमा व्यहोरेको पराजयको सहानुभूति जस्ता कारणले परिवर्तन खोजिरहेका मतदाताको रोजाइमा हमाल परे । ९ जेठमा पदभार ग्रहण गरेका हमाल एक वर्षको कार्यकाल पूरा गर्ने सँघारमा छन् । प्रस्तुत छ, उनै मेयर हमालको एकवर्षे कार्यकालमा केन्द्रित रहेर अनलाइनखबरकर्मी जनक विष्टले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं मेयरमा निर्वाचित भएको पनि एक वर्ष पुगेछ । आफ्नो पहिलो वर्षे कार्यकाललाई कसरी लिनुभएको छ ?

मेरो क्षमता, बुद्धिले भ्याएसम्म प्रयास गरेको छु तर यो मैले मूल्यांकन गर्ने कुरै होइन । मैले काम गर्ने र जनताले मूल्यांकन गर्ने हो । त्यसकारण मैले कस्तो सोचें भन्ने कुरासँग सरोकार नै हुँदैन । पब्लिकले के सोच्यो भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

तपाईं आफैंले बनाएका योजना अनुसार काम गर्न सक्नुभयो कि भएन ?

योजना बनाउनु र स्रोत–साधनको तालमेल महत्वपूर्ण कुरा हुन्छ । हामीसँग योजना ठूला होलान् । साधन र स्रोत भएन भने योजना बनाएर मात्र हुँदैन । तर हामीसँग जे–जति स्रोतसाधन थियो त्यसको अधिकतम प्रयोग गरेर जति थिए ती योजनालाई सम्पन्न गर्ने प्रयास गरेका छौं । सोही अनुसार काम भएको छ ।

यो पहिलो वर्ष थालनी गरिएका मध्ये कुनै महत्वपूर्ण कामबारे भन्नुपर्दा केके लिनुहुन्छ ?

सबैभन्दा महत्वपूर्ण, ग्रामीण भेगका अति विपन्न वर्गको स्वास्थ्यको समस्या थियो । त्यो समाधानका लागि सञ्चालन गरिएको विशेषज्ञ वडा क्लिनिक सेवामार्फत ग्रामीण भेगका जनताले नियमित रूपमा औषधि उपचार, प्रयोगशाला परीक्षण, विशेषगरी गर्भवती महिलाको अल्ट्रासाउण्ड र औषधि निःशुल्क पाइरहनुभएको छ । फिजिसियन र स्त्री रोगको मात्र नभएर आँखा, हाडजोर्नी, मानसिक रोगको चेकजाँच पनि नियमित भइरहेकाले ग्रामीण भेगका विपन्न परिवारको विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचले स्वास्थ्य सुधार र ठूलो रकम बचत भएको छ । यो काम स्वास्थ्य क्षेत्रमा नेपालमै कतै भएको छैन । यो नमूना हो भन्ने हाम्रो दाबी छ ।

काम नगर्ने कर्मचारी हाजिर गर्न पाउँदैन । कार्य सम्पादन समयमै नभए, सेवाग्राहीलाई अनावश्यक दुःख दिएको छ भने गुनासो टिपोटका लागि नम्बर दिएका छौं । अहिलेसम्म कसैले दुःख दियो भन्ने कुराको गुनासो आएको छ भने भन्नुस् !

यहाँ गौशालाको समस्याले सडकमा छाडा बस्तुभाउ देखिने, बाली खाइदिएको जनगुनासो आउने थियो । हामी आउने बित्तिकै पुरानो गौशाला व्यवस्थित र नयाँ गौशाला निर्माण गर्ने काममा लाग्यौं । सामुदायिक पशुलाई गौशालामा राखेर नियमित दाना दिने, पानीको व्यवस्था गरेका छौं । जंगलमा चराउने, स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको छ । चार वटा नयाँ गौशाला निर्माण गर्ने नीतिअनुसार बजेट विनियोजन गरेर दुई वटाको काम पनि सुरु भइसकेको छ ।

हामीले खोलानाला, तालतलैया, सार्वजनिक जग्गामा गरिएको अतिक्रमण हटाउने लक्ष्य लिएर काम गरिरहेका छौं । यो पाँचै वर्षसम्म चल्छ भनेका छौं । अहिले २, ३ र ४ नम्बर वडामा विशेष ध्यान दिएका छौं । त्यसको कारण के हो भने गत वर्ष त्यहाँ धेरै ठूलो डुबान भएको थियो । त्यहाँ २ नम्बर वडाले ३ नम्बरको पानी आउन नदिएपछि एउटा खोला थुनियो । गोली चलाउनुपर्ने अवस्था आयो । यदि त्यहाँ पानीको निकास भएन भने विद्युत्को सवस्टेशन जोखिममा पर्छ । त्यो डुब्यो भने धनगढीमा चार महिना बत्ती हुँदैन भनेर अन्य ठाउँको काम स्थगित गरेर यी तीन वटा वडामा केन्द्रित भएका छौं । हाम्रो प्रयास के छ भने आगामी बर्खामा पानीको निकास राम्रोसँग भएर डुबान नहोस् । प्राकृतिक निकासहरू निकाल्ने काम जारी छ ।

पदभार ग्रहण गर्ने बेला सचिवालय सुदृढीकरण गरेर काम गर्छु भन्नुभएको थियो; त्यस अन्तर्गत अहिलेसम्म केके गर्नुभएको छ ?

अहिले देख्नुभयो भने बिहान ठीक १० बजे कर्मचारीहरू आफ्नो कार्यकक्षमा आइपुग्छन् । पहिले कुन बेला को कति बेला आउँछ, जान्छ भन्ने ठेगान थिएन । अहिले सबैको कामको जवाफदेहिता छ । काम नगर्ने कर्मचारी हाजिर गर्न पाउँदैन । कार्य सम्पादन समयमै नभए, सेवाग्राहीलाई अनावश्यक दुःख दिएको छ भने गुनासो टिपोटका लागि नम्बर दिएका छौं । अहिलेसम्म कसैले दुःख दियो भन्ने कुराको गुनासो आएको छ भने भन्नुस् ! सचिवालय सुदृढीकरण भनेको यही हो । सचिवालयप्रति मानिसहरूको गुनासो नहोस् । उनीहरूको काम समयमै होस् । मेरो काम भएन, बिल रोकियो, पैसा नखुवाएर काम गरिदिएन भनेर सुन्नुभएको छैन होला । आज हरेक काम गर्दा सार्वजनिक सूचना जारी गर्ने गरेका छौं ।

उपमहानगरपालिकाले उपभोक्ता समितिबाट नभएर ठेक्का प्रक्रियामार्फत काम गरिरहेको छ । विगतमा २० लाखको डीपीआर २० लाखमै गरिन्थ्यो तर अहिले १० लाखमा भइरहेको छ । बाँकी रहेको रकमले अर्को काम गर्दछौं । कुनै पनि सामान खरिद गर्दा कोटेशन गर्ने गरेका छौं । कर्मचारीको भर्ना गर्ने काम पनि मेरिटका आधारमै गरिरहेका छौं । सचिवालय सुदृढीकरण भनेको यही हो । एक करोडको ठेक्कामा उपभोक्ता समिति बनाइन्थ्यो, समितिले ७० लाखमा निर्माण व्यवसायीलाई बिक्री गर्दथ्यो ३० लाख रुपैयाँ भागबण्डा गर्ने कुरा कसैबाट छिपेको थिएन तर अहिले त्यस्तो छैन । सवारी साधन, इन्धन प्रयोगमा मितव्ययिता अपनाएका छौं ।

तपाईंले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जित्नुभयो तर उपमेयर सहितका अन्य सबै जनप्रतिनिधिले राजनीतिक दलबाट प्रतिनिधित्व गर्नुहुन्छ । स्वतन्त्र भएर दलबाट निर्वाचित प्रतिनिधिको नेतृत्व गरेर काम गर्न कत्तिको सहज वा असहज हुँदोरहेछ ?

स्वाभाविक रूपमा एउटा कुरा के हो भने पार्टीबाट निर्वाचित भएको र स्वतन्त्र मान्छेको सोचाइ नै फरक भइहाल्छ । उहाँहरूको उद्देश्य हुन्छ, कुनै पनि काम गर्ने बेला त्यसले आफ्नो पार्टीलाई के फाइदा हुन्छ ? कार्यकर्तालाई के फाइदा हुन्छ ? भोलि मलाई के गर्दा फाइदा हुन्छ । तर मैले धनगढीलाई के फाइदा हुन्छ त्यो मात्र सोच्ने हो । त्यस कारणले स्वाभाविक रूपमा हामीबीच फरक हुन्छ । उहाँहरूले त्यो नजरले हेर्दा काम गर्दा स्वाभाविक रूपमा जटिलता हुन्छ । मैले त्यो नजरले हेर्दिनँ । अप्ठ्यारो पनि पर्छ, छ नि ! बैठकमा बस्छन् सबै कुरा गर्छन् । निर्णय लेख्ने बेलामा हस्ताक्षर नगरेर बैठकबाट उठेर हिंडिदिन्छन् । र पनि जनताले काम गर्नका लागि पठाइसकेपछि गर्नै पर्छ ।

घरधनीले घर तोड्न एक महिनाको समय पाऊँ भनेर निवेदन हाल्नुभएको थियो । फेरि १५ दिन थपिपाऊँ भनेर निवेदन परे । यो नेपालमा कतै भएको छ र ? तर धनगढीमा भएको छ । धनगढीका जनताले विकासको उत्कृष्ट चाहना बोकेका छन् । त्यो पूरा गर्न आफ्नो घर पनि भत्काउँछन् ।

उपमहानगरपालिकाले हुलाकी सडक आयोजनाले समेत घरधनीको अवरोध हटाउन नसकेको कैलाली पुलदेखि क्याम्पस चोकसम्मका संरचना भत्काएर सडक चौडा पार्ने कामको थालनी गरेको छ । यो काम कत्तिको चुनौतीपूर्ण रह्यो ?

स्वाभाविक रूपमा चुनाव भन्दा अगाडि जितेपछि यो सडक बनाउँछु भन्ने मेरो प्रतिबद्धता थियो । त्यसमा सुदूरपश्चिम प्रदेश सरकारले पनि सहयोग गर्यो । हामी मात्र भएको भए सम्भव हुन थिएन होला । मुख्य कुरा जनताले विश्वास गरे र सडक बन्ने चरणमा गएको छ । दुई वटा कुरा हुने रहेछ । भत्कियो भने बन्छ कि बन्दैन भन्ने चिन्ता रहेछ । यसले भत्काएपछि बनाउँछ पनि भन्ने विश्वास भएर मान्छेले घर भत्काएर सहयोग गरे कि ? त्यसको लागि धनगढीवासीलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

यो बीचमा मुद्दा पनि परे, हाम्रो पनि कमजोरी रह्यो । उहाँहरूलाई अरू नै कोणले कुरा गरेर मुद्दा हाल्न लगियो । कतिलाई मुद्दा हालेको थाहा पनि रहेनछ । पछि आएर उहाँहरूले फिर्ता लिनुभयो । कतिपय घरधनीले घर तोड्न एक महिनाको समय पाऊँ भनेर निवेदन हाल्नुभएको थियो । फेरि १५ दिन थपिपाऊँ भनेर निवेदन परे । यो नेपालमा कतै भएको छ र ? तर धनगढीमा भएको छ । धनगढीका जनताले विकासको उत्कृष्ट चाहना बोकेका छन् । त्यो पूरा गर्न आफ्नो घर पनि भत्काउँछन् ।

उपमहानगरपालिकाले ३१ असारमा १ र ४ नम्बर वडामा कित्ताकाट फुकुवा गर्ने निर्णय गर्यो, त्यही दिन तपाईंका भाइले जग्गाको कित्ताकाट गरेपछि तपाईंको आलोचना भएको थियो । राम्रा काम गर्दागर्दै कतै तपाईं पनि स्वार्थ प्रेरित हुन लाग्नुभएको हो कि भन्ने प्रश्न उठेको छ नि ! यसबारे के भन्नुहुन्छ ?

जुन जग्गाको कित्ताकाटमा मेयर साबले गल्ती गर्यो भन्ने कुरा छ, यसमा मैले कित्ताकाट खोलेर त्यसबाट के लाभ लिएँ ? कुनै नीतिगत निर्णय गरेर आफ्नै भाइलाई लाभ दिलाएको भए त्यो नीतिगत भ्रष्टाचार हुन्छ । १९ वटै वडाका वडाअध्यक्षहरूले जे सिफारिश गरे उपमहानगरपालिकाले कृषि र गैर कृषि कुन हो ? भनेर त्यही अनुसार निर्णय गरेको छ । त्यो बेला दुई वटा वडाले मात्र ल्याएर आएको थियो । मालपोतमा धेरै जनाको जग्गा पेन्डिङ थियो । मेरो भाइको पनि पास भयो । भाइले जग्गा कसैलाई बिक्री गरेको पनि होइन । आफ्नै एउटा कम्पनीको नामको जग्गा अर्को कम्पनीको नाममा गरेको मात्र हो । त्यो समयमा सबैको जग्गा रोकेर मैले भाइको बिघौं बिघा जग्गा बिक्री गरेको भए भ्रष्टाचार गरेको बदनियत देखिन्छ । त्यसैले यो लगाउनलाई मात्र दोष लगाउने कुरा हो । यदि मैले नीतिगत भ्रष्टाचार गरेको कुरा कसैले प्रमाणित गर्नुहुन्छ भने म आजै राजीनामा दिन्छु । आरोप मात्र लगाउने होइन, प्रमाणित पनि गर्ने हो कि !

तपाईंका प्रतिद्वन्द्वी, पूर्व मेयर नृपबहादुर वडले एउटा सार्वजनिक कार्यक्रममा तपाईं जनताबाट भाग्न थाल्नुभयो भनेर आरोप लगाउनुभएको थियो; यसबारे तपाईंको टिप्पणी के छ ?

यसको जवाफ उहाँले भन्दा राम्रो म दिन सक्दिनँ । उहाँले नै दिनुहोला । म अहिले कसैलाई दोष दिने, जिम्मा लगाउने, कसैलाई केही भन्ने पक्षमा छैन । मेरो कार्यकालको चार वर्ष बाँकी छ । चार वर्ष इमानदारी साथ काम गर्छु । त्यसपछि भविष्यमा ठीक गर्यो, बेठीक गर्यो भन्ने कुरा जनताले भन्लान् । अहिले छोडिदिने हो । त्यसैले अहिले म कसैको वाद–प्रतिवाद, आरोपमा जवाफ दिएर हिंड्ने पक्षमा छैन ।

धनगढीको मुख्य समस्याका रूपमा रहेको भूमिहीन, दलित र सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने विषय पटकपटक उठ्यो तर खासै केही भएको देखिंदैन । तपाईंको प्रतिबद्धता पत्रमा पनि यो अटाएको थियो । यस सम्बन्धमा के भइरहेको छ ?

भूमिहीनहरूको व्यवस्थापन गर्ने कुरा हाम्रो अधिकार होइन । हामीले नापी गरिदिने हो त्यो काम भइरहेको छ । अब कसलाई दिने ? कसलाई नदिने ? सरकारले भूमि आयोग खडा गरेकै छ । हाम्रो काम नाप्ने हो । सबै वडामा काम भइरहेको छ । ५/६ वडामा नाप्ने काम सकिएको छ । नापी गरेर सबै विवरण भूमि आयोगमा पठाइदिन्छौं । स्वीकृति दिने काम हाम्रो होइन । जग्गा दिने अधिकार पनि छैन । करीब सात सय भूमिहीन, दलित र सुकुम्बासीको विवरण भूमि आयोगमा बुझाइसकेका छौं । आउँदो असारसम्म एक हजार जनाको विवरण पठाइसक्ने भन्ने लक्ष्य लिएका छौं ।

तपाईंको चुनावी प्रतिबद्धता अनुसारका केकति काम पूरा भए, कति बाँकी छन् ? कुनै लेखाजोखा गर्नुभएको छ कि अरूले जस्तै प्रतिबद्धता नै नहेरी काम गर्दै हुनुहुन्छ ?  

एउटा काम सकियो भने फेरि अर्को नयाँ काम सुरु भइहाल्छ । पहिलो वर्ष हामीले स्वास्थ्य र भौतिक पूर्वाधारतर्फ सडक तोड्ने, नाला खोल्ने कामहरू गरेका छौं । यो वर्ष विशेषगरी शिक्षामा ध्यान दिने । अर्को वर्ष अर्को विषयलाई समात्ने योजनामा छौं । चरणबद्ध रूपमा काम गर्ने लक्ष्य छ । यो वर्ष शिक्षामा काम गरे अर्को वर्ष खेलकुद हुन्छ कि वा अन्य क्षेत्र हुन्छ त्यसरी क्रमिक रूपमा पाँच वर्षमा मुख्य पाँच वटा र बाँकी सहायक कामलाई अगाडि बढाउँछौं ।

अन्त्यमा, अब चाँडै नयाँ आर्थिक वर्षको बजेट निर्माणको प्रक्रिया पनि सुरु होला । यसपटक कस्तो खालको बजेट ल्याउदै हुनुहुन्छ ?

आगामी वर्षको बजेट आउने कुरा अहिले अनुमान गर्न सकिने अवस्था छैन । राजस्व घटेको छ । आगामी स्थिति कस्तो हुन्छ भन्ने कुरा थाहा नभएकाले भन्न सकिंदैन तर बजेट र बजार कस्तो रहन्छ ? त्यही मनोविज्ञान अनुसार बजेट निर्माण गर्छौं ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?