+
+

‘वडाध्यक्ष र मेयर दुवैले पुराना कुरा भुलेर सहकार्य गर्नुपर्छ’

‘नमिल्दा धराने जनता नै ठगिने हुन्’

कार्यपालिका र मेयरको लडाइँले अन्ततः घाटा त धरानलाई नै हुने हो । धरानलाई नोक्सान हुनबाट जोगाउन दुवै पक्ष मिलेर जानुको विकल्प छैन । दुवै पक्षले समन्वय नगर्दा ठगिने भनेका त हामी धराने जनता हौं ।

डा. राजेन्द्र शर्मा, नागरिक अगुवा डा. राजेन्द्र शर्मा, नागरिक अगुवा
२०८० वैशाख २९ गते २०:२२

राणाकालदेखि नै धरानमा पानीको जोहो गर्ने प्रयास सुरु भएको हो । १९९२ सालतिर जुद्धशमशेरले फुस्रेको सर्दुमा पानी ट्यांकी बनाए, जहाँबाट धरान र माथि विजयपुरसम्म पानी पुर्याइन्थ्यो ।
सर्दु जलाधारको पानी खानेपानीका रूपमा प्रयोग गर्न थालिएपछि यसको संरक्षणको काम सुरुवाती दिनमा प्रभावकारी बन्न सकेन ।

२०३३ सालमा राजा वीरेन्द्रले सर्दुको जलाधार क्षेत्रलाई संरक्षण गर्न त्यस क्षेत्रमा बसोबास गरिरहेका मानिसलाई मोरङको शनिश्चरे सारे । तर, दुर्भाग्य के भने सट्टा भर्ना जग्गा दिए पनि फिल्ड बुकबाट यहाँको जग्गाको लगत काटिएन । परिणामतः मानिसहरूले फेरि सर्दु जलाधार क्षेत्र मिच्न सुरु गरे । आफ्नो हकअधिकार कायम छ भनेर बस्न थाले ।

पछि स्थानीय कृष्णनारायण पालिखेले सर्दु जलाधार क्षेत्र सार्वजनिक संरक्षित जग्गा हो र यसमा व्यक्तिको अधिकार छैन भन्दै मुद्दा हाले । अदालतले पनि सर्दुलाई संरक्षित क्षेत्र माने पछि यस विषयमा अहिलेसम्म सानोतिनो विवाद कायमै छ ।

यो महाभारत पर्वत शृंखलाको फेदमा रहेको बस्तीमा जनसंख्या बढ्दै गएपछि सर्दु, खर्दु लगायत जलाधार क्षेत्रको पानीले अपुग हुन थाल्यो । बेलायतीहरूले सैनिक भर्ती गर्ने क्याम्प राखेपछि जनसंख्या अझ बढ्यो र हाल करिब २ लाख पुगेको छ । यति धेरै जनसंख्यालाई सर्दु र खर्दुको पानीले मात्र पुग्ने कुरै भएन ।

२०३६ सालमा यहाँ खानेपानी संस्थान आयो । यो संस्थानले जंगलमा कुवा खनेर त्यहाँबाट पानी ल्याएर समेत बाँड्न थाल्यो । सन् २०१२ तिर यहाँ एकीकृत शहरी विकास परियोजनाका नाममा एशियाली विकास बैंक (एडीबी) ले खानेपानीमा २ अर्ब रुपैयाँको परियोजना सुरु गर्यो । यो परियोजनाले दैनिक १ लाख ५२ हजार लिटर पानी निकाल्छौं भनेको थियो । त्यस अगाडि खानेपानी संस्थानले करिब ६० लाख लिटर पानी दिएकै थियो । यी दुवैको मिलायो भने धरानको खानेपानी माग पूर्ति हुन्छ भन्ने विश्वास थियो ।

तर, अनियमितता भयो भन्दै एडीबीको परियोजना निकै विवादित बन्यो । पछि एडीबीले खानेपानी संस्थानले उत्पादन गरिरहेको ६० लाख लिटरसहित १ लाख ५२ हजार लिटर पानी उत्पादन हुने भन्दै कुरा फेर्यो । एक प्रकारले त्यो परियोजना असफल भयो । पर्याप्त आपूर्ति हुन नसकेपछि पानीको संकट झन् बढ्यो ।

यहीबीचमा हर्क साम्पाङ खानेपानीका क्षेत्रमा अभियन्ताका रूपमा सक्रिय थिए र चुनावमा पनि उठे । चुनावमा उनले धरानलाई पानी खुवाउने आफ्नो एक मात्र उद्देश्य रहेको बताएका थिए । निर्वाचित भएको दोस्रो दिनदेखि नै उनी पानीको जोगाड गर्न लागे । धरान वरिपरिका खहरे, सेउती, सर्दु, खर्दु, निशाने, पकुवा, भालुखोलाको पानी जम्मा पार्ने अभियान चलाए । यी खोलाको पानी बर्खामा पर्याप्त भए पनि हिउँदमा भने पुग्दैन, कतिपयमा त हिउँदमा पानी नै हुँदैन ।

पछिल्लो समय कोकाह खोलाको पानी ल्याउने प्रयासमा रहेका साम्पाङ अहिले अलिक हार मानेको जस्तो देखिएका छन् । कोकाह खोलाको पानीले पनि धरानको समस्या समाधान हुन्छ भन्नेमा उनलाई विश्वास छैन । जनसहयोग र श्रमदान पनि व्यापक छ । तर, उनी यतिखेर कोकाहसँगै कोशीको पानी ल्याउनका लागि संघीय सरकारसँग सहयोग मागिरहेका छन् ।

कोशीको पानी ल्याउने बजेट दिएनन् भने यहाँका सांसद, मन्त्रीलाई प्रवेश नै निषेध गर्छु पनि भनिरहेका छन् । कोशीको पानी नआइकन यहाँको पानी प्यास मेटिंदैन पनि ।

तर, उनले अहिलेसम्म गरिरहेका यी प्रयास साह्रै लोभलाग्दा छन् । उनी आएपछि नै हामीले यति ठूलो ‘न भूतो न भविष्यति’ श्रमदान देख्यौं । भोलिका दिनमा कुनै पनि नेताले यति ठूलो मात्रामा श्रमदान गराउन सक्लान् भन्ने विश्वास छैन ।

उनी सुरुदेखि भ्रष्टाचार, अनियमिताताको विरोधमा डटेर लागेकोले यस्तो सम्भव भयो । उनी एक्लै नै लडिरहे । दल, तिनका पदाधिकारी र कार्यकर्ताले उनलाई वास्ता गरेनन् । यो सबका बावजुद उनले चुनाव जिते ।

जनताले हर्क साम्पाङले त भ्रष्टाचार गर्दैनन् भन्ने विश्वास गरेका छन् । नेताहरूसँग वाक्कदिक्क भएका जनताले उनको प्रयासलाई आर्थिक, नैतिक, भौतिक रूपमा समर्थन गरेका छन् ।

उनी साह्रै निर्भीक छन् । आफूलाई लागेको कुरा प्याच्च भनिहाल्ने, कसैको डर नमान्ने । परम्परावादी नेता जस्तो उनमा चाप्लुसी गर्ने र चिप्लो घसेर बोल्ने बानी छैन । आम मानिसले उनको त्यो सीधा कुरा गर्ने बानी मन पराएका छन् ।

यो लडाइँले अन्ततः घाटा त धरानलाई नै हुने हो । धरानलाई नोक्सान हुनबाट जोगाउन दुवै पक्ष मिलेर जानुको विकल्प छैन । दुवै पक्षले समन्वय नगर्दा ठगिने भनेका त हामी धराने जनता हौं ।

अर्कोतिर उनी परिणाममुखी काममा बढ्ता केन्द्रित छन् । उनले परिणाम नआउने कामको अर्थ छैन भन्ने राम्रोसँग बुझेका छन् । दलसँग वाक्कदिक्क भएका आम मानिसले पनि जतिसक्दो छिटो परिणामको अपेक्षा गरेका छन् । त्यो कुरा बुझेका हर्क साम्पाङले सुरुवाती चरणमै पानी ल्याएर नतिजा देखाइदिए ।

उनलाई थाहा छ, यसरी ल्याएको पानी धरानका लागि पर्याप्त छैन । तर, उनले नतिजा देखाएर जनतामा आश सिर्जना गरे, उत्साह भरे ।

कुनै समय लाहुरे, फेसनको शहर भनेर चिनिने धरान यतिखेर हर्क साम्पाङको नामबाट चिनिन्छ । उनको नामले गर्दा धरानले ख्याति कमाएको छ । तर, उनले आफ्नो बोली र सामाजिक सञ्जाल प्रयोगको आदतमा भने सुधार गर्नुपर्छ । बेला–बेला आफ्नो स्तरभन्दा तलको कुरा गर्छन्, सबैलाई आफैं जवाफ दिन लागिपर्छन् । हरेक कुराको जवाफ दिन्छन् । आफ्नै वरिपरिका मान्छे चिढिने गरी फेसबुकमा लेख्ने र बोल्ने गर्छन् ।

उनको शैलीले अनावश्यक रूपमा धेरैलाई चिढ्याएको छ । उनले आफूमा भद्रताको विकास गर्नुपर्छ । धरानका नगरपिताका रूपमा उनले आफूलाई भद्र र मान्छेहरूलाई नचिढ्याउने शैलीको विकास गर्नुपर्छ ।

लामो समयदेखि यही पुरानो राजनीतिक र कर्मचारी संयन्त्रसँग जुधिरहेका हर्क साम्पाङलाई यो संरचना र यसका प्रक्रियामाथि विश्वास छैन । त्यसैले पनि उनी परम्परागत विधि, प्रक्रियाभन्दा पर गएर काम गर्न खोजिरहेका छन् । यसका फाइदा, बेफाइदा दुवै छन् । मेयर र कार्यपालिकाबीच विवाद बढ्नु बेफाइदा हो भने जनश्रमदानमार्फत धमाधम काम हुनु फाइदा हो ।

कार्यपालिका सदस्यहरूले खानेपानीका लागि भनेर आएको आर्थिक स्रोत नगरपालिकामा जम्मा गर्नुपर्ने र खानेपानी व्यवस्थापन बोर्डमार्फत काम गर्नुपर्छ भनिरहेका छन् । यो माग मिठो सुनिए पनि वास्तविकता तितो छ । आम मानिसले धरान उपमहानगरलाई होइन, हर्क साम्पाङलाई विश्वास गरेर खानेपानी ल्याउन आर्थिक, भौतिक र जिन्सी सहयोग गरेका हुन् ।

नगरपालिकाको खातामा पैसा पठाउनुहोस्, नगरपालिकाले सबै चिजको निर्णय गर्छ भन्यो भने अहिले कोही पनि तयार हुँदैनन् । सबै चिज नगरपालिकाले नै गर्न सक्थ्यो भने त दलहरूले उहिल्यै गरिसक्थे नि ! तर, यसको अर्थ हर्क साम्पाङले खानेपानीका लागि आएको सहयोगको हिसाब देखाउनुपर्दैन भन्ने पटक्कै होइन । जनतालाई एकपटक होइन, पटक–पटक हिसाब देखाउनुपर्छ, देखाइरहेका पनि छन् ।

यता बराह क्षेत्र नगरपालिकाले पनि आफ्नो क्षेत्रबाट पाइप लैजानका लागि धरान उपमहानगरको कार्यपालिकाको निर्णय मागेको छ । हर्क साम्पाङ सफल हुँदा यहाँ दलको अस्तित्व नै समाप्त हुन्छ कि भन्ने चिन्ताले दलहरूले साम्पाङ विरुद्ध घेराबन्दी पनि गरिरहेका छन् । यो घेराबन्दी देखेपछि मेयर हर्क झन् विद्रोही भइरहेका छन् । सामाजिक सञ्जालमा हरेक कुराको जवाफ लेखिरहेका छन् । उनका हरेक स्टाटस कसै न कसैप्रति लक्षित हुन थालेका छन् ।

यो लडाइँले अन्ततः घाटा त धरानलाई नै हुने हो । धरानलाई नोक्सान हुनबाट जोगाउन दुवै पक्ष मिलेर जानुको विकल्प छैन । दुवै पक्षले समन्वय नगर्दा ठगिने भनेका त हामी धराने जनता हौं ।

मेयर हर्कले विधि, प्रक्रिया मानेनन्, राजीनामा मागे, स्पष्टीकरण सोधे, दलहरूले घेराबन्दी गरे, असहयोग गरे भन्ने जस्ता अडान दुवै पक्षले छाड्नुपर्छ । नियमअनुसार मेयरले पुराना सबै कुरा बिर्सेर बैठक बोलाउने, कार्यपालिका सदस्यहरू पनि पुराना सबै कुरा भुलेर बैठकमा आउने र धरान उपमहानगर चलाउने । कसैले कसैसँग माफी माग्नुपर्दैन । वडाअध्यक्षदेखि मेयरसम्म सबैलाई धराने जनताले धरान उपमहानगर चलाउ, जनताको हितमा काम गर भनेर पठाएका हुन् ।

(महेन्द्र बहुमुखी क्याम्पसका पूर्व सहप्राध्यापक डा. राजेन्द्र शर्मा धरानका नागरिक अगुवा हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?