+
+

युवतीहरुमा सुनका गहनाप्रतिको आकर्षण घटेको हो ?

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० वैशाख २९ गते १७:३०

काठमाडौं । सुन र युवतीलाई लिएर संसारभरि दुईथरी बहस र विवाद छन् । कतिपय संस्कार र संस्कृतिमा सुनले नारी र सौन्दर्यको प्रतिनिधित्व गर्ने विश्वास गरिन्छ भने कतिपयले सुनले महिलाको वस्तुकरण गरिरहेको तर्क गर्छन् ।

सुन्दरता एउटा सापेक्ष अवधारणा भएकाले यो बहस चलिरहन्छ । व्यवहारतः महिला सौन्दर्य र गहनाबीच गहिरो सम्बन्ध देखिन्छ । महिलाको सुन्दरतामा सुनको गहनाले थप निखारता ल्याउँछ । हाम्रो परम्परामा गहनालाई नारीको शोभा मानिन्छ । त्यसो त सुन्दरताको बहसलाई एकछिन छाड्ने हो भने सुनका गहना जोड्नु भनेको सम्पत्तिको भण्डारण गर्नु पनि हो । गहनाको सञ्चयलाई आर्थिक सम्पन्नताको रूपमा समेत लिइन्छ ।

तर पछिल्लो समय युवतीहरूमा सुनको गहनाको आकर्षण घटेको देखिन्छ । नयाँपुस्तामा सुनको गहनाप्रति आकर्षण कम हुँदै गएको बुझाइ छ अधिवक्ता तथा मोडल प्रीति कार्कीको । नयाँपुस्तामा सचेतना बढेको उल्लेख गर्दै कार्की भन्छिन्, ‘गहनामा पैसा खर्च गर्नुभन्दा पनि कुनै व्यापार व्यवसाय गर्दा त्यसबाट धेरै लाभ लिन सकिन्छ ।’

उनी आफैं पनि सुनको गहनामा खर्च गर्ने पैसा सेयरमा लगानी गर्दै आएकी छन् । ‘साधारण मोतीको माला लगाउँदा पनि मेरो आत्मविश्वास बढ्छ, सुनकै गहना लगाउनुपर्छ भन्ने छैन,’ कार्की भन्छिन्, ‘अरूलाई देखाउनका लागि सुनका गहना लगाउनुपर्छ भन्ने मान्यता राख्दिनँ । त्यसैले पनि सुनको गहनाप्रति उतिसारो लगाव र आकर्षण छैन ।’

सुनको गहनाकै कारण थुप्रै अप्रिय घटना समेत हुने गरेका छन् । ‘कतिपय घटना र अन्य कारणले पनि युवतीहरू सुनको गहनामा पैसा खर्च गर्नुभन्दा पढाइ, व्यक्तित्व विकास र ल्यापटप, स्कुटरजस्ता साधनमा खर्च गर्न रुचाउँछन्,’ कार्की भन्छिन् ।

पहिले पहिले सम्पत्तिको रूपमा गहना जोड्ने र आवश्यकता पर्दा बेचेर खर्च गर्ने चलन रहे पनि पछिल्लो समय देखासिकीको लागि सुनको गहना जोड्ने अभ्यास बढेको उनको बुझाइ छ । ‘तर अहिलेका युवतीहरू भने गहनामा पैसा खर्च गर्नुभन्दा अन्य उत्पादनशील काममा पैसा खर्च गर्न रुचाउँछन्, यसले युवामा गहनाको आकर्षण कम हुँदै गएको हो ।’

सुनको गहनाको विकल्प

अहिलेका युवती एकपटक लगाएको लुगा र गहना अर्को पटक लगाउन रुचाउँदैनन् । सुनको गहना हरेक पटक फेरेर लगाउन सम्भव हुँदैन । त्यसैले सुनचाँदीको भन्दा ब्रास, मोती, अमेरिकन डायमण्डलगायत गहना युवतीको रोजाइमा बढी पर्ने गरेको बुझाइ छ अक्सिडाइज्ड गहना पसल नेस्काकी दीपा तामाङको ।

अहिले सुनको मूल्य अत्यधिक बढेको छ । पहिले पहिले बैंकको अभावमा सुनलाई सम्पत्तिको रूपमा बचत गरिन्थ्यो । तर अहिले त पैसा बचत गर्ने धेरै विकल्प रहेकाले आजभोलिका युवतीमा सुनका गहनाप्रति आकर्षण घटेको हुन सक्ने तामाङको अनुमान छ ।

हिजोआज बजारमा थोरै मूल्यमा आकर्षक गहना किन्न पाइन्छ । आफ्नो इच्छाअनुसार डिजाइन गर्न सकिने भएकाले नयाँ पुस्ताको आकर्षण सुनभन्दा अन्य गहनातिर देखिन्छ ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?