+
+

मुख्यमन्त्री पाण्डेको मन्त्रिपरिषद् : केहीको धोको पूरा, कसैले धोका ठाने !

अमृत सुवेदी अमृत सुवेदी
२०८० वैशाख २९ गते २१:४०

२९ वैशाख, पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार नियुक्त गरेका ४ सारथिको सपथ सकिएसँगै कतै मन्त्रीलाई फूलमाला लगाउने क्रम चलिरहेको थियो त कतै चियापान र चर्चा । मुख्यमन्त्री पाण्डेले बिहीबारमात्र ७ मन्त्रालयको कार्यविभाजन गरेर शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिए ।

शपथपछिको चियापान भइरहेको ठाउँ नजिकै गफिँदै थिए, आलो–पालो सहमतिअनुसार भावी मुख्यमन्त्रीका रुपमा हेरिएका माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान । चुमान भन्दै थिए, ‘एकीकृत समाजवादीबाट मन्त्री बनाउने सहमति भएकै हो । कांग्रेसले अलि चलाखी गरेकै हो, मनाङेलाई देखाएर, ३ मन्त्रालय दाबी गरेको माओवादीलाई पनि रोक्दै ५ वटै मन्त्रालय आफैं राख्यो ।’

हुन पनि चुमानले भने झैं मुख्यमन्त्री सुरेन्द्रराज शपथ हुनु केही घन्टाअघिसम्म पनि मनाङेलाई मन्त्री बनाउने नबनाउनेबारे खुलेका थिएनन् । मात्र उनको उत्तर हुन्थ्यो, ‘छलफलमै छौं ।’

कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्र थापा, माओवादीबाट रेशम जुग्जालीलाई मन्त्री बनाउने निर्णय गरिसक्दा पनि मनाङेबारे मुख्यमन्त्री पाण्डे अनिर्णित नै थिए ।

मनाङेलाई मन्त्री बनाउन केन्द्रबाटै दबाव आइरहेको थियो तर सुरेन्द्रराज बनाउने सकरात्मक थिएनन् । त्यही कारणले पनि केही मन्त्रिपरिषद गठनमा ढिलाइ भएको थियो । शुक्रबार मुख्यमन्त्री पाण्डेले ३ जना मन्त्री नियुक्त गरेर केन्द्रमा शीर्ष नेताहरुसँगै छलफल चलिरहेको बताइरहेका थिए भने बाहिर मनाङे पनि मन्त्री नियुक्त भएको चर्चा थियो ।

कांग्रेसकै सांसद विन्दुकुमार थापाले १ घन्टा अगाडिसम्म पनि भनिरहेका थिए, ‘एकीकृतलाई एक मन्त्रालय छुट्याउने सहमति नै भएको हो ।’

मुख्यमन्त्री पाण्डे मनाङेलाई बनाउनुको साटो कांग्रेसकै एक जना मन्त्री बनाउन चाहन्थे तर बाहिर भन्दा माओवादी र एकीकृत समाजवादी पनि खेल्न सक्ने भएकाले खुलाउन चाहन्थेनन् भने अर्कोतिर कांग्रेसबाटै कसलाई मन्त्री बनाउने भन्ने टुंगो नै थिएन । ४ बजे शपथको कार्यक्रम राखिएको थियो । तर, त्यसको १५/२० मिनेट अगाडिमात्र मुख्यमन्त्री स्रोतले भन्यो, ‘मनाङेलाई मन्त्री नबनाएर तनहुँका जितप्रकाश आले मन्त्री हुने पक्का भयो ।’

कांग्रेसभित्रै मन्त्री हुने कम चर्चामा रहेका र धेरै कसरत पनि नगरेका पात्रमा पर्छन्, जितप्रकाश । तनहुँ क्षेत्र नम्बर २ को प्रदेश सभा २ बाट निर्वाचित जितप्रकाश मन्त्री बन्ने सूचनाले कांग्रेसका सांसदहरुले नै भनिरहेका थिए, ‘एक राष्ट्रपति तथा शंकर भण्डारी फ्याक्टरले काम गरेछ ।’

मन्त्रीको कसरतै नगरेका अन्य जिल्ला सभापति रहेका सांसदहरुमा सिनियरमै पर्ने जितप्रकाश निर्वाचित भएको पहिलो पटकमै मन्त्रीमात्रै भएनन्, प्रदेशकै अर्थतन्त्रको साँचो खोल्ने ठाउँमा आइपुगेका छन् । ‘मलाई पनि म १५/२० मिनेट अगाडिमात्रै शपथ खान आउनु भनेर खबर भएको हो । म मगरको कार्यक्रममा थिएँ,’ मन्त्री भइसकेपछि जितप्रकाशले भने, ‘मैले मन्त्री हुन कसरत पनि गरेको थिइनँ तर बनाउनुभयो । पक्कै मेरो योगदान हेरेरै होला ।’

तनहुँ कांग्रेसका जिल्ला सभापतिसमेत रहेका जितप्रकाश तनहुँका रामचन्द्र पौडेल निकट मानिन्छन् । गत महाधिवेशनमा पौडेल समूहकै वैकुण्ठ न्यौपानेलाई हराउँदै सभापति बन्दा तनहुँका नेता शंकर भण्डारी, धुव्र वाग्ले, राजेन्द्रकृष्ण श्रेष्ठ लगायतले समर्थन गरेका थिए । संघीय सांसद हुँदै प्रदेश सभा झरेका केदार सिग्देललाई हराउँदै सांसद बनेका जितप्रकाश अर्थमन्त्रीकै कुर्चिमा आइपुगेका छन् ।

एकाएक जितप्रकाश मन्त्री बनेपछि माओवादी र एकीकृतलाई पनि मुख्यमन्त्री पाण्डेले जिल्ल पारेको नेताहरुले महसुस गरे । मनाङेको पृष्ठभूमि र स्वभावका कारण पनि भरसक मन्त्री बनाउने पक्षमा नरहेका पाण्डेले ३ मन्त्रालय दाबी गरेको माओवादी र मन्त्री दाबी गरिरहेको एकीकृत समाजवादीलाई पनि नभड्काउन अन्तिमसम्म बाहिर खुलेका थिएनन् ।

माओवादी संसदीय दलका नेता चुमान भन्छन्, ‘एकीकृतलाई दिनुपथ्र्यो, केन्द्रको गठबन्धन हो । नभए ३ मन्त्रालय हामीलाई चाहिन्छ भनिरहेका थियौं । पछि पुनर्गठन गरेर भए पनि एकीकृत समाजवादीलाई दिने अवस्था पक्कै आउँछ ।’
पछि परिहालेछ भने बनाउने तर अहिले नबनाए पनि फरक नपर्ने केन्द्रको इसारा मिलेपछि नै मुख्यमन्त्री पाण्डेले तनहुँका जितप्रकाश रोजेको हुन् । एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले पनि गण्डकी सरकारमा समावेश गर्ने नै कुरा भएको तर पछिल्ला घटनाक्रम नबुझेको बताए ।

मुख्यमन्त्री पाण्डेले कांग्रेसभित्रै मन्त्रीका आकांक्षीको दबावलाई पार लगाउँदै कांग्रेसका पाका तथा अनुभवी नेता महेन्द्रध्वज जिसीलाई मन्त्री रोजे । २०५१ म नवलपरासीबाट मध्यावधि चुनाव जितेर सामाजिक समिति सभापति बनेका र २०६४ सालको संविधान सभा सदस्य जितेर संसदीय दलको सचिव हुँदै यसपटक प्रदेश संसद छिरेका महेन्द्रध्वज जिसीलाई मन्त्री बनाएका छन् ।

कांग्रेस नवलपुर सभापतिसमेत रहेका शेखर कोइराला–गगन थापा समूहका जिसी मन्त्री बन्ने सुरुदेखि नै चर्चा थियो । २ पटक संघीय संसद छिरेर पनि मन्त्री बन्न नपाएका र दोस्रो संविधान सभाको निर्वाचन, २०७४ को प्रदेश सभा छिर्न चुनावी मैदानमा होमिएर पनि असफल भएका जिसीले अहिले आएर मन्त्री बन्ने धोको पूरा गरेका छन् ।

जिसी कांग्रेस प्रदेशको सभापति बन्न चाहे पनि कास्कीका शुक्रराज शर्माले हात पारेका थिए । अहिले संसदीय दलको नेतामा दाबी गरे पनि पछि शेखर–गगन समूहका भोजराज अर्यालको प्रस्तावक बनेका थिए । कांग्रेसका पाका नेतामा पर्ने जिसीले कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाए ।

मन्त्रीको रुपमा चर्चा भएर पनि कम सम्भावनाको नजरले हरिएका अर्का पात्र हुन्, बागलुङका दिपेन्द्र थापा । निवर्तमान कांग्रेस जिल्ला सभापतिसमेत रहेका देउवा समूहका दिपेन्द्र यसअघि प्रदेश सभामै एमालेका इन्द्रलाल सापकोटासँग चुनाव हारेका थिए । यसपटक एमालेका हिरा केसीलाई हराउँदै प्रदेश सभा छिरेका थापाले पहिलो पटकमै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय हात पारेका छन् । साविकको धौलागिरि क्षेत्र पनि मिलाउनुपर्ने र देउवा समूहका पनि भएका कारण वरीयतामा पुछारमा रहेर पनि थापा पर्यटनमन्त्रीको कुर्चीमा पुगेका छन् ।

माओवादीबाट शुक्रबार मन्त्री नियुक्त भएका रेशम जुग्जाली एमालेका खगराज अधिकारी नेतृत्वको सरकारमा पर्यटनमन्त्री थिए । यसपटक उनले भौति पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा उक्लिएका छन् । म्याग्दीमा संघमा टिकट पाएको माओवादीलाई संघमा कांग्रेसलाई दिएर प्रदेशमा २ सिट मिलाउँदै दुबैतिर जिताउन भूमिका खेलेका जुग्जाली चलाख मानिन्छन् । यसअघि मालिका गाउँपालिका अध्यक्षमै हारेका जुग्जालीले प्रदेश सभामा छिरेर दोस्रो पटक मन्त्री हुने अवसर पाएका छन्, त्यो पनि सबैभन्दा बलियो विकासे मन्त्रालयमा ।

मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गत जेठ १५ गते नै आफूसँगै माओवादीबाट सुशीला सिम्खडालाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए । माओवादी २ मन्त्रालयसहित उनकै नेतृत्वमा पाण्डे सरकारमा सहभागी भएको छ ।

सुशीलाले मुख्यमन्त्रीपछि वरीयता लिएर सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएकी छन् । माओवादी केन्द्रीय सदस्यसमेत रहेकी सिम्खडा यसअघिका सबै चुनावमा समानुपातिक सांसदको सूचीमा रहे पनि पहिलो पटक प्रदेशमा समानुपातिक प्रणालीबाटै संसद बन्ने अवसर पाएकी थिइन् ।

मुख्यमन्त्री पाण्डेले कांग्रेसबाट छानेको सुरुकै सारथी हुन्, स्याङ्जाकी सरस्वती अर्याल तिवारी । नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेकी अर्याल पनि संघमा २०६४ यताका चुनावमा सधैंभरि समानुपातिक सूचीमा परेर त्यही प्रणालीबाटै प्रदेश सांसद बनेकी हुन् । अर्याललाई यसअघि नै पाण्डेले प्रवक्ता बनाएका थिए । मुख्यमन्त्री पाण्डेले अर्याललाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय थमाएका छन् ।

गत वैशाख ९ गते एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डेले अन्नत ठूलो रस्साकस्सीका बीच मन्त्रिपरिषद तत्काललाई पूर्ण बनाएका छन् । संविधानअनुसार गण्डकीमा १२ मन्त्रालय बनाउन पाइने भए पनि यसअधिका मुख्यमन्त्री अधिकारीले नै मनलयको संख्या ७ मा झारेपछि सोही कायम गर्ने पाण्डेले बताएका थिए । बिहीबार मन्त्रालयको कार्यक्षेत्र विभाजन गरी राजपत्रमा प्रकाशित गरेर शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।

मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषदलाई पूर्णता त दिए तर सत्ता साझेदार दल माओवादी, एकीकृत समाजवादीदेखि नेपाली कांग्रेसकै सांसदहरु पनि उति खुसी देखिएका छैनन् । कांग्रेसबाट यसअघिकै सरकारमा मन्त्री भइसकेका विन्दुकुमार थापा, लमजुङका टकराज गुरुङ, बागलुङका डिल्ली सुवेदी लगायत अन्तिमसम्म मन्त्रीको दौडमा थिए । तर, थोरै मन्त्रालय हुँदा मुख्यमन्त्री पाण्डे दबाबमा थिए । कास्कीबाट सांसदहरुकै लडाईंले एक जना पनि मन्त्री नपाएको भन्दै कांग्रेसीहरु नै बेखुसी छन् ।

मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषदलाई पूर्णता दिएसँगै अब बजेटको तयारी थाल्ने र प्रि बजेट छलफल पनि गर्नुपर्ने भएकाले बजेट अधिवेशन डाक्ने बताएका छन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?