+
+

आर्मीलाई राष्ट्रिय पुरुष बिच भलिबलको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३० गते १९:४०

३० वैशाख, तानसेन । राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । पाल्पाको रानीमहलमा शनिबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि उचालेको हो ।

आर्मीको दिल सुनार र दुर्गाप्रसाद महतोको जोडीले पुलिसको इमबहादुर राना र चन्द्रबहादुर कुँवरको जोडीलाई २१–१९ र २१–१५ को सोझो सेटमा हरायो । उपाधिसहित आर्मीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्‍यो । उपविजेता बनेको पुलिसले एक लाख रुपैयाँमा चित्त बुझायो ।

अर्को विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफको टिमले कर्णाली प्रदेशलाई २१–१८ र २१–१७ को सोझो सेटमा हराउँदै तेस्रो बन्यो । एपीएफले ५० हजार र कर्णालीले २५ हजार रुपैयाँ प्राप्त गर्यो । आर्मीलाई उपाधि जिताउन महत्वपूर्ण भुमिका खेलेका दिल सुनार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने ।

उनले १० हजार रुपैयाँ प्राप्त गरे । चैत २८ गतेबाट रानीमहल प्राङ्गणमा सुरु भएको प्रतियोगितामा कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश गरि ५ प्रदेश, तीन विभागीय क्लब र आयोजक गरि ९ टोली सहभागी थिए । राष्ट्रिय खेलकुद परिषद् राखेपको मुख्य सहयोग र सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनामा सञ्चालित प्रतियोगिता रानीमहललाई वीच भलिबलको हब बनाउने उद्देश्यका साथ गत वर्षदेखि सुरुआत गरिएको थियो ।

समापन समारोहका प्रमुख अतिथी प्रदेश सभा सदस्य वीरबहादुर राना, फाउन्डेसनकी अध्यक्ष निरोज मास्के लगायतले विजेता खेलाडी र टिमलाई पुरस्कृत गरेका थिए । प्रतियोगिताको दोस्रो संस्करणको उपस्थित भएर तानसेन नगरपालिका मेयर सन्तोषलाल श्रेष्ठ र बेगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले रानीमहल क्षेत्रलाई बिच भलिबलको केन्द्र बनाउने घोषणा गरेका थिए । खेलकुदमार्फत पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ सञ्जय मेमोरियल फाउन्डेसनले कार्यक्रम आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?