+
+

‘जलेको गन्ध आयो भन्दा भन्दै ह्वारह्वार्ती बल्न थाल्यो बस’

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३० गते २१:४८

३० वैशाख, काठमाडौं । धादिङको धुनिबेशी-९ गणेशस्थानमा गुडिरहेका बसमा आगलागी भएको छ ।

नीलकण्ठ नगरपालिका-१ पात्लेबाट काठमाडौंका लागि छुटेको ग १ ख ४८४७ नम्बरको बसमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख, प्रहरी उपरीक्षक (एसपी ) गौतम मिश्रले जानकारी दिए ।

३३ जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल छन् । बसका सिट भने जलेर नष्ट भएका छन् । बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए ।

बसका यात्रु प्रकाश श्रेष्ठको भनाइ जस्ताको तस्तै

मेरो नाम प्रकाश श्रेष्ठ हो । मेरो घर धादिङ जिल्ला निलकण्ठ नगरपालिका-५ फ्याक्से हो । म १० वर्षदेखि काठमाडौं बस्दै आएको छु । गत साता एक हप्ताको लागि सपरिवार घर गएको थिएँ ।

हामी आफन्तको बिहे, पास्नी र गुफा राख्ने निम्तो मान्न गएका थियौं । शनिबार काठमाडौं फर्किने दिन । काखे बच्चा भएकाले बिहान शीतलमै काठमाडौं जान सपरिवार साढे ७ बजे घरबाट बस चढ्यौं । नीलकण्ठ नगरपालिका-१ पात्लेबाट डाँडागाउँ- केउरीनी- गल्छी हँदै यो बस काठमाडौं आउँछ । निम्तो र चाडपर्व मनाउन गाउँ गएका धेरै मानिस आज यही बस चढेर काठमाडौं फर्किँदै थिए ।

ठ्याक्कै त भन्न सक्दिन तर करिब ७० जना जति यात्रु बसमा थिए । सीटहरु भरिएका थिए, सीटको बीचमा रहेको खाली भागमा पनि मानिसहरु उभिएका थिए । चालक नजिकैको बर्नर सबै भरिएको थियो । यसअघि पनि यो बस ब्रेकफेल भएको सुनेको र कच्ची सडकमा धेरै यात्रु भएकाले मलाई डर लागेको थियो । तर, काठमाडौं फर्किन अर्को विकल्प नभए पछि त्यही बस नचढ्नुको उपाय पनि थिएन ।

मसहित केही यात्रुले बसमा धेरै यात्रु भयो भनेर गुनासो पनि गरेका थियौं । तर चालकले गल्छी पुगेपछि मान्छे ओराल्ने जवाफ दिए । तर गल्छी आइपुगेपछि पनि केही गरिएन । केही यात्रु आफूखुशी गल्छीमा ओर्लिए । तर बच्चासहित पछाडि सीटमा बसेका कारण म दु;ख सुख काठमाडौं पुग्छु भनेर बसें । नौबिसे आइपुग्दासम्म झण्डै साढे १० बजेको थियो । निकै गर्मीले बस हपक्क थियो । यतिनै बेला बसमा अस्वभाविक गन्ध आयो ।

यात्रुहरुले हल्ला गरे । बसमा नमिठो र तार जलेजस्तो गन्ध आएपनि चालकले केही नभएको भन्दै बस दौडाइरहे । बसमा गन्ध आइरह्यो र सुरुङमार्ग आइपुग्न एक किलोमिटर बाँकी हुँदा गणेशस्थान भन्ने ठाउँमा आएपछि गाडीको बर्नरबाट धुवाँ आयो । धुवाँ देखिएपछि भने चालकले गाडी रोके ।

यात्रुहरुमा खैला बैला मच्चियो । अगाडि भएकाहरु भाग्न थाले । यतिबेला ११ वा सवा एघार यस्तै बजेको थियो । ५ र ७ वर्षको दुईवटा बच्चा काखमा च्यापेर म पनि अरुलाई घचेड्दै बाहिर निस्किएँ । म निस्किँदासम्म बस धुवाँले भरिएको थियो ।

चालकले बसको ब्याट्री छुटाउन खोज्दै थिए । हामीलाई लागेको थियो आगो नै त नलाग्ला सबै सामान बसमै थियो । तर, बस हुरहुर्ती बल्न थाल्यो । लत्ताकपडा र घरबाट फर्कदा बोकेका सबै कोसेली क्षणभरमै खरानी भयो । बर्नरबाट धुँवा आएको १५ मिनेटमै बस बल्न सुरु गरेको थियो, १० मिनेट जतिमा सखाप भयो ।

हतार हतार बसबाट निस्कँदा सामान्य ठक्कर लाग्ने र कतै छालामा कोर्नेबाहेक अरु हानी नोक्सानी भएन । तर, कतिपयको मोबाइल, क्यामरा, पर्स, महत्त्वपूर्ण दस्ताबेज भएका झोला सबै जलेका छन् । निकै पुरानो बस भएकाले यस्तो क्षति भएको जस्तो लाग्छ ।

बस काठमाडौं आएर पुन गाउँ फर्कने हतारमा पनि थियो । क्षमता भन्दा धेरै यात्रु बोकेका कारण पनि यस्तो भएको हुनसक्छ । अफसोच बसमा चढेका हामी कोही यात्रुको पनि टिकट थिएन । गाउँमा टिकट काट्ने चलन पनि रहेनछ । यस्तो अव्यवस्थित ढंगबाट चलेको बस राजमार्गमा कतै चेक जाँच र परीक्षण पनि भएन ।

मेरो मात्रै ४० हजार रुपैयाँको सरसामान लत्ताकपडा जलेको छ । हाम्रो जलेको सामानको क्षतिपूर्ति कस्ले दिन्छ ? दिउँसो र उज्यालो भएका कारण हामी त यस्तो असुरक्षित यात्राबाट बल्ल तल्लतल्ल बाँच्यौं । तर यस्तो दुर्घटना फेरि फेरि हुन सक्छ, सम्बन्धित पक्षको ध्यान जाओस् ।

(नवीन ढुंगानासंगको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?