 
																			१ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन रोक्न आफूलाई कसैले दवाव नदिएको बताएका छन् ।
सोमबार माओवादी केन्द्रका पदाधिकारीहरुसँग बालुवाटारमा अनौपचारिक छलफल गर्दै उनले यस्तो बताएका हुन् । छलफलमा सहभागी एक पदाधिकारीका अनुसार प्रधानमन्त्री र उप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उक्त प्रकरणबारे ‘ब्रिफिङ’ गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डले शीर्ष नेताहरुबीचको भेटघाटमा बाहिर आशंकायुक्त टिकाटिप्पणी भएको भए पनि संसदको क्रियाशीलताका लागि छलफल गरेको बताएका थिए ।
‘शीर्ष नेताहरुको बैठक जुन बसेको छ, त्यसबारे मान्छेहरुका आशंकाहरु छन्,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘तर, सदनभित्रको काम कारवाहीको लागि बसेको हो ।’
नक्कली शरणार्थी प्रकरणमा आफूलाई छानबिनमा रोक्न कसैले दबाव नदिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘मुख छोडेर यसो गर, उसो गर भनेर कोही बोल्न सकेका छैनन् । दोषी कोही नपरुन् भन्ने सबैले दोहोर्याउँछन् । तर, यसो गरौं । यहाँ छोडिदिनुपर्यो भन्ने कुरा कसैको छैन ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रधानमन्त्री प्रचण्ड कारबाहीप्रति प्रतिवद्ध देखिएको अर्का पदाधिकारीले बताए । ‘प्रधानमन्त्रीको मुड नरोकिने खालको छ,’ उनले भने, ‘यो भन्दा ठूला, साना मुद्दाहरुमा पनि क्रमशः अगाडि बढ्नुपर्छ । जे हुन्छ व्यहोरेर जाने भन्ने किसिमको देखिन्छ ।’
भ्रष्टाचारका सन्दर्भमा ‘आफ्नै टाउकोमा ओगो सल्काउने’ भन्ने शब्द प्रयोग गरेर जानुपर्ने सुझाव पदाधिकारीले दिएका थिए ।
प्रधानमन्त्री प्रचण्डले भोलि पनि माओवादी पदाधिकारीहरुसँग छलफल गर्ने भएका छन् । भोलिको छलफलमा सरकारको नीति तथा कार्यक्रममाथि पदाधिकारीको सुझाव लिने प्रधानमन्त्रीको तयारी छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4