+
+
विचार :

नेपालीको अमेरिका सपनाः बेच्न र बेचिन तयार मान्छे कसरी जन्मिइरहेका छन् ?

सरकार नै मानव तस्करीमा लागेको देखिने विडम्बनापूर्ण दुष्कर्मको अर्को पक्ष हो- यति धेरै जोखिम मोलेर, खर्च गरेर नेपाली किन अमेरिका जान चाहन्छन् ? यो बाध्यता र रहर पछाडिका कारण के के हुन् ?

डा. शिव गौतम डा. शिव गौतम
२०८० जेठ २ गते १६:४८

शाब्दिक अर्थ पछ्याउँदा ‘भ्रष्ट’ भन्नाले कुनै स्थिति, ठाउँ, नियम, मान्यताबाट खसेको हो वा झरेको भन्ने बुझिन्छ। अहिलेको सन्दर्भमा समाज र संविधान अन्तर्गतका नियम कानुनले निर्धारण गरेको मान्यता बाहिर गएर आचरण गर्नुलाई भ्रष्टाचार मानिन्छ। पुरानो जमानामा भ्रष्टाचार मानिने कतिपय काम अहिले भ्रष्टाचारमा पर्दैनन्।

मान्छेको स्वभाव नै जटिल हुन्छ भने मान्छेले बनेको समाज स्वतः जटिल हुने नै भयो। त्यो जटिलताभित्र भ्रष्टाचार र त्यसको विरोध गर्ने दुवै मानसिकता कतै न कतै लुकेर बसेको हुन्छ। भ्रष्टाचार एउटा रोग हो। यसको समयमै निदान खोजिएन भने समाजै समाप्त हुन सक्छ।

नक्कली भुटानी शरणार्थी प्रकरण एकसाथ विभिन्न विषयसँग जोडिएको छ। यसलाई विश्लेषण गर्न विभिन्न दृष्टिकोणबाट हेर्नुपर्छ। जस्तै सपना र मानव प्रकृति, सपनाको प्रक्रियामा दुस्वप्नको प्रवेश, बलजफ्ती थोपरिएको अथवा हिप्नोटाइज्ड गरेर बिगारिएको सपना, सपनामा भ्रष्टाचारको प्रवेश, कुलतमा परिणत भएको भ्रष्टाचारको प्रकृति आदि।

सपना देख्नु नराम्रो होइन। तर, प्राकृतिक वा अप्राकृतिक किसिमले सपना म्यानिपुलेटेड भए भने सपना देख्ने मान्छे, समाज र राष्ट्र समेत (मानसिक) बिमारी हुनसक्छ। सुखी जीवनको चाहना जीवनभरि मात्र होइन जीवनपश्चात् पनि रहेको पाइन्छ। त्यसैले समाजमा राम्रो काम, पाटीपौवा, धर्म-कर्म आदि गर्नुपर्छ भन्ने हाम्रो समाजको परम्परादेखि नै मान्यता रहिआएको छ।

पछिल्लो समय नेपालीको अमेरिका लगायत विकसित देश जाने सपना त्यसको एउटा अङ्ग मात्र हो। सरकार नै मानव तस्करीमा लागेको देखिने विडम्बनापूर्ण दुष्कर्मको अर्को पक्ष हो- यति धेरै जोखिम मोलेर, खर्च गरेर नेपाली किन अमेरिका जान चाहन्छन् ? यो बाध्यता र रहर पछाडिका कारण के के हुन् ?  आम चरित्र बनेको विदेसिने कामको कारण र परिणाम विविध छन्।

अमेरिका सपनाको जग

डा. शिव गौतम

हाम्रो समाजमा सानैदेखि ‘ठूलो मान्छे हुन’ सिकाइन्छ। ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक …’ महाकवि लक्ष्मीप्रसाद देवकोटाको राम्रो कविता हो। तर सानै उमेरमा यही भनियो भने कसरी ठूलो मान्छे बन्ने भन्ने कुरा दिमागमा बस्छ। हाम्रोमा ठूलो मान्छे हुन धेरै धन हुनुपर्छ। त्यो धन कसरी प्राप्त गर्ने ? चोरचार र भ्रष्टाचार गरेर वा जसरी भए पनि भन्ने उत्प्रेरणा भइरहेको हुन्छ।

मनोवैज्ञानिक रूपमा हेर्दा कोही ठूलो हुन अरु कोही न कोही सानो हुनुपर्छ। तुलना नभई ठूलो-सानोको कुरा भएन। त्यसैले आफू ठूलो हुन अर्कोलाई सानो बनाउने, खुट्टा तान्ने अभ्यास संस्थागत भएको देखिन्छ। यस्तो सोचले पनि हामीलाई भ्रष्टाचार गर्न प्रेरित गरिरहेको हुन्छ।

बाल्यकालदेखि नै हामीमाथि डाक्टर, इन्जिनियर बन्ने सपना थोपरिन्छ, पैसा कमाउन, ठूलो हुँ भन्ने धाक लगाउन। यो पनि ठूलो बन्ने आसक्तिसँग जोडिएको हुन्छ। सामाजिक सञ्जालमा सन्तानको जन्मदिन लगायत शुभदिन/कार्यमा ‘मेरी छोरी डा. फलानो’ भनेर उल्लेख गरिरहेका हुन्छन्। मेरो छोरा/छोरी मात्रै भन्दा भइहाल्थ्यो। चाहिने ठाउँमा लेख्नुपर्छ तर जहाँ पनि डाक्टरले डामिदिनैपर्ने अभ्यास पनि ठूलो देखिने/देखाउने सोचकै उपज हो। माया-ममता र शुभेच्छा व्यक्त गर्न श्रीमान-श्रीमतीले पनि एकअर्कालाई डाक्टर सम्बोधन गर्नुपर्छ र ?

कुराकानीको सन्दर्भमा सुकरातदेखि अन्य दार्शनिक लगायतलाई ‘कोट’ गरेको सुन्छु। सुकरातले यसो भन्थे, फलानोले यसो भन्थे भनेर। म उनीहरूलाई सोध्छु- म तिमीसँग कुरा गर्दैछु कि सुकरात र फ्रायडसँग ? साथीभाइको आत्मीयताको अगाडि संवादमा किन सुकरात र फ्रायड ल्याउनुपर्‍यो ? हामी असाध्यै कृत्रिम बनिरहेका छौं।

कतिसम्म भने सुरुसुरुमा फेसबुक आउँदा मरेको मानिसले मुख बाइरहेको तस्वीर समेत पोस्ट गर्ने अभ्यास थियो। अहिले यो धेरै कम भइसकेको छ। समवेदना र संवेदनशीलता गुमाएर समवेदना व्यक्त गर्नुको के अर्थ हुन्छ र ?

नेपाल जाँदा मलाई कसैले सोध्यो, ‘के नेपालले विकास गरेको छ ?’ मैले भनेँ, ‘गरेको त छ तर चाहिने जति छैन।’ उनले थपे, ‘राष्ट्रिय योजना आयोगको उपाध्यक्षले कुर्सीमा बसेर सबैको हातहातमा मोबाइल छ, यो विकास नभए के त भनिरहेका थिए।’

मैले सोधेँ मात्रै, ‘अमेरिकाले अर्को केही आविष्कार गरिदिन्छ अनि नेपालले अर्को फड्को मार्छ ?’

नेपालमा गृहयुद्ध चलिरहेको बेला एकजना नेपाली उल्टो साइकल चलाएर अमेरिका आइपुगे। उनले त्यहाँ अत्यधिक सम्मान चाहे र नपाउँदा रिसाए पनि। उनलाई पनि ठूलो मान्छे हुने धोको रहेछ।

नेपालमा राणाकालमा दरबारका महिलाहरूको पहिरन तस्वीरमा देख्छौं। श्यामश्वेत तस्वीरमा पनि बेलायती घराना महिलाको जस्तै पहिरनसँग छुट्याउनै नसकिने देखिन्छ। सारी लगायत लगाउने त सामान्य मान्छेले हो। यो एकप्रकारले हाम्रो संस्कृति नै बन्दै आएको छ।

मनोवैज्ञानिक रूपमै मानिस शक्तिसँग बढी आकर्षित हुन्छ। हाम्रा ठूला सभ्यताले साना सभ्यतालाई निले। ठूला सभ्यता र शक्तिसँग आकर्षित हुनु स्वाभाविकै हो। अमेरिका शक्तिशाली छ र यसप्रति आकर्षित हुनुलाई अन्यथा भन्न मिलेन। मान्छेको ईश्वर भक्ति र पूजा-आजामा पनि ईश्वरको सर्वशक्तिमान सत्ताले काम गरेको छैन भन्न सकिन्न। मान्छे उसैमा लीन हुन चाहन्छ। अमेरिकाको जस्तो अवसर नेपालमै सिर्जना गर्न सकियो भने अमेरिकाप्रतिको यस्तो मरिहत्ते मोह घटेर जान्छ।

हामीमा एकप्रकारको लघुताभास देखिन्छ। अरुले प्रगति गर्दा हाम्रो मन खुम्चिन्छ। गरिब हुँदै गएपछि सोच्ने शैली नै बेग्लै हुँदै जान्छ। लघुताभासलाई जित्न पनि हामी बलियो, धनी नजिक हुन खोज्छौं। नेपालीको अमेरिका सपना समग्रमा एउटा जटिल विषय हो। यो अध्ययनको विषय बन्नुपर्छ। नक्कली भुटानी शरणार्थी प्रकरणलाई यिनै पृष्ठभूमिमा विश्लेषण गर्नुपर्छ।

अमेरिकामा के जुन नेपालमा छैन

म अमेरिका विश्वविद्यालयमा छात्रवृत्ति पाएर पढ्न आएको थिएँ। मेरो सुरुवाती सोच थियो- विद्यावारिधि सकेको भोलिपल्ट म नेपाल फर्कन्छु र विश्वविद्यालयमा पढाउँछु।

मेरा दुई सन्तान छन्। यहाँ उनीहरूले सित्तैंमा पढ्न पाए। मैले आफैंले सोधेँ, ‘मैले यस्तै शिक्षा मेरा सन्तानलाई नेपालमा दिन सक्छु ? मेरो तलबले नेपालमा मैले उनीहरूलाई पढाउन सक्छु ?’

कम्तीमा मेरा सन्तानले प्लस टुसम्म यहीं पढून् भन्ने लाग्यो। पछि उनीहरूलाई छाडेर नेपाल फर्कन सकिएन। म सन् १९८५ मा अमेरिका आएको, हुँदाहुँदै ३८ वर्ष भइसकेछ।

यहाँ केही सुविधा र सहुलियत छन्। थोरै कमाउन थालेपछि किस्तामा घरगाडी किन्न सक्नुहुन्छ। जुन सुविधा त्यतिबेला नेपालमा थिएन। नेपालमा एकमुष्ट रकम जम्मा पारेर घरगाडी किन्नुपर्थ्यो जुन सबैलाई सम्भव हुँदैनथ्यो।

आधुनिक अर्थशास्त्रले अमेरिकामा मर्ने बेलामा सम्पत्ति लैजाने त होइन तर बाँचुञ्जेल सुविधामा बाँच्ने अवसर सिर्जना गरिदिएको छ। राज्यले सामान्य नागरिकलाई पनि ऋण पत्याउँछ जसको बलमा आधारभूत सुविधा नागरिकले प्राप्त गर्न सक्छन्। यो सुविधा अमेरिकामा प्रायः सबैलाई मिल्छ।

नेपालमा पनि यस्तो अवसरको सिर्जना भयो भने अमेरिका आउन यति मरिहत्ते हुने थिएन।

एउटा काल्पनिक कुरा गरौं। मानौं कि नजिकै एउटा पहाडमा सुनखानी भेटियो। त्यसलाई प्रशोधन गरेर बेच्न खर्च चाहियो। नेपालमा केही गर्न सकिंदैन। अमेरिकामा मुद्रास्फीति नहुने हदसम्म पैसा छाप्यो र त्यसैलाई प्रयोग गरेर सुन प्रशोधन गरेर बेच्दै क्षतिपूर्ति दिन सकिन्छ। पहिला बढी छापेको पैसा नष्ट गरिदिन सकिन्छ। मान्छे पनि धनी भए, अर्थतन्त्रलाई पनि केही असर परेन। यसरी अमेरिकामा सम्पन्नता देखिन्छ।

नेपालका शासकहरूले खाने तलबमा विदेशमा शोषणमा परेका युवायुवतीको रगत–पसिना र बम्बईमा बेचिएका छोरीहरूको यौनको गन्ध आउँदैन ? उनीहरूलाई सम्झेर केही गर्नुपर्ने होइन ?

 यो काल्पनिक र अमूर्त उदाहरण हो। तर यसको एउटा सन्देश भने पक्कै छ। अमेरिका लगभग यस्तै गरिरहेको छ। नेपालमा यस्तो अर्थशास्त्र घोकेर बसिएको छ तर जीवन व्यवहारमा रूपान्तरण गर्ने ढंग र इच्छाशक्ति देखिंदैन। जसले आम नागरिकमा गरिबी र त्यसले पैदा गर्ने लघुताभास देखिन्छ।

यस्तो लघुताभास नेपालमा मात्र नभएर यो क्षेत्रमै देखिन्छ। कुनै बेला भारत संसारकै धनी देश थियो। भारतमा पहिला ग्रीकहरू गए, अलेक्जेन्डर गए, मुसलमानहरू गए, त्यसपछि ब्रिटिश गए। यी सबैबाट थिचोमिचोमा पर्दापर्दा देश गरिब भयो। हाम्रो महादेशमै विद्यमान न्यूनताभासको हिस्सेदार हामी पनि भएका छौं। त्यसबाट उठ्न निकै समय लाग्छ। किनकि लघुताभास र भ्रष्टाचार हाम्रो आदत र लत बनेको छ।

यसबारे सोचेर, ध्यान गरेर उक्सन सकिन्छ। राजनीतिक, सामाजिक र आर्थिक रूपमा उक्सिएपछि सायद यसको अन्त्य होला।

बर्मा गए कर्मसँगै

अमेरिका आए पनि नेपालीलाई ठूलो मान्छे बन्ने लत छुट्दैन। नेता बन्ने र नेतासँग नजिकिने अभ्यास टुट्दैन। २/४ जना नेपाली बसेर एउटा संगठन खोलिहाल्छन्। त्यसको उद्देश्य कोही नेता आउँदा बोलाउने, फोटो खिच्ने। नेपाल गएको बेला नेता भेट्ने बाटो खोज्यो। हल्काफुल्का ज्ञान दिए जस्तो पनि गर्‍यो। मेरो सबैतिर पहुँच छ भन्ने देखायो।

कति नेपाली अमेरिका आइपुगेर नेपालीबाटै ठगिएका उदाहरण पनि छन्। यद्यपि नेपालप्रति माया छ, मातृभूमिका लागि केही गरौं भन्ने भावना पनि छ। निस्वार्थ गरौं भन्ने पक्ष अलि कमजोर देखिन्छ। सिद्धान्ततः निस्वार्थ गर्नु अप्ठ्यारो काम पनि होला। सानोतिनो काम गरेर पत्रिका र सामाजिक सञ्जालमा छपाउने र अन्तर्वार्ता दिने अभ्यास हामीले देखिरहेकै छौं।

यता देशमा पनि न्यायको नारा लगाउँदै माओवादी उदय हुँदा मलाई धेरै पत्यार लागेको थिएन। तर कम्तीमा शिक्षा र न्यायका लागि काम गर्लान् भन्ने लागेको थियो। हुन त कम्युनिज्मको सफलता नै उनीहरूको असफलताको कारण बन्छ। जस्तो, उनीहरू गाँस, बास र कपासको कुरा गर्छन्। त्यही प्राप्त भएपछि नागरिकले स्वतन्त्रता खोज्छन्। पहिलो संविधानसभापछि मन्त्रिमण्डलमा जानेभन्दा माओवादीका नेताहरू गाउँ गएर काम गर्न रुचि राख्लान् भन्ने थियो। तर मन्त्री बन्न पो हानथाप गरे। शान्ति प्रक्रियामा आएको कम्तीमा एक दशक यस्तो हुँदैन भन्ने लागेको थियो, तर म गलत ठहरिएँ।

आखिर भ्रष्टाचार त हाम्रो आदत न हो। माओवादी पनि यही समाजबाट आएका। उनीहरू पनि पुरानै व्यवस्थामा क्रान्तिकारी ढंगले नै तीव्र अनुकूलन भए। उनीहरू पनि भ्रष्टाचारको संस्कृतिबाट बाहिर जान सकेनन्।

नपाउन्जेल चर्का कुरा गर्ने नयाँ पुस्ता पनि अवसर पाउनासाथ यही अभ्यासमा अनुकूलन हुन सक्छ। यसलाई रोक्न आलोचनात्मक चेत सहितको शिक्षा र सामाजिक सुरक्षा अनिवार्य हुन्छन्। आर्थिक अभावमा सरकारले नै नागरिकलाई ऋण दिन सक्छ।

आखिर भ्रष्टाचार त हाम्रो आदत न हो। माओवादी पनि यही समाजबाट आएका। उनीहरू पनि पुरानै व्यवस्थामा क्रान्तिकारी ढंगले नै तीव्र अनुकूलन भए। उनीहरू पनि भ्रष्टाचारको संस्कृतिबाट बाहिर जान सकेनन्।

सरकार छ, यसले सन्तानको शिक्षादीक्षा र भविष्यमा आइलाग्ने स्वास्थ्य लगायत समस्यामा साथ दिन्छ भन्ने विश्वास जगाउन सक्दा भ्रष्टाचारसँग देशबाट बाहिरिने क्रम पनि रोकिन्छ। अमेरिकाले दिइरहेको यो सुविधा नेपालले पनि दिनसक्छ। नेपालमा प्रविधि भित्र्याउँदै प्रयोगमा प्रोत्साहन गर्ने अभ्यास कमजोर छ। व्यवस्थापनको महत्व नबुझ्ने र नदेख्ने प्रवृत्ति पनि नेपालमा छ। त्यसको लागि राज्य चलाउनेसँग सोच हुनुपर्छ।

यसका लागि हामीले ठूला–ठूला परियोजनामा काम गर्नुपर्ने हुन्छ। उदाहरणको लागि, पूर्व मेचीदेखि महाकालीसम्म, जहाँ तराई सुरु हुन्छ र पहाड सकिन्छ, त्यहाँ ठूलो नहर बनाऔं। त्यहाँ पारवहन गर्न मिल्छ। रिक्रिएसन खोल्न मिल्छ। सिंचाइ त आधारभूत काम भइहाल्यो। तराईमा पानीको तह तलतल गएको बेला रिचार्ज पनि हुन्छ। खाली ठाउँमा पटक–पटक बिजुली निकाल्न सकिन्छ। धेरै मानिसले रोजगारी पाउँछन्। यसले अर्थतन्त्रलाई चलायमान बनाउँछ।

धेरैलाई यो वाहियात् परिकल्पना लाग्न सक्छ तर समृद्धिको यात्रा यसरी नै सुरु हुने हो। केही नगर्ने हो भने त ढुंगे र गुफा युगतिर फर्किए भइहाल्यो।

कोर् करेक्सनकसरी ?

सामान्यतः भ्रष्टाचार हुन्छ भनेर सोच्ने हो भने त्यसको कसरी न्यूनीकरण गर्ने भन्नेतर्फ उपाय सोच्नुपर्छ र तदनुरूप काम गर्नुपर्छ। कुनै पनि अन्य समस्या जस्तै भ्रष्टाचार पनि बहुआयामिक हुन्छ। त्यसैले यसको समाधान उपाय पनि बहुआयामिक नै हुन्छ। नेपालमा भ्रष्टाचार अब एउटा खराब लत वा आदतको रूपमा परिणत हुन लागेको जस्तो देखिन्छ।

रक्सी र चुरोट पिउनु राम्रो होइन भन्ने थाहा हुँदाहुँदै पनि मान्छेले यसलाई छोड्न सक्दैन। भ्रष्टाचार हामी नेपालीको आदत नै बनेको छ। आदत बनेको कुरा थाहै नपाई गरिन्छ। जस्तो कि हामी नेपाली स्वतः सिक्छौं, तर अंग्रेजी सिक्न अलि गाह्रो हुन्छ। भ्रष्टाचार यसैगरी आदत बनेको छ। कतिपयलाई भ्रष्टाचार गरेको छु भनेर थाहै हुँदैन।

सानैदेखि हाम्रो समाजमा बालबालिकालाई ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भनेर पढाइन्छ र महत्वाकांक्षी बनाउन सिकाइन्छ। समाजबाट हामीले धेरै कुरा सिक्छौं। अनुहार र आनीबानी अभिभावक र समाजबाट समेत बच्चामा सर्छ। भ्रष्टाचार समाजिक आदतमा परिणत भइसकेपछि एउटा पुस्तादेखि अर्को पुस्तामा थाहै नपाई स्वतः सर्छ। नेपाली समाज राणाशासन अघिदेखि नै भ्रष्ट देखिन्छ। बिहान–बेलुका धर्मकर्म गर्ने मानिसहरू दिनभरि ठगिरहेको देखिन्छ।

भ्रष्टाचार भइरहेको छ/गरिरहेका छौं भन्ने मानसिक रूपमै महसुस गराउन स्कुल, घर-परिवार मार्फत सिकाउनुपर्छ। सानो छउन्जेल बच्चालाई स्कुलमा शिक्षकले र ठूलो भएपछि छोरोलाई बुहारीले ठिक पारिदिए हुन्थ्यो भन्ने सोच हाम्रो समाजमा पाइन्छ। त्यसैले बालबालिकालाई सानैदेखि बेग्लैखाले शिक्षा दिनुपर्छ।

यस्ता अभ्यासहरू हामीले आलोचनात्मक सोचका साथ बदल्नुपर्ने हुन्छ। शिक्षकले भनेका कुरा हामी ब्रह्मवाक्यका रूपमा स्वीकार्छौं। हामीले प्रयत्न गर्‍यौं भने निश्चित समयपछि हाम्रो सोच बदल्न सक्छौं। आदत र लत बदल्न पहिला महसुस हुनुपर्छ, जसरी शरीर फोहोर भयो भन्ने स्वीकारोक्ति पछि हामी नुहाउँछौं।

नयाँ पुस्ताले आलोचनात्मक सोच राख्नुपर्छ। पाठ्यक्रममा नै यसलाई सिकाइनुपर्छ। हाम्रो खराब आदत र लतलाई जरैदेखि भत्काउने महत्वपूर्ण औजार सही शिक्षा नै हो, गलत शिक्षाले हामीलाई गलत बाटोमा हिंडाउँछ।

पहिले पहिले जिल्लाको सीमा पार गरेर गएपछि फर्कंदा पानी छर्केर चोख्याउने चलन थियो। भूमण्डलीकृत आजको संसारमा यो चल्दैन। मानिसको आवतजावत रोक्न सकिन्न। रहर भन्दा बाध्यताले बाहिर जानेहरू धेरै छन्। हामी अमेरिकाको कुरा गरिरहेका छौं। बम्बईमा नेपाली चेलीहरू बेचिन थालेको कति भयो ? एक जना कुनै एक युवा पत्रकारले कतै लेखेको पढेको थिएँ, ‘मसँग मेरो बाबुआमा खुशी छैनन्। म छोरी हुन्थें भने बम्बई गएर बाबुआमालाई खुशी दिने थिएँ। उहाँहरू म छोरो भएकोमा खुशी हुनुहुन्न।’ यो मर्मस्पर्शी भनाइ पढ्नुपर्ने कति दुःखद अवस्था छ हामीसँग।

कुनैबेला लाहुर जाने कुरा रोक्नुपर्छ, अर्काको देशमा रगत–पसिना बगाउन जाने अभ्यास बन्द गरिनुपर्छ भनेर आवाज उठाइन्थ्यो। अहिले पैसा दिएर, भिसा लगाएर मिडल इष्ट (खाडी मुलुक)मा काम गर्न पठाउँछन्। त्यहाँ पसिना मात्र होइन, अनेकौं शोषणमा परेका हजारौं उदाहरण छन्।

नेपालका शासकहरूले खाने तलबमा विदेशमा शोषणमा परेका युवायुवतीको रगत–पसिना र बम्बईमा बेचिएका छोरीहरूको यौनको गन्ध आउँदैन ? उनीहरूलाई सम्झेर केही गर्नुपर्ने होइन ? हाम्रो सोच र आलोचनात्मक चेतको कारणले यी सबै भइरहेको छ।

हाम्रो अर्थतन्त्र नै रेमिटेन्सले चलिरहेको छ। यो बन्द भयो भने देश कसरी चल्छ ? यो कुरा कसैले सोचेको छ ? वैदेशिक रोजगारीले परिवार र सामाजिक संस्थाहरूको विघटन र दम्पती बीचमा पैदा भएको असमझदारी र सम्बन्धविच्छेदको दर्दनाक कहानी छँदैछन्। बाकसमा फर्कनुपरेको लगायत हृदयविदारक घटनाहरू सामान्य बनिरहेका छन्।

यसले देशभित्र र बाहिर रहेका सबै नेपालीलाई घच्घच्याउनुपर्ने हो र केही गर्नुपर्ने हो। तर यस्तो भइरहेको छैन। नयाँ पुस्ता आइरहेको छ। दुई-चार पुस्तापछि केही बदलाव आउँछ कि ? नयाँ पुस्ताले आलोचनात्मक सोच राख्नुपर्छ। पाठ्यक्रममा नै यसलाई सिकाइनुपर्छ। हाम्रो खराब आदत र लतलाई जरैदेखि भत्काउने महत्वपूर्ण औजार सही शिक्षा नै हो, गलत शिक्षाले हामीलाई गलत बाटोमा हिंडाउँछ।

जहिले पनि शासकहरू अरुभन्दा शिक्षित नै हुन्छन्। महाभारत र हाम्रा आदिम अभ्यासहरूमा यही देखिन्छ। राणाशासन भनौं वा अन्य व्यवस्थामा अशिक्षित भन्दा सापेक्ष रूपमा शिक्षितले नै शासन गरे। शासक नजिक भएर शासन–प्रशासन चलाउने उनीहरू नै हुन्थे।

शक्ति रहेसम्म आकर्षण रहन्छ

अमेरिकातिरको आकर्षण शक्तिकै कारण हो। अमेरिकाको शक्ति रहेन भने यतातिरको आकर्षण कम हुन्छ। शक्ति र सभ्यता पश्चिमबाट पूर्वतिर सर्ने हो भने अमेरिका मोह घट्छ। दक्षिणपन्थी सोच संसारभरि नै देखिएको छ। सूचनाप्रविधिको विकासले संसारको कुनै स्थानमा भएको घटना वा गतिविधि संसारभरि क्षणभरमै फैलन सक्छ।

सामान्यतः ७० को दशकमा इराकमा खुमेनी आएपछि दक्षिणपन्थी हावा चल्न सुरु भयो। कुनैबेला संसारभरि नै कम्युनिज्म आउँछ भनेजस्तो थियो। सोभियत संघ, चीनहुँदै पूर्वी-युरोपसम्म कम्युनिस्ट थिए। अहिले ती रहेनन्। कुनैबेला फ्रायडिन दृष्टिकोण अनुसार विश्लेषण गर्नेहरूको लहर थियो। बीपी कोइरालाका कैयौं उपन्यासमा यसैको प्रभाव देखिन्छ। अहिले भने दक्षिणपन्थी लहर देखिन्छ।

विस्तारै पूर्वी गोलार्धका देशहरू शक्तिशाली बन्दै गइरहेका छन्। शक्तिशालीतिर आकर्षण बढ्दै जान्छ। भारत शक्तिशाली बन्दै गयो भने भारतमोह बढ्न सक्छ। तर अझै लामै समय अमेरिका आकर्षण रहिरहनेछ।

(हार्वर्ड युनिभर्सिटी र युनिभर्सिटी अफ फ्लोरिडाको पूर्वप्राध्यापक गौतमसँग सुदर्शन खतिवडाले गरेको कुराकानी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?