+
+
सन्दर्भः मदन स्मृति दिवस :

जननेता मदन भण्डारीसँग १४ वर्ष १० महिना

हामीले सहभागीहरूकै तर्फबाट थप सुरक्षा व्यवस्था गर्‍यौं । यसका लागि हामीहरूले आफूसँग भएका दुई थान बन्दूक प्रयोग गर्ने निधो भयो । मदन पनि विश्वस्त भएर बन्दुक चलाउन सक्नुहुन्छ भन्ने कसैलाई थाहा थिएन । तर, जब मदनले बन्दुक समातेर पोजिसन लिनुभयो, सबै चकित भए ।

ईश्वर पोखरेल ईश्वर पोखरेल
२०८० जेठ ३ गते ६:२२

यकिन सम्झना छैन । २०३५ को असार अन्तिमतिर वा साउन लागिसकेको हुनुपर्छ । मध्य वर्षात्मा हराभरा बनेका खेतबारी र वनबुट्यानले गर्मीयामको खपिनसक्नु उष्णता रोक्न सकिरहेको थिएन । म भने कहिल्यै नगएका–नपुगेका बस्तीहरू छिचोल्दै पार्टीका एकजना स्थानीय कार्यकर्तासँग मोरङको इटहरा गाउँ खोज्दै हिंडिरहेको थिएँ ।

मेरो यात्रा ‘झापाली क्रान्तिकारी लाइन’ बाट प्रभावित भई ‘को–अर्डिनेशन केन्द्र’ (कोके) मा भर्खरै सामेल भएका ‘मुक्तिमोर्चा’ समूहका एक जना क्रान्तिकारी– ‘जीवन शर्मा’ लाई कोकेको ‘तेस्रो सम्मेलन’मा सहभागी गराउने उद्देश्यबाट निर्देशित थियो ।

कुरा के थियो भने– पुष्पलालले नेतृत्व गरेको कम्युनिष्ट पार्टी ‘मोर्चा संगठन’ सित सम्बन्धित अधिकांश नेता–कार्यकर्ताले भर्खरै विद्रोह गरेका थिए । नेतृत्वको ‘अवसरवादी आचरण’ लाई कारण देखाउँदै विद्रोह गरेर उनीहरू ‘झापाली क्रान्तिकारीहरू’ ले गठन गरेको ‘को–अर्डिनेशन केन्द्र’ मा सामेल हुने घोषणा गरिरहेका थिए ।

उनीहरूको संगठन ‘मुक्ति–मोर्चा’ को नामले चिनिन्थ्यो । ‘जीवन शर्मा’ त्यही समूहका एकजना अगुवा हुनुहुन्थ्यो र म उहाँलाई सम्पर्क गरी ४–५ साउन २०३५ मा हुन लागेको ‘कोके’को ‘तेस्रो सम्मेलन’मा सहभागी गराउन गइरहेको थिएँ ।

सोध्दै–खोज्दै, रात–साँझ गर्दै म ‘जीवन शर्मा’ को गाउँ इटहरा पुगें । एकदिनको पर्खाइपछि कालो टोपी, फिक्का आकाशे रंगको टेरिकटनको सर्ट र हाफ प्यान्ट लगाएको, जुँगा पालेको र कम्मरमा खुकुरी भिरेको एउटा नौजवानलाई मैले भेटें । आखिर ‘जीवन शर्मा’ को नामले मसँग चिनाइएका ती व्यक्तित्व नै मदन भण्डारी हुनुहुँदोरहेछ– जुन कुरा पछि मात्रै मैले थाहा पाएँ ।

****

‘कोके’को ‘तेस्रो सम्मेलन’ अत्यन्त कडा सुरक्षाका बीचमा भइरहेको थियो । हाम्रो कार्यक्रमको छनक पाएर पञ्चायती व्यवस्थाका पुलिसहरू बाहिर बाक्लो गस्तीमा थिए । कार्यक्रम स्थलमा कुनबेला छापा मारिने हो भन्ने ठेगान थिएन । तर, कुनै पनि बेला छापा मारिन सक्थ्यो । जनस्तरबाट तह–तहमा सुरक्षा प्रबन्ध त हामीले गरेका थियौं, तर त्यसले पुलिसको अस्वाभाविक आक्रमणको संभावना टार्न सकिन्नथ्यो ।

हामीले सहभागीहरूकै तर्फबाट थप सुरक्षा व्यवस्था गर्‍यौं । यसका लागि हामीहरूले आफूसँग भएका दुई थान बन्दूक प्रयोग गर्ने निधो भयो । ती बन्दूक प्रयोग गर्ने जानकार साथीहरूको छनोट गरियो, जसमा रत्नकुमार वान्तवा, मदन भण्डारी र संखुवासभाबाट आउनुभएका वासु शाक्यको टीमलाई जिम्मेवारी तोकियो ।

रत्न र वासुका बारेमा त साथीहरूले केही केही बुझ्नुभएको थियो तर मदन पनि विश्वस्त भएर बन्दुक चलाउन सक्नुहुन्छ भन्ने कसैलाई थाहा थिएन । तर, जब मदनले बन्दुक समातेर पोजिसन लिनुभयो, सबै चकित भए ।

पार्टी स्थापनाको दिनमै रामचन्द्र–अशेश्वरहरूको उग्रवामपन्थी र दक्षिणपन्थी चिन्तनको सामना गर्नुपरेको थियो । त्यसको प्रतिवादमा मदनले सक्रियताका साथ भूमिका खेल्नुभयो । हामीले केही समयभित्रै यी दुवै विचारलाई निष्प्रभावी बनायौं ।

यद्यपि, सम्मेलनले भिडन्तको सामना गर्नुपरेन । कार्यक्रम सुरक्षित र सफलतापूर्वक सम्पन्न भयो । मदनले भने हामी सबैमा एउटा नयाँ छाप छोड्नुभयो– वैचारिक रूपमा त उहाँ प्रखर नेता हुनुहुन्थ्यो नै, आवश्यक परे भौतिक लडाइँका निम्ति पनि तयार नेताका रूपमा हामीले उहाँलाई बुझ्यौं ।

****

‘कोके’को संगठन विस्तारमा मदनको भूमिका सशक्त थियो । मेची–कोशी अञ्चलका दक्षिणतिरका जिल्ला समेटेर ‘पूर्व–दक्षिण क्षेत्र’ नामको सांगठनिक संरचना खडा गरियो, जसको प्रमुख स्वयं मदन हुनुहुन्थ्यो । आफ्नो क्षेत्र अन्तर्गत पर्ने सबै जिल्लामा नेतृत्वदायी कमिटीहरूलाई पुनः व्यवस्थित गर्ने काम मदनले पूरा गर्नुभयो ।

११–१४ पुस २०३५ मा ‘कोके’ को राष्ट्रिय सम्मेलनबाट ‘नेकपा (माले)’ को जन्म भयो । मोरङको इटहरा (हाल रतुवामाई नगरपालिका–९, मोरङ) मा स्थानीय आधारभूत वर्गका किसानहरूको बस्तीमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । व्यवस्थापनको नेतृत्व मदनले गर्नुभएको थियो ।

यो सम्मेलन चलिरहँदा संखुवासभामा पञ्चायती व्यवस्थाले हरि नेपाल र चन्द्र पुरीको हत्या गर्‍यो । यही बेला पार्टीका सिनियर नेताहरू रामचन्द्र यादव र धनुषा जिल्ला कमिटी सदस्य अशेश्वर यादवले उग्रवामपन्थी चिन्तनको वकालत गरे । त्यहीबेला अर्को कोणबाट केही साथीहरूले ‘कोके’ ले उग्रवामपन्थता त्याग्न नसकेको भन्दै विसर्जन उन्मुख विचार पनि अघि सारेका थिए ।

यसरी पार्टी स्थापनाको दिनमै रामचन्द्र–अशेश्वरहरूको उग्रवामपन्थी र दक्षिणपन्थी चिन्तनको सामना गर्नुपरेको थियो । त्यसको प्रतिवादमा मदनले सक्रियताका साथ भूमिका खेल्नुभयो । हामीले केही समयभित्रै यी दुवै विचारलाई निष्प्रभावी बनायौं ।

****

२०४६ भदौमा सिरहाको सर्रेअम्बास (हाल धनगढीमाई नगरपालिका) मा सम्पन्न नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन सर्वसम्मत महासचिवमा निर्वाचित हुनुभयो । त्यही सालको अन्त्यतिर भएको ऐतिहासिक जनआन्दोलनपश्चात् खुला भएका राजनीतिक पार्टीहरू वैधानिक ढंगले काम गर्न सक्ने भएका थिए । परिवर्तित राजनीतिक अवस्थामा आफ्नै पार्टीभित्र र मुलुकभित्रै देखिएका समकालीन नेताहरूमध्ये पृथक् उचाइका साथ मदन सार्वजनिक हुनुभएको थियो । उहाँमाथि सबैको नजर गडेको तथ्यलाई त्यसबेला सहजै बुझ्न सकिन्थ्यो ।

उक्त महाधिवेशनले मुलुकमा विद्यमान राजनीतिक अवस्थामा परिवर्तन ल्याउन दुइटा महत्वपूर्ण विषयमा नीतिगत निर्णय गरेको थियो । पहिलो, वाममोर्चा गठन गर्नुपर्ने आवश्यकता । विभिन्न वामपन्थी समूहलाई सके एउटै पार्टीमा, नसके पनि एउटै मोर्चामा ल्याउनैपर्छ भन्ने मान्यता थियो मदनको ।

किनकि सिद्धान्त, कार्यक्रम र अन्य कतिपय विषयहरूमा एउटै धारणा र मान्यता भएका तर कार्यनीतिक प्रश्नहरूमा भने एकठाउँमा नआइसकेका वाम समूहलाई मित्रवत् बहस, छलफल गर्दै नजिक रहने अवस्था सिर्जना गर्नुपर्छ भन्ने मान्यता पनि थियो– उहाँको । छरिएका वाम पार्टीहरूलाई गोलबन्द गर्न सक्नुपर्छ, त्यही संयुक्त शक्तिका बलमा मुलुकमा राजनीतिक परिवर्तन ल्याउनुपर्छ भन्ने निष्कर्षमा हुनुहुन्थ्यो– मदन ।

अर्को, प्रधान राजनीतिक शत्रुका रूपमा रहेको निरंकुश र निर्दलीय पञ्चायती व्यवस्थाका विरुद्धमा रहेका सबै शक्तिसित सहकार्य गर्ने, यस अन्तर्गत नेपाली कांग्रेससित पनि निरंकुशता र निर्दलीयता विरोधी संघर्षमा कार्यगत एकता गर्ने प्रस्ताव थियो, उहाँको ।

अर्को ज्यादै महत्वपूर्ण कुरा के थियो भने– कार्यक्रमिक सोचमा नवीनता । परम्परागत ढंगले अघि बढाउँदै आएको नौलो जनवादी कार्यक्रमलाई अन्तर्वस्तु र सूत्रीकरणमा समेत परिवर्तन गरी ‘बहुदलीय प्रतिस्पर्धा सहितको जनवादी व्यवस्था’ अगाडि सारिएको थियो ।

मदन महासचिव जस्तो गरिमामय र जिम्मेवार पदमा पुग्ने कुरा कसरी सम्भव भयो ? त्यसबेला उहाँ केवल ३९ वर्षको मात्रै हुनुहुन्थ्यो ।

यही मान्यता र सूत्रीकरणको जगमा उभिएर २०४९ को पाँचौं राष्ट्रिय महाधिवेशनमा पार्टीको कार्यक्रमलाई ‘जनताको बहुदलीय जनवाद’ को रूपमा अघि सारिएको थियो । यिनै मान्यता र निष्कर्षका आधारमा तत्कालीन माले पार्टीले त्यसअघि २०४६ सालको संयुक्त जनआन्दोलनमा महत्वपूर्ण र निर्णायक भूमिका खेल्न सकेको थियो ।

२०४० सालसम्म मदन केन्द्रीय सदस्य मात्रै हुनुहुन्थ्यो । तर बैठकहरूमा उहाँको उपस्थिति र त्यहाँ वैचारिक छलफलहरूमा स्पष्ट दृष्टिकोणका साथ गम्भीर सहभागिताका कारण उहाँ सबैको केन्द्र बन्दै जानुभयो । २०३९ सालमा सीपी मैनालीसँगको विवादपछि महासचिव बन्नुभएका झलनाथ खनालको अगुवाइमा पोलिटब्यूरो र मदनको अगुवाइमा जस्तो भएको थियो केन्द्रीय कमिटी ।

बैठकमा बहस, छलफल हुँदा म लगायत अरू कति साथीहरू मदनले अगुवाइ गर्ने बहसमा पक्ष भएर उभिंदा गौरवबोध हुन्थ्यो । पछिपछि त उहाँकै विश्लेषण र दृष्टिकोण नै यति प्रभावी बन्दै जान थाल्यो कि उहाँलाई पोलिटब्यूरोमा ल्याउनै पर्ने भयो ।

मदन पोलिटब्यूरो सदस्य बनेपछि तुरुन्तै पार्टीभित्र वैचारिक नेताका रूपमा स्थापित हुनुभयो । राजनीतिक छलफल थप सशक्त र जीवन्त बन्दै गयो । विगतको समीक्षा गर्ने, पार्टी परिचालनमा योजना निर्माण र कार्यक्रमिक विषयहरूलाई अद्यावधिक गर्ने सवालमा उहाँको क्षमता प्रकट हुन थाल्यो । उहाँका यिनै क्षमताले २०४६ को चौथो महाधिवेशनबाट मदन सर्वसम्मतिका साथ पार्टीको महासचिव चयन हुनुभएको थियो ।

मदन महासचिव जस्तो गरिमामय र जिम्मेवार पदमा पुग्ने कुरा कसरी सम्भव भयो ? त्यसबेला उहाँ केवल ३९ वर्षको मात्रै हुनुहुन्थ्यो । कतिपय मानिसले, यहाँसम्म कि अहिले एमालेभित्रकै कतिपयले समेत मदनको यो विकासक्रमलाई राम्ररी बुझ्नसकेका छन् जस्तो लाग्दैन । मदनको व्यक्तित्व र भूमिकाका सम्बन्धमा आ–आफ्नै धारणा राख्नेहरूको संख्या काफी छ । अझ कतिपयले त उहाँलाई भावनात्मक हिसाबले मात्र बुझिरहेका छन् जस्तो लाग्छ ।

तर, मदन भण्डारीलाई बुझ्नु एउटा व्यक्तिलाई बुझ्ने जस्तो मात्र कुरा होइन, यो त आन्दोलन र कम्युनिष्ट आन्दोलनभित्रका सही विचारको विकासक्रमलाई कसरी बुझ्ने वा बुझ्नुपर्छ भन्ने विषय पनि हो । मदन कम्युनिष्ट आन्दोलनभित्रको व्यक्ति मात्र नभएर, विचार–प्रवृत्तिको अगुवा प्रतिनिधि र सशक्त आन्दोलनको वाहक पनि रहनुभयो ।

पूर्वीय साहित्य, दर्शन तथा मार्क्सवादी साहित्यको गहन एवं समीक्षात्मक अध्ययनका साथै तिनको सिर्जनात्मक प्रयोग गर्ने प्रतिबद्धताले विकसित भएको व्यक्तित्व थियो– मदन भण्डारीको । नेकपा (एमाले) को महासचिवको जिम्मेवारी लिने स्थानसम्म आइपुग्दाको यात्राक्रमलाई फर्केर हेर्दा मैले उहाँमा रहेको त्यो क्षमतालाई अत्यन्त बेजोड मानेको छु ।

****

मदन पनि राधाकृष्णसँग आक्रोशित नै बन्नुभयो । यही ‘सेन्टिमेन्ट’मा चैत २६ गतेको ऐतिहासिक र संयुक्त विजय सभामा राधाकृष्णलाई सभास्थलबाट बाहिर ल्याइयो र बोल्न दिइएन । अहिले मलाई एउटा प्रश्नले सधैं लखेटिरहन्छ– त्यसबेला मदन सहितका हामीहरूले राधाकृष्णप्रति विवेक पुर्‍याउन सकेका थियौं कि थिएनौं ?

मुलुक ऐतिहासिक जनआन्दोलनको सम्मुखमा थियो । योजनाहरूको कार्यान्वयनमा सामञ्जस्यता, पार्टी शक्तिको सही विन्यास, आवश्यक र सम्भव सबै राजनीतिक शक्तिका बीचमा समन्वय आदि विषयमा मदनको नेतृत्वले कांग्रेस र वामपन्थीबीच सहकार्यको मार्गचित्र तय गर्‍यो। उहाँको यही वस्तुनिष्ठ विश्लेषणमा आधारित नेतृत्वले २०४६ सालको ऐतिहासिक जनआन्दोलन सफल बनाउन निर्णायक भूमिका निर्वाह गर्‍यो।

आन्दोलन अगाडि बढाउन हामीबीचमा समन्वयका लागि छलफल हुन्थ्यो । तर प्रक्रियाको ढिलाइले र विषयलाई बोक्ने प्रतिनिधिको कमजोरीका कारण केन्द्रमा राम्ररी समन्वय हुन सक्दैनथ्यो । कतिपय बेला त विषयको सार समेत मरिसक्थ्यो । धेरैपटक त्यस्तो समन्वय केन्द्रमा खटिएका राधाकृष्ण मैनालीसँग फिल्डमा काम गर्नेहरूको समूह खासगरी मदन, केपी शर्मा ओली, माधवकुमार नेपाल र मेरो ठाकठुक परिरहन्थ्यो ।

म त्यसबेला काठमाडौं उपत्यकामा आन्दोलन परिचालनको प्रमुख थिएँ । २६ चैत २०४६ को राजा, कांग्रेस र वाम मोर्चासँगको त्रिपक्षीय सम्झौतामा जसरी राधाकृष्ण मैनालीले ‘माले’को तर्फबाट भूमिका खेल्नुपर्ने थियो, त्यस्तो गर्न नसकेको, दक्षिणपन्थी अवसरवादी रुझान राखेको भन्ने हामीलाई लागेको थियो । हाइकमाण्डसँग परामर्श नगरी वा दिइएको निर्देशन विपरित सम्झौताका लागि लहसिएको आरोप लाग्यो ।

मदन पनि राधाकृष्णसँग आक्रोशित नै बन्नुभयो । यही ‘सेन्टिमेन्ट’मा चैत २६ गतेको ऐतिहासिक र संयुक्त विजय सभामा राधाकृष्णलाई सभास्थलबाट बाहिर ल्याइयो र बोल्न दिइएन । अहिले मलाई एउटा प्रश्नले सधैं लखेटिरहन्छ– त्यसबेला मदन सहितका हामीहरूले राधाकृष्णप्रति विवेक पुर्‍याउन सकेका थियौं कि थिएनौं ? मदन आफैं यसबेला रहनुभएको भए यो प्रसंगका बारेमा कसरी सोच्नुहुन्थ्यो होला ?

२०४७ सालमा नेकपा (माले) र मनमोहन अधिकारीले नेतृत्व गर्नुभएको मार्क्सवादी समूहका बीचमा एकीकरण हुने स्थिति बन्यो । मदन यी दुई समूहका बीचमा एकीकरण गराएर कम्युनिष्ट आन्दोलनमा ‘इतिहास र ऊर्जाको सम्मिश्रण’ गराउने पक्षमा हुनुहुन्थ्यो ।

दुई अलग धार, पृष्ठभूमि र वैचारिक मान्यता लिएर अघि बढेका कम्युनिष्ट समूहका बीचमा एकता गर्नु अत्यन्त जिम्मेवारीपूर्ण काम थियो । तर यही काम पूरा गरिछाड्ने संकल्प लिएर मदनले मनमोहन अधिकारीलाई पार्टी अध्यक्ष बनाउने कुराको पक्षपोषण गर्नुभयो । आफू महासचिव बनेर पार्टीलाई नेतृत्व दिने कुरामा उहाँ संकल्पबद्ध हुनुहुन्थ्यो ।

यसपछि मनमोहन अधिकारीलाई साथमा लिएर देशव्यापी रूपमा एकीकरणको सन्देश सभाहरू गर्दै मदन निस्कनुभयो । सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म मनमोहन अधिकारी लगायत नेताहरूलाई साथमा लिएर उहाँ एउटा राष्ट्रिय अभियानमा निस्कनुभएको थियो । नेकपा (एमाले) एउटा नयाँ र उदीयमान शक्तिका रूपमा एउटा अभियान बनेर देशव्यापी रूपमा निस्केको थियो, मदनको नेतृत्वमा । त्यो अभियानले मुलुकमा एउटा राजनीतिक तरंग मात्र होइन, एमाले नामको एउटा नयाँ शक्तिलाई स्थापित गर्‍यो ।

तीव्र वैचारिक बहसकै बीचमा २०४९ माघमा एमालेको पाँचौं राष्ट्रिय महाधिवेशन आयोजना गरिएको थियो । त्यो राष्ट्रिय महाधिवेशनले मदनको नेतृत्वमा जुन विचारलाई (जनताको बहुदलीय जनवाद) अत्यधिक बहुमतले पारित गरेको थियो त्यसले मुलुकको प्रजातान्त्रिक, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनलाई क्षमताका साथ नेतृत्व गर्ने उद्घोष गरेको थियो । विचारको उत्कृष्ट प्रस्तुतिले महाधिवेशनका सहभागीहरूको ठूलो समर्थनमा मदन भण्डारी एमालेको महासचिव चुनिनुभयो ।

****

आम निर्वाचनमा भर्खरै कांग्रेसका लोकप्रिय नेता एवं प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गर्ने मदनले बहुदलीय जनवादको व्याख्या, पार्टी, समाज र राज्यको लोकतन्त्रीकरण, मार्क्सवादलाई नेपालको विशिष्टतामा विकास गर्नुपर्ने मान्यता अघि सार्नुभएको थियो ।

उहाँले कार्यक्रमको यो सार र सूत्रीकरण अघि सारिरहँदा मूलतः तीनवटा कुरालाई मुख्य आधार मान्नुभएको थियो । पहिलो, नेपालकै कम्युनिष्ट आन्दोलनका अग्रजहरूले लिएका सकारात्मक विचारहरूको उन्नत निष्कर्ष । दोस्रो, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका नकारात्मक अनुभवका निचोड । र, तेस्रो दर्शन र सिद्धान्तले अगाडि सारेका द्वन्द्वको सर्वव्यापकता सम्बन्धी मान्यता ।

मैले अहिले पनि राम्ररी बुझ्न नसकेको एउटा प्रसंगको सम्झना भइरहन्छ । पाँचौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको दशरथ रंगशालामा बीसौं हजार जनताका बीचमा आयोजना गरिएको थियो । प्रतिनिधि, पर्यवेक्षक र आम जनताको त्यो विशाल उपस्थितिले मदनलाई खोजिरहेको थियो, उहाँलाई सुन्न चाहिरहेको थियो । विदेशी पाहुनाहरू समेत मदनलाई सुन्न लालायित देखिन्थे ।

तर अचम्म ! मदनले हजारौंको त्यो उपस्थितिमा बोल्न पाउनुभएन । त्यहाँ मनमोहनले बोल्नुभो, माधव, झलनाथ र सीपीले समेत बोल्नुभो तर मदनले बोल्न पाउनुभएन । मदनले बोल्नुपर्छ भनेर मैदानमा बस्नेहरू कराइरहेका थिए, तर पनि उहाँले बोल्ने अवसर नै जुरेन । यसमा कसको योजना र कुन मनोविज्ञानले काम गरेको थियो कुन्नि ?

उद्घाटन सभा सकेर मदन र म सँगै फर्किएका थियौं । उहाँले आफू चढ्नुभएकै गाडीमा मलाई पनि बस्न आग्रह गर्नुभयो । उद्घाटन सभामा आफूलाई बोल्न नदिएको बारेमा मुखै खोलेर त केही बोल्नुभएन तर पार्टीमा भित्रभित्रै मौलाउन खोज्दै गरेको अस्वस्थताका बारेमा केही संकेत भने गर्नुभयो । यी सबै कुराका बावजुद पनि महाधिवेशनको बन्दसत्रमा उहाँले प्रस्तुत गर्नुभएका विचार, योजना र नेतृत्वको सानदार विजय भएको थियो ।

****

२०४८ सालको आम निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभामा बहुमत प्राप्त गरेको थियो, जसले उसभित्र भनिनसक्नुको उन्माद जन्मायो । कांग्रेसको सर्वसत्तावादी चिन्तन र एमाले प्रमुख प्रतिपक्षी बनेको यथार्थलाई पनि स्वीकार गर्न नसक्ने, त्यस हिसाबले मान्यता समेत दिन नचाहने उसको व्यवहारका कारण राजनीतिक मूठभेडको स्थिति बन्यो ।

गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा कांग्रेसभित्र देखापरेको अलोकतान्त्रिक चरित्र र गतिविधिका विरुद्ध एमाले लगायत प्रतिपक्षीहरू मात्र नभएर स्वयम् कांग्रेसभित्रै पनि विरोध हुन थालेको थियो, जसको अगुवाइ कांग्रेसकै सर्वोच्च नेता गणेशमान सिंहले गर्नुभएको थियो । गणेशमानजीकै आग्रहमा यस मोर्चाबन्दीको एउटा महत्वपूर्ण भूमिकामा मदन भण्डारी रहनुभएको थियो ।

यस सिलसिलामा मदनको गणेशमानजीसित धेरैपटक भेटघाट र छलफल भएका थिए । मलाई लाग्छ, केही महत्वपूर्ण योजनाहरू समेत बनेका थिए । १ जेठ २०५० मा मदन र मेरो लगभग एक घण्टा जतिको भेटमा उहाँले यही जानकारी तथा अन्य केही संभावित विषयहरूतर्फ पनि संकेत गर्नुभएको थियो ।

गणेशमानजीसित त्यसबीच पटक–पटक भएका भेटघाटबारे जानकारी गराउँदै आफू काठमाडौं बाहिर रहेका बेला मलाई सम्पर्क विन्दुका रूपमा रहन निर्देशन दिनुभयो । त्यस प्रयोजनका लागि मदनले मेरो कोठाको ल्याण्डलाइन टेलिफोन नम्बर गणेशमानजीलाई दिनुभएको थियो ।

अनि कुनै पनि बेला उहाँहरूले सम्पर्क गरेपछि आफूलाई तुरून्त सूचना गर्न विभिन्न मितिमा आफू पुग्ने ठाउँ र सम्पर्क गर्नुपर्ने व्यक्तिबारे विवरण सहितको एउटा टिपोट दिनुभएको थियो । मैले त्यसबेला मदनले भन्नुभएका सबै विषयलाई गम्भीरताका साथ सुनिरहें, आवश्यक केही केही कुराहरू नोट गरें र आफूलाई लागेका केही विषयका बारेमा जिज्ञासा राखेको थिएँ ।

मदनको निर्देशन थियो– यी धेरै गम्भीर र दूरगामी महत्व राख्ने विषय हुन्, गोपनीयता बचाउनुहोला, मैले दिएको मेरो कार्यक्रमको चिट पनि सुरक्षित राख्नुहोला । हामीबीच कुराकानी सकिनासाथ मदन कास्की जिल्ला अधिवेशन उद्घाटनका लागि हिंड्ने तयारीमा लाग्नुभयो । म मदनलाई शुभ–यात्रा भन्दै आफ्नो ज्ञानेश्वरको कोठातिर लागें । २०३५ असारमा पहिलो पटक भेटेको मदनसँग १ जेठ २०५० बिहान साढे आठ बजेपछि फेरि कहिल्यै भेट भएन !

मदन भण्डारीसितको १४ वर्ष १० महिनाको लामो निरन्तरको सम्बन्ध, सहकार्य अनि मित्रता र सान्निध्यतामा अत्यन्त विश्वास, आत्मीयतामा एउटै कमिटीका सदस्य र सहयोद्धा कमरेडको रूपमा बिताएँ । ती मेरो राजनीतिक जीवनमा अत्यन्त महत्व राख्ने प्रेरणादायी दिनहरू हुन्, जसलाई म कहिल्यै बिर्सन सक्दिनँ ।

हार्दिक श्रद्धाञ्जली जननेता मदन भण्डारी !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?