+
+

पासाङ ल्हामुका श्रीमान सोनामले गरे सगरमाथाको सफल आरोहण

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३ गते १२:२८

३ जेठ, काठमाडौं । राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पाका श्रीमान लाक्पा सोनाम शेर्पाले सगरमाथाको सफल आरोहण गरेका छन् । शेर्पा अध्यक्ष रहेको कम्पनी थामशेर्कु ट्रेकिङका अनुसार उनले बुधबार बिहान साढे ७ बजेको समयमा सगरमाथाको सफल आरोहण गरेका हुन् ।

थामशेर्कुका अनुसार शेर्पाले सगरमाथाको सफल आरोहण गरेसँगै सात वटै महादेशका सबैभन्दा अग्ला चुचुरो चुम्ने रेकर्ड समेत राखेका छन् । उनी आफ्नो धर्मपत्नी पासाङ ल्हामुले सगरमाथाको चुचुरो चुम्दै रेकर्ड राखेको ३० वर्षपछि सगरमाथा चढेका हुन् ।

१० वैशाख २०५० का दिन पासाङ ल्हामुले सगरमाथा आरोहण गर्दै नेपालको पहिलो महिला आरोही बनेकी थिइन् । सो बेला श्रीमान सोनाम समेत सँगै थिए ।

तर, उनी क्याम्प २ भन्दा माथि जान सकेका थिएनन् । सोही दिन आरोहण पुरा गरी आधार शिविर फर्कने क्रममा पासाङ ल्हामु शेर्पाको निधन भएको थियो । थामशेर्कु ट्रेकिङले सोनाम आधार शिविरतर्फ फर्किरहेको समेत जनाएको छ ।

सोनाम यती समूहका समेत अध्यक्ष हुन् । यती एयरलाइन्ससहित पर्यटनसँग सम्बन्धित विविध व्यवसायमा यो समूहले लगानी गरिरहेको छ ।

सगरमाथाको आरोहणसँगै लाक्पा सोनाम शेर्पाले विश्वका सात महादेशका सबै अग्ला हिमालको सफल आरोहण गरी सेभेन समिट आरोहण पुरा गरेका छन् । विश्वका सातवटा महाद्विपका सातवटा चुचुराको आरोहणलाई सेभेन समिटका नामले चिनिन्छ ।

यसअघि शेर्पाले छ वटा महादेशका चुचुराहरुको सफलता पूर्वक आरोहण गरेका थिए । उनले जनवरी ११, २०१६ मा अफ्रिकाको माउन्ट किलिमन्जारो (५,८९५ मि), अगष्ट २५, २०१६ मा युरोपको माउन्ट एल्ब्रस (५,६४२ मि), नोभेम्बर १५, २०१६ मा ओसिनियाको माउन्ट पुनकक/माउन्ट कार्सटेन्ज (४,८८४ मि), जुलाई ०७, २०१७ मा उत्तर अमेरिकाको डेनाली (६,१९५ मि), डिसेम्बर १४, २०१७ मा अन्टार्कटिकाको माउन्ट भिन्सन (४,८९७ मि) र जनवरी २४, २०२२ मा दक्षिण अमेरिकाको एकोनवागुआ (६,९६१ मि) हिमालको आरोहण गरेका थिए ।

६४ वर्षीय शेर्पा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर १ पाङ्गोममा जन्मेका हुन् । सगरमाथा आरोहणका लागी शेर्पा अप्रिल १७ मा काठमाडौंबाट सगरमाथाको लागि प्रस्थान गरेका थिए । ल्हाक्पा सोनाम शेर्पासँगै जाङ्बु शेर्पा, पेमटेंगी शेर्पा, पेम्बा शेर्पा र फ्रान्सका रोबर्ट मोराचिनीले पनि सफलता पूर्वक आरोहण सम्पन्न गरेका छन् ।

झण्डै ५० वर्षदेखि नेपालको पर्यटन व्यवसायमा संलग्न शेर्पाले ८००० भन्दा बढी आरोहीलाई नेपालका विभिन्न हिमाल आरोहण गराइसकेका छन् । थामसेर्कु ट्रेकिङका संस्थापक, यती एयरलाइन्सका कार्यकारी अध्यक्ष समेत रहेका उनी होटल तथा जलविद्युतजस्ता व्यवसायमा पनि संलग्न छन् । उनले युरोपको माउन्ट ब्लाङ्क, नेपालमा अन्नपूर्ण प्रथम, धौलागिरि हिमाल र थामसेर्कु हिमालको आरोहण पनि गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?